काठमाडौँ । गाजामा हमासको नियन्त्रणमा रहँदा नेपाली विद्यार्थी विपिन जोशीको गोली हानी हत्या गरिएको इजरायलले जानकारी दिएको छ ।
सुदूरपश्चिमको कञ्चनपुरमा आयोजित दाहसंस्कार कार्यक्रममा सहभागी नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले जोशीको टाउकोमा गोली हानेर हमास समूहले हत्या गरेको बताएका हुन् ।
जोशीको पार्थिव शरीर इजरायल हुँदै नेपाललाई हस्तान्तरण गरेसँगै उनको परिवारले कात्तिक ४ गते दाहसंस्कार गरिसकेको छ ।
कञ्चनपुरमा बिबिसीसँग कुरा गर्दै राजदूत बासले फोरेन्सिक ल्याबको परीक्षणबाट जोशीको टाउकोमा गोली लागेको देखिएको बताए ।
जोशी जीवितै छन् भन्ने सबैलाई लागेको भए पनि हमासले नियन्त्रणमा रहेकै बेला उनको हत्या गरेको दाबी गर्दै राजदूत बासले विधिविज्ञान परीक्षणको प्रतिवेदनबाट पनि विपिनको टाउकोमा गोली प्रहार भएको पुष्टि भएको बताए ।
शोकमा रहेका परिवारलाई भेटेपछि राजदूत बासले विपिन जोशी साहस एवम् इजरायल–नेपाल सम्बन्धका प्रतीकका रूपमा रहने बताएका थिए ।
हमासले पटक पटक जीवित तथा मृतक बन्धकको नामावली सार्वजनिक गर्दा जोशीको नाम कहिल्यै सार्वजनिक गरेन । पटक पटक युद्धविराम हुँदा बन्धक छाड्ने काम भए पनि जोशीको नाम सूचीमा समावेश भएको थिएन ।
एकैपटक असोज २२ गते विपिन जोशीको एउटा भिडियो सार्वजनिक भएको थियो । इजरायली गुप्तचरले फेला पारेको त्यो भिडियो दुई वर्ष पुरानो थियो । त्यो पुरानो भिडियो भए पनि विपिन जोशी जीवित छन् भनी नेपालीमा आशा जागेको थियो ।
असोज २४ गते सार्वजनिक गरिएको २० जना जीवित तथा २६ जना मृत बन्धकको नामावलीमध्ये कुनैमा विपिन जोशीको नाम थिएन । त्यसपछि विपिन जोशीको अवस्था अज्ञात रहेको कुरा बाहिर आयो र इजरायलले पनि उनी अज्ञात रहेको भनिरह्यो ।
असोज २७ गते इजरायली सेनाले विपिन जोशी जीवित नरहेको औपचारिक जानकारी गराएको थियो । सेनाले तत्कालीन अवस्थामा अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीलाई भिडियो कन्फरेन्समा जोडेर जोशी जीवित नरहेको औपचारिक जानकारी दिएको थियो ।