काठमाडौँ । अमेरिकाका तीन हजार बढी स्थानमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका नीति विरुद्ध विशाल प्रदर्शन भइरहेका छन् ।
प्रमुख सहरदेखि साना गाउँसम्म ‘नो किङ्ग्स’ नाम दिइएको राष्ट्रव्यापी विरोध प्रदर्शनको तेस्रो संस्करण हो ।
यसअघि पनि लाखौँ मानिसले सडकमा उत्रिएर असन्तुष्टि जनाएका थिए ।
शनिबार अमेरिकाभर तीन हजारभन्दा बढी स्थानमा सानाठुला र्याली आयोजना गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रदर्शनकारीको मुख्य निसानामा ट्रम्प प्रशासनले अघि सारेका नीति रहेका छन्, जसमा विशेषगरी इरानसँगको युद्ध, कडा सङ्घीय अध्यागमन नीति र देशमा चुलिँदै गएको महँगी प्रमुख छन् ।
शनिबार दिउँसोदेखि नै देशको राजधानी वासिङ्टन डिसीका सडक प्रदर्शनकारीले भरिएका थिए ।
हजारौँको सङ्ख्यामा मानिस नेसनल मल र लिङ्कन मेमोरियलको सिँढीमा जम्मा भएका थिए ।
अघिल्ला किङ्ग्स नो किङ्ग्स किङ्ग्स प्रदर्शनमा जस्तै यसपटक पनि प्रदर्शनकारीले राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र प्रशासनका अन्य उच्च अधिकारीको पुत्ला बोकेका थिए । (एजेन्सी)
