निमबहादुर बुढाथोकी, अध्यक्ष, अखिल नेपाल जनजाति सम्मेलन ##
(युगदर्शन मिडियामा यसपटक अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीसँगको भिडियो अन्तर्वार्ता प्रस्तुत गरिएको छ । बुढाथोकीको राजनीतिक पृष्ठभूमि, जनजाति आन्दोलन, सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित कार्यक्रमलगायतका विषयमा केन्द्रित रहेर युगदर्शन मिडियाका लागि प्रकाश थापामगर र गोविन्दकुमार शर्माले २०८१ माघ २५ गते यो अन्तर्वार्ता लिनुभएको हो । अन्तर्वार्ताको मूल पाठका लागि युगदर्शनको युट्युब च्यानल वाच गर्न अनुरोध छ ।)
० युगदर्शन मिडियामा अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीलाई स्वागत गर्न चाहन्छौँ ।
:: धन्यवाद ।
० आरामै हुनुहुन्छ ?
:: ठिकै छ ।
० आजभोलि के कस्ता गतिविधिमा व्यस्त हुनुहुन्छ ?
:: मुख्य जिम्मा अखिल नेपाल जनजाति सम्मेलनमा भएकाले त्यसैमा व्यस्त छु । त्यसका साथै अन्य सङ्गठनात्मक गतिविधिमा संलग्न छु ।
० यसपटक हामीले तपाईंसित तपाईंको राजनीतिक पृष्ठभूमि, सङ्घीयता विरोधी आन्दोलन, अखिल नेपाल जनजाति सम्मेलनको गतिविधिलगायतका विषयमा कुराकानी गर्नेछौँ । सर्वप्रथम हामीलाई यो बताइदिनुस्, नेकपा (मसाल) को राजनीतिमा कसरी प्रवेश गर्नुभयो ?
:: म बुर्तिबाङको उत्तरगङ्गा माध्यमिक विद्यालयमा पढ्ने गर्दथेँ । गाउँको प्राथमिक विद्यालयमा राजनीति हुँदैनथ्यो तर उत्तरगङ्गामा प्रशस्त राजनीतिक गतिविधि हुन्थ्यो, खासगरी कम्युनिस्ट पार्टी र काङ्ग्रेसको गतिविधि । त्यस्तै, त्यहाँ नेपाल विद्यार्थी सङ्घ र अखिल (छैठौं) को गतिविधि बढी हुन्थ्यो ।
त्यो स्कुलमा अहिले हामीसँगै रहनुभएका भागिरथ भट्टराईले भूगोल पढाउनुहुन्थ्यो, अर्का हाम्रा प्रशिक्षक दुर्गानाथ खरेलले कृषिविषय पढाउनुहुन्थ्यो । दिउसो हामी स्कुलमा पढ्थ्यौँ, बेलुका छात्रावासमा उहाँहरूले राजनीतिक क्लास, प्रशिक्षण दिनुहुन्थ्यो । त्यति बेला निरङ्कुश पञ्चायतीकाल थियो । उहाँहरूले मोहनविक्रम सिंह बोल्नुभएको अडियो क्यासेट हामीलाई सुनाउनुहुन्थ्यो । मोहनजीको छिटो छिटो बोली नबुझिने, बुझेपछि भने प्रभाव पर्ने गर्दथ्यो । त्यसै क्रममा उहाँहरूले हामीलाई कमिटेड गर्नुभयो ।
सायद भट्टराई र खरेलको सक्रियता नभएको भए काङ्ग्रेस भइन्थ्यो कि नेविसङ्घ, त्यो थाहा छैन । उहाँहरूको प्रशिक्षणले मलाई कम्युनिस्ट पार्टीप्रति आकर्षण बढायो, त्यसमध्ये पनि मलाई अखिल (छैठौं) र नेकपा (मसाल) प्रति आकर्षण बढ्यो । त्यसैले उत्तरगङ्गा माविमा पढ्दा म अखिल (छैठौं) मा सङ्गठित भएँ ।
काङ्ग्रेसको गतिविधि पनि देखेकाले काङ्ग्रेसभन्दा कम्युनिस्ट नै ठिक रहेछ भन्ने मलाई लाग्यो । कम्युनिस्ट पार्टीले नै शोषण, दमन, अन्याय, अत्याचारको विरोध गर्दो रहेछ । त्यसैले यो पार्टी नै ठिक हो भन्ने लाग्यो ।
० तपाईं जनजाति वा मगर समुदायको मान्छे । मगर समुदायका युवकहरू धेरैजसो सेनामा भर्ती हुने गर्दछन् । तपाईंलाई सेनामा भर्ती नभएर राजनीतिमा लाग्यो भनेर परिवारमा अप्ठ्यारो पारिएन ?
:: मेरो ठुलो बाको छोरा (दाइ) भारतीय सेनाको क्याप्टेन हुनुहुन्थ्यो तर उहाँसँग मेरो अन्तरविरोध भयो । म प्रावि, निमाविमा पढ्दा उहाँले मलाई आर्थिक सहयोग गर्नुहुन्थ्यो तर उहाँ राप्रपा समर्थक हुनुहुन्थ्यो । राप्रपाका जितबहादुर कुँवरले पटक पटक त्यस ठाउँबाट चुनाव जित्नुहुन्थ्यो । हाम्रो खलकले जितबहादुरसँग मित लगाएकाले उहाँलाई मितबा भन्थ्यौँ । उनले मलाई सहयोग गर्ने तर मैले कम्युनिस्ट राजनीति गर्ने हुँदा परिस्थिति अप्ठ्यारो बनेको थियो : दाइले राप्रपाको राजनीति गर्ने, मैले कम्युनिस्टको पनि मसालको राजनीति गर्ने ।
चुनावको बेलामा मैले जनमोर्चालाई भोट हाल्नुपर्छ भन्ने, दाइले राप्रपामा भोट हाल्नुपर्छ भन्ने अवस्था भयो । पछि दाइ सैन्य सेवाबाट रिटायर भएर गाउँमा आउनुभयो । पारिवारिक मामिलामा हामी दाइसँगै थियौँ तर राजनीतिक रूपमा दाइ र ममाझ अन्तरविरोधको अवस्था थियो । दाइले तँलाई मैले यतिका आर्थिक सहयोग गर्ने, तैँले मलाई समर्थन नगर्ने भन्नुहुन्थ्यो । मैले राजनीतिक कुरा फरक हो, पारिवारिक रूपमा हामी सँगै छौँ, तपाईंको विचारमा कन्भिन्स भए म तपाईंतिर जाउँला, मेरो विचारमा कन्भिन्स हुनुभयो भने तपाईं मेरो पार्टीमा आउनुहोला, त्यसैले मैले गरेको राजनीतिक ठिक छ, म त्यही राजनीति गर्छु भन्थेँ ।
एक दिन त दाइले जितबहादुर कुँवरसित मलाई राजनीतिबाट छोडाइदिनुपऱ्यो, यसलाई जागिर लगाइदिनुपऱ्यो भन्ने कुरा गर्नुभएछ । दाइले तैँले जितबहादुर कुँवरलाई गएर भेट्, उहाँले तँलाई जागिर लगाइदिन्छन् भन्नुभयो तर मैले त्यस्तो हुन्न, जागिर गर्ने मेरो मनसाय पनि छैन, म राजनीतितिर लागिसकेँ भनेर जबाफ दिएँ । मैले दाइको कुरा मानिनँ । पछि चुनावमा दाइसित झगडा भयो । एक छिन त दाइसित मेरो घरबाराबार नै भयो । म दाइको घर नजाने, दाइ मेरो घर नआउने । बोलचाल पनि भएन । उहाँ कहिलेसम्म बोल्नुहुन्न भनेर मैले सोचिरहेको थिएँ । करिब छ/सात महिनापछि मात्र उहाँ आफै बोल्नुभयो । पछि हामी दुवैले आआफ्नो राजनीति गर्ने भन्ने सल्लाह भयो ।
मेरो गाउँमा बढी राप्रपा समर्थक थिए त्यति बेला । तिनीहरूको राजनीतिक भण्डाफोर गर्ने काम हुन्थ्यो । राजनीतिक रूपमा उनीहरूले ठोस निर्णय गर्न सक्दैनथे, जसले जे भन्छ, त्यतै लाग्ने गर्दथे । उनीहरूले मसित तेरो पार्टी सानो छ भन्थे । मैले भोलि मेरो पार्टी पनि ठुलो हुन सक्छ भन्दथेँ । यस्तो छलफल भइरहन्थ्यो ।
० तपाईंले अखिल (छैठौं) बाट राजनीति सुरु गर्नुभयो । अहिले अखिल नेपाल जनजाति सम्मेलनको अध्यक्ष हुनुहुन्छ । यसबिचमा तपाईंले काठमाडौँमा ट्रेड युनियनमा काम गर्नुभयो । यसबिचमा कुन कुन सङ्गठनमा काम गर्नुभयो ? के कस्ता भूमिका निर्वाह गर्नुभयो ?
:: काठमाडौँ आउनुभन्दा पहिले बागलुङमा मैले सांस्कृतिक मोर्चामा काम गरेँ । अहिले एक जना साथी हुनुहुन्छ, हीरा केसी भन्ने, उहाँले बागलुङबजारमा क्यासेटको पसल गर्नुहुन्थ्यो । त्यति बेला हामीले बागलुङबजारभरि रक्तिमका गीत बजाउन लगाउथ्यौँ । मेरो समयमा बागलुङभरिका २५/३० ओटा रक्तिम सांस्कृतिक अभियानको टोलीमाझ प्रतिष्पर्धा गराएका थियौँ । ती टोलीमा सामेल भएर हामी बागलुङभरि, छिमेकी जिल्ला पर्वत, म्याग्दी, गुल्मीसम्म हामी आउँथ्यौँ । मलाई लाग्छ, रक्तिम बागलुङको पहिलो सम्मेलनबाट म सचिव भएको थिएँ । हीरा केसी अध्यक्ष हुनुभयो । निलिमा पुन कोषाध्यक्ष हुनुहुन्थ्यो । हामीले तीन दिनसम्म रक्तिमको सम्मेलन गरेका थियौँ त्यतिखेर ।
जीवन शर्माको त्यतिखेर एमालेमा जाने तयारी रहेछ । त्यतिखेर मैले कार्यक्रम सञ्चालन गर्ने जिम्मा पाएको थिएँ । गलकोट स्कुलमा विशाल जनमानसमाझ सांस्कृतिक प्रतियोगिता चलिरहेको थियो । रक्तिमको क्यासेटमा एउटा गीत छ, “मसाल आयो” । त्यो गीत मसालको कि रक्तिमको भन्ने छलफल चल्थ्यो त्यति बेला । मैले त्यो कार्यक्रममा “मसाल आयो” गीत मसालकै हो भनेपछि जीवन शर्माले मेरो हातबाट माइक खोस्नुभयो । त्यस घटनाबारे बागलुङमा छलफल पनि चलेको थियो । रक्तिमको केन्द्रीय अध्यक्षले यस्तो गर्दा मलाई अचम्म लाग्यो । केही समयपछि मैले रक्तिमको सङ्गठन छोडेँ ।
त्यतिखेर मैले बागलुङ जिल्लामा होलटाइमरको रूपमा काम गरिरहेको थिएँ । परि थापा चुनाव जितेर काठमाडौँ आउनुभएको थियो । हाम्रो पार्टीको महामन्त्री हुनुहुन्थ्यो रामसिंह श्रीस । रामसिंहजीले मलाई तीन महिनाका लागि स्वयम्सेवकको रूपमा काठमाडौँ जानुपऱ्यो भयो, अखिल नेपाल जनजाति सम्मेलनको पहिलो अधिवेशन प्रचारका लागि भन्नुभयो । मैले हुन्छ भनेँ । रामसिंहले परि थापाको नाममा चिठी लेखेर दिएपछि म काठमाडौँ आएँ । यहाँ आएर महाधिवेशन सम्पन्न गर्नका लागि स्वयम्सेवकीय भूमिका निर्वाह गरेँ ।
जनजाति सम्मेलनको महाधिवेशन सम्पन्न भइसकेपछि मलाई काठमाडौँमै बस्ने भनिएको थियो । यहाँ आएर राष्ट्रिय जनमोर्चाको काठमाडौँ जिल्ला अध्यक्ष भएर काम गरेँ । त्यसपछि पार्टीले मलाई मजदुर मोर्चा कमजोर भयो, त्यसैले त्यसमा काम गर्नुपर्ने भयो भन्यो । मजदुर मोर्चामा काम गर्न अध्ययनलार्ई बढाउनुपर्ने हुन्थ्यो । तैपनि मैले हुन्छ भनेँ । त्यसपछि मैले अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) को केन्द्रीय सदस्य भएर काम गरेँ ।
पछि नेकपा (मसाल) र नेकपा (एकताकेन्द्र) मिलेर एकताकेन्द्र–मसाल भइसकेपछि पनि मैले मजदुर सङ्गठनमा काम गरेँ । त्यति प्रेम सुवेदी अन्टुकको केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो । जयबहादुर कार्की महासचिव हुनुहुन्थ्यो । मैले कार्यालय सचिव भएर काम गरेको थिएँ । यस क्रममा मजदुरको ज्याला नपाउनेलगायत समस्यामा साहुको सामना गर्ने काम हुन्थ्यो । त्यस क्रममा नयाँ ठाउँमा जिम्मा लिए पनि सकिँदो रहेछ भन्ने भयो ।
मजदुर मोर्चामा काम गरिसकेपछि जनजाति सम्मेलनमै फर्केर काम गर्ने कुरा भयो । त्यति बेला २०६२–६३ सालको आन्दोलन चलिरहेको थियो । त्यति बेला जनजाति सम्मेलनको तत्कालीन नेतृत्व परि थापा, केबी गुरुङले सङ्गठनलाई समस्या पार्नुभएको थियो । उहाँहरू जनजाति सम्मेलनको नीति, सिद्धान्त, अनुशासनको विरुद्ध जानुभयो । त्यसपछि राष्ट्रिय भेला धरानमा गर्नुभयो । त्यसपछि सबैभन्दा अप्ठ्यारो परिस्थिति जनजाति सम्मेलनमा पऱ्यो । त्यति बेला एक जना केबी थापा, अर्का कैलालीका खडक रानाथारू मात्रै जनजाति सम्मेलनको केन्द्रमा बाँकी रहनुभयो, पूरै सङ्गठन तहसनहस भएको थियो । यस्तो अवस्थामा जनजाति सम्मेलनलाई बचाई राख्नुपर्दछ भन्ने विषयमा मोहनजीसित कुराकानी भयो । जिल्लामा सङ्गठन ठिकै छ, केन्द्रमा नेतृत्व गर्नेको समस्या छ भन्ने कुरा आएपछि अन्टुक छोडेर जनजाति सम्मेलनको नेतृत्व गर्ने कुरा भयो ।
० तपाईं जनजाति सम्मेलनको अध्यक्ष हुनुहुन्छ । यतिखेर आदिवासी जनजातिका मुख्य समस्या के हुन् ?
:: नेपाल एउटा बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश हो । नेपालमा हामीजस्तै आदिवासी जनजातिको नाममा काम गर्ने अरू पनि सङ्गठन छन् । उनीहरूमध्ये कैयौँ एनजिओ/आइएनजिओबाट चलिरहेका छन् । आदिवासी जनजातिहरू आर्थिक, सामाजिक, भाषिक, सामाजिक, सांस्कृतिक रूपमा पछि परेका छन् । उनीहरू आफ्नो हक, हित र अधिकारप्राप्तिका लागि सङ्गठित हुनुपर्छ । त्यसका लागि सही सिद्धान्त र राजनीति भएको जनजाति सङ्गठन चाहिन्छ भन्ने छ । यो विचारलाई मसालनिकटको जनजाति सम्मेलनले नेतृत्व गरिरहेको छ ।
अहिले नेपालका केही जनजाति सङ्गठनको व्याख्या सरकारले स्वीकार गरेको छ अथवा मान्यता दिएको छ । यो व्याख्याको आधारमा विदेशी शक्तिकेन्द्रले नेपालका जनजातिलाई उपयोग गरिरहेका छन् । नेपालमा जनजाति शोषित, उत्पीडित छन् भन्ने कुरामा उनीहरूले ध्यान दिएका छैनन् ।
नेपालमा आदिवासी र जनजातिको गलत व्याख्याविश्लेषण गरिएको छ । यस क्रममा आदिवासी र जनजाति एउटै हुन् भन्ने गरिएको छ । यही विचारलाई जनजाति सङ्गठन र सरकारले स्वीकारेका कारण उनीहरूको समस्या समाधान हुन सकिरहेको छैन । आदिवासी भनेको फरक हो । जनजाति भनेको फरक हो । आदिवासी भनेका सुरुदेखि नेपालमा बसोबास गर्दै आएका हुन्; जस्तै : गुरुङ, मगर, राई, लिम्बू, भोटे, शेर्पा, छन्त्याल आदि । मानव विकास सूचकाङ्कको आधारमा अध्ययन गरेर उनीहरूको माथि उठाउनुपर्दछ । उनीहरूको छुट्टै प्रकारको भाषा, संस्कृति, संस्कार छन् । कुनै देशमा सामाजिक, आर्थिक, राजनीतिक रूपमा पछि परेका र छुट्टै पहिचान भएका जातिलाई जनजाति भनिन्छ । उनीहरूलाई राज्यको मूलप्रवाहमा ल्याउन सही प्रकारको सिद्धान्त र राजनीति चाहिन्छ । त्यो सिद्धान्त हाम्रो जनजाति सम्मेलनले अपनाएको छ । नेपालमा आदिवासी जनजातिको सवालमा हाम्रो सङ्गठनले सही प्रकारले व्याख्याविश्लेषण गरेको छ ।
अर्कोतिर, नेपालका जनजातिलाई विदेशी साम्राज्यवादीले एनजिओ, आइएनजिओमार्फत् जातिवादी, साम्प्रदायिक दृष्टिकोणबाट उपयोग गरिरहेका छन् । उनीहरूलाई आफ्ना राजनीतिक अधिकारको क्षेत्रमा अगाडि बढ्न दिएका छैनन्; जस्तो : गुरुङले गुरुङको कुरा गरिदिए हुन्छ । मगरले मगरको कुरा गरिदिए हुन्छ । हाम्रो कुरा के हो भने गुरुङ, मगर, राई, लिम्बूभित्र पनि शोषक र शोषित वर्ग छ । त्यसैले वर्गसङ्घर्षद्वारा उनीहरूको समस्या समाधान हुन्छ भन्ने हाम्रो मान्यता हो तर जातिवादी सङ्घसंस्थाले हामीले जातीय कुरा मात्रै गरे हुन्छ; राजनीतिक कुरा गर्नुपर्दैन; उनीहरूलाई अधिकार दिनुपर्दैन; उनीहरूका समस्या समाधान गर्नुपर्दैन भन्ने जातिवादी र साम्प्रदायिक कुरा गर्दछन् । नेपालका जनजातिलाई त्यही कुराले छुन्छ । त्यसले गर्दा जनजातिको वास्तविक मुक्ति प्राप्त गर्ने उद्देश्य पूरा हुन सकेको छैन । यसरी नेपालको जनजाति आन्दोलनलाई कमजोर अवस्थामा पुऱ्याउने स्थिति भएको छ । त्यसका लागि सही राजनीति, सही विचार, सही दृष्टिकोण भएको सङ्गठन चाहिन्छ । त्यो सङ्गठनको नेतृत्व अखिल नेपाल जनजाति सम्मेलनले गर्दछ ।
० २०७२ सालको संविधानले समावेशिताको व्यवस्था गरेको छ । त्यसपछि त जनजातिको समस्या समाधान भयो होला नि त । के लाग्छ तपाईंलाई, संविधान जारी भएपछिको अवस्थामा आदिवासी जनजातिको अवस्थामा सुधार आएको हो ?
:: २०६२–६३ सालको जनआन्दोलनले आदिवासी जनजातिका केही माग सम्बोधन गरेको छ† जस्तो : हाम्रो सङ्गठनले धर्मनिरपेक्षताको विषय उठायो । नेपाल बहुभाषिक, बहुधार्मिक मुलुक हो तर नेपालमा हिन्दु धर्म, संस्कार, संस्कृति लाद्ने गरिएको छ । नेपाल धर्मनिरपेक्ष हुनुपर्दछ भनेर हाम्रो सङ्गठनले सबैभन्दा पहिला उठाएको हो । संविधानले धर्मनिरपेक्षताको माग पूरा गरिदियो । हाम्रो एउटा माग पूरा भयो ।
समावेशिता त धेरै राम्रो कुरा हो । सबै माग त पूरा भएको छैन तर पञ्चायतकालभन्दा, राजाको शासनकालभन्दा यथेष्ट वा पूरा नभए पनि अहिलेको गणतान्त्रिक व्यवस्थाले हाम्रा केही माग सम्बोधन गरेको छ । समावेशिताको कारणले केन्द्र, प्रदेश र स्थानीय तहमा महिला, आदिवासी, जनजाति, मधेसी, दलितको सहभागिता बढेको छ । समावेशिताले आदिवासी जनजातिलाई मूलप्रवाहमा ल्याउने मार्गप्रशस्त गरेको छ ।
अहिले गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताजस्ता उपलब्धिलाई ध्वस्त पार्ने षड्यन्त्र विदेशी शक्तिकेन्द्रले गरिरहेका छन् । यी उपलब्धिलाई बचाउँदै हामी अझै अगाडि बढ्ने हो । आदिवासी जनजाति समस्याको समाधान मूलतः यो व्यवस्थाले गर्न सक्दैन, त्यसका लागि अगाडि जानुपर्ने हुन्छ । त्यसका लागि थप आन्दोलन गर्नुपर्दछ । नयाँ जनवादी क्रान्तिले मात्रै नेपालका आदिवासी जनताको वास्तविक समस्या समाधान गर्न सक्दछ । तैपनि प्राप्त उपलब्धिलाई रक्षा गर्दै जनजाति आन्दोलनलाई अगाडि बढाउने हाम्रो उद्देश्य रहेको छ ।
० पछिल्लो समयमा जनजातिलाई अधिकार दिइएपछि जातिवाद बढ्दै गएको हो कि जस्तो देखिन्छ† जस्तो : पूर्वमा कोशी प्रदेशको कुरा गरौँ, पाथीभरा केबलकार सन्दर्भमा मुकुम्लुङको कुरा गरौँ । अधिकार बढी दिएर यस्तो अवस्था आएको हो वा त्यसका पछाडि अरू कुनै कारण छन् ।
:: अधिकार पाइयो भन्दैमा जे पनि गर्ने तरिका गलत हो । अहिले पनि पूर्वमा कोशी प्रदेश राख्नुहुन्न भनेर ठुलो आन्दोलन चलिरहेको छ । त्यो त्यहाँका जनताले भन्दा पनि अरूले उचालिदिएका कारणले चलेको हो ।
नेपालमा त्यस्तो भइरहन्छ । विदेशी शक्तिकेन्द्रहरूले पटक पटक नेपालका राजनीतिक पार्टीलाई परीक्षण गरिसके । अहिले विदेशी शक्तिकेन्द्रले जनजातिलाई उचालेपछि उनीहरू आपसमा लड्छन्, हामीले आफ्नो स्वार्थ पूरा गर्न सक्छौँ भन्ने कुरा आएको छ ।
केबुलकारको कुरामा पनि पूर्वतिरका साथीहरूलाई विदेशीले उचालेकोजस्तो देखिन्छ । पाथीभरा केबलकारको सवालमा भाषा, संस्कृति रक्षा गर्नुपर्छ भन्ने सवालमा त विवादै छैन तर संरक्षणसँगै विकास पनि गर्नुपऱ्यो । जनजातिहरू सधैँ जनजाति भइरहने कुरा होइन, उनीहरू राज्यको मूल प्रवाहमा आउनेछन् । केबलकारको विकास भयो भने त्यहाँको भाषा, धर्म, संस्कृति अरूले पनि हेर्न सक्छन् । उनीहरूको आर्थिक विकास हुन्छ । यसबारेमा पूर्वका साथीहरूले बेलैमा ध्यान दिनुपर्दछ । त्यो क्षेत्रका सांसद र बौद्धिक क्षेत्रका साथीमाझ यस विषयमा छलफल चलाएर निर्णय गरिनुपर्दछ । केबुलकार निर्माणमा गरिने अवरोधले विश्वमा नकारात्मक सन्देश जान सक्छ ।
० तपाईं मगर समुदायबाट हुनुहुन्छ । २०७८ सालको जनगणनाले मगरहरू एकल जातीय जनसङ्ख्यामा तेस्रो र जनजातिमध्ये पहिलो २० लाखको हाराहारी छन् । तपाईं जुन ठाउँमा जन्मनुभयो, त्यो बाह्रमगरात र अठारमगरातको बोर्डर लाइनमा पर्दछ । तपाईं त्यहाँको संस्कार, संस्कृतिलाई कसरी बुझ्नुभएको छ ?
:: बागलुङ, रोल्पा, रुकुम जनजातिहरूको बाहुल्यता भएको ठाउँ हो । त्यहाँ मगर, गुरुङका अत्यन्त राम्रा संस्कार, संस्कृति छन् । त्यसलाई संरक्षण गर्नुपर्छ तर अहिले भूमण्डलीकरणको जमानामा यी संस्कार, संस्कृतिको दुरुपयोग भइरहेको छ । भाषासंस्कृति जोगाउनुपर्छ भन्ने नाममा जे पनि गरिदिने—यस्तो खालको प्रवृत्ति विकास भएको छ । आफ्ना, भाषा, संस्कृति जोगाउनुपर्छ भन्ने एउटा कुरा हो तर त्यसमा गलत प्रचलन चलाउनुभएन । त्यसलाई रोक्नैपर्दछ ।
मैले भन्नुपर्ने कुरा यो हो, बागलुङको पनि निसी, भुजी, तमानखोलाका जुन मगर समुदाय छन्, उनीहरूले आफ्ना भाषा, संस्कृति संरक्षण गर्ने नाममा दुरुपयोग गर्नुभएन । हाम्रो त्यो क्षेत्रको राम्रा संस्कार, संस्कृतिलाई विकास गर्न त्यो क्षेत्रका जनजाति नै अगाडि आउनुपर्दछ । त्यहाँका साथीहरू शिक्षित हुनुपर्दछ । सही राजनीतिमा अगाडि आउनुपर्दछ । भाषिक रूपमा अगाडि आउनुपर्दछ तर त्यहाँ पनि राजनीतिक दलहरूले मगरलाई भऱ्याङ बनाउँछन् । त्यसो नहोस्, त्यसका लागि त्यहाँकै मगरहरू अगाडि आउन् भन्ने मेरो आग्रह र चाहना हो ।
० अब अलिकति सङ्घीयताको विषयमा कुराकानी गर्न चाहेँ । तपाईंहरूको सङ्गठनले पनि सङ्घीयताको विरोध गरेको छ । सङ्घीयताका पक्षधरले जनतामाझ भनिरहेका छन्, एकात्मक व्यवस्थाले तपाईंहरूको राज्य खोसिदियो, सङ्घीयताले अब तपाईंहरूलाई राजा बनाउँछ । जनजातिको हकहित, अधिकार, मुक्तिउत्थान र सङ्घीयता—यसको बिचमा के सम्बन्ध छ ?
:: सङ्घीयताको राष्ट्रिय जनमोर्चा र हाम्रो सङ्गठनले सुरुदेखि नै विरोध गर्दै आइरहेको छ । नेपालमा सङ्घीयताको बारेमा मिठा मिठा कुरा गरिन्छ । सङ्घीयताले विकेन्द्र्रीयता ल्याइदिन्छ, विकास गरिदिन्छ भन्ने गलत प्रकारको भावना फैलाइएको छ तर सङ्घीयता भारतले मधेसवादी दलमार्फत बोकाइएको व्यवस्था हो । यहाँका जनजातिको हितको पक्षमा नभएकाले यसलाई खारेज गर्नुपर्दछ भन्ने कुरा हामीले पहिलेदेखि नै भन्दै आएका छौँ । जातीय सद्भाव कायम राख्नुपर्दछ भनेर हामीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हामीले अभियान चलाउँदै आएका छौँ । हामीले प्रजातान्त्रिक विकेन्द्रीयतामाथि आधारित स्थानीय स्वायत्त शासनको माग गरिरहेका छौँ । पूर्वको अभियानमा हामीमाथि आक्रमण पनि गर्नुभयो । राष्ट्रिय जनमोर्चाका नेताकार्यकर्तामाथि पनि आक्रमण गरे । हामीले त्यसको प्रतिकार गऱ्यौँ ।
नेपाल सानो मुलुक हो । यसले सङ्घीयतालाई धान्न सक्दैन । सङ्घीयता केन्द्र्रले राज्यसत्ता सञ्चालन गर्न नसक्ने ठुला देशको छुट्टिएका भूभागलाई एकीकृत बनाउनका लागि आएको हो । सिद्धान्ततः हामी सङ्घीयताको विरोधी होइनौँ तर नेपालको सन्दभैमा कुनै पनि दृष्टिकोणबाट सङ्घीयताको कार्यान्वयन गर्नु सम्भव छैन । सङ्घीयताले जातजातिको माझमा द्वन्द्व बढाउँछ । सङ्घीयता युरोपियन युनियनको यहाँका जातजातिलाई आपसमा लडाउने उद्देश्यका साथ आएको हो । यो कुरा नेपालका जनताले बुझेका छैनन् ।
हामीले सङ्घीयता विरोधी अभियान लिएर जाँदा पूर्वतिरका राई, लिम्बुहरूले भने– अरू जाति चलाक छन, राज्य माग्ने कुरा गर्दछन् तर मगर जाति कमजोर छ । हामीले भन्यौँ, तपाईंहरूले गलत कुरा बुझ्दै हुनुहुन्छ । उनीहरूले हाम्रा झन्डाब्यानर च्यातेर हामीलाई त्यहाँबाट जान भने तर हामी पछि हटेनौँ । हामीले जातजातिको सामाजिक सद्भाव कायम राख्न वा देशको भौगोलिक अखण्डता बचाउनका लागि हामी आएका हौँ भन्ने कुरा राख्यौँ ।
अहिले चैत २४ देखि ३० गतेसम्म राष्ट्रिय जनमोर्चाले आयोजना गरेको काठमाडौँकेन्द्रित आन्दोलनप्रति जनजाति सम्मेलनले ऐक्यबद्धता जनाएको छ । देशैभरिका जिल्लाबाट त्यो आन्दोलनमा आदिवासी जनजातिलाई समावेश गराएर त्यो आन्दोलनलाई सफल बनाउनुपर्दछ भनेका छौँ ।
० तपाईंहरूले सङ्घीयताको अलि छिटो विरोध गर्नुभयो भन्नेहरू पनि एकथरी मान्छे छन् । सङ्घीयता लागु भएको जम्माजम्मी सात वर्ष भयो । प्रदेशका लागि कैयौँ कानुन बन्न बाँकी छ । राज्यशक्तिको बाँडफाँट पनि बाँकी छ तर तपाईंहरूले यो सात वर्षको अवधिमै के देखेर सङ्घीयताको विरोध गर्नुभयो ?
:: यो सात वर्षको अवधिमा हामीले धेरै कुरा देख्यौँ । हाम्रो धारणा त यो हो : केन्द्र र स्थानीय तह भए पुग्छ, प्रदेश सरकार अनावश्यक रूपमा छ । हाम्रो भौगोलिक संरचना सानो र आर्थिक रूपमा कमजोर छ । सेना, प्रहरी, सांसद, कर्मचारी पाल्न हामीलाई धौ धौ परिरहेको छ । प्रदेशको सरकार पनि केन्द्रले सहयोग दिए चल्न सक्छ, नत्र सक्दैन । प्रदेशलाई दिने बजेट स्थानीय तहलाई दिने हो भने यहाँ विकास हुन्छ । त्यसैले प्रदेश सरकार अनावश्यक बोझ हो ।
काठमाडौँ कीर्तिपुरको एउटा घटना म सुनाउन चाहान्छु । कीर्तिपुर “नेवा” भूमिभित्र पर्दछ । त्यहाँका नेवारले भने– त्रिभुवन विश्वविद्यालय नेवा भूमिभित्र परेका कारणले यहाँ सबै नेवार कर्मचारी हुनुपर्दछ, अरू क्षेत्रीबाहुन कोही हुन हुन्न । यही विषयलाई लिएर त्यहाँ तोडफोड भएको थियो ।
अर्कोतिर, मधेसमा पहाडी ड्राइभरले गाडी चलाउन पाएनन् । पहाडबाट मधेस झरेका पहाडी ड्राइभरलाई कुटपिट गरेर लखेटियो । यो मधेस प्रदेश हो, यहाँ पहाडीहरू बस्न पाउन्नौँ भनियो ।
त्यस्तै, हिमाल र पहाडबाट तराई झरेका जातजातिलाई बसिनसक्नु थियो । पहाडी समुदायका जातजातिलाई लखेट्ने अभियान चलेको थियो । त्यतिखेर उनीहरूले सस्तोमा जग्गाजमिन बेचेर पहाड भागेका थिए ।
हाम्रो नेपाल हिमाल, पहाड र तराईका विभिन्न जातजाति मिलेर बनेको छ । भारतले काकडभित्तादेखि कञ्चनपुरसम्म एक मधेस प्रदेश बनाउन खोजेको थियो । हाम्रो आन्दोलनले त्यस्तो हुन दिएन । मधेसलाई छिटोभन्दा छिटो भारतमा गाभ्ने उद्देश्य लिएर सङ्घीयता आएको हो । यो नेपालको हितमा छैन । यसलाई खारेज गर्नुपर्दछ । हामीले जातजातिको माझमा द्वन्द्व हुन दिनुहुन्न ।
सङ्घीयताको सन्दर्भमा विदेशी शक्तिराष्ट्रका तीनओटा स्वार्थ छन् । एउटा स्वार्थ नेपाल जलस्रोतले धनी देश हो । भारतलाई नेपालको नदीनाला चाहिएको छ, अन्न उत्पादन गर्न, सिँचाइ गर्न । त्यसैले नेपालको जलस्रोतमाथि भारतको गिद्देदृष्टि छ । दोस्रो कुरा नेपालको कम्युनिस्ट जनमतलाई ध्वस्त बनाउन सङ्घीयता आएको हो । त्यस क्रममा कम्युनिस्ट पार्टीहरूलाई चिराचिरा बनाउने काम भइरहेको छ । विदेशी शक्तिराष्ट्रहरू यस्तै चाहान्छन् । अन्य देशमा पनि यस्ता प्रयत्न भइरहन्छन् । तेस्रो कुरा अमेरिकाले नेपालको भूमि प्रयोग गरेर चाइना हान्न चाहान्छ । त्यसका लागि नेपालका जातजातिलाई उचाल्नुपर्दछ । यहाँका जातजाति आपसमा लडेपछि यहाँ सेनापुलिस आउँछन् । त्यसपछि चाइना हान्न सजिलो हुन्छ ।
० अब हामी अन्तर्वार्ताको अन्ततिर छौँ । काठमाडौँकेन्द्रित आन्दोलनको तयारी तपाईंहरूको आफ्नो स्तरबाट कसरी चलिरहेको छ, उपत्यकाभित्र र बाहिर ?
:: उपत्यकाबाहिर जिल्लामा भेला, प्रशिक्षण, क्लास, जुलुस, मोटरसाइकिल ऱ्याली, आफ्नो क्षेत्रबाट जे गर्न सकिन्छ, गरिरहनुभएको छ । यतिखेर सङ्घीयता विरोधी वातावरण चलिरहेको छ । साथीहरूमा उत्साह छ । राष्ट्रिय जनमोर्चाको तर्फबाट स्थानीय स्तरसम्मै कार्यक्रम चलिरहेको छ । काठमाडौँभित्र पनि राजमोको तर्फबाट कैयौँ कार्यक्रम सम्पन्न भइरहेको छ । आन्तरिक रूपमा बैठक, भेला, प्रशिक्षण चलिरहेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा माघ महिनाभित्र थुप्रै कोणसभा सम्पन्न भइसकेका छन् । फागुन महिनामा फेरि थप कार्यक्रम बनाउनेछौँ । यो कार्यक्रम सफल पार्नका लागि सबै तहतप्काका साथीसित सहयोग, समर्थन गर्न अनुरोध गरेका छौँ । विभिन्न पेसाव्यवसाय गर्ने साथीहरूलाई एक हप्तासम्म त्यो आन्दोलनमा सहभागी हुन समय छुट्याउन अनुरोध गरेका छौँ । काठमाडौँ उपत्यकाका विभिन्न उद्योगीव्यवसायीसँग भेटघाट गरेर आर्थिक, नैतिक सहयोगका लागि अपिल गर्ने काम भइरहेको छ । यसपछि रक्तिम सांस्कृतिक अभियानको सडक सांस्कृतिक अभियान सञ्चालन गर्ने योजना रहेको छ ।
० युगदर्शनलाई समय दिनुभयो, त्यसका लागि धन्यवाद छ ।
:: धन्यवाद छ मेरोतर्फ बाट पनि । युगदर्शनले आफ्ना कुरा राख्ने अवसर दिनुभयो । त्यसका लागि युगदर्शन परिवारलाई अखिल नेपाल जनजाति सम्मेलनको तर्फबाट धेरै धेरै धन्यवाद छ ।