बुद्धिराम खड्का, राष्ट्रिय जनमोर्चाका पुराना कार्यकर्ता
दाङघोराहीमा बहुदल आएपछि नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चालाई चिनाउनुका साथै स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्नुभएका व्यक्तित्व हुनुहुन्छ, ८५ वर्षीय बुद्धिराम खड्का । उहाँसित युगदर्शन मिडियाका लागि गणेश आचार्यले गर्नुभएको सङ्क्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
० बुद्धिराम खडकाजी नमस्कार ।
:: नमस्कार ।
० सञ्चैआरामै हुनुन्छ ?
:: आरामै छु ।
० कति वर्षको भयो तपाईंको उमेर ?
:: अहिले ८४ वर्ष पुगेर ८५ वर्षमा लागेको छु ।
० यो उमेरमा दिनहरू कसरी बिताइरहनु भएको छ ?
:: दिनहरू यस्तै हो । कहिले पार्टीसङ्गठनका साथीहरूसित भेटघाट गरेर, कहिले टोलछिमेकका बुढाहरूसित, कहिले घरपरिवारसित बिताइरहेको छु ।
० पार्टीसङ्गठनका कुरा गर्नुभयो । तपाईं कुन पार्टीमा हुनुहुन्छ ?
:: म नेपाल कम्युनिस्ट पार्टी (मसाल) निकटको राष्ट्रिय जनमोर्चामा आबद्ध छु ।
० यो उमेरमा पनि पार्टीमा हुनुहुन्छ र ?
:: उमेरले पार्टीमा लाग्नमा रोक्दैन । पार्टीका साथीहरूसित वर्गीय माया हुन्छ । पार्टीबाट धेरै कुरा सिक्न पाइन्छ । त्यसैले म अहिले पनि पार्टीमा छु ।
० के काम गर्नुहुन्छ पार्टीमा ?
:: पार्टीको विचार राम्रो भएकाले नयाँ मान्छेलाई पार्टीमा आबद्ध गराउन जोड गर्दछु । पार्टीका परिपत्र पढेर जानकार हुन्छु । पार्टीका बैठक र कार्यक्रममा नियमित जान्छु । नयाँ कुनै मान्छे भेटियो भने पार्टीका साथीहरूलाई बोलाएर भेटघाट गराउँछु । स्थानीय सामाजिक समस्यालाई पार्टीनेतृत्वमा पुऱ्यायर समाधान गर्न कोसिस गर्छु ।
० पार्टीमा कहिलेदेखि लाग्नुभएको हो ?
:: सन् १९७९ मा म भारतमा बस्थेँ । त्यहाँ मोहनविक्रम सिंह भारतीय मजदुरहरूलाई भेटन जानुभएको रहेछ । प्युठान लुङका शिवबहादुर केसीले मेरो घरमा उहाँलाइ लिएर आउनुभयो । उहाँले घुँडामा टालेको जिन्सको पाइन्ट लगाउनुभएको थियो । कालो झोला बोक्नुभएको थियो । उहाँ भर्खरै जेलबाट छुटनुभएको रहेछ ।
नेपालबाट आएको कम्युनिस्ट नेता भनेपछि हामी खुसी भयौँ । मैले १०/१२ ओटा भाले पालेको थिएँ । उहाँलाई खुवाउने भनेर भाले काटेँ । बजारमा गएर दही, घ्यु लिएर आएँ ।
उहाँले पत्रिका पढ्छु भन्नुभयो । मैले हिन्दी पत्रिका ल्याइदिएँ । उहाँले कम्युनिस्ट पार्टीको कुरा सुनाउनुभयो । मजदुर हितका कुरा गर्नुभयो । भारतमा बसे पनि गलत बाटोमा लाग्नुहुँदैन, नेपालीको र सारा मजदुरको हितमा काम गर्नुपर्छ भन्नुभयो । त्यो कुरा हामीलाई मन पऱ्यो । त्यो बेला त्यहाँ सङ्गठन थिएन तर मैले त्यही बेलादेखि नै यो पार्टीमा काम गर्ने निर्णय गरेँ ।
० त्यो त भारतको कुरा भयो । नेपालमा आएपछि कसरी पार्टीमा आबद्ध भएर काम गर्नुभयो त ?
:: म भारतबाट नेपाल आउँदा मेघराज ढकाल भन्ने मान्छेको सम्पर्क लिएर आएको थिएँ । यहाँ आएर बुझ्दा उनी बिग्रेको थाहा लाग्यो । म फेरि सम्पर्क लिन गोरखपुर पुगे । गोरखपुरमा मोहनविक्रमसित फेरि भेट भयो र यताको सम्पर्क लिएर आएँ । त्यसपछि रश्मीराज नेपालीसित भेट भयो । भारतमै काम गरेर आउनुभएका भरत भण्डारीसित भेट भयो । ईश्वरी भण्डारी र हरि बन्जाडेसित भेट भयो ।
त्यो बेला निरङ्कुश पञ्चायती व्यवस्था थियो । खुला कुरा गर्न मिल्थेन । त्यही पनि धेरै मान्छेलाई सम्पर्कमा ल्याइयो । मलाई प्रहरीको डिएसपीले बोलायो र तिमीहरू को को छौ भन्यो । मैले कसैलाई चिन्दैन भनेँ ।
पछि बहुदल आयो । यहाँ कोही थिएन । सल्यानका अमर शाहसित सम्पर्क भयो । उनैले बाबुराम भट्टराईसित सम्पर्क गराइदिए ।
यहाँ बहुदल आएपछि बहुदल पक्षका सबैले सभा गरे । हामीले पनि गरौँ न भनेर मैले र हरि बन्जाडेले सल्लाह गर्न खोज्यौ । हरिले यो गुण्डागर्दी हुने ठाउँमा कार्यक्रम हुन्न भन्नुभयो । धरपकड भए पनि आन्दोलन नगरेर हुँदैन भनेर मैले जोड गरेँ । अमर शाहसित कुरा गरेर चित्रबहादुर केसीलाइ बोलाउनुपऱ्यो भनिम् । अमर शाहलाई भनेर बाबुराम भट्टराईसित कुरा गरेर भारतबाट साथीहरू बोलाइम् । भरत भण्डारी, मिनु सुवेदी, मदन पाण्डे, ईश्वरी भण्डारी आउनुभयो र व्यापक प्रचार गरेर ठुलो कार्यक्रम गऱ्यौँ । त्यही कार्यक्रमपछि मलाई घोराहीमा सम्पूर्णले मसाल भनेर चिने ।
० यो पनि पुरानै कुरा भयो । अहिले त तपाईंको पार्टी साह्रै कमजोर मानिन्छ त ?
:: हाम्रो पार्टी कमजोर छैन । पार्टी कमजोर कि राम्रो भन्ने विचारबाट निर्धारण हुने हो । हाम्रो पार्टीको जस्तो राम्रो विधि र विचार अरू कसैको छैन । अरू सबै पार्टी बद्नाम भएका छन् तर हामी भएका छैनौँ । पार्टीले क्लास, प्रशिक्षण चलाउँछ । अनुशासित बनाउँछ । अनुशासित बनाउने कुरा कमजोर हुने कुरा हैन । मोहनविक्रमले धेरै मान्छेलाई कारबाही गर्छ भन्छन् । त्यो कुरा सत्य हैन । पार्टीले कारबाही गर्ने, आलोचना गर्ने भनेको सुधार गर्नका लागि हो, कमजोर बनाउन हैन ।
० अरू पार्टी ठुला ठुला छन् । पछि बनेका पनि तपाईंको भन्दा ठुला बने । तपाईंको पार्टी त छैन त ?
:: अरू पार्टीका नेताहरू अवसरवादी भए । व्यक्तिगत नाफाघाटामा जोड दिए । हाम्रो पार्टीमा पनि धेरै मान्छे आए । मान्छे नै नआएको भन्ने हैन तर सबैलाई अवसरवादले जित्यो । ती ठुला बनेका पार्टी विचार, नैतिकता र देशसेवाले बनेका हैनन्, विदेशीलाई रिझाएर भएका हुन् । हाम्रो पार्टी बरु एक्लै बन्न तयार छ तर राष्ट्रघात गर्ने, जनतालाई ठग्ने, नेताका घरगाडी जोड्ने कुरालाई सही मान्दैन । पार्टी कति ठुलो र सानो भन्ने उसले कस्तो विचार बोकेको छ भन्ने कुराले निर्धारण गर्ने कुरा हो ।
० अहिले नेतृत्वमा रहेका तपाईंको पार्टीका नेताहरूलाई के भन्न चाहनुहुन्छ ?
:: नेताहरूले जनपक्षीय भएर काम गर्नुपऱ्यो । जनताका समस्यासित जोडिनपऱ्यो । हतोत्साहित हुनुहुँदैन, जित सधैँ सत्यको हुन्छ । कम्युनिस्ट पार्टी भनेको जनताको प्यारो पार्टी हो । त्यही रूपमा नेताहरू पनि अगाडि बढ्नुपऱ्यो ।
० तपाईं अहिले पनि लौरो टेक्दै हिँड्ने मान्छे, कोटको गोजीमा सदस्यता बोकेर हिँड्नुभएको छ । के तपाईंको माथिका नेताहरू पनि यसैगरी काम गर्छन् त ?
:: यसैगरी सबैले काम गर्नुभएको छ । त्यहीँबाट सिकेर नै मैले यो गरेको हुँ । कुनै पनि कम्युनिस्ट पार्टीको नेता अल्छी र ठग हुँनुहुदैन । कुनै पनि देश र कम्युनिस्ट पार्टी कडा मिहिनेत र लगनशीलताबेगर राम्रो बन्दैन । त्यही कुरा मैले बुझेको छु । मैले पेसा गर्ने बेला त्यसैगरी गरेँ ।

Screenshot
अहिले म घरमा कुनै काम गर्दिनँ । मेरो सम्पूर्ण काम नै पार्टीको हितमा गर्नु काम हो । त्यसैले म सधैँ राष्ट्रिय जनमोर्चाको सदस्यता बोकेर हिँड्छु । मजस्तो बुढो मान्छेले भनेपछि धेरैजसोले नाइँ भन्नुहुन्न । मैले भन्दा धेरै कुरा बुझाउनुपर्ने भयो भने म सिधै जिल्ला अध्यक्ष गणेश आचार्यलाई फोन गरेर भन्छु । उहाँले भ्याउनुभएन भने अरू साथीहरू आउनुहुन्छ । मैले पार्टीका सबै साथीहरूको नम्बर राखेको छु । बेला बेलामा सबैलाई फोन गरेर यस्तो काम गर्नुपऱ्यो भनेर झक्झकाउने काम पनि गर्दछु ।
० अहिले नयाँ युवाहरू कोही विचारहीन बाटोमा र कोही प्रतिगामी बाटोमा लागेको देखिन्छ । यसलाई तपाईं के भन्नुहुन्छ ?
:: यो चेतनास्तरको कमी हो । यसमा केही न केही कम्युनिस्ट पार्टीको कमजोरी पनि छ । जनता हावामा हिँड्छन् । नेताहरूले सही गलत कुरालाई चिरफार गर्ने काम गरेका छैनन् । सरकारमा बस्ने र कम्युनिस्ट पार्टीको नाम लिनेहरूले झन् धेरै कम्युनिस्ट आन्दोलनलाई बद्नाम गरेका छन् । हाम्रो जस्तो सही र नैतिकवान् कुरा जनताले बुझ्नै पाइरहेका छैनन् । त्यसैले त्यस्तो देखिएको हो । यो स्थायी कुरा हैन, हामीले जनतालाई सचेत बनाउँदै जानुपर्दछ ।
० अन्त्यमा भन्नुपर्ने केही छ कि ?
:: भन्नुपर्ने कुरा के छ भने कम्युनिस्ट पार्टीका साथीहरूले अरूको काम हैन, आफ्नै सम्झेर जनताको हितमा काम गर्नुपऱ्यो । कम्युनिस्ट पार्टीमा लागेको नेता बन्न, सुविधा लिन र शासक बन्न हैन, जनताको सेवक बन्नका लागि हो । जनताले आफ्नो मित्र को, दुस्मन को चिन्न सकेका छैनन् । त्यही चिन्न नसकेका कारण जनताले आफ्नो दुस्मनलाई बलियो बनाइरहेका छन् । त्यो विषयमा सचेत बनाउन कम्युनिस्ट पार्टीका साथीहरू लाग्नुपर्छ ।