वासिङटन । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ यीबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाझ त्रिपक्षीय भेटवार्ताबारे छलफल भएको छ ।
चीनको अनुरोधमा नोभेम्बर ११ मा भएको टेलिफोन वार्तामा दुई देशबिचको सम्बन्ध र आगामी उच्चस्तरीय भ्रमणका विषयमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको हो ।
सन् २०२६ मा हुने एपेक शिखर सम्मेलनका लागि ट्रम्पको चीन भ्रमण र जी–२० शिखर सम्मेलनमा सहभागी हुन सीको फ्लोरिडा भ्रमणबारे पनि छलफल भएको थियो ।
दुवै पक्षले शान्ति र आणविक हतियार नि:शस्त्रीकरणका लागि उच्चस्तरीय संवाद आवश्यक रहेकोमा सहमति जनाएका छन् । यस क्रममा रुससमेत सहभागी हुने त्रिपक्षीय बैठकको सम्भावना अघि सारिएको छ ।
यसअघि रुबियोले एपेक सम्मेलनका अवसरमा तीन नेताबिच भेटवार्ता गराउने प्रयास भइरहेको बताएका थिए । राष्ट्रपति ट्रम्पले पनि रुस–युक्रेन युद्ध अन्त्य र विश्वव्यापी आणविक नि:शस्त्रीकरणका विषयमा सी र पुटिनसँग छलफल गर्न चाहेको बताएका थिए । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहभागी नभए पनि युद्ध अन्त्यमा सहयोग पुग्ने भए आफू भेटवार्ताका लागि तयार रहेको उनको भनाइ थियो ।
चिनियाँ विदेशमन्त्री वाङले अमेरिकासँगको सम्बन्ध स्थिर राख्न सञ्चार र सहकार्य बढाउने तथा मतभेदलाई उचित ढङ्गले समाधान गर्ने चीनको नीति रहेको बताएका थियो । सन् २०२६ का एपेक र जी–२० सम्मेलन सफल बनाउन दुवै देशले एकअर्कालाई सहयोग गर्नुपर्नेमा उनले जोड दिएका थिए ।
अमेरिका र चीनबिचको पछिल्लो संवादलाई आगामी उच्चस्तरीय भ्रमण र अन्तर्राष्ट्रिय सम्मेलनको तयारीसँगै द्विपक्षीय सम्बन्ध स्थिर बनाउने प्रयासका रूपमा हेरिएको छ । (रासस/एएनआई)





