मेघनाथ विष्ट, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला अध्यक्ष ##
(राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला समितिका अध्यक्ष मेघनाथ विष्टसँग समसामयिक राजनीतिक विषयमा युगदर्शन मिडियाका लागि प्रकाश थापामगर र गोविन्दकुमार शर्माद्वारा २०८१ मङ्सिर १० गते लिइएको भिडियो अन्तर्वार्ता । अन्तर्वार्ताको पूर्ण पाठका लागि युगदर्शनको युट्युब च्यानल वाच गर्नुहोला ।)
० राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला अध्यक्ष मेघनाथ विष्टलाई युगदर्शन मिडियामा स्वागत गर्न चाहान्छौँ ।
:: धन्यवाद ।
० हामीले अहिले तपाईंसित राष्ट्रिय जनमोर्चाको राजनीति र रोल्पाको अवस्थाबारे कुराकानी गर्ने छौँ । सर्वप्रथम त रोल्पाको राजनीतिक अवस्था कस्तो छ ?
:: रोल्पामा राष्ट्रिय जनमोर्चा स्थापित छ । त्यहाँका जनताले राष्ट्रिय जनमोर्चालाई वैकल्पिक शक्तिको रूपमा हेरेका छन् । रोल्पामा राष्ट्रिय जनमोर्चा सैद्धान्तिक, वैचारिक, राजनीतिक सबै क्षेत्रमा अब्वल छ ।
० बाहिरका मानिसले वा मिडियाले रोल्पा भन्दाबित्तिकै माओवादीको गढ भनेर बुझ्छन् । तपाईंहरू त्यहाँ कसरी स्थापित हुनुभयो ?
:: वास्तवमा रोल्पा पहिले नेकपा (मसाल) को अखाडा बनेको ठाउँ पनि हो । २०१३ सालमा मोहनविक्रम सिंह, खगुलाल गुरुङ, रुमबहादुर पाण्डेलगायतले स्थापना गरेको पार्टी नै अहिलेको रोल्पाको कम्युनिस्ट जनमत हो । विभिन्न उतारचढाव आएता पनि राष्ट्रिय मुक्ति आन्दोलन वा राष्ट्रिय स्वाधीनताको पक्षमा, वर्गसङ्घर्ष सञ्चालन गर्ने सवालमा रोल्पाको कम्युनिस्ट आन्दोलनमा त्यस्तो टुटफुट छैन, बरु त्यहाँको कम्युनिस्ट आन्दोलन अगाडि बढेको छ ।
० माओवादीको सशस्त्र सङ्घर्ष चलिरहँदा तपाईंहरूसित देशैभरि झड्प भयो । रोल्पामा तपाईंहरूले के ब्यहोर्नुभयो ? केही संस्मरण छन् ?
:: सर्वप्रथम त नेपाल कम्युनिस्ट पार्टी (मसाल) र त्यसको घटक राष्ट्रिय जनमोर्चाको दूरदर्शी राजनीतिप्रति हामीलाई गर्व छ । माओवादी युद्ध कहाँ गएर टुङ्गिन्छ भन्ने विषयमा हाम्रो पार्टीको विश्लेषण सही सावित भएको छ । राष्ट्रिय जनमोर्चाले रोल्पामा वर्गसङ्घर्षअन्तर्गत जनसङ्घर्षको राजनीति चलाएको छ ।
० मैले जान्न खोजेको कुरा यो हो, दश वर्षे युद्धमा तपाईंहरूले माओवादीद्वारा अपहरण, हत्या जस्ता ज्यादती ब्यहोर्नुभयो कि भएन ?
:: राष्ट्रिय जनमोर्चाका पूर्व जिल्ला अध्यक्ष धनप्रसादको आँखा फोरिदिए माओवादी साथीहरूले । १४ पटकसम्म जितेन्द्र सिंह ठकुरीलाई अपहरण गरेर दुःख दिने काम गरे । हस्तमणि पुनलाई बारम्बार दुःख दिने काम गरे । द्वन्द्वकालमा हस्तमणि पुनको परिवारले जुन दुःख व्यहोर्यो, त्यस्तो दुःख ब्यहोर्ने परिवार रोल्पामा कमै होलान् । माओवादीले ज्यादती दिएकै कारण हस्तमणिको एउटा छोरा समयभन्दा अगाडि नै जन्मियो । त्यसले गर्दा त्यो बच्चाको सुस्त मनस्थिति छ । यतिखेर त्यसको स्याहारसुसार जसरी हस्तमणिजीको परिवारले गरिरहेको छ, उहाँको घर जाँदा माओवादी ज्यादतीको झल्को हामीले पनि महसुस गर्न सक्छौँ । त्यसका बाबजुद हामी स्पष्ट थियौँ, माओवादीले २०५२ सालदेखि सुरु गरेको सशस्त्र सङ्घर्ष उग्रवामपन्थी गतिविधि थियो । यसले सिङ्गो कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सक्दैनथ्यो । कम्युनिस्ट आन्दोलनमा क्षति हुन्थ्यो । राष्ट्रिय जनमोर्चाको यो विश्लेषण सही सावित भएको छ । अहिले माओवादीहरू क्रान्तिकारी कम्युनिस्ट आन्दोलनबाट विमुख भएका छन् । राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल) भने क्रान्तिकारी राजनीतिमा अगाडि बढिरहेको छ ।
० २०६२–६३ सालपछि राजनीतिक समीकरण परिवर्तन भयो । २०७७ सालपछि त यस्तो समीकरण झनै परिवर्तन भएर तपाईंहरूले माओवादीसित सहकार्य नै गर्नुभयो । अहिले माओवादीसित तपाईंहरूको सम्बन्ध के कस्तो छ ?
:: राजनीतिमा सबैभन्दा बुझ्नुपर्ने कुरा रणनीति र कार्यनीति हो । कार्यनीति मिल्यो भने निश्चित विन्दुमा हामीले विरोधीसित पनि सहकार्य गरेर जाने गरेका छौँ । माओवादी साथीहरूमा २०५२ सालदेखि २०५७ सालसम्म जनवादी क्रान्ति गर्ने जुन जोस थियो, अहिले त्यसबाट विमुख भएको अवस्था छ । अहिले उहाँहरूका लागि अमेरिकी साम्राज्यवाद, नयाँ जनवादी क्रान्ति, वर्गसङ्घर्ष समाजवाद, साम्यवाद सबै नारा इतिहास बनिसकेको छ । अहिले त्यो नारा हामीले लगाउँछौँ । यस्तो भड्काव विश्वमा आउँछन् र नेपालमा पनि आइरहन्छन् ।
० अब मैले तपाईंको व्यक्तिगत कुरा सोध्न चाहेँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) को राजनीतिमा कसरी लाग्नुभयो ?
:: म सन् १९९७ देखि यो पार्टीमा क्रियाशील छु । रोजगारीको सिलसिलामा म भारतको गुजरात गएको थिएँ । गुजरातमा प्युठान भिङ्ग्रिकोटका विनबहादुर रेग्मीमार्फत् म मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आबद्ध भएँ । मेरो सुरुदेखि नै स्वभाव कस्तो रह्यो भने जहाँ लागिन्छ, त्यसमा कटिबद्ध भएर लाग्नुपर्दछ, धोका दिनु हुँदैन भन्ने । त्यसपछि म सन् २००२ मा साउदी अरब नेपाली एकता समाजमा आबद्ध भएँ । सन् २००४ सालमा म रोल्पा फर्किएँ । त्यसपछि अहिलेसम्म रोल्पामा राष्ट्रिय जनमोर्चाको राजनीतिमा सक्रिय छु ।
० तपाईंले भारतमा, साउदी अरबमा र नेपालमा राजनीति गर्नुभयो । प्रवास र नेपालको राजनीतिमा के फरक पाउनुभयो ?
:: प्रवासको राजनीति सिधै मजदुरसित जोडिन्छ । मजदुर वर्ग अनुशासित वर्ग भएकाले त्यहाँ राजनीति गर्न सजिलो छ । त्यहाँ निश्चित जागिर, निश्चित छुट्टी हुने भएकाले पनि राजनीति गर्न सजिलो होला । नेपाल र प्रवासमाझको राजनीतिमा एउटा फरक यो छ, यहाँ सिधै उत्पादन, किसान समुदाय, मध्यम वर्ग, धर्म, संस्कृति, रीतिरिवाज जस्ता धेरै विषयसँग जोडिनुपर्दछ । त्यसैले प्रवासबाट फर्केर नेपालमा राजनीति गर्दा पौडी खेल्न नजान्ने मान्छे पौडी खेल्न खोजे जस्तो हुन्छ ।
० जसरी प्रवासमा सामाजिक क्रियाकलापमा जोडिएर सङ्गठनलाई घनीभूत बनाइन्छ, नेपालको सङ्गठनलाई पनि त्यस्तै घनीभूत बनाउन के गर्नुपर्ला ?
:: नेपालको राजनीतिमा प्रत्यक्ष रूपमा जोडिने भनेको स्थानीय वर्गसङ्घर्षमा जोडिनु हो । दोस्रो कुरा अन्धविश्वासका विरुद्ध लड्ने हो । कुरीतिको विरुद्धमा लड्ने हो । असमानताको विरुद्धमा लड्ने हो । गाउँमा विद्यमान जातीय विभेदको विरुद्धमा लड्ने हो । अर्को कुरा नेपालमा मध्यम खालको किसान धेरै सङ्ख्यामा रहेका कारण यहाँ कृषिक्रान्ति, कृषि र किसानका समस्या तथा उसको मुक्तिको विषयमा अर्थात् ग्रामीण वर्गसङ्घर्षमा सामेल भएपछि मात्रै नेपालको कम्युनिस्ट आन्दोलन अगाडि बढ्छ । हैन भने पेरूका वा अन्य देशका कुरा गरेर सङ्गठन बन्दैन र कम्युनिस्ट आन्दोलन पनि अगाडि बढ्दैन ।
० रोल्पामा शोषण, दमन बढी छ, त्यहाँ वर्गसङ्घर्ष छ भन्ने कुरा धेरै कम्युनिस्टले भन्छन् । माओवादीले भन्छन्, तपाईंहरूले पनि भन्नुभयो, अरूले पनि भन्छन् । खासमा रोल्पामा वर्गसङ्घर्षको अवस्था के कस्तो छ ?
:: युगदर्शन मिडियामार्फत रोल्पाको खास अवस्थाबारे सङ्क्षिप्तमा कुरा राख्न चाहान्छु ।
रोल्पाको थबाङबाट जुन युद्ध सुरु भयो अथवा त्यहाँ वर्गसङ्घर्षको जुन कुरा गरिन्छ, त्यो कृष्णबहादुर मुखिया र बर्मन बुढामाझ अन्तरविरोधको कुरा थियो । कृष्ण मुखियाले सत्ताको आडमा बर्मन बुढालाई दबाउने तर बर्मन बुढाले जनतालाई सङ्गठित बनाएर कृष्ण मुखियाको प्रतिकार गर्ने । यही क्रममा मोहनजीहरू विभिन्न जेल हुँदै प्युठान आउँदा बर्मन बुढालाई कन्भिन्स गर्नुभयो । सल्यानबाट जेलमुक्त भएपछि मोहनजी थबाङ आउनुभयो । थबाङमा आएर किसान सङ्गठन गर्नुभयो, खगुलाल गुरुङ, रुमबहादुर पाण्डे र मोहनविक्रम सिंहले । पछि खगुलाल गुरुङ थबाङमा गएर पार्टी गठन गर्नुभयो ।
रोल्पामा कम्युनिस्ट आन्दोलनको मुख्य जड अथवा युद्धको जड कृष्ण मुखिया र बर्मन बुढामाझको विवाद थियो । त्यो विवाद बढ्दै जाँदा प्युठान र सल्यानको जेलमा आइसकेपछि उहाँहरूको बिचमा मोहनजीले जुन मिलापत्र गराउनुभयो, त्यसपछि थबाङमा ॅयति राम्रो मान्छे, यस्तो खतरा केस मिलाउने मान्छे मोहनविक्रम सिंहसित हामी जानुपर्दछ’† ॅमोहनविक्रम सिंहको भनाइ मान्नुपर्दछ’ भन्ने प्रभाव रोल्पामा परेको पाइन्छ ।
पार्टी फुटेपछि एउटा धार मोटो मसालतिर गयो । हामी पातलो मसालतिर रह्यौँ । त्यति बेला कब्जा जमाएता पनि उनीहरू थुप्रै समूहमा विभाजित छन् । अहिले माओवादी साथीहरू “नयाँ” मा रूपान्तरित हुनुभएको छ । उहाँहरूले ४० सूत्रीय मागको आधारमा जुन युद्ध सुरु गर्नुभएको थियो, त्यसको पक्षमा उहाँहरू अहिले हुनुहुन्न ।
० तपाईं राष्ट्रिय जनमोर्चाको केन्द्रीय सदस्य भएको कारणले फरक प्रसङ्ग राखेँ । राष्ट्रिय जनमोर्चाले सङ्घीयता खारेजीका लागि चैत २४ गतेदेखि एकहप्ते राजधानीकेन्द्रित आन्दोलन चलाउँदै छ । यस्तो आन्दोलन चलाउनुपर्ने आवश्यकता किन पर्यो ?
:: सङ्घीयतामा गइसकेपछि नेपाली जनताले दुःख पाएका छन् भन्ने विषयमा कुनै विवाद छैन । सङ्घीयता नेपालको लागि आवश्यक हो वा होइन भन्ने प्रश्न आम जनतासित सोध्दा हुन्छ । अर्कोतिर, सङ्घीयता स्वीकार्ने पार्टीहरूमा पनि तलसम्म यस विषयमा छलफल भएको पाइन्न । उनीहरूमाझ सङ्घीय प्रणाली के हो ? एकात्मक प्रणाली के हो ? यस विषयमा अन्यौलता छ ।
यस सन्दर्भमा राष्ट्रिय जनमोर्चाले २०८१ साल चैत २४ गतेदेखि साप्ताहिक प्रकारको जुन सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलन गर्न लागेको छ, यसमा रोल्पाबाट एक्यबद्धता रहन्छ । आम जनताको समर्थन पनि मिल्छ भन्नेमा म पूर्ण विश्वस्त छु । सङ्घीयताले देश खारेज गरिदिन्छ कि जनता उठेर सङ्घीयता खारेज गर्नुपर्दछ ।
० रोल्पाका जनताले सङ्घीयतालाई कुन रूपमा लिन्छन् ?
:: रोल्पामा सङ्घीयताप्रति असन्तुष्टि छ । अहिले पनि जनमत सङ्ग्रह गर्ने हो भने बहुमत जनता सङ्घीयता विरोधी छन् । सङ्घीयताको बारेमा छलफल गर्दा त्यहाँका मान्छेले भन्छन्, तपाईंहरूको पार्टीले सङ्घीयता फालेपछि हामी मुख्यमन्त्री कहाँ गएर हुने ? हाम्रो व्यवस्थापन कसरी हुने ? यस्ता असन्तुष्टि मात्रै छन् उनीहरूसित तर देश रहे, राज्य रहे त हो नि नेताहरूको व्यवस्थापन हुने । जब सङ्घीयताबाट देशले नै थेग्न नसक्ने भारी पर्यो भने वा देशै विघटन भयो भने को मुख्यमन्त्री बन्ने ? को प्रधानमन्त्री बन्ने ? को गाउँपालिका अध्यक्ष बन्ने ? त्यसैले युगदर्शन मिडियामार्फत म अनुरोध गर्न चाहान्छु, चैत २४ गतेदेखि राष्ट्रिय जनमोर्चाले सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलन चलाउन थालेको छ, त्यसलाई सबैले साथसमर्थन दिएर सफल पार्नुपर्छ । यो आन्दोलन तपाईंहरूको भविष्यको लागि हो, तपाईंहरूको हितको लागि हो । त्यसैले यसमा समर्थन र सहभागिताका लागि सबैसित हार्दिक अनुरोध गर्न चाहान्छु ।
० यो आन्दोलनलाई सफल पार्न देशैभरिबाट राष्ट्रिय जनमोर्चाका नेताकार्यकर्ता आउने बताइएको छ । रोल्पामा यो आन्दोलननको तयारी कसरी चलिरहेको छ ?
:: काठमाडौँकेन्द्रित आन्दोलन सफल पार्न कोटा लगाइएको छ । यसलाई हामीले स्वीकार गरेका छौँ । आन्दोलनमा कति जना जाने भनेर बैठक नै बसेर सल्लाह भएको छ । चैत २४ गतेदेखि हुने आन्दोलनमा रोल्पाबाट राम्रो उपस्थिति हुन्छ ।
० हामी अन्तर्वार्ताको अन्ततिर छौँ । रोल्पाको राष्ट्रिय जनमोर्चाको राजनीतिमा नयाँ पिँढीको प्रवेशको अवस्था कस्तो छ ?
:: यो प्रश्न अवश्य आउँछ भन्ने लागेको थियो । हाम्रो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले भने जस्तै नयाँ पिँढी कम्युनिस्ट आन्दोलनमा भर्ना हुने कुरा र नयाँ पिँढीको आगमनपछि देश बचाउने कुरा, राष्ट्रिय स्वाधीनता कायम राख्ने, देशको समृद्ध बनाउने जुन कुरा छ, नयाँ पिँढीमा थुप्रै प्रकारको नैराश्यता छ । पार्टीअध्यक्ष चित्रबहादुर केसीले भने झैँ अबको पिँढीलाई स्वाधीनताको पक्षमा सामेल गर्नका लागि, राष्ट्रिय मुक्ति आन्दोलनको पक्षमा आबद्ध गर्नका लागि, आफ्नो गाउँ आफैले समृद्ध पार्नुपर्दछ, आफ्नो अधिकारका लागि आफै लड्नुपर्दछ भन्ने विषयमा सिकाउनका लागि नयाँ पिँढीमा कार्यक्रम लैजानुपर्दछ । यो भनाइलाई आत्मसात गर्दै सयौँ, हजारौँ नयाँ पिँढीलाई पार्टीमा सामेल गर्न रोल्पाबाट कार्यक्रम बनाउने छौँ । यसमा सबैको सहयोग, समर्थन हुने छ ।
० अन्तमा युगदर्शन मिडियामार्फत तपाईंले भन्न चाहेका कुरा केही छन् कि ?
:: सर्वप्रथम त रोल्पाको कम्युनिस्ट आन्दोलनको सन्दर्भमा, राष्ट्रिय जनमोर्चाको गतिविधिको बारेमा र मेरो व्यक्तिगत रूपमा पार्टीप्रवेशको बारेमा आफ्ना भनाइ सार्वजनिक गर्ने जुन मौका दिनुभयो, त्यसका लागि युगदर्शनलाई धन्यवाद व्यक्त गर्न चाहान्छु । युगदर्शन मिडिया गरिब, दुखी, निमुखा, सर्वहाराको पक्षमा तर साम्राज्यवादको विरुद्धमा स्थापित होस् भन्ने शुभकामना दिन चाहान्छु ।
० हवस् त युगदर्शनलाई आफ्नो अमूल्य समय दिनुभयो । त्यसका लागि धन्यवाद छ ।
:: मेरोतर्फबाट पनि धेरै धेरै धन्यवाद छ ।