कृष्ण गिरी, सेवानिवृत्त शिक्षक तथा साहित्यकार
(लामो समयसम्म शिक्षण पेसा गरेर अहिले सेवानिवृत्त हुनुभएका शिक्षक, साहित्यकार तथा समाजसेवी गिरी दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मा बस्नुहुन्छ । २०८२ वैशाख ९ गते उहाँसँगको यो कुराकानी गणेश आचार्यले गर्नुभएको हो ।)
० युगदर्शन मिडियाको तर्फबाट यहाँलाई नमस्कार छ ।
:: नमस्कार ।
० आरामै हुनुहुन्छ ?
: ठिकै छु
० आजभोलि के काममा व्यस्त हुनुहुन्छ ?
:: मेरी श्रीमती बिरामी छिन । त्यसैले मैले उनको सेवा गर्नुपर्छ । विभिन्न स्थानीय सामाजिक काम काम गर्छु । स्कुलक्याम्पसका सुधारका काममा अग्रसर छु । खेतीपाती पनि गर्छु । साहित्यिक कार्यक्रममा सहभागी हुन्छु । साहित्य सृजना पनि गर्ने गरेको छु । भर्खरै कविता सङ्ग्रह पनि निकालेँ । यसै गरेर मेरा समय बितिरहेका छन् ।
० कवितासङ्ग्रह कहिले निकाल्नुभयो ?
:: ‘पसिनाको पोको’ भन्ने कवितासङ्ग्रह २०८१ पुस ६ गते लोकार्पण भइसकेको छ ।
० कस्ता खालको कविता छन् यो सङ्ग्रहमा ?
:: कुनैमा राष्ट्रप्रेम छ । कसैमा सरकारका विकृतिको विरोध गरिएको छ । कम्युनिस्ट पार्टीको विचारसित मिल्ने खालका थुप्रै रजना यो सङ्ग्रहमा समावेश गरिएका छन् ।
० २०८१ वैशाख ९ गतेको कार्यक्रममा “प्रदेश, तिमी किन आयौ” भन्ने शीर्षकको कविता वाचन गर्नुभयो । खासमा के भन्न खोज्नुभएको त्यो कवितामार्फत् ?
:: हाम्रो देशलाइ सङ्घीय प्रदेशको आवश्यकता नै छैन । यति सानो देशलाई सात सात प्रदेशमा विभाजन गर्न जरुरी छैन । आर्थिक रूपमा सङ्घीय प्रदेश सञ्चालन धेरै महँगो हुन्छ । त्यसैले त्यसको विरोधमा कविता लेखेको हुँ । हुन त म लुम्बिनी प्रदेश राजधानी दाङको काखैमा छु तर त्यो देशका लागि ऋणको भारी मात्र हो । त्यसैले त्यो सङ्घीयताको विरोधमा कवितामार्फत आफ्नो भावना व्यक्त गरेको छु ।
० यसको मतलब तपाईं सङ्घीयता विरोधी हुनुहुन्छ ?
:: हो । नेपालको सन्दर्भमा म सङ्घीयता विरोधी हुँ । यो शासनप्रणाली आवश्यक छैन भन्ने मेरो बुझाइ छ ।
० तपाईं सङ्घीयता विरोधी पार्टीमा हुनुहुन्छ ?
:: सङ्घीयताको विरोध त विभिन्न कारणले अरूले पनि गर्लान् । म त्यो केवल सङ्घीयता विरोधी मात्र भन्दा पनि नेपालको सन्दर्भमा सङ्घीयता ठिक हुँदैन भनेर सुरुदेखि भन्दै आएको नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चामा आस्था राख्दछु ।
० तपाईंले नेकपा (मसाल) प्रति नै आस्था राख्नुको कारण के हो ?
:: मैले आठ वर्षको हुँदा काङ्ग्रेसको आतङ्कक देखेको थिएँ । उनीहरू प्रायः धनी थिए र गरिबलाई हप्काइदप्काइ गर्थे । मैले पढ्ने स्कुलका गुरुहरू पनि कम्युनिस्ट राम्रो हो, गरिखाने र कामदार वर्गको पार्टी हो भन्नुहुन्थ्यो । म आफू पनि गरिखाने वर्गको गरिब मान्छे । मेरा लागि सही पार्टी कम्युनिस्ट हो भन्ने लाग्यो । मेरो आफ्नो सोच पनि त्यस्तै थियो अनि म पनि त्यही पार्टीमा आस्था राख्दै आएँ ।
० यो बेला नेकपा (मसाल) थियो त ?
:: नेकपा (मसाल) नै त थिएन तर कम्युनिस्ट पार्टी थियो । पछि फुट, विभाजन र मतभेद चल्दै जाँदा नेकपा (मसाल) बन्यो ।
० पछि मसाल नै किन रोज्नुभयो ? अरू पनि थिए कम्युनिस्ट पार्टी त ।
:: म शिक्षक हुँदा मालेका साथीहरूले हाम्रो पार्टीमा आउनुस् भने । मलाई माले कम्युनिस्ट हुन् भन्ने नै लागेन । मलाई मोहनविक्रम सिंहको विचार सही लागेको थियो । कम्युनिस्ट विचार, नीति र व्यवहार पनि त्यही नै हो भन्ने लागेको थियो । त्यो बेला अहिलेजस्तो सबै कुरा थाहा पाउने सूचनाको स्रोत पनि थिएन । मैले मोहनविक्रमलाई पछ्याउँदै थिएँ । अरू कसैको कुरा मलाई विश्वास लागेन । पछि बुझ्दै जाँदा उहाँको पार्टी नै नेकपा (मसाल) रहेछ । त्यसरी म मसाल भएको हु वा कम्युनिस्ट भएको हुँ ।
० अहिले त कम्युनिस्टभन्दा पनि राजनीतिक वातावरण अर्कै छ । राप्रपा, रास्वपा भन्छ्न युवाहरू ?
:: राप्रपा भनेको राजावादी पार्टी हो । त्यो पार्टीलाई अबको युगमा सामान्य मानवीय सोच भएका कसैले स्वीकार गर्न सक्दैन । अहिलेका नयाँ पिँढीमा राजनीतिक अध्ययन छैन । राजतन्त्रमा हिजो कस्तो खालको अवस्था थियो भन्ने ज्ञान र अनुभूति छैन । त्यसैले कैयौँ मानिस राप्रपामा लाग्न सक्छ्न । यो केही छिनको कुरा हो । उनीहरूले पनि बिस्तारै कुरा बुझ्दै जानेछन् ।
रास्वपा त राप्रपाको जति पनि विचार नभएको समूह हो । यसको न जरो छ, न फेद छ, न टुप्पो । त्यो फेदै नभएको समूह हो, पार्टी हैन । पार्टी त दुई मात्र हुने हुन् : एक– कम्युनिस्ट, अर्को– पुँजीवादी पार्टी । नेकपा (मसाल) कम्युनिस्ट पार्टी हो । अरू जे जे नाम राखेका भए पनि सबै एकै ड्याङ्का मुला हुन् ।
० यहाँ त कम्युनिस्ट नामका अरू पनि धेरै पार्टी छन् नि ?
:: तिनीहरू कम्युनिस्ट हैनन्, कम्युनिस्ट नाममा व्यापार गरेका हुन् । तिनीहरू पुँजीवादउन्मुख पार्टी नै हुन् । काङ्ग्रेस र तिनीहरूमा केही फरक छैन अनि कसरी कम्युनिस्ट हुन्छ्न तिनीहरू ? कुनै पनि देशमा एक मात्र कम्युनिस्ट पार्टी हुन्छ । त्यो नेकपा (मसाल) हो ।
० विभिन्न ठाउँमा रहेका नेपाली युवालाई के भन्न चाहनुहुन्छ ?
:: नयाँ पुस्ताले सत्यलाई पहिचान गर्नुपर्दछ अन्यथा समाज भाडिन्छ । लहडमा हैन, विचार र विज्ञानलाइ पक्रेर अगाडि जानुपर्दछ । युवाहरू हावाको भरमा कहिले कता, कहिले कता गर्नुहुँदैन । आफ्नो वर्गको व्यवस्था नहुँदासम्म केही हुँदैन । गरिब, उत्पीडित मान्छे सामन्त र पुँजीवादीको पछि लागेर न्याय हैन, झनै उत्पीडनमा पर्ने हो । पुँजीवादी पार्टीहरू आफ्नो स्वार्थसिद्धिका लागी युवालाई प्रयोग गर्छन् र आफ्नो स्वार्थ लिन्छन् । त्यसैले आफ्नै वर्गको पार्टीमा लाग्नुपर्छ भन्ने मेरो विचार छ ।
० अन्तमा अरू केहि भन्न चाहनुहुन्छ ?
:: भन्ने कुरा त कति हुन्छन् कति ? मेरो कुरा राख्ने अवसर दिनुभयो, त्यसका लागि तपाईं र युगदर्शन मिडियालाई धन्यवाद दिन चाहन्छु ।