• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

२०४६ सालको आन्दोलनताका प्युठानमा ढुङ्गामाटो पनि मसाल थियो (भिडियो अन्तर्वार्ता)


  •   सोमबार, पुष १५, २०८१ मा प्रकाशित
  • बोमबहादुर खत्री, नेता, राष्ट्रिय जनमोर्चा ##

    Advertisement

    (युगदर्शन मिडियामा यसपटक राष्ट्रिय जनमोर्चाका नेता बोमबहादुर खत्रीसँगको भिडियो अन्तर्वार्ता प्रस्तुत गरिएको छ । नेपालको समसामयिक राजनीति, प्युठानमा राष्ट्रिय जनमोर्चाको विगत र वर्तमान, शैक्षिक क्षेत्रको अवस्था, सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनको तयारी र सहकारी ठगीलगायतका विषयमा युगदर्शन मिडियाका लागि प्रकाश थापामगर र गोविन्दकुमार शर्माले २०८१ पुस १३ गते यो अन्तर्वार्ता लिनुभएको हो । अन्तर्वार्ताको मूल पाठका लागि युगदर्शनको युट्युब च्यानल वाच गर्न अनुरोध छ ।)

    ० राष्ट्रिय जनमोर्चाका नेता बोमबहादुर खत्रीलाई युगदर्शन मिडियामा स्वागत गर्न चाहान्छौँ ।

    :: धन्यवाद छ ।

    ० आज हामी देशको समसामयिक राजनीतिक अवस्था, खासगरी प्युठान सेरोफेरोको राजनीतिक अवस्थाबारे कुराकानी गर्न चाहन्छौँ । सर्वप्रथम त तपाईं नेकपा (मसाल) को राजनीतिप्रति कसरी आकर्षित हुनुभयो ?

    :: मैले प्युठानको मुक्ति माध्यमिक विद्यालयमा पढेको हुँ । मसालका महामन्त्री मोहनविक्रम सिंहले तीनमहिने शिविर सञ्चालन गरेको विद्यालय हो त्यो । त्यहाँका सबै शिक्षक वामपन्थी विचारका हुनुहुन्थ्यो । त्यसैले उहाँहरूको आचरण र कुराकानीबाट प्रभावित भएर करिब ८ कक्षामा पढ्दादेखि नै म वामपन्थी आन्दोलनमा लागे । पार्टीमा आबद्ध त २०२५ सालमा भएको हुँ तर २०२२–२३ सालदेखि नै यो पार्टीप्रति आकर्षित भएँ ।

    ० शिक्षकको प्रसङ्ग उठाउँदा यतिखेर संसद्मा एउटा विधेयक विचाराधीन छ, शिक्षकले राजनीतिक गर्नुहुन्न भन्ने खालको । तपाईंलाई के लाग्छ, शिक्षकले राजनीति गर्न हुन्न ?

    :: शिक्षकले राजनीति गर्न हुन्न भन्ने जुन सवाल उठेको छ, हो, विद्यालयमा १० बजेदेखि ४ बजेसम्म राजनीति गर्नुहुँदैन । त्यसले विद्यार्थीको पढाइदेखि लिएर सबै चिजमा असर गर्दछ तर १० बजेभन्दा अघि र ४ बजेपछि उनीहरूले राजनीति गर्न पाउँछन् । शिक्षक बौद्धिक वर्ग हुन् । देश कता हिँडिरहेको छ, जनताको अवस्था कस्तो छ जस्ता विषय बुझेर शिक्षकले राजनीति गर्नुपर्छ ।

    निरङ्कुश पञ्चायत कालमा देशभित्र राजनीतिक दलका नेताहरू थिएनन्, उनीहरू गोरखपुर वा बनारस दुईओटा केन्द्रमा सीमित थिए । देशमा जनतालाई चेतनशील बनाउने काम शिक्षकले गरेका हुन् । शिक्षकको पढाउने तरिका ठिक छैन, आचरण ठिक छैन भने एउटा कुरा हो नत्र शिक्षक जस्तो प्रबुद्ध वर्गले जनतालाई सही कुरा बुझाउन आफूले पनि सही राजनीति बुझ्नुपर्दछ । देश र जनतालाई सही दिशामा अगाडि बढाउन शिक्षकको अहम् भूमिका छ ।

    ० सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार, साधनस्रोत सबै छ तर शिक्षकले सही ढङ्गले नपढाएकै कारण त्यहाँको शैक्षिक गुणस्तर खस्कियो भन्ने तर्क पनि छ । यसबारे के भन्नुहुन्छ ?

    :: हामीले स्कुलमा पढ्दा र पढाउँदाखेरि गणित र विज्ञान पढाउने शिक्षक नेपालमा थिएनन् । बनारसबाट आएका शिक्षकले पढाउनुहुन्थ्यो । अहिले पनि गणित र विज्ञान पढाउने शिक्षकको दरबन्दी खाली छ । गणित र विज्ञान पढेकाहरूको आकर्षण शिक्षण पेसातर्फ छैन । अर्कोतर्फ, विद्यालयका शिक्षकलाई तलब दिनु मात्रै पर्याप्त कुरा होइन । विद्यालयको भौतिक पूर्वाधार, विद्यार्थीको अनुपातमा दरबन्दी जस्ता विषयमा सरकारले अहिले पनि कञ्जुस्याइँ गरिरहेको छ ।

    २०५६ सालदेखि यता शिक्षकको दरबन्दी रोकिएको छ । अहिले विद्यालयमा १८ थरी शिक्षक छन्, बालविकासदेखि लिएर हरेक प्रकारका । तिनलाई पनि दरबन्दी दिइएको छैन । त्यसले गर्दा पठनपाठन कमजोर भएको छ । भौतिक पूर्वाधारमा सरकारले खर्च गर्दैन । एकाध कोठा बनाउन रकम देला तर स्थानीय जनताले श्रमदान गरेर नै भौतिक पूर्वाधार बनाउँछन् । यसरी जनतामाथि मार परिरहेको छ ।

    अर्कोतर्फ, अहिले परिवार नियोजनका कारणले बच्चाबच्चीहरू एउटा/दुईओटामा सीमित छन् । तिनलाई पनि अलिकति पैसा झएकाले बोर्डिङ स्कुलमा पढाउँछन् । बोर्डिङ स्कुलका शिक्षक कमजोर छन् भन्न खोजेको होइन, त्यहाँ थोरै तलब दिएर घोटाउने काम मात्रै हुन्छ । विद्यार्थीको चाहनाअनुसार पढाउने काम हुँदैन ।

    अहिले सामुदायिक विद्यालयको गुणस्तर खस्केको छ । यसमा सुधार गर्नका लागि सरकारले त्यहाँ पढाउने शिक्षकलाई एकडेढ वर्षमा रिफ्रेस ट्रेनिङ दिने, समयअनुसार पदोन्नति गर्ने आदि काम गर्नुपर्दछ । यसमा पनि सरकारले कञ्जुस्याइँ गरेको छ । यसैले आज शिक्षाको गुणस्तरमा ह्रास आएको छ । यसको जवाफदेही सरकार हो किनभने हामीले संविधानमा नै शिक्षालाई मौलिक अधिकारअन्तर्गत राखेका छौँ ।
    यता, राज्यको पुनर्संरचना भएपछि कैयौँ पालिकामा अतिराजनीति भएको छ । राम्रा शिक्षकलाई सरुवा गरेर फ्याक्ने, आफ्नो दलको, कम पढेको, नजान्ने शिक्षकलाई राख्ने काम पनि भएको छ । यी सबै रोक्न जरुरी छ ।

    ० राजनीतिमा लागिसकेपछि तपाईं प्युठानको जिल्ला विकास समितिको सभापति बन्नुभयो, २०५५ सालमा । तपाईंको पालामा के कस्ता काम गर्नुभयो ? स्मरणमा केही छन् कि ?

    :: त्यति बेला जिल्लामा विकासको सम्पूर्ण जिम्मेवारी जिल्ला विकास समितिमा थियो । जनप्रतिनिधि र विकासे अड््डाले विकास योजनाहरू जिल्ला विकास समितिमा पेस गर्नुपर्दथ्यो । त्यो पास भएपछि मात्रै कार्यान्वयनमा जान्थ्यो तर आज त्यो अवस्था छैन । त्यति बेला राजनीतिक बहसदेखि लिएर योजना निर्माणसम्मका काम जिल्ला विकास समितिमा हुन्थे । जिल्ला विकास समितिले पास गरेका योजनालाई मात्रै केन्द्रको योजना आयोग र सम्बन्धित मन्त्रालयले अगाडि बढाउँथ्यो । अहिले समन्वय समिति छ । त्यसलाई अधिकार छैन । कर्मचारी छैनन् । प्राविधिक छैनन् । अनुगमनको जिम्मा दिइएको छ तर गाउँपालिका/नगरपालिकाका प्रतिनिधिले टेर्दैनन् ।

    पहिला गाउँसभामा विकास निर्माणका योजनामा छलफल हुन्थ्यो । त्यसपछि ती योजनामाथि जिल्लासभामा छलफल हुन्थे । जिल्लासभाले पास गरेपछि मात्रै विकासे अड्डाले अगाडि बढाउँथे । यसबारे मलाई एउटा घटना सम्झनामा छ ।

    सडक डिभिजनको एउटा कर्मचारीले हामीलाई टेरेन । मैले सिधै काठमाडौँ आएर स्थानीय विकास मन्त्रालयमा आएर कुरा गरेँ– ॅतपाईंहरू कस्तो मान्छे पठाउनुभएको ? हामीलाई टेर्दैन, मनपरी गरेको छ ।’ त्यसपछि केन्द्रले चिठी काटेर उसलाई स्पष्टीकरण सोध्यो । अर्को सालदेखि यस्ता कर्मचारीले काम गर्न थाले ।

    ० तपाईं जिविस सभापति रहेकै बेला देशमा माओवादी द्वन्द्व थियो । त्यति बेला राष्ट्रिय जनमोर्चा र माओवादीमाझको सम्बन्ध कस्तो थियो ? प्युठानमा राष्ट्रिय जनमोर्चाका २२ जना कार्यकर्ताको अपहरण पनि भयो । तपाईंहरूले अरू के कस्ता ज्यादती व्यहोर्नुभयो त्यति बेला ?

    :: म जिविस सभापति भएका बेला युएनडिपीबाट पाँचओटा परियोजना लगेको थिएँ । त्यस क्रममा गाउँगाउँमा खाद्यान्न पुर्‍याउन गोरेटो, घोडेटो बाटो पनि निर्माण गरिन्थ्यो तर जिल्लाबाट दूरदराज गाउँमा चामल पठायो, माओवादीले लुटिदिने† तारजाली पठायो, त्यो पनि लुटिदिने गरे । धेरैपटक माओवादीका इन्चार्जसँग भेटेर यसबारे कुराकानी भयो– यस खालको बदमासी गर्न भएन । त्यस्तै, गाउँगाउँमा जाने योजनाका कर्मचारीलाई माओवादीले अपहरण गर्ने, बढी चन्दा माग्ने पनि गरे । त्यसले गर्दा काम गर्न अप्ठ्यारो भयो । उनीहरूको माग रह्यो, हामी लुट्दैनौँ तर हामीलाई काम दिनुपर्‍यो । मैले भनेँ– प्र्रत्यक्ष रूपमा मैले तपाईंहरूलाई काम दिन सक्दिनँ । उपभोक्ता समितिमार्फत कार्म गर्न सकिन्छ तर हाम्रो निगरानीमा काम गर्नुपर्छ । त्यसपछि स्थिति अलि सहज भयो ।

    रोल्पासँग जोडिएको जिल्ला पर्‍यो, प्युठान । एमाले, काङ्ग्रेसका नेताहरू कोही काठमाडौँ आए, कोही सदरमुकाममा केन्द्रित भए । काङ्ग्रेसका केही मान्छेलाई माओवादीले काटे, चन्दा पनि मागे ।

    तपाईंहरूलाई पनि स्मरण होला, त्यो बेला लिस्ने काण्ड घटेको थियो । डिएसपीको खोरमा साङ्लोले बाँधेर राखेको माओवादीलाई हेलिकोप्टरबाट खसालेर मार्ने योजना रहेको थाहा पाएँ मैले । त्यसपछि मैले सेनाको मेजर, जिल्लाको सिडियो, डिएसपीसँग कुराकानी गरेँ– ठिक छ, बन्दुकको लडाइँ हो, गाउँमा लड । दुवैसँग हातहतियार छन् । यसमा हामी बोल्दैनौँ तर पक्रेर थुनेको मान्छेलाई मार्ने कुरा त राम्रो भएन ।

    त्यति बेला बिबिसीले लन्डनबाट फोन गरेर मलाई लिस्ने घटनाबारे जानकारी मागे । दशबाह्रओटा हेलिकोप्टरबाट गाउँपहरामा बमबारी भइरहेको थियो । म लिस्ने जान खोजेँ तर मलाई प्रहरीले जान दिएनन् तैपनि खेतबारी हुँदै म त्यो ठाउसम्म पुगेँ । त्यहाँ को को मरेका छन् ? के अवस्था छ ? को माओवादी हुन् ? को राप्रपा हुन् ? को अन्य प्रकारका मान्छे हुन् भन्ने बुझेँ । यसबारे मैले बिबिसीलाई अन्तर्वार्ता दिएँ ।
    त्यतिखेर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री । लिस्नेमा कृष्ण महरा मर्‍यो, दीपक केसी मर्‍यो, वर्षमान मर्‍यो भनेर प्रचार गरिन्थ्यो । मैले त्यसको प्रतिवाद गरेँ । म घटनास्थलमा पुगेको छु । दुई जना राप्रपाका मान्छे, माओवादी स्वर्गद्वारीमा तीन जना, सारीमा तीन जना, विजयनगरमा तीन जना—यसरी ११ जना मान्छे मारिएका छन् । घटनास्थलमा माओवादीले खान थालेको, माथिबाट हेलिकोप्टरले बम बर्साएको सत्य हो । त्यति बेला हेलिकोप्टर चलाउने नेपाली पाइलट थिएनन् । रसियन पाइलट, हेलिकोप्टरको मारक क्षमता एक किलोमिटर, ऊ उडेको छ १,२०० मिटर माथि किनकि माओवादीले हान्यो भने मरिने भइयो भनेर । एकपटक म विद्यालयनजिक रहेका बेला मसिना छर्राको आवाज टिनको छानाबाट आउँथ्यो । त्यसले लागे पनि मर्ने स्थिति हुँदैनथ्यो । त्यति बेला मेजर, डिएसपी, सिडियोसित मेरो बहस हुन्थ्यो– तिमीहरू कोही घटनास्थलमा गएनौँ तर म गएको छु । मलाई थाहा छ, को को मरेका हुन् भन्ने ।

    त्यसको अर्को दिन सिडिओ कार्यालयको छानामा प्रेसर कुकर बम फालिएछ । ढुङ्गाको छानोको कापमा परेर त्यो बम नपड्किए पनि सदरमुकाममा एलडिओ, सिडिओ, इन्जिनियर कोही बस्न मानेनन् । जिविस कार्यालयमा म, एउटा गेटपाले र भान्से मात्रै थियौँ । साँझ नपर्दै सबै लुक्न जान्थे । साँझमा बन्दुक पड्क्यो भने निद्रै लाग्दैनथ्यो ।
    माओवादीसित धेरै ठाउँमा हाम्रो टसल भयो । उनीहरूले हाम्रा २२ जना कार्यकर्तालाई अपहरण गरे । त्यसपछि पार्टीले खोजतलास अभियान

    चलायो । त्यति बेलाको मूल नारा “माओवादी होसमा आऊ, गरिब जनता नसताऊ” भन्ने थियो । त्यति बेला हामीले सय, दुई सय, पाँच सयको सङ्ख्यामा जम्मा भएर माओवादीको भण्डाफोर अभियान चलायौँ । अन्तमा हाम्रा २२ जना कार्यकर्तालाई पटक पटक गरेर छाडियो । बाँकी रहेका छ जनालाई माओवादीबाट बुझ्न म गएको थिएँ । उनीहरूलाई बुझेर बुटवल आइयो । काठमाडौँमा आएर पत्रकार सम्मेलन गरियो । त्यसपछि उनीहरू अलि हच्किए ।

    हाम्रो स्पष्ट कुरा थियो, हामी खुराकी पनि दिँदैनौँ, सुराकी पनि गर्दैनौँ । हामीले कहिल्यै पनि माओवादीको बारेमा प्रशासनलाई जानकारी दिएनौँ । फेरि पनि मलाई कैयौँपटक एकडेढ सय माओवादीले घण्टौँ घेरेका छन्, कञ्चटमा पेस्टोल राखेका छन् तर मैले उनीहरूको नेतासँग कुराकानी गरेँ । त्यसले गर्दा प्युठानमा त्यति बढी माओवादी पनि मरेनन् र जनता पनि मरेनन् तर हाम्रा कार्यक्रम र भूमिकाका कारण उनीहरू अलिकति लचकता अपनाउन बाध्य भए ।

    ० तपाईंहरूले सन्तुलित भएर द्वन्द्वकालदेखि मसाल र राष्ट्रिय जनमोर्चाको सङ्गठनलाई यहाँसम्म ल्याउनुभयो । अहिले प्युठानमा मसाल र राष्ट्रिय जनमोर्चाको सङ्गठनात्मक अवस्था कस्तो छ ?

    :: कुनै समयमा राष्ट्रिय जनमोर्चाले देशभरिमा पाँचओटा सांसद पनि जितेको हो, बागलुङ, प्युठान र अर्घाखाँचीमा । बागलुङ र प्युठानको जिल्ला विकास समितिमा हाम्रो नेतृत्व दुई दुईपटक निर्वाचित भएको थियो । अहिले हाम्रा गतिविधि त लगातार अगाडि बढेका छन् तर पनि जबसम्म जनता सैद्धान्तिक रूपमा स्पष्ट हुँदैनन्, तबसम्म मानिसहरू पलायन भइरहन्छन् ।

    २०४६ सालको आन्दोलनताका प्युठानमा ढुङ्गामाटो पनि मसाल थियो तर अहिले हाम्र्रै पङ्क्तिबाट केही मानिस अन्य पार्टीमा गएको हुनाले हामी दोस्रो दलमा बनेका थियौँ । अहिले हामी चौथो स्थानमा छौँ तर पनि त्यहाँको प्रशासनले हामीलाई महत्त्व दिन्छन् किनकि अन्य दलले सही कुरा गर्दैनन् बरु चाकडी गर्छन् । हामी कसैले गलत काम गर्‍यो भने त्यसको विरुद्धमा जाने गर्दछौँ । हामीले जनताको पक्षमा निस्पक्ष प्रकारले काम गर्छौं ।

    अहिले पहिले जस्तो अवस्था छैन । अहिले खलङ्गाबाट दाङबाङ, लामीदमार पुग्नुपर्‍यो भने दुई हजार रुपियाँ भाडा लाग्छ । हिजो हामी मकैभट्ट झोलामा राखेर हिँड्थ्यौँ । कार्यकर्ताको हिजोको स्प्रिटमा ह्रास आएको छ । त्यसैले पार्टीको नीति, सिद्धान्त, कार्यक्रम लैजाँदालैजाँदै पनि पहिलेको तुलनामा अहिले कमजोर छौँ । अहिले पनि राष्ट्रिय जनमोर्चाले जनताका पक्षमा काम गर्छ, घुस खाँदैन भन्ने छ । त्यसो हुँदाहुँदै पनि कैयौँले पार्टी छोडेर गएका कारण, केही पार्टीफुटका कारण समस्या उत्पन्न भएको छ ।

    एक चोटी केबी गुरुङ तेस्रो धार बनेर जाने बेलामा पनि प्युठानको दक्षिणतिर हंशपुर, बड्डाडा, बाङ्गेसालमा असर पर्‍यो । यी गाविसमा हामीले जितेका थियौँ । त्यहाँबाट उहाँसँग गएकाहरू पछि एमालेमा गए । एकपटक माओवादीको पनि लहर चल्यो । त्यसैले हामीले भण्डाफोरको नीति अपनाए पनि जनताको चेतनास्तर कमजोर भएकाले अवस्था कमजोरै रह्यो । फेरि पनि हामी अहिले प्युठानको प्रमुख शक्तिभित्रै पर्छौं । हरेक गतिविधिमा हाम्रो अह्म भूमिका हुन्छ । सर्वदलीय बैठकदेखि हरेक ठाउँमा मसालले के बोल्छ भनेर जिज्ञासा राखिन्छ । अरू पार्टी डिएसपी, सिडिओको विरोध गर्न सक्दैनन् । सडकको एउटा योजना पारिदिए पक्ख पर्छन्, अरू जति भ्रष्टाचार गरे पनि भयो । हामीले समन्वय र सङ्घर्ष गर्छौं । हाम्रो जनाधार प्युठानमा राम्रै छ ।

    यद्यपि राजनीति बुझ्न नचाहने अवसरवादीहरू कहिले माओवादी, कहिले एमाले, कहिले राप्रपातिर टीका थाप्न जान्छन् । हुँदा हुँदा रवि लामिछानेको पार्टीमा जान्छन् । प्युठानमा यो पार्टीको केही थिएन । एक जना उम्मेवार उठेको चार हजार भोट आयो । बाबुआमा मसालमा छन्, गाउँभरि प्रचार गरिरहेका छन् तर काठमाडौँबाट आएको नातीले बाजेबोइको भोट घण्टीमा हालिदिए । यस्तो प्रवृत्तिले समस्या भए पनि प्युठानमा हामी प्रमुख राजनीतिक शक्ति हौँ ।

    सत्ताभन्दा बाहिर भए पनि मसाललाई अरू राजनीतिक पार्टीहरू सत्ताधारी मान्छन् किनकि हामी अहिले पनि जनताको पक्षमा काम गरिराखेका छौँ । अर्कोतर्फ दुईपटक जिविस सभापति भएर, नवराज, हरिजीहरू सांसद भएर हामीले जति पनि काम गर्‍यौँ, त्यसलाई राजनीतिकरण गर्नबाट चुक्यौँ । मलाई त्यहाँ कमजोरी भएको लाग्छ । अरूले सानो खानेपानीको पाइप दिँदा पनि पहिला हाम्रो पार्टीको सदस्यता काट्, अनि मात्र दिन्छौँ भन्छन् तर हामीले त्यस्तो गर्ने कुरा भएन । हामीले योजना दिन्छौँ, त्यहाँ गएर काम पनि गर्छौं । जिल्ला प्रशासन कार्यालयमा नागरिकतालगायतका हरेक समस्या हामी समाधान गर्छौं । उनीहरू अनाहकमा थुनिए प्रतिवाद गर्छौं तर हामी हाम्रो पार्टीको रसिद काट् भन्दैनौँ । त्यस्तो गर्नु हाम्रो नैतिकता पनि भएन ।

    माओवादीले परिवारमा भएको द्वन्द्व, अन्तरविरोधलाई उपयोग गर्ने काम गरे । हुन त माओवादीको सङ्गठन प्युठानमा खासै छैन, केही सीमित गाविसमा मात्रै छ तर पनि उनीहरूले बदमासी गर्छन् । डा. गोविन्द पोखरेलले काठमाडौँबाट गएर झोला बाँड्छन् । त्यहीअनुसार जनताले भोट हाल्छन् । कसले विकास निर्माणको काम गर्‍यो ? त्यो हेर्दैनन् ।

    ० पछिल्लोपटकको चुनावमा दुर्गा पौडेल त्यहाँबाट हार्नुभयो, सूर्य थापाले जित्नुभयो । सांसद थापाले के कस्ता विकास निर्माणका काम गर्नुभएको छ प्युठानमा ?

    :: अस्ति प्युठानमा इजरायलका विरुद्ध हस्ताक्षर अभियान थियो । त्यसै बेला भित्रिकोट महोत्सवमा मलाई पनि पूर्व सभापतिको हैसियतले बोलाइयो । बोल्दैन भन्दाभन्दै पनि मैले कार्यक्रममा बोल्नुपर्‍यो । मैले धेरै कुरा बोलिनँ । मैले भनेको थिएँ– प्युठानमा पटक पटक यस्ता महोत्सव आयोजना गरिन्छ । जनताबाट पैसा असुलिन्छ । पहिलो कुरा त यहाँका सामानबापत् भारततिर पैसा जान्छ किनकि नेपाली उत्पादन विक्रीका लागि यहाँ राखिएका छैनन् तैपनि जुन महोत्सव आयोजना गरिएको छ, त्यसमा पारदर्शिता हुन्न । कैयौँपटक महोत्सव सकेर ऋण लाग्यो भनिन्छ । एकपटक ज्ञामुराम न्यौपानेले लगाउनुभएको महोत्सवबाट २८ लाख बचाएर सहिदपार्क बनाइएको थियो । अरू त्यस्ता उदाहरण छैनन् । भित्रिकोट महोत्सव पनि पारदर्शी हुनुपर्‍यो, यहाँको विकासका लागि सांसद र जनप्रतिनिधिले पहल गर्नुहोला ।

    मन्तव्य सकेपछि हस्ताक्षर अभियानमा सामेल अन्य दलका प्रतिनिधिसमेत उठे । त्यसपछि बोलेका सांसद सूर्य थापाले मेरो आलोचना गर्दै भनेछन्– आज हो हिसाबकिताब, पारदर्शिताका कुरा गर्ने ? कहाँ के कुरा गर्ने भन्ने नै थाहा छैन । यस्ता अबुझ मान्छे । वास्तवमा ढङ्ग त सूर्य थापाको भएन । उनी एमालेभित्रका दोस्रो ओली हुन् भन्दा पनि हुन्छ ।

    हिजो प्युठानको विकास योजना बनाएको हामीले हो । प्युठानको मरन्ठानामा जुन साबुन बन्छ, त्यो जापान निर्यात हुन्छ । लघुउद्यम विकास कार्यक्रमले तिनलाई सिकाएको हुनाले यस्तो भएको थियो । यस्ता धेरै काम प्युठानमा भएका छन् । उनी अहिले गाउँगाउँ गएका छन् तर काम भएको छैन । सांसद पूर्वाधार विकास कार्यक्रमबाट केही योजना लगेका होलान् । हाम्रो समयमा प्र्रत्येक गाउँ विकास समितिबाट दुई दुईओटा योजना माग गरेर कार्यान्वयन गरिन्थ्यो तर अहिले त्यस्तो केही छैन । दाङ–भीमगिठे सडक भारतको सहुलियत ऋणमा बनाउने भनिएको थियो, भारतीय ठेकेदार कालोसूचीमा परेकाले अलपत्र छ । पुर्कोट–मच्छी सडकको अवस्था पनि त्यस्तै छ । यस्ता बेथिती धेरै छन् ।

    ० अब अलिकति राजनीतिबारे कुराकानी गरौँ । केन्द्रमा दुई ठुला दल मिलेर सरकार बनाएका छन् । त्यसमध्ये काङग्रेसँग प्रतिगमनको विषयमा तपाईंहरूले सहकार्य पनि गर्नुभयो । अहिले त्यो मुद्दा छोडेर एमालेसँग सरकार चलाइरहेको छ काङ्ग्रेसले । यसलाई कसरी लिनुभएको छ ?

    :: काङ्ग्रेस, एमाले, माओवादीलाई देश र जनताको कुनै सरोकार छैन । देशको चिन्ता भएको भए विदेशी निकायबाट ल्याएको ऋणको सदुपयोग हुन्थ्यो । अहिले जनता हरेक प्रकारले मारमा परेका छन् । ओलीजी प्रधानमन्त्री बनेको पनि यतिका महिना भयो, जनताले केही डेलिभरी पाएका छैनन् । निराशा छ । महँगी बढेको छ । त्यसलाई नियन्त्रण गर्ने काम भएको छैन ।

    उनीहरूले दुई ठुला दल मिलेर संविधान संशोधन गरेर देशलाई अगाडि बढाउँछौँ भनेका थिए । अहिलेसम्म केही भएको छैन । खासगरी साम्राज्यवादी इन्ट्रेस्ट पूरा गर्न यी दलले सरकार बनाएका हुन् । एमाले र माओवादी त कम्युनिस्ट नै होइनन् । उनीहरूले कम्युनिस्ट सिद्धान्त परित्याग गरेका छन् । यिनीहरूमध्ये कैयौँ नेता भारत, अमेरिका र युरोपियन युनियनबाट सञ्चालित छन् । त्यसैले संविधान संशोधनबारे खाका आउन सकेको छैन ।

    अहिले हरेक क्षेत्र लथालिङ्ग छ । दैनिक हजारौँ युवाको विदेश जाने लर्को छ । यसलाई रोक्न ठोस योजना बनाउनुपर्ने हो । कुनै बेला भारत, कोरिया, बेलायतलाई चामल पठाउने देश अहिले यहाँका जग्गाजमिन बाझो छ । जमिनमा प्लटिङ भइरहेको छ । गाउँमा बुढाबुढी मात्रै छन् । उनीहरूको मृत्यु हुँदा पल्लो गाउँबाट हाको हालेर मलामी बोलाउनुपर्छ । गाउँमा बस्ने भनेको त शिक्षक, कर्मचारी र बुढाबुढी मात्रै हुन् ।
    देश असफल राष्ट्र बन्ने दिशातिर छ । यसलाई रोक्न दुई ठुला दलले पहल गर्नुभन्दा पनि कसरी हुन्छ भ्रष्टाचार गर्ने, आफ्ना मान्छेलाई कहाँ कहाँ पठाउने, कहाँको राजदूत बनाउने ? यो धन्दामा लागेका छन् । यस्तो अवस्थामा देश अगाडि बढ्ने कुरा भएन ।

    ० संविधान संशोधनकै सन्दर्भमा राष्ट्रिय जनमोर्चाले सङ्घीयता खारेजीको प्रसङ्ग पनि उठाएको छ । यस सन्दर्भमा चैतमा एकमहिने आन्दोलन पनि चलाउँदै हुनुहुन्छ तर सङ्घीयताको विरोध गर्नु प्रकारान्तरले पुनः एकात्मक शासनतर्फ फर्कनु हो भन्ने धारणाबारे के भन्नुहुन्छ ?

    :: हामी सिद्धान्ततः सङ्घीयताको विरोधी होइनौँ । हाम्रो देशमा जनताको चेतनास्तर कमजोर छ, आर्थिक अवस्था पिछडिएको छ । देशमा सङ्घीयताको एजेन्डा न २०६२–६३ सालको आन्दोलनमा, न अरू कुनै पार्टीले उठाएका थिए । मधेसवादीले भारतको दबाबमा सङ्घीयताको माग गरे । त्यतिखेर संविधानसभा चुनावको मिति तोकिएको थियो । यस्तो अहम् मुद्दामा संविधानसभाले निर्णय गर्नुपर्दथ्यो तर अन्तरिम संविधानमा चोरढोकाबाट सङ्घीयता भित्राइयो । वास्तवमा भारत, अमेरिका र युरोपियन युनियनको दबाबमा सङ्घीयता छिराइएको हो ।
    पहिलो संविधानसभामा जातीय मुद्दा जोडतोडले उठेको थियो । माओवादीले त्यसको नेतृत्व गरेको थियो तर दोस्रो संविधानसभा चुनावमा जातीय मुद्दा बोक्नेलाई जनताले हराइदिए । राष्ट्रिय जनमोर्चाले यदि प्रदेश बनाउने हो भने उत्तरदक्षिण बनाउनुपर्छ भन्ने धारणा राखेको थियो । फेरि पनि मधेस प्रदेश बनाउन भारत सफल भयो । हुन त भारतले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण तराईलाई मधेस प्रदेश बनाएर त्यसलाई भारतमा गाभ्न चाहेको थियो तर त्यो योजना सफल भएन ।

    हाम्रो जस्तो देशले सङ्घीयता थेग्न सक्दैन । यसको सट्टा विकेन्द्रीकरण र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक शासन चाहेका छौँ । स्थानीय तहलाई अधिकार दिनुपर्छ भनेका छौँ ।

    अहिले फेरि दुई ठाउँबाट जातीय मुद्दा उठेको छ । पूर्वमा प्रदेशको नामकरण गर्दा कोशी नदीको नाममा कोशी प्रदेश बनाइयो । त्यसलाई सबै दलले पास गरेका थिए । अहिले त्यहाँका किराँत, लिम्बुहरूले छुट््टै प्रदेश मागेका छन् । माओवादी अध्यक्ष प्रचण्डले भोट बैङ्कका खातिर त्यसकै पक्षमा उभिए । यस्तो द्वैध नीति अपनाउने गरिएको छ । यता, सुदूरपश्चिममा कैलाली, कञ्चनपुरमा रेशम चौधरीलगायतले थारू प्रदेश कायम गर्न खोजेका छन् ।

    हिजो माओवादीले काठमाडौँ नेवारको, सिन्धुपाल्चोकलगायत तामाङको, रोल्पा, रुकुम, बागलुङ मगरको, तराईमा थारूको प्रदेश बनाउने जुन कुरा गरेको थियो, यो साम्राज्यवादी षड्यन्त्रअनुरूप थियो । खासगरी भारत र अमेरिका नेपालमा अस्थिरता निम्त्याउन चाहन्छन् । अस्थिरता निम्त्याएर उनीहरू चीन विरुद्ध नेपालबाट जाइलाग्न चाहन्छन् किनकि यतिखेर चीन अमेरिकालाई उठिनेर पहिलो देश बन्न खोज्दै छ । चीनलाई रोक्न अमेरिकाले नेपालमा एमसिसी ल्याएको हो । भारतले त अघिदेखि नै विभिन्न षड्यन्त्र गर्दै आएको छ ।

    हामीले पनि प्रदेश भनेका छौँ तर हामीले भनेको प्रदेश प्रशासनिक एकाइ मात्र हो । हिजो राजाले कायम गरेको केन्द्रीकृत सामन्ती शासन थियो । त्यति बेला सम्पूर्ण शासन केन्द्रमा थियो । हाम्रो भनाइ केन्द्र र स्थानीय तहलाई मजबुत बनाउनुपर्दछ भन्ने हो । यसरी जनताले आफ्नो ठाउँको विकास आफै गर्न पाउन् भन्ने हो । त्यसैले विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित शासनप्रणाली हामीले माग गरेका हौँ ।
    सङ्घीयतामा गइसकेपछि जनतामा कर मात्रै लगाउने काम भएको छ । आठ सयभन्दा बढी सांसद छन् अहिले । केन्द्र र प्रदेशमा डेढदुई सय मन्त्री मात्रै छन् । केन्द्रले नियम बनाएको छ– एक करोडभन्दा तलको योजनामा उपभोक्ता समिति बनाएर काम गर्ने तर प्रदेशले अर्को नियम बनाएको छ– पाँच लाखभन्दा माथिको योजनामा टेन्डर गर्ने । प्रदेशले यस्तो नियम बनाउनुको अर्थ ठेक्कापट्टा गरेपछि त कमिसन आउने भयो, भ्रष्टाचार गर्न पाइने भयो । उपभोक्ता समितिले काम गरेपछि कमिसन माग्न पाइएन ।

    त्यसैले हामीले प्रदेशमा योजना निर्माणका लागि विज्ञ टिम हुनु जरुरी छ तर प्रदेशमा मुख्यमन्त्री, मन्त्री, सांसद बनाउने कुरा गलत छ भनेका हौँ । यसैमा धेरै खर्च भएकाले सङ्घीयता धान्न एसियाली विकास बैङ्क, विश्व बैङ्कबाट ऋण लिन थालिएको छ । वर्षको २६ अर्ब रुपियाँ कर्मचारीको तलबमा जान्छ, २३ अरब राजस्व उठ्छ । यसरी तीन अरब त हामी बर्सेनि घाटामा छौँ । त्यसैले विदेशबाट ऋण लिएर सङ्घीयतालाई कायम राख्नुभन्दा छिटोभन्दा छिटो खारेज गरौँ, नत्र भने देश साम्राज्यवादी षड्यन्त्रले टुक्रिन सक्छ ।

    अर्कोतिर, केन्द्रले अहिलेसम्म प्रदेशका लागि र प्रदेशले स्थानीय तहका लागि कानुन बनाउन सकेको छैन । अहिले देश असमञ्जस र भद्रगोल स्थितिमा छ । त्यसैले जनता छिटोभन्दा छिटो सङ्घीयता खारेज होस् भन्ने चाहान्छन् । राष्ट्रिय जनमोर्चाले सङ्घीयता खारेज गर्ने आन्दोलन सञ्चालन गरे हुन्थ्यो भन्ने उनीहरूको माग छ । हामी संविधान संशोधन गर्दा सङ्घीयता खारेज गर्न चाहन्छौँ । यसरी देश टुक्रिनबाट जोगिन्छ, विदेशीको युद्धभूमि बन्नबाट जोगिन्छ । यो उद्देश्यका साथ चैत २४ देखि ३० गतेसम्म काठमाडौँकेन्द्रित आन्दोलन गरेर जनतालाई झकझक्याउने, अन्य सङ्घीयता विरोधी पक्षलाई गोलबन्द गर्न चाहन्छौँ । मलाई विश्वास छ, राजधानीकेन्द्रित आन्दोलनमार्फत् सङ्घीयता खारेज गर्न जनताले हामीलाई साथ दिनेछन् ।

    यतिखेर सङ्घीयता विरोधी आन्दोलनको तयारी जिल्ला, पालिका र वडामा चलिरहेको छ । त्यस क्रममा आर्थिक सङ्कलन भइरहेको छ । अहिले एकदिने प्रशिक्षण चलिरहेको छ । राष्ट्रिय जनमोर्चाले टोलटोलमा पुगेर सदस्यता अभियान चलाएको छ ।

    ० तपाईंले भ्रष्टाचारको कुरा पनि उठाउनुभयो । एकथरी मानिस वा मानवअधिकारवादीले सम्म रवि लामिछानेमाथि राजनीतिक पूर्वाग्रह राखियो भनिरहेका छन् । यस्तो होला र ? के लाग्छ तपाईंलाई ?

    :: त्यस्तो बिलकुल होइन । तुलना गर्ने हो भने रविले भन्दा बढी खानेहरू काङ्ग्रेस, एमाले, माओवादीभित्र छन् तर त्यसको अर्थ रविले सहकारीको रकम हिनामिना गरेकै छैनन् भन्ने कुरा होइन । अहिले नयाँ कुरा पनि आएका छन् । उनको श्रीमतीको खातामा २७ करोड रकम जम्मा भएको कुरा छ । रविले कुनै ठेकापट्टा गरेको त होइन नि । अहिले रविले चेक काटेका कुरादेखि हरेक प्रकारका कुरामा नाइँनास्ती गरी जी.बी. राईमाथि थोपर्ने जुन कुरा छ, त्यो गलत छ ।

    राजनीतिक दलका मान्छेलाई भ्रष्टाचारको मुद्दा लाग्ने गरेका छ । हिजो काङ्ग्रेसका चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्कालाई लाग्यो तर काङ्ग्रेसले जुलुस निकालेन । रातिमा ल्यायो, दिनमा ल्यायो भनेर मानवअधिकार हनन्को कुरा पनि उठेन ।

    रवि लामिछानेको पार्टी सिआइएले सञ्चालन गरेको हो भन्ने कुरा सर्वप्रथम बाहिर ल्याउने हाम्रो पार्टी हो । अहिले त अरूले पनि भन्न थालेका छन् । सत्तास्वार्थका लागि काङ्ग्रेस, एमाले र माओवादीले रविलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाए । प्रष्टै छ, रविले गृहमन्त्री खोज्नुपछाडिको कारण दुईओटा नागरिकता, दुईओटा पासपोर्ट जस्ता विभिन्न काण्ड दबाउनु नै थियो ।

    ० अन्तमा, आफ्नो अमूल्य समय युगदर्शन मिडियालाई दिनुभयो । त्यसका लागि यहाँलाई धन्यवाद छ ।

    :: युगदर्शन मिडियाले विगत र समसामयिक विषयमा आफ्ना विचार राख्ने अवसर प्रदान गर्‍यो । यसका लागि युगदर्शन मिडियालाई धन्यवाद दिन चाहन्छु ।

    सोमबार, पुष १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.