काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेल्ने बताएका छन् ।
चन्दले विद्यार्थी संगठनप्रति समर्थन जनाउँदै सो धारणा राखेका हुन् । विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीति विरुद्ध विद्यार्थी संगठनहरूले गरेको विरोध कार्यक्रमप्रति पार्टीको समर्थन गर्दै नेता विप्लवले आन्दोलनलाई सशक्त बनाउँदै अगाडि बढ्न विद्यार्थी संगठनलाई सुझाव समेत दिएका छन् ।
‘सरकारको यो सोच निरंकुश प्रवृत्तिको अभिव्यक्ति हो । विद्यार्थी संगठनहरू सचेतता, खबरदारी, न्याय, विद्रोह र अग्रगमनका वाहक हुन्’ विप्लवले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालका सबै निरङ्कुश शासकहरूको अन्त्यमा विद्यार्थीको भूमिका अग्रस्थानमा रहेको छ ।’
‘जुन संस्था र शक्तिको योगदानले यी परिवर्तन भएका छन् र सरकार खडा भएका छन् तिनकै घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेलिन्छ’, विप्लवको भनाइ छ ।