शक्तमान बुढाथोकी, अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली एकता समाज ##
नेपालीहरू वैदेशिक रोजगारीका लागि होस् वा अध्ययनका लागि, विश्वभरि नै छरिएर रहेका छन् । संसारमा त्यस्तो कुनै देश नहोला, जहाँ नेपाली नपुगेका होउन् । जसै आफ्नो मातृभूमि छोडेर नेपालीहरू विदेशिन्छन्, अनि अनेक समस्याको सामना गर्नुपर्छ तर नेपालीहरूले सामूहिक रूपमा वा सङ्गठित भएर प्रवासका समस्यालाई हल गर्दै आएका छन् । प्रवासी नेपालीले आफ्ना रोजीरोटीका समस्यालाई मात्रै हेरेका छैनन्, उनीहरू देशकै अर्थतन्त्रको मेरुदण्डसमेत बनेका छन् । अझ प्रवासीले देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा समेत सशक्त भूमिका निर्वाह गरिरहेका छन् ।
विश्वभर छरिएर रहेका नेपालीलाई सङ्गठित गर्ने, उनीहरूको हकअधिकारका लागि आवाज उठाउने, समस्यासँग जुध्ने तथा देशको जनतान्त्रिक आन्दोलनमा योगदान दिने कुरामा ती देशमा रहेका नेपाली एकता समाजको भूमिका सबैभन्दा महत्त्वपूर्ण छ र विभिन्न देशका नेपाली एकता समाजलाई संयोजन गरेको छ, अन्तर्राष्ट्रिय नेपाली एकता समाजले ।
अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष हाल शक्तमान बुढाथोकीमगर हुनुहुन्छ । बागलुङबाट रोजगारीको सिलसिलामा हङकङ पुग्नुभएका बुढाथोकी हङकङ नेपाली एकता समाजको पनि अध्यक्ष हुनुहुन्छ । हाल काठमाडौँ आउनुभएका बुढाथोकीसँग हामीले विभिन्न देशमा रहेका नेपालीको अवस्था, प्रवासी नेपालीले देशको राष्ट्रियता र जनतान्त्रिक आन्दोलनमा खेलिरहेको भूमिका तथा राष्ट्रिय जनमोर्चाको आयोजनामा आगामी २०८१ चैत २४ देखि सुरु हुन लागेको सङ्घीयता विरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनको तयारीलगायतका विषयमा जिज्ञासा राखेका छौँ ।
प्रस्तुत छ, बुढाथोकीसँग लिइएको भिडिओ अन्तर्वार्ताको सम्पादित अंश ।
० सर्वप्रथम यहाँलाई युगदर्शनमा हार्दिक स्वागत छ ।
:: धन्यवाद ।
० नेपाल कहिले आउनुभएको हो ?
: म फेब्रुअरी ८, २०८१ मा आएँ ।
० तपाईं नेपालबाट हङकङ जानुपर्ने कारण के थियो ?
:: म सन् २००८ मा गएँ । रोजगारीको सिलसिलामै गएको हुँ । देशभित्र रोजगारी नपाएपछि अरू मजदुरजसरी प्रवासमा जानुहुन्छ । म त्यसरी नै हङकङ गएँ ।
० हङकङ लामो समयदेखि बस्नुभएको छ । हङकङ नेपाली एकता समाजको अध्यक्ष पनि हुनुहुन्छ । त्यहाँका नेपालीको अवस्था कस्तो छ ?
:: हङकङमा अन्य देशको तुलनामा नेपालीको अवस्था ठिकै छ । हङकङ पहिला ब्रिटिसको उपनिवेश हो । सन् १९९७ मा चीनलाई हस्तान्तरण गरेको थियो । ब्रिटिस र चीनबिच ५० वर्षको सम्झौता छ, त्यो अहिले २६ वर्ष भइसक्यो । त्यहाँ ॅवान कन्ट्री टू सिस्टम’ लागु छ ।
हङकङमा नेपालीहरू रहनुको कारण भनेको पहिले ब्रिटिस सेनामा नेपाली थिए । हाम्रा बाउबाजे ब्रिटिसमा अहिले पनि कार्यरत हुनुहुन्छ । जब ब्रिटिस र चाइनाबिच सम्झौता भयो, ब्रिटिसमा रहेका सेनाका छोराछोरीलाई हङकङको आइडी दिने भन्ने व्यवस्था राखियो । सोही सम्झौताबमोजिम ब्रिटिसमा कार्यरत सेनाका सन्तान अहिले हङकङमा हुनुहुन्छ ।
खासमा त्यहाँ दुई प्रकारका नेपाली हुनुहुन्छ : एकथरीसँग ब्रिटिसको बिएनओ’ पासपोर्ट छ । उहाँहरू ब्रिटिस–हङकङ आउनेजाने गर्नुहुन्छ† अर्कोथरी मानिससँग हङकङ आइडी मात्रै छ । उहाँहरू नेपाली नागरिक हो । उहाँहरू त्यहाँ रोजगारी गर्नुहुन्छ । अधिकांश हङकङमा रहेका नेपाली नागरिकसँग नेपालकै नागरिकता र पासपोर्ट छ ।
हामीले त्यहाँको राजदूताबाससँग मिलेर सामाजिक काम गर्छौं । त्यसो गर्दा नेपालीको अवस्था थाह हुन्छ । अहिले उहाँहरूको सोचाइमा परिवर्तन भएको छ । जहाँ गए पनि नेपाली राष्ट्रियता त्याग्नुहुँदैन भन्ने धारणा बलियो बन्दै गएको छ । हङकङमा अहिले ३० देखि ३५ हजार जति नेपाली छन् । अरू देशमा जस्तो त्यहाँका नेपालीले समस्या ब्यहोर्नुपरेको छैन । रोजगारीको समस्या, खानलाउनको समस्या हङकङका नेपालीले भोग्नुपरेको छैन ।
० हङकङमा नेपालीमाथि विभेद छैन भन्नुभयो । यो निश्चय नै खुसीको कुरा हो । त्यसो हो भने हङकङका नेपाली अरू देशमा जस्तै स्थायी अनुमति लिएर बस्न चाहन्छन् वा स्वदेश फर्कन चाहन्छन् ?
:: उहाँहरू नेपाल फर्कन चाहनुभएको छैन । उहाँहरू उतै बस्न चाहनुहुन्छ तर कतिपय नेपालीलाई हामीले पैसा कमायौँ, अब पुग्यो भन्ने छ । उहाँहरू आफ्नो आवश्यकताले वा देशप्रतिको मायाले फर्कन चाहुनुहन्छ तर चाइनाले तिमीहरू जाओ भनेको छैन । त्यहाँ रहेका नेपालीको सेवासुविधा राम्रै छ । बेरोजगार कोही पनि हुनुहुन्न । त्यहाँको नागरिकले पाएसरह सुविधा नेपालीले पनि पाएका छन् बरु त्यहाँ जन्मेका व्यक्तिले अलि बढी छुट्टी पाउँछन् । हामीले त्यहाँका स्थानीयभन्दा कम पाउँछौँ ।
० यहाँ अन्तर्राष्ट्रिय नेपाली एकता समाजको अध्यक्ष हुनुहुन्छ । अहिले तपाईंहरूको सङ्गठनले के गरिरहेको छ ?
:: अन्तर्राष्ट्रिय नेपाली एकता समाजले संसारभर छरिएर रहेका नेपालीहरू, जो रोजगारीका लागि कैयौँ देशमा जानुभएको छ । रोजगारका विभिन्न समस्या छन् । ती समस्यासँग जुधिरहेको छ यद्यपि हङकङमा रोजगारीको समस्या छैन तर कैयौँ देशमा मालिकले रोजगारीबाट निकालिदिनेलगायतका समस्या छन्, उहाँहरूको जायज मागका लागि हामी सङ्घर्ष गर्छौं । प्रवासमा रहेका नेपालीलाई सङ्गठित गर्ने र हकअधिकारको लागि सचेत पार्ने काम अन्तर्राष्ट्रिय नेपाली एकता समाजले गर्छ ।
प्रवासमा रहेका नेपालीलाई आर्थिक, नैतिक, भौतिक सबै सहयोग गर्छौं । बिरामी भएको खण्डमा उहाँहरूलाई नेपाली एकता समाजले सहयोग गर्छ ।
० संसारका कुन कुन देशमा यहाँहरूको सङ्गठन छ ?
:: हाम्रो धेरै देशमा सङ्गठन छ । संसारका ३०/३२ देशमा हाम्रो सङ्गठन छ । मिडिल इस्ट (मध्यपूर्व) का साउदी, कतार, ओमन, कुवेत, दुबई यी देशहरू भए । युरोपका सबै देशमा हाम्रो सानाठुला सङ्गठन छन् । अमेरिका, अस्ट्रेलिया, एसिया प्रसान्त क्षेत्रका चारओटा देश जापान, दक्षिण कोरिया, हङकङ, मलेसिया यी देशमा हाम्रो मजबुत सङ्गठन छ ।
पछिल्लो समय हामीले अस्ट्रेलियामा सङ्गठन निर्माणको गतिलाई तीव्रता दिएका छौँ । त्यहाँ नेपालका सबै ठाउँबाट गएका नेपालीलाई सङगठित गर्ने काममा साथीहरू लागिरहनुभएको छ ।
० विदेशमा रहेका नेपालीहरू ज्ञान, सिप वा पुँजीलाई देशभित्र ल्याउने वातावरण छ अहिले ?
: त्यस्तो वातावरण छैन । नेपालीहरू विदेशमा गएर सिकेको सिप र कमाएको पुँजीलाई यहाँ ल्याउने अवस्था छैन । पढेलेखेका नेपालीहरू विदेश जान्छन्, सिप आर्जन गर्छन्, पैसा कमाउँछन् तर यहाँ लगानी गर्ने ठाउँ छैन किनभने यहाँको सरकार स्थिर छैन । नेपाल सरकार सही तरिकाले चलेको देखिँदैन । कलकारखाना छैन । त्यसकारण दैनिक १५ सय दुई हजार नेपाली बाहिरिरहेका छन् । उता, सिकेर आएपछि जब लगानी गर्ने र आफ्नो सिप प्रयोग गर्ने ठाउँ देखिँदैन । फेरि नेपालीहरू प्रवासतिरै फर्किएको अवस्था पनि छ ।
० गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले विदेशको नागरिकता लिएका नेपालीलाई सङ्गठित गर्छ र उनीहरूको पक्षमा आवाज उठाउँछ, उसले नेपालमा राजनीतिक अधिकार खोजिरहेको पाइन्छ । त्यो सङ्गठनसँग यहाँहरूको कस्तो सम्बन्ध छ ?
:: एनआरएन नेपाली नागरिक होइनन् । उनीहरूले आम नेपालीलाई समेट्न सक्दैनन् । नेपाली नागरिकता र पासपोर्ट त्यागेर विदेशको नागरिकता लिनेहरूले नेपालीको हकहितमा काम गर्न सक्दैनन् । विश्वका कैयौँ देशमा एनआरएनले आफ्नो उद्योगधन्दा चलाएर बस्नुभएको छ तर उहाँहरूले नेपाली मजदुरको पक्षमा वकालत गर्न उनीहरूलाई समेट्न सक्नुहुन्न । उहाँहरू नेपाली नागरिकता त्यागेर त्यहीँको नागरिकता लिएपछि नेपाल र नेपालीको हितमा काम गर्नुहुन्छ भन्ने हुँदैन । हामी त विदेश गएको पैसा कमाउन हो नि । यदी उहाँलाई देशको माया हुने भए किन नेपाली नागरिकता त्याग्नुहुन्थ्यो ?
० उहाँहरूले त नेपालमा नागरिकता र राजनीतिक अधिकारको कुरा गर्नुहुन्छ त ?
:: त्यो गलत हो । नेपालको नागरिकता त्यागेर फेरि यहाँको नागरिकता र राजनीतिक अधिकार माग्नु सही होइन । त्यो विदेशीको ग्राइन्ड डिजाइनमा चलेका हो । त्यसो गर्दा त नेपालमै नेपालीहरू अल्पमतमा पर्ने खतरा रहन्छ ।
कुनै मानिस विदेश जान्छ, नेपालको नागरिकता, पासपोर्ट त्याग्छ र फेरि राजनीतिक अधिकार माग्छ, नागरिकता माग्छ भने त्यस्तो गलत प्रवृत्तिलाई समर्थन गर्न सकिँदैन । यस्तो त संसारभरि कहिँ पनि हुँदैन । नेपाल सरकारले नै हुँदैन भन्नुपर्छ ।
० यहाँले नेपालमा फर्केर लगानी गर्न सक्ने अवस्था छैन भन्नुभयो । प्रवासबाट हेर्दा नेपालको राजनीति कस्तो देखिन्छ ?
:: यहाँको राजनीतिक अवस्था ठिक छैन । भ्रष्टाचार, तस्करी, सुनतस्करी, मानव तस्करी धेरै भइरहेको देखिन्छ । म संसारभरि धेरै देशमा घुमेको छु तर सरकारले आफ्नो जिम्मेवारी पूरा गरेको देखिँदैन । जो सरकारमा गयो, उसले आफ्ना कार्यकर्ता भर्ती गर्ने र पोस्ने गरेको देखिन्छ । नेपालको राजनीतिक अवस्था परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएको देखिँदैन । त्यसकारण आम नेपालीले यहाँको अवस्था देखिँदैन तर प्रवासमा पनि नेपालीलाई राम्रो अवस्था छैन† जस्तो : अहिले अमेरिकामा डोनाल्ड ट्रम्पको उदय भयो । उहाँले आप्रवासीलाई खेद्न थाल्नुभयो । त्यहाँका लागि, त्यो देशको लागि ट्रम्पको नीति राम्रै होला तर आप्रवासी त लखेटिनुपऱ्यो । त्यहाँ दुःखकष्ट गरेर बस्नेको मानवअधिकार त हनन् भयो । त्यसकारण लाखौँ रकम तिरेर प्रवासमा जाने नेपालीले रोजगारीको समस्या, पठनपाठननको समस्यालगायत अनेक समस्या झेल्नुपर्छ । त्यसकारण सबै प्रवासी नेपालीसँग मेरो आग्रह के हो भने अन्तिममा चाहिने आफ्नै देश हो । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने कुरामा म जोड दिन चाहन्छु ।
० नेपालबाट युवाको विदेश पलायन तीव्र रूपमा भइरहेको छ । त्यो कुरा यहाँले पनि भन्नुभयो र आम रूपमा महसुस गरिएको कुरा हो । विदेश पलायन भइरहेका युवालाई फिर्ता गर्न के गर्नुपर्ला ?
:: त्यसका लागि त सरकार नै जिम्मेवार हुनुपर्छ । सरकारले उद्योगधन्दा, खानी खोल्नुपर्छ ।
सरकार स्थायी हुनुपर्छ । मुख्य कुरा देशभित्र रोजगार पाउनुपर्छ । यहाँ रोजगारी पाउनुपर्छ । त्यसका लागि उद्योगधन्दा त चाहियो । संसारभरिकै सरकार जनताप्रति उत्तरदायी हुनुपर्छ । त्यसकारण युवालाई रोक्ने वातावरण नबनाईकन हामीले रोकेर रोकिँदैनन् ।
० अन्तर्राष्ट्रिय नेपाली एकता समाजले विदेशमा रहेका नेपालीलाई आफू बसेकै देशबाट यहाँको संसदीय निर्वाचनमा मतदानका लागि सङ्घर्ष गरिरहेको छ । सर्वोच्च अदालतले पनि यसबारेमा आदेश दिइसकेको छ तर सरकारले किन मतदानको व्यवस्था नमिलाएको हो भन्ने लाग्छ ? विदेशका नेपालीले आफू कार्यरत रहेकै देशबाट मतदान गर्न के कठिनाइ हो जस्तो लाग्छ ?
:: नेपालको आधाजस्तो जनसङ्ख्या विदेशमा रहेको छ । प्रवासमा रहेका सबै नेपालीलाई आफू रहेकै देशबाट मतदानको व्यवस्था मिलाउन हामीले सरकारसँग आग्रह गरिरहेका छौँ । सर्वोच्च अदालतले पनि आदेश दिइसकेको अवस्था छ । त्यसकारण प्रवासी नेपालीले आफू कार्यरत देशबाटै मतदानको व्यवस्था मिलाउन, छिट्टै त्यो प्रक्रिया पूरा गर्न हामी नेपाल सरकारसँग आग्रह गर्दछौँ ।
० प्रसङ्ग अलिकति बदलौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले राजनीतिक रूपमा नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चालाई समर्थन गर्छ । राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ देखि सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलन गर्दैछ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले त्यो आन्दोलनलाई कसरी हेरेको छ अथवा त्यो आन्दोलनमा यहाँहरूको भूमिका कस्तो रहन्छ ?
:: सङ्घीयता भनेको एउटा प्रणाली हो । यसप्रति हाम्रो कुनै दुस्मनी छैन । संसारका धेरै देशमा सङ्घीय प्रणाली छ तर नेपालको हितमा सङ्घीय प्रणाली ठिक छैन भन्नेमा हामी दृढ छौँ । प्रवासमा पनि हामीले यस विरुद्ध सङ्घर्ष गरिरहेका छौँ । राष्ट्रिय जनमोर्चाले आयोजना गरेको सङ्घीयता विरुद्धको काठमाडौँकेन्द्रित आन्दोलनमा हाम्रो ऐक्यबद्धता छ । त्यसका साथै त्यो आन्दोलनलाई सफल पार्न हामीले आर्थिक, नैतिक, भौतिक सहयोग गर्छौं । संसारका विभिन्न देशबाट सङ्घीयता विरुद्धको आन्दोलन सफल पार्न साथीहरू काठमाडौँ आउनुहुन्छ ।
० अब हामी अन्तर्वार्ताको अन्तिम चरणमा छौँ । यहाँले विदेशमा छरिएर रहेका नेपालीलाई अन्तर्राष्ट्रिय नेपाली एकता समाजको तर्फबाट के सन्देश दिन चाहनुहुन्छ ?
: राष्ट्रिय जनमोर्चाले आयोजना गरेको सङ्घीयता विरुद्धको आन्दोलनलाई पनि संसारभरबाट सहयोग र समर्थन गरिदिनहुन पनि म आग्रह गर्छु ।
० हामीलाई समय दिनुभयो । यहाँलाई धेरै धेरै धन्यवाद ।
:: युगदर्शन परिवारलाई पनि धन्यवाद ।
(प्रस्तुति : विद्यानाथ अधिकारी/गोविन्दकुमार शर्मा)