विश्व २१औँ शताब्दीमा पुगे पनि हाम्रो समाजको रहन सहन, चालचलन, भेषभुषा अझै पनि १८/१९ औँ शताब्दीमा नै अड्किएको जस्तो छ । हाम्रो देशको शिक्षा नीति १९औँ शताब्दीको जस्तो छ भने पाठ्यक्रम र पढाउने तरिका २०औँ शताब्दीको जस्तो छ । यस्तो शिक्षा नीतिले २१औँ शताब्दीका विद्याद्यार्थीहरुको आवश्यकता पुरा गर्न सक्दैन । जबसम्म शिक्षा नीतिमा परिवर्तन ल्याउन सकिँदैन तबसम्म हाम्रो समाज परिवर्तन हुन पनि गाह्रो हुन्छ ।
नेपाली समाज अन्धविश्वासमा डुबिरहेको छ तर अपसोच, अन्धविश्वास मान्नेहरूमा बढी शिक्षित वर्गनै रहेका छन् । अशिक्षित वर्गले अन्धविश्वास मा रुमल्लिएको स्वभाविक जस्तो लाग्छ तर शिक्षित हुँदै गएको पछिल्लो पिँढीसमेत यही अन्धविश्वासी समाजलाई अगाडि बढाउन सहयोग गरेको देख्दा यस्तो लाग्छ कि शिक्षाले हामीलाई डिग्रीको सर्टिफिकेट त दिन्छ तर व्यवहार र संस्कार दिन सकेन । यस्तो शिक्षा नीति परिवर्तन गर्न अति आवश्यक छ।
हाम्रो शिक्षा र व्यवहारमा परिवर्तन नल्याउने हो भने समाजमा बिद्यमान अन्धविश्वासको जरा उखेल्न नसकिने अवस्था छ ।
यसै शिक्षा नीतिलाईइ पच्छ्याउने युवाहरु पनि दुई थरी छ । एक थरी युवाहरुमा हामी कुन बाटो गइरहेका छौँ भन्ने चिन्ता छ भने अर्को थरीका युवाहरुमा यो दुनियाँको मतलब छैन । उनीहरूलाइ मोजमस्ती, ऐस, आराम भए पुग्छ । यी युवाहरुलाई परिवर्तन गर्न वर्तमान शिक्षाले सक्दैन ।
नेपाली युवाले आफ्नो औपचारिक शिक्षा हासिल गरिसकेपछि कोरियन, जापानिज लगायतका अन्य देशको भाषा तथा संस्कृति सिक्न बाध्य हुने गर्दछ । किनकि बर्तमान शिक्षाले युवालाई विदेशिन र विदेशकै भाषा संस्कृति जान्न बाध्य बनायो । हो, हामीले विश्वको भाषा संस्कृति बुझ्नु पर्छ तर बाध्यताबस होइन । नेपालको शिक्षा नीतिले विदेशी भाषा संस्कृति सिक्नुपर्ने बाध्यता बनाएको छ ।
नेपालको बर्तमान शिक्षाले समाजिक कुरीति समेत हटाउन सकेको छैन । एक थरी मानिसहरुको भनाई के छ भने ठुला–ठुला घर बनाउनु, सडक पुल आदि भौतिक पूर्वाधार तयार गर्नु नै विकास हो । अहिलेको शिक्षा हासिल गरेको व्यक्तिले भौतिक विकासलाई मात्रै वास्तविक विकासको संज्ञा दिएको पाइन्छ । तर यो मात्रै विकास होइन । यथार्थमा भन्ने हो भने भौतिक रुपमा भएको विकास विकास होइन देश विकास तब भएको मानिन्छ जब हरेक व्यक्तिको चेतना विकास हुन्छ । व्यक्तिको चेतनामा राजनीतिक, नैतिक चेतना विकास गर्नु नै वास्तविक विकास हो ।
तर यो शिक्षाले हामीलाई ठुला ठुला घर बनाएर ऐस आरामको जिन्दगी जिउनुलाई विकास भन्न लगायो । समाज परिवर्तन गर्न कयौं वर्ष लाग्छ । यो यथार्थ हो, तर यसलाइ शिक्षा नीतिले सहयोग गरेन भने मुस्किल हुने गर्दछ । नेपालको वर्तमान शिक्षाले हामीलाई डिग्री गरेर नोकरी खाने एउटा बाटो मात्रै सिकायो । किन हामीलाई आफ्नो खुट्टामा उभ्याउन सिकाएन ? किन यो देशको वातावरण सुहाउँदो शिक्षा दिन सकेन ? किन शिक्षालाई व्यावसायमुखी बनायो ? आदि प्रश्नहरुका उत्तर खोज्नुपर्ने हुन्छ ।
हामो समाजमा अहिले पनि सामन्ती संस्कार र बुर्जुवा चेतले जरा गाडेर बसेको छ । तर यसलाई शिक्षा नीतिले सुसंस्कारयुक्त समाजको निर्माण गर्न सकेको छैन । जबसम्म शिक्षा नीतिमा आमूल परिवर्तन हुँदैन तबसम्म शोषक सामन्त र बुर्जुवा वर्गको नीति निर्माणमा अधिनायकत्व रहिरहन्छ । बर्तमान शिक्षाले जन्माएको जनशक्तिको रुपरेखा पनि बडो अचम्मको छ । रजस्वला भएकी छोरीलाई छाउपडी गोठमा सुत्न लगाइन्छ ।
विज्ञान पढेको व्यक्तिले भुत प्रेत, बोक्सीको आरोपमा धामि झाक्री बोलाएर मलमुत्र खुवाउने गर्छ । एक जना जनसंख्या पढेको व्यक्तिले पाँच ६ वटा छोरी भएपछि पनि छोरा पाउने आसमा बच्चा जन्माइरहन्छ । नैतिक शिक्षा पढेकोले आमा बुबालाई वृद्धाश्रम पुगाएको हुन्छ । सामाजिक शिक्षा पढ्ने व्यक्ति दारुको भट्टिमा रक्सि खाएर मातिएको हुन्छ र छोराको बिहेमा लामो दाइजोको लिष्ट तयार गरिरहेको हुन्छ । यस्तै यस्तै बनाउन सिकायो यो शिक्षा नीतिले । यो शिक्षाले खालि डिग्री प्राप्त त गरायो तर व्यावहारिक भएन ।
हाम्रो देशको शिक्षा नीति देशको आवश्यकता अनुरुप व्यावहारिक बन्नुपर्छ । उद्योग धन्दाको विकास, कृषि, प्राविधिक शिक्षा, हुनु जरुरी छ । हामीसँग भएको जमिनमा पुरानो प्रणाली भन्दा पनि आधुनिक तरिकाबाट खेती गराउने शिक्षा चाहिएको छ अहिले । हामिलाई सिपमुलक शिक्षा आवश्यक छ । हामीलाइ उद्यमी बनाउने शिक्षाको आवश्यकता छ ।
(लेखक अनेरास्ववियु (छैठौं) कन्चनपुरका सचिव हुन् ।)