बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिका–६ सूर्यपुराघाटमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा तीन जना युवाको डुबेर मृत्यु भएको छ।
Advertisement
२०८२ कात्तिक ५ गते बुधबार मायादेवी गाउँपालिका–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको हो ।
रुपन्देही प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज कार्कीका अनुसार दानव र कञ्चन नदीको सङ्गमस्थल सूर्यपुरास्थित सन्तेश्वर घाटमा दिउँसो करिब ३ बजे उनीहरू मूर्ति विसर्जन गर्न पुगेका थिए । विसर्जनका क्रममा उनीहरू नदीमा बेपत्ता भएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजीकार्य सुरु गरेका थिए ।
खोजीका क्रममा करिब २०० मिटर तल तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थलमै छठपर्वको तयारी भइरहेको बेला घटेको यस दुर्घटनापछि सूर्यपुरा र मायादेवी क्षेत्र शोकमग्न बनेको बताइएको छ ।