काठमाडौँ । नेकपा (मसाल) ले हालैको वर्षाजन्य बिपत्द्वारा ठुलो मात्रामा जनधनको क्षति हुन पुगेको दु:ख प्रकट गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ असोज २० गते सोमबार प्रेसवक्तव्य जारी गर्दै मसालले सो घटनामा परी मृत्यु भएका सबैप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदनासमेत व्यक्त गरेको हो ।
पहिले आफूहरूले यस प्रकारका बिपत्मा राहत सङ्कलन गर्ने गरेको स्मरण गर्दै पछि सरकारमार्फत् मात्र राहत सङ्कलन र वितरण गर्ने निर्णय गरिएकाले अहिले आफूहरूले सो पहलकदमी नगरेको वक्तव्यमा स्मरण गराइएको छ ।
मसालले अहिले वर्षाजन्य बिपत्बाट पीडित व्यक्तिको राहत र क्षतिपूर्तिमा शीघ्र कदम उठाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
जलवायु परिवर्तनका कारण विश्वभरि नै अतिवृष्टि, अनावृष्टि, सुख्खा, आगलागी, सुनामीजस्ता गम्भीर समस्या देखा परेको बताउँदै देशमा अहिले देखा परेको वर्षाजन्य बिपत्लाई पनि अन्तर्राष्ट्रिय समस्याको रूपमा किटानी गरिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“देशमा भारी वर्षाका कारणले जनधनमा गम्भीर क्षति पुगेकोमा नेकपा (मसाल) ले गहिरो दु:ख प्रकट गर्दछ । बाढीपहिरोको कारणले मृत्यु भएका सबै व्यक्तिप्रति श्रद्धाञ्जली प्रकट गर्दै उक्त बाढीपहिरोबाट क्षति पुगेका सम्पूर्ण जनताप्रति हार्दिक समवेदना प्रकट गर्दछ । त्यसका साथै बाढीपहिरोबाट पुगेको क्षतिमा राहत र क्षतिपूर्तिका लागि शीघ्र कदम उठाउनका लागि सरकारको गम्भीर ध्यान आकर्षित गर्न चाहन्छ ।
संसारमा जलवायु परिवर्तनको जुन गम्भीर समस्या बढ्दै गइरहेको छ, त्यसबाट विश्वभरि नै अतिवृष्टि, अनावृष्टि, सुख्खा, आगलागी, सुनामीजस्ता गम्भीर समस्या देखा पर्दै गइरहेका छन् । अहिले नेपालमा देखा परेको अतिवृष्टि पनि विश्वव्यापी रूपमा देखा परेको त्यही प्रकारको जलवायु परिवर्तनको परिणाम हो । त्यसकारण तात्कालिक रूपमा अहिले नेपालमा भारी वर्षाका कारणले पुगेको क्षतिप्रति विशेष कदम उठाउन सरकारको ध्यान आकर्षित गर्दै विश्वव्यापी रूपमा देखा परेको जलवायु र पर्यावरणको समस्याको समाधानको लागि पनि हामीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहन्छौँ । यो हाम्रो राष्ट्रिय समस्या मात्र नभएर अन्तर्राष्ट्रिय दायित्वको विषय पनि बन्न जान्छ ।
पहिले हामीले कुनै प्राकृतिक बिपत् हु“दा व्यापक रूपले आर्थिक वा उपभोग्य सामग्री सङ्कलन गरी जनतामा वितरण अभियान चलाउने गर्दथ्यौँ तर पछि त्यस प्रकारको वितरण सरकारको माध्यमद्वारा मात्र गर्ने सूचना जारी भयो र हामीले सङ्कलन गरेर जनतामा वितरणको लागि सरकारलाई दिने गरेको रकम वा सामग्रीको पनि सही वितरण नभएको कुरा थाहा हुन गयो । त्यसपछि हामीले कुनै पनि प्राकृतिक आपत्को बेलामा आर्थिक वा राहत सामग्री सङ्कलन गर्ने र जनतामा वितरण गर्ने कार्य गर्ने गरेका छैनौँ तैपनि अहिले भारी वर्षाका कारणले देशव्यापी रूपमा देखा परेको गम्भीर समस्याको समाधानका लागि समुचित पहलकदमी गर्न हामीले सरकार र आम जनताको समेत ध्यान आकर्षित गर्न चाहन्छौँ ।”