मेघराज रिष्मेली, जापान (टोकियो)
जापानको चिबा प्रिफेक्चरस्थित फुनाबासी सहरको एक होटलमा मृत भेटिएका २१ वर्षीय नेपाली विद्यार्थी बादल छन्त्यालको हत्या गरेका युवतीले बयान दिएकी छन् ।
उनको बयानमा उनी आफ्नो प्रेमीसँगै मर्न चाहेको बताएकी हुन् ।
गत अक्टोबर ५, २०८२ का दिन चक्कु प्रहार गरी उनको हत्त्या गरेको आरोपमा चिबामै बस्ने ३२ वर्षीय जापानी युवती आसाका मामीलाई प्रहरीले (अक्टोबर २८) मा पक्राउ गरेको चिबा टिभीमा प्रसारित समाचारले उल्लेख गरेको थियो ।
जापानी सञ्चारहरूमा प्रसारित समाचारमा घटना भएको दिन नै उनलाई एक पसलबाट दुईवटा चक्कु चोरी गरेको आरोपमा पनि पक्राउ गरिएको थियो । जतिबेला उनले प्रेमीसँगै मर्न चाहेको र मर्ने भएपछि चोरी गरे पनि फरक नपर्ने भनी स्वीकारेकी थिइन्।
भाषा विद्यालयमा अध्ययनरत बादलको मृत्युको कारण मुटु र कलेजोमा चोट पुगेर भएको उच्च रक्तस्राव रहेको बताइएको छ ।
यो घटना लगत्तै जापानबासी नेपालीहरूमाझ सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा सजाय हुनुपर्ने माग उठिरहेको छ ।
चिबा प्रहरीले भने हत्याको वास्तविक मनसाय र सम्पूर्ण घटनाक्रमबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।