चितवन । अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घ चितवन जिल्ला समितिले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
२०८२ कात्तिक १९ गते बुधबारका दिन जिल्ला संयोजक होमनाथ शर्माको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाइएको हो ।
जेनजी आन्दोलनको दोस्रो दिन अर्थात् भदौ २४ गते देशमा उद्योगव्यवसाय तथा व्यापारिक केन्द्रमा आगजनी तथा तोडफोड गरी ध्वस्त बनाइएको विषय ज्ञापनमा उल्लेख गरिएको छ ।
ज्ञापनमा जेनजी प्रदर्शनका कारण उद्योगमा काम गर्ने मजदुर बेरोजगार भएकोलगायतका विषय पनि उठाइएको छ ।
२०७२ सालको भूकम्प र कोरोना भाइरसले नेपालको उद्योगव्यापारको अवस्था कमजोर वा दयनीय भएको, फलस्वरूप हजारौँ मजदुर बेरोजगार हुनुपरेको अवस्थाले गदौ देशले गति लिन नसकेको अवस्थामा जेनजी आन्दोलनबाट देश झनै ठुलो आर्थिक सङ्कटमा पुगेको ज्ञापनमा बताइएको छ ।
एकातिर उद्योग व्यापार चौपट्ट भएको र उक्त कारण देखाई उद्योगी व्यापारीले मजदुरलाई बेरोजगार बनाएको अवस्थाले देश अस्तव्यस्त भएकाले मजदुरका समस्या र उद्योग व्यापार सञ्चालनमा सहज बनाउन प्रधानमन्त्रीसमक्ष व्यापार सङ्घले आग्रह गरेको छ ।
ज्ञापनपत्र बुझाउन राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिका सदस्य डम्बर पुरी, चितवन जिल्ला अध्यक्ष अमर क्षेत्री, जिल्ला सल्लाहकार एलपी शर्मा, ट्रेड युनियन केन्द्रीय समितिका डम्मर केसी, उद्योग व्यापार सङ्घ चितवन जिल्ला सदस्य विष्णु पौडेल र गङ्गाप्रसाद पौडेलको टोली जिल्ला प्रशासन कार्यालय पुगेर बुझाएको थियो ।
ज्ञापन पत्र विष्णु पौडेलले बाचन गर्नुभएको थियो ।