• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

जातजातिमाझ द्वन्द्व भड्काउन शक्तिकेन्द्रले सङ्घीयता लादेका हुन् (भिडियो अन्तर्वार्ता)


  •   सोमबार, माघ २८, २०८१ मा प्रकाशित
  • निमबहादुर बुढाथोकी, अध्यक्ष, अखिल नेपाल जनजाति सम्मेलन ##

    Advertisement

    (युगदर्शन मिडियामा यसपटक अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीसँगको भिडियो अन्तर्वार्ता प्रस्तुत गरिएको छ । बुढाथोकीको राजनीतिक पृष्ठभूमि, जनजाति आन्दोलन, सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित कार्यक्रमलगायतका विषयमा केन्द्रित रहेर युगदर्शन मिडियाका लागि प्रकाश थापामगर र गोविन्दकुमार शर्माले २०८१ माघ २५ गते यो अन्तर्वार्ता लिनुभएको हो । अन्तर्वार्ताको मूल पाठका लागि युगदर्शनको युट्युब च्यानल वाच गर्न अनुरोध छ ।)

    ० युगदर्शन मिडियामा अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीलाई स्वागत गर्न चाहन्छौँ ।

    :: धन्यवाद ।

    ० आरामै हुनुहुन्छ ?

    :: ठिकै छ ।

    ० आजभोलि के कस्ता गतिविधिमा व्यस्त हुनुहुन्छ ?

    :: मुख्य जिम्मा अखिल नेपाल जनजाति सम्मेलनमा भएकाले त्यसैमा व्यस्त छु । त्यसका साथै अन्य सङ्गठनात्मक गतिविधिमा संलग्न छु ।

    ० यसपटक हामीले तपाईंसित तपाईंको राजनीतिक पृष्ठभूमि, सङ्घीयता विरोधी आन्दोलन, अखिल नेपाल जनजाति सम्मेलनको गतिविधिलगायतका विषयमा कुराकानी गर्नेछौँ । सर्वप्रथम हामीलाई यो बताइदिनुस्, नेकपा (मसाल) को राजनीतिमा कसरी प्रवेश गर्नुभयो ?

    :: म बुर्तिबाङको उत्तरगङ्गा माध्यमिक विद्यालयमा पढ्ने गर्दथेँ । गाउँको प्राथमिक विद्यालयमा राजनीति हुँदैनथ्यो तर उत्तरगङ्गामा प्रशस्त राजनीतिक गतिविधि हुन्थ्यो, खासगरी कम्युनिस्ट पार्टी र काङ्ग्रेसको गतिविधि । त्यस्तै, त्यहाँ नेपाल विद्यार्थी सङ्घ र अखिल (छैठौं) को गतिविधि बढी हुन्थ्यो ।

    त्यो स्कुलमा अहिले हामीसँगै रहनुभएका भागिरथ भट्टराईले भूगोल पढाउनुहुन्थ्यो, अर्का हाम्रा प्रशिक्षक दुर्गानाथ खरेलले कृषिविषय पढाउनुहुन्थ्यो । दिउसो हामी स्कुलमा पढ्थ्यौँ, बेलुका छात्रावासमा उहाँहरूले राजनीतिक क्लास, प्रशिक्षण दिनुहुन्थ्यो । त्यति बेला निरङ्कुश पञ्चायतीकाल थियो । उहाँहरूले मोहनविक्रम सिंह बोल्नुभएको अडियो क्यासेट हामीलाई सुनाउनुहुन्थ्यो । मोहनजीको छिटो छिटो बोली नबुझिने, बुझेपछि भने प्रभाव पर्ने गर्दथ्यो । त्यसै क्रममा उहाँहरूले हामीलाई कमिटेड गर्नुभयो ।

    सायद भट्टराई र खरेलको सक्रियता नभएको भए काङ्ग्रेस भइन्थ्यो कि नेविसङ्घ, त्यो थाहा छैन । उहाँहरूको प्रशिक्षणले मलाई कम्युनिस्ट पार्टीप्रति आकर्षण बढायो, त्यसमध्ये पनि मलाई अखिल (छैठौं) र नेकपा (मसाल) प्रति आकर्षण बढ्यो । त्यसैले उत्तरगङ्गा माविमा पढ्दा म अखिल (छैठौं) मा सङ्गठित भएँ ।

    काङ्ग्रेसको गतिविधि पनि देखेकाले काङ्ग्रेसभन्दा कम्युनिस्ट नै ठिक रहेछ भन्ने मलाई लाग्यो । कम्युनिस्ट पार्टीले नै शोषण, दमन, अन्याय, अत्याचारको विरोध गर्दो रहेछ । त्यसैले यो पार्टी नै ठिक हो भन्ने लाग्यो ।

    ० तपाईं जनजाति वा मगर समुदायको मान्छे । मगर समुदायका युवकहरू धेरैजसो सेनामा भर्ती हुने गर्दछन् । तपाईंलाई सेनामा भर्ती नभएर राजनीतिमा लाग्यो भनेर परिवारमा अप्ठ्यारो पारिएन ?

    :: मेरो ठुलो बाको छोरा (दाइ) भारतीय सेनाको क्याप्टेन हुनुहुन्थ्यो तर उहाँसँग मेरो अन्तरविरोध भयो । म प्रावि, निमाविमा पढ्दा उहाँले मलाई आर्थिक सहयोग गर्नुहुन्थ्यो तर उहाँ राप्रपा समर्थक हुनुहुन्थ्यो । राप्रपाका जितबहादुर कुँवरले पटक पटक त्यस ठाउँबाट चुनाव जित्नुहुन्थ्यो । हाम्रो खलकले जितबहादुरसँग मित लगाएकाले उहाँलाई मितबा भन्थ्यौँ । उनले मलाई सहयोग गर्ने तर मैले कम्युनिस्ट राजनीति गर्ने हुँदा परिस्थिति अप्ठ्यारो बनेको थियो : दाइले राप्रपाको राजनीति गर्ने, मैले कम्युनिस्टको पनि मसालको राजनीति गर्ने ।

    चुनावको बेलामा मैले जनमोर्चालाई भोट हाल्नुपर्छ भन्ने, दाइले राप्रपामा भोट हाल्नुपर्छ भन्ने अवस्था भयो । पछि दाइ सैन्य सेवाबाट रिटायर भएर गाउँमा आउनुभयो । पारिवारिक मामिलामा हामी दाइसँगै थियौँ तर राजनीतिक रूपमा दाइ र ममाझ अन्तरविरोधको अवस्था थियो । दाइले तँलाई मैले यतिका आर्थिक सहयोग गर्ने, तैँले मलाई समर्थन नगर्ने भन्नुहुन्थ्यो । मैले राजनीतिक कुरा फरक हो, पारिवारिक रूपमा हामी सँगै छौँ, तपाईंको विचारमा कन्भिन्स भए म तपाईंतिर जाउँला, मेरो विचारमा कन्भिन्स हुनुभयो भने तपाईं मेरो पार्टीमा आउनुहोला, त्यसैले मैले गरेको राजनीतिक ठिक छ, म त्यही राजनीति गर्छु भन्थेँ ।

    एक दिन त दाइले जितबहादुर कुँवरसित मलाई राजनीतिबाट छोडाइदिनुपऱ्यो, यसलाई जागिर लगाइदिनुपऱ्यो भन्ने कुरा गर्नुभएछ । दाइले तैँले जितबहादुर कुँवरलाई गएर भेट्, उहाँले तँलाई जागिर लगाइदिन्छन् भन्नुभयो तर मैले त्यस्तो हुन्न, जागिर गर्ने मेरो मनसाय पनि छैन, म राजनीतितिर लागिसकेँ भनेर जबाफ दिएँ । मैले दाइको कुरा मानिनँ । पछि चुनावमा दाइसित झगडा भयो । एक छिन त दाइसित मेरो घरबाराबार नै भयो । म दाइको घर नजाने, दाइ मेरो घर नआउने । बोलचाल पनि भएन । उहाँ कहिलेसम्म बोल्नुहुन्न भनेर मैले सोचिरहेको थिएँ । करिब छ/सात महिनापछि मात्र उहाँ आफै बोल्नुभयो । पछि हामी दुवैले आआफ्नो राजनीति गर्ने भन्ने सल्लाह भयो ।

    मेरो गाउँमा बढी राप्रपा समर्थक थिए त्यति बेला । तिनीहरूको राजनीतिक भण्डाफोर गर्ने काम हुन्थ्यो । राजनीतिक रूपमा उनीहरूले ठोस निर्णय गर्न सक्दैनथे, जसले जे भन्छ, त्यतै लाग्ने गर्दथे । उनीहरूले मसित तेरो पार्टी सानो छ भन्थे । मैले भोलि मेरो पार्टी पनि ठुलो हुन सक्छ भन्दथेँ । यस्तो छलफल भइरहन्थ्यो ।

    ० तपाईंले अखिल (छैठौं) बाट राजनीति सुरु गर्नुभयो । अहिले अखिल नेपाल जनजाति सम्मेलनको अध्यक्ष हुनुहुन्छ । यसबिचमा तपाईंले काठमाडौँमा ट्रेड युनियनमा काम गर्नुभयो । यसबिचमा कुन कुन सङ्गठनमा काम गर्नुभयो ? के कस्ता भूमिका निर्वाह गर्नुभयो ?

    :: काठमाडौँ आउनुभन्दा पहिले बागलुङमा मैले सांस्कृतिक मोर्चामा काम गरेँ । अहिले एक जना साथी हुनुहुन्छ, हीरा केसी भन्ने, उहाँले बागलुङबजारमा क्यासेटको पसल गर्नुहुन्थ्यो । त्यति बेला हामीले बागलुङबजारभरि रक्तिमका गीत बजाउन लगाउथ्यौँ । मेरो समयमा बागलुङभरिका २५/३० ओटा रक्तिम सांस्कृतिक अभियानको टोलीमाझ प्रतिष्पर्धा गराएका थियौँ । ती टोलीमा सामेल भएर हामी बागलुङभरि, छिमेकी जिल्ला पर्वत, म्याग्दी, गुल्मीसम्म हामी आउँथ्यौँ । मलाई लाग्छ, रक्तिम बागलुङको पहिलो सम्मेलनबाट म सचिव भएको थिएँ । हीरा केसी अध्यक्ष हुनुभयो । निलिमा पुन कोषाध्यक्ष हुनुहुन्थ्यो । हामीले तीन दिनसम्म रक्तिमको सम्मेलन गरेका थियौँ त्यतिखेर ।

    जीवन शर्माको त्यतिखेर एमालेमा जाने तयारी रहेछ । त्यतिखेर मैले कार्यक्रम सञ्चालन गर्ने जिम्मा पाएको थिएँ । गलकोट स्कुलमा विशाल जनमानसमाझ सांस्कृतिक प्रतियोगिता चलिरहेको थियो । रक्तिमको क्यासेटमा एउटा गीत छ, “मसाल आयो” । त्यो गीत मसालको कि रक्तिमको भन्ने छलफल चल्थ्यो त्यति बेला । मैले त्यो कार्यक्रममा “मसाल आयो” गीत मसालकै हो भनेपछि जीवन शर्माले मेरो हातबाट माइक खोस्नुभयो । त्यस घटनाबारे बागलुङमा छलफल पनि चलेको थियो । रक्तिमको केन्द्रीय अध्यक्षले यस्तो गर्दा मलाई अचम्म लाग्यो । केही समयपछि मैले रक्तिमको सङ्गठन छोडेँ ।

    त्यतिखेर मैले बागलुङ जिल्लामा होलटाइमरको रूपमा काम गरिरहेको थिएँ । परि थापा चुनाव जितेर काठमाडौँ आउनुभएको थियो । हाम्रो पार्टीको महामन्त्री हुनुहुन्थ्यो रामसिंह श्रीस । रामसिंहजीले मलाई तीन महिनाका लागि स्वयम्सेवकको रूपमा काठमाडौँ जानुपऱ्यो भयो, अखिल नेपाल जनजाति सम्मेलनको पहिलो अधिवेशन प्रचारका लागि भन्नुभयो । मैले हुन्छ भनेँ । रामसिंहले परि थापाको नाममा चिठी लेखेर दिएपछि म काठमाडौँ आएँ । यहाँ आएर महाधिवेशन सम्पन्न गर्नका लागि स्वयम्सेवकीय भूमिका निर्वाह गरेँ ।

    जनजाति सम्मेलनको महाधिवेशन सम्पन्न भइसकेपछि मलाई काठमाडौँमै बस्ने भनिएको थियो । यहाँ आएर राष्ट्रिय जनमोर्चाको काठमाडौँ जिल्ला अध्यक्ष भएर काम गरेँ । त्यसपछि पार्टीले मलाई मजदुर मोर्चा कमजोर भयो, त्यसैले त्यसमा काम गर्नुपर्ने भयो भन्यो । मजदुर मोर्चामा काम गर्न अध्ययनलार्ई बढाउनुपर्ने हुन्थ्यो । तैपनि मैले हुन्छ भनेँ । त्यसपछि मैले अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) को केन्द्रीय सदस्य भएर काम गरेँ ।

    पछि नेकपा (मसाल) र नेकपा (एकताकेन्द्र) मिलेर एकताकेन्द्र–मसाल भइसकेपछि पनि मैले मजदुर सङ्गठनमा काम गरेँ । त्यति प्रेम सुवेदी अन्टुकको केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो । जयबहादुर कार्की महासचिव हुनुहुन्थ्यो । मैले कार्यालय सचिव भएर काम गरेको थिएँ । यस क्रममा मजदुरको ज्याला नपाउनेलगायत समस्यामा साहुको सामना गर्ने काम हुन्थ्यो । त्यस क्रममा नयाँ ठाउँमा जिम्मा लिए पनि सकिँदो रहेछ भन्ने भयो ।

    मजदुर मोर्चामा काम गरिसकेपछि जनजाति सम्मेलनमै फर्केर काम गर्ने कुरा भयो । त्यति बेला २०६२–६३ सालको आन्दोलन चलिरहेको थियो । त्यति बेला जनजाति सम्मेलनको तत्कालीन नेतृत्व परि थापा, केबी गुरुङले सङ्गठनलाई समस्या पार्नुभएको थियो । उहाँहरू जनजाति सम्मेलनको नीति, सिद्धान्त, अनुशासनको विरुद्ध जानुभयो । त्यसपछि राष्ट्रिय भेला धरानमा गर्नुभयो । त्यसपछि सबैभन्दा अप्ठ्यारो परिस्थिति जनजाति सम्मेलनमा पऱ्यो । त्यति बेला एक जना केबी थापा, अर्का कैलालीका खडक रानाथारू मात्रै जनजाति सम्मेलनको केन्द्रमा बाँकी रहनुभयो, पूरै सङ्गठन तहसनहस भएको थियो । यस्तो अवस्थामा जनजाति सम्मेलनलाई बचाई राख्नुपर्दछ भन्ने विषयमा मोहनजीसित कुराकानी भयो । जिल्लामा सङ्गठन ठिकै छ, केन्द्रमा नेतृत्व गर्नेको समस्या छ भन्ने कुरा आएपछि अन्टुक छोडेर जनजाति सम्मेलनको नेतृत्व गर्ने कुरा भयो ।

    ० तपाईं जनजाति सम्मेलनको अध्यक्ष हुनुहुन्छ । यतिखेर आदिवासी जनजातिका मुख्य समस्या के हुन् ?

    :: नेपाल एउटा बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश हो । नेपालमा हामीजस्तै आदिवासी जनजातिको नाममा काम गर्ने अरू पनि सङ्गठन छन् । उनीहरूमध्ये कैयौँ एनजिओ/आइएनजिओबाट चलिरहेका छन् । आदिवासी जनजातिहरू आर्थिक, सामाजिक, भाषिक, सामाजिक, सांस्कृतिक रूपमा पछि परेका छन् । उनीहरू आफ्नो हक, हित र अधिकारप्राप्तिका लागि सङ्गठित हुनुपर्छ । त्यसका लागि सही सिद्धान्त र राजनीति भएको जनजाति सङ्गठन चाहिन्छ भन्ने छ । यो विचारलाई मसालनिकटको जनजाति सम्मेलनले नेतृत्व गरिरहेको छ ।

    अहिले नेपालका केही जनजाति सङ्गठनको व्याख्या सरकारले स्वीकार गरेको छ अथवा मान्यता दिएको छ । यो व्याख्याको आधारमा विदेशी शक्तिकेन्द्रले नेपालका जनजातिलाई उपयोग गरिरहेका छन् । नेपालमा जनजाति शोषित, उत्पीडित छन् भन्ने कुरामा उनीहरूले ध्यान दिएका छैनन् ।

    नेपालमा आदिवासी र जनजातिको गलत व्याख्याविश्लेषण गरिएको छ । यस क्रममा आदिवासी र जनजाति एउटै हुन् भन्ने गरिएको छ । यही विचारलाई जनजाति सङ्गठन र सरकारले स्वीकारेका कारण उनीहरूको समस्या समाधान हुन सकिरहेको छैन । आदिवासी भनेको फरक हो । जनजाति भनेको फरक हो । आदिवासी भनेका सुरुदेखि नेपालमा बसोबास गर्दै आएका हुन्; जस्तै : गुरुङ, मगर, राई, लिम्बू, भोटे, शेर्पा, छन्त्याल आदि । मानव विकास सूचकाङ्कको आधारमा अध्ययन गरेर उनीहरूको माथि उठाउनुपर्दछ । उनीहरूको छुट्टै प्रकारको भाषा, संस्कृति, संस्कार छन् । कुनै देशमा सामाजिक, आर्थिक, राजनीतिक रूपमा पछि परेका र छुट्टै पहिचान भएका जातिलाई जनजाति भनिन्छ । उनीहरूलाई राज्यको मूलप्रवाहमा ल्याउन सही प्रकारको सिद्धान्त र राजनीति चाहिन्छ । त्यो सिद्धान्त हाम्रो जनजाति सम्मेलनले अपनाएको छ । नेपालमा आदिवासी जनजातिको सवालमा हाम्रो सङ्गठनले सही प्रकारले व्याख्याविश्लेषण गरेको छ ।

    अर्कोतिर, नेपालका जनजातिलाई विदेशी साम्राज्यवादीले एनजिओ, आइएनजिओमार्फत् जातिवादी, साम्प्रदायिक दृष्टिकोणबाट उपयोग गरिरहेका छन् । उनीहरूलाई आफ्ना राजनीतिक अधिकारको क्षेत्रमा अगाडि बढ्न दिएका छैनन्; जस्तो : गुरुङले गुरुङको कुरा गरिदिए हुन्छ । मगरले मगरको कुरा गरिदिए हुन्छ । हाम्रो कुरा के हो भने गुरुङ, मगर, राई, लिम्बूभित्र पनि शोषक र शोषित वर्ग छ । त्यसैले वर्गसङ्घर्षद्वारा उनीहरूको समस्या समाधान हुन्छ भन्ने हाम्रो मान्यता हो तर जातिवादी सङ्घसंस्थाले हामीले जातीय कुरा मात्रै गरे हुन्छ; राजनीतिक कुरा गर्नुपर्दैन; उनीहरूलाई अधिकार दिनुपर्दैन; उनीहरूका समस्या समाधान गर्नुपर्दैन भन्ने जातिवादी र साम्प्रदायिक कुरा गर्दछन् । नेपालका जनजातिलाई त्यही कुराले छुन्छ । त्यसले गर्दा जनजातिको वास्तविक मुक्ति प्राप्त गर्ने उद्देश्य पूरा हुन सकेको छैन । यसरी नेपालको जनजाति आन्दोलनलाई कमजोर अवस्थामा पुऱ्याउने स्थिति भएको छ । त्यसका लागि सही राजनीति, सही विचार, सही दृष्टिकोण भएको सङ्गठन चाहिन्छ । त्यो सङ्गठनको नेतृत्व अखिल नेपाल जनजाति सम्मेलनले गर्दछ ।

    ० २०७२ सालको संविधानले समावेशिताको व्यवस्था गरेको छ । त्यसपछि त जनजातिको समस्या समाधान भयो होला नि त । के लाग्छ तपाईंलाई, संविधान जारी भएपछिको अवस्थामा आदिवासी जनजातिको अवस्थामा सुधार आएको हो ?

    :: २०६२–६३ सालको जनआन्दोलनले आदिवासी जनजातिका केही माग सम्बोधन गरेको छ† जस्तो : हाम्रो सङ्गठनले धर्मनिरपेक्षताको विषय उठायो । नेपाल बहुभाषिक, बहुधार्मिक मुलुक हो तर नेपालमा हिन्दु धर्म, संस्कार, संस्कृति लाद्ने गरिएको छ । नेपाल धर्मनिरपेक्ष हुनुपर्दछ भनेर हाम्रो सङ्गठनले सबैभन्दा पहिला उठाएको हो । संविधानले धर्मनिरपेक्षताको माग पूरा गरिदियो । हाम्रो एउटा माग पूरा भयो ।
    समावेशिता त धेरै राम्रो कुरा हो । सबै माग त पूरा भएको छैन तर पञ्चायतकालभन्दा, राजाको शासनकालभन्दा यथेष्ट वा पूरा नभए पनि अहिलेको गणतान्त्रिक व्यवस्थाले हाम्रा केही माग सम्बोधन गरेको छ । समावेशिताको कारणले केन्द्र, प्रदेश र स्थानीय तहमा महिला, आदिवासी, जनजाति, मधेसी, दलितको सहभागिता बढेको छ । समावेशिताले आदिवासी जनजातिलाई मूलप्रवाहमा ल्याउने मार्गप्रशस्त गरेको छ ।

    अहिले गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताजस्ता उपलब्धिलाई ध्वस्त पार्ने षड्यन्त्र विदेशी शक्तिकेन्द्रले गरिरहेका छन् । यी उपलब्धिलाई बचाउँदै हामी अझै अगाडि बढ्ने हो । आदिवासी जनजाति समस्याको समाधान मूलतः यो व्यवस्थाले गर्न सक्दैन, त्यसका लागि अगाडि जानुपर्ने हुन्छ । त्यसका लागि थप आन्दोलन गर्नुपर्दछ । नयाँ जनवादी क्रान्तिले मात्रै नेपालका आदिवासी जनताको वास्तविक समस्या समाधान गर्न सक्दछ । तैपनि प्राप्त उपलब्धिलाई रक्षा गर्दै जनजाति आन्दोलनलाई अगाडि बढाउने हाम्रो उद्देश्य रहेको छ ।

    ० पछिल्लो समयमा जनजातिलाई अधिकार दिइएपछि जातिवाद बढ्दै गएको हो कि जस्तो देखिन्छ† जस्तो : पूर्वमा कोशी प्रदेशको कुरा गरौँ, पाथीभरा केबलकार सन्दर्भमा मुकुम्लुङको कुरा गरौँ । अधिकार बढी दिएर यस्तो अवस्था आएको हो वा त्यसका पछाडि अरू कुनै कारण छन् ।

    :: अधिकार पाइयो भन्दैमा जे पनि गर्ने तरिका गलत हो । अहिले पनि पूर्वमा कोशी प्रदेश राख्नुहुन्न भनेर ठुलो आन्दोलन चलिरहेको छ । त्यो त्यहाँका जनताले भन्दा पनि अरूले उचालिदिएका कारणले चलेको हो ।

    नेपालमा त्यस्तो भइरहन्छ । विदेशी शक्तिकेन्द्रहरूले पटक पटक नेपालका राजनीतिक पार्टीलाई परीक्षण गरिसके । अहिले विदेशी शक्तिकेन्द्रले जनजातिलाई उचालेपछि उनीहरू आपसमा लड्छन्, हामीले आफ्नो स्वार्थ पूरा गर्न सक्छौँ भन्ने कुरा आएको छ ।
    केबुलकारको कुरामा पनि पूर्वतिरका साथीहरूलाई विदेशीले उचालेकोजस्तो देखिन्छ । पाथीभरा केबलकारको सवालमा भाषा, संस्कृति रक्षा गर्नुपर्छ भन्ने सवालमा त विवादै छैन तर संरक्षणसँगै विकास पनि गर्नुपऱ्यो । जनजातिहरू सधैँ जनजाति भइरहने कुरा होइन, उनीहरू राज्यको मूल प्रवाहमा आउनेछन् । केबलकारको विकास भयो भने त्यहाँको भाषा, धर्म, संस्कृति अरूले पनि हेर्न सक्छन् । उनीहरूको आर्थिक विकास हुन्छ । यसबारेमा पूर्वका साथीहरूले बेलैमा ध्यान दिनुपर्दछ । त्यो क्षेत्रका सांसद र बौद्धिक क्षेत्रका साथीमाझ यस विषयमा छलफल चलाएर निर्णय गरिनुपर्दछ । केबुलकार निर्माणमा गरिने अवरोधले विश्वमा नकारात्मक सन्देश जान सक्छ ।

    ० तपाईं मगर समुदायबाट हुनुहुन्छ । २०७८ सालको जनगणनाले मगरहरू एकल जातीय जनसङ्ख्यामा तेस्रो र जनजातिमध्ये पहिलो २० लाखको हाराहारी छन् । तपाईं जुन ठाउँमा जन्मनुभयो, त्यो बाह्रमगरात र अठारमगरातको बोर्डर लाइनमा पर्दछ । तपाईं त्यहाँको संस्कार, संस्कृतिलाई कसरी बुझ्नुभएको छ ?

    :: बागलुङ, रोल्पा, रुकुम जनजातिहरूको बाहुल्यता भएको ठाउँ हो । त्यहाँ मगर, गुरुङका अत्यन्त राम्रा संस्कार, संस्कृति छन् । त्यसलाई संरक्षण गर्नुपर्छ तर अहिले भूमण्डलीकरणको जमानामा यी संस्कार, संस्कृतिको दुरुपयोग भइरहेको छ । भाषासंस्कृति जोगाउनुपर्छ भन्ने नाममा जे पनि गरिदिने—यस्तो खालको प्रवृत्ति विकास भएको छ । आफ्ना, भाषा, संस्कृति जोगाउनुपर्छ भन्ने एउटा कुरा हो तर त्यसमा गलत प्रचलन चलाउनुभएन । त्यसलाई रोक्नैपर्दछ ।

    मैले भन्नुपर्ने कुरा यो हो, बागलुङको पनि निसी, भुजी, तमानखोलाका जुन मगर समुदाय छन्, उनीहरूले आफ्ना भाषा, संस्कृति संरक्षण गर्ने नाममा दुरुपयोग गर्नुभएन । हाम्रो त्यो क्षेत्रको राम्रा संस्कार, संस्कृतिलाई विकास गर्न त्यो क्षेत्रका जनजाति नै अगाडि आउनुपर्दछ । त्यहाँका साथीहरू शिक्षित हुनुपर्दछ । सही राजनीतिमा अगाडि आउनुपर्दछ । भाषिक रूपमा अगाडि आउनुपर्दछ तर त्यहाँ पनि राजनीतिक दलहरूले मगरलाई भऱ्याङ बनाउँछन् । त्यसो नहोस्, त्यसका लागि त्यहाँकै मगरहरू अगाडि आउन् भन्ने मेरो आग्रह र चाहना हो ।

    ० अब अलिकति सङ्घीयताको विषयमा कुराकानी गर्न चाहेँ । तपाईंहरूको सङ्गठनले पनि सङ्घीयताको विरोध गरेको छ । सङ्घीयताका पक्षधरले जनतामाझ भनिरहेका छन्, एकात्मक व्यवस्थाले तपाईंहरूको राज्य खोसिदियो, सङ्घीयताले अब तपाईंहरूलाई राजा बनाउँछ । जनजातिको हकहित, अधिकार, मुक्तिउत्थान र सङ्घीयता—यसको बिचमा के सम्बन्ध छ ?

    :: सङ्घीयताको राष्ट्रिय जनमोर्चा र हाम्रो सङ्गठनले सुरुदेखि नै विरोध गर्दै आइरहेको छ । नेपालमा सङ्घीयताको बारेमा मिठा मिठा कुरा गरिन्छ । सङ्घीयताले विकेन्द्र्रीयता ल्याइदिन्छ, विकास गरिदिन्छ भन्ने गलत प्रकारको भावना फैलाइएको छ तर सङ्घीयता भारतले मधेसवादी दलमार्फत बोकाइएको व्यवस्था हो । यहाँका जनजातिको हितको पक्षमा नभएकाले यसलाई खारेज गर्नुपर्दछ भन्ने कुरा हामीले पहिलेदेखि नै भन्दै आएका छौँ । जातीय सद्भाव कायम राख्नुपर्दछ भनेर हामीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हामीले अभियान चलाउँदै आएका छौँ । हामीले प्रजातान्त्रिक विकेन्द्रीयतामाथि आधारित स्थानीय स्वायत्त शासनको माग गरिरहेका छौँ । पूर्वको अभियानमा हामीमाथि आक्रमण पनि गर्नुभयो । राष्ट्रिय जनमोर्चाका नेताकार्यकर्तामाथि पनि आक्रमण गरे । हामीले त्यसको प्रतिकार गऱ्यौँ ।

    नेपाल सानो मुलुक हो । यसले सङ्घीयतालाई धान्न सक्दैन । सङ्घीयता केन्द्र्रले राज्यसत्ता सञ्चालन गर्न नसक्ने ठुला देशको छुट्टिएका भूभागलाई एकीकृत बनाउनका लागि आएको हो । सिद्धान्ततः हामी सङ्घीयताको विरोधी होइनौँ तर नेपालको सन्दभैमा कुनै पनि दृष्टिकोणबाट सङ्घीयताको कार्यान्वयन गर्नु सम्भव छैन । सङ्घीयताले जातजातिको माझमा द्वन्द्व बढाउँछ । सङ्घीयता युरोपियन युनियनको यहाँका जातजातिलाई आपसमा लडाउने उद्देश्यका साथ आएको हो । यो कुरा नेपालका जनताले बुझेका छैनन् ।

    हामीले सङ्घीयता विरोधी अभियान लिएर जाँदा पूर्वतिरका राई, लिम्बुहरूले भने– अरू जाति चलाक छन, राज्य माग्ने कुरा गर्दछन् तर मगर जाति कमजोर छ । हामीले भन्यौँ, तपाईंहरूले गलत कुरा बुझ्दै हुनुहुन्छ । उनीहरूले हाम्रा झन्डाब्यानर च्यातेर हामीलाई त्यहाँबाट जान भने तर हामी पछि हटेनौँ । हामीले जातजातिको सामाजिक सद्भाव कायम राख्न वा देशको भौगोलिक अखण्डता बचाउनका लागि हामी आएका हौँ भन्ने कुरा राख्यौँ ।

    अहिले चैत २४ देखि ३० गतेसम्म राष्ट्रिय जनमोर्चाले आयोजना गरेको काठमाडौँकेन्द्रित आन्दोलनप्रति जनजाति सम्मेलनले ऐक्यबद्धता जनाएको छ । देशैभरिका जिल्लाबाट त्यो आन्दोलनमा आदिवासी जनजातिलाई समावेश गराएर त्यो आन्दोलनलाई सफल बनाउनुपर्दछ भनेका छौँ ।

    ० तपाईंहरूले सङ्घीयताको अलि छिटो विरोध गर्नुभयो भन्नेहरू पनि एकथरी मान्छे छन् । सङ्घीयता लागु भएको जम्माजम्मी सात वर्ष भयो । प्रदेशका लागि कैयौँ कानुन बन्न बाँकी छ । राज्यशक्तिको बाँडफाँट पनि बाँकी छ तर तपाईंहरूले यो सात वर्षको अवधिमै के देखेर सङ्घीयताको विरोध गर्नुभयो ?

    :: यो सात वर्षको अवधिमा हामीले धेरै कुरा देख्यौँ । हाम्रो धारणा त यो हो : केन्द्र र स्थानीय तह भए पुग्छ, प्रदेश सरकार अनावश्यक रूपमा छ । हाम्रो भौगोलिक संरचना सानो र आर्थिक रूपमा कमजोर छ । सेना, प्रहरी, सांसद, कर्मचारी पाल्न हामीलाई धौ धौ परिरहेको छ । प्रदेशको सरकार पनि केन्द्रले सहयोग दिए चल्न सक्छ, नत्र सक्दैन । प्रदेशलाई दिने बजेट स्थानीय तहलाई दिने हो भने यहाँ विकास हुन्छ । त्यसैले प्रदेश सरकार अनावश्यक बोझ हो ।

    काठमाडौँ कीर्तिपुरको एउटा घटना म सुनाउन चाहान्छु । कीर्तिपुर “नेवा” भूमिभित्र पर्दछ । त्यहाँका नेवारले भने– त्रिभुवन विश्वविद्यालय नेवा भूमिभित्र परेका कारणले यहाँ सबै नेवार कर्मचारी हुनुपर्दछ, अरू क्षेत्रीबाहुन कोही हुन हुन्न । यही विषयलाई लिएर त्यहाँ तोडफोड भएको थियो ।

    अर्कोतिर, मधेसमा पहाडी ड्राइभरले गाडी चलाउन पाएनन् । पहाडबाट मधेस झरेका पहाडी ड्राइभरलाई कुटपिट गरेर लखेटियो । यो मधेस प्रदेश हो, यहाँ पहाडीहरू बस्न पाउन्नौँ भनियो ।

    त्यस्तै, हिमाल र पहाडबाट तराई झरेका जातजातिलाई बसिनसक्नु थियो । पहाडी समुदायका जातजातिलाई लखेट्ने अभियान चलेको थियो । त्यतिखेर उनीहरूले सस्तोमा जग्गाजमिन बेचेर पहाड भागेका थिए ।

    हाम्रो नेपाल हिमाल, पहाड र तराईका विभिन्न जातजाति मिलेर बनेको छ । भारतले काकडभित्तादेखि कञ्चनपुरसम्म एक मधेस प्रदेश बनाउन खोजेको थियो । हाम्रो आन्दोलनले त्यस्तो हुन दिएन । मधेसलाई छिटोभन्दा छिटो भारतमा गाभ्ने उद्देश्य लिएर सङ्घीयता आएको हो । यो नेपालको हितमा छैन । यसलाई खारेज गर्नुपर्दछ । हामीले जातजातिको माझमा द्वन्द्व हुन दिनुहुन्न ।

    सङ्घीयताको सन्दर्भमा विदेशी शक्तिराष्ट्रका तीनओटा स्वार्थ छन् । एउटा स्वार्थ नेपाल जलस्रोतले धनी देश हो । भारतलाई नेपालको नदीनाला चाहिएको छ, अन्न उत्पादन गर्न, सिँचाइ गर्न । त्यसैले नेपालको जलस्रोतमाथि भारतको गिद्देदृष्टि छ । दोस्रो कुरा नेपालको कम्युनिस्ट जनमतलाई ध्वस्त बनाउन सङ्घीयता आएको हो । त्यस क्रममा कम्युनिस्ट पार्टीहरूलाई चिराचिरा बनाउने काम भइरहेको छ । विदेशी शक्तिराष्ट्रहरू यस्तै चाहान्छन् । अन्य देशमा पनि यस्ता प्रयत्न भइरहन्छन् । तेस्रो कुरा अमेरिकाले नेपालको भूमि प्रयोग गरेर चाइना हान्न चाहान्छ । त्यसका लागि नेपालका जातजातिलाई उचाल्नुपर्दछ । यहाँका जातजाति आपसमा लडेपछि यहाँ सेनापुलिस आउँछन् । त्यसपछि चाइना हान्न सजिलो हुन्छ ।

    ० अब हामी अन्तर्वार्ताको अन्ततिर छौँ । काठमाडौँकेन्द्रित आन्दोलनको तयारी तपाईंहरूको आफ्नो स्तरबाट कसरी चलिरहेको छ, उपत्यकाभित्र र बाहिर ?

    :: उपत्यकाबाहिर जिल्लामा भेला, प्रशिक्षण, क्लास, जुलुस, मोटरसाइकिल ऱ्याली, आफ्नो क्षेत्रबाट जे गर्न सकिन्छ, गरिरहनुभएको छ । यतिखेर सङ्घीयता विरोधी वातावरण चलिरहेको छ । साथीहरूमा उत्साह छ । राष्ट्रिय जनमोर्चाको तर्फबाट स्थानीय स्तरसम्मै कार्यक्रम चलिरहेको छ । काठमाडौँभित्र पनि राजमोको तर्फबाट कैयौँ कार्यक्रम सम्पन्न भइरहेको छ । आन्तरिक रूपमा बैठक, भेला, प्रशिक्षण चलिरहेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा माघ महिनाभित्र थुप्रै कोणसभा सम्पन्न भइसकेका छन् । फागुन महिनामा फेरि थप कार्यक्रम बनाउनेछौँ । यो कार्यक्रम सफल पार्नका लागि सबै तहतप्काका साथीसित सहयोग, समर्थन गर्न अनुरोध गरेका छौँ । विभिन्न पेसाव्यवसाय गर्ने साथीहरूलाई एक हप्तासम्म त्यो आन्दोलनमा सहभागी हुन समय छुट्याउन अनुरोध गरेका छौँ । काठमाडौँ उपत्यकाका विभिन्न उद्योगीव्यवसायीसँग भेटघाट गरेर आर्थिक, नैतिक सहयोगका लागि अपिल गर्ने काम भइरहेको छ । यसपछि रक्तिम सांस्कृतिक अभियानको सडक सांस्कृतिक अभियान सञ्चालन गर्ने योजना रहेको छ ।

    ० युगदर्शनलाई समय दिनुभयो, त्यसका लागि धन्यवाद छ ।

    :: धन्यवाद छ मेरोतर्फ बाट पनि । युगदर्शनले आफ्ना कुरा राख्ने अवसर दिनुभयो । त्यसका लागि युगदर्शन परिवारलाई अखिल नेपाल जनजाति सम्मेलनको तर्फबाट धेरै धेरै धन्यवाद छ ।

    सोमबार, माघ २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.