• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

नेकपा (मसाल) को विकल्प यो भन्दा अझ शक्तिशाली मसाल हो (अन्तर्वार्ता)


  •   शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित
  • आनन्द शर्मा, वामपन्थी नेता

    Advertisement

    यहाँ नेकपा (मसाल) निकट वामपन्थी नेता आनन्द शर्मासँगको भिडियो अन्तर्वार्ता प्रस्तुत गरिएको छ । नेपालको कम्युनिस्ट आन्दोलन, नेकपा (मसाल) को अवस्था र देशको समसामयिक राजनीतिलगायतका विषयलाई लिएर युगदर्शन मिडियाका लागि प्रकाश थापामगर र गोविन्दकुमार शर्माले २०८१ कात्तिक ८ गते यो अन्तर्वार्ता लिनुभएको हो । अन्तर्वार्ताको मूल पाठका लागि युगदर्शनको युट्युब भिजिट गर्न अनुरोध गरिन्छ ।

    ० नेकपा (मसाल) सिद्धान्तनिष्ठ पार्टी हो भन्ने कुरा त व्यवहारमा देखिइसकेको विषय हो तर पनि मसाल क्रान्तिकारी कम्युनिस्ट पार्टी भएको दाबी गर्ने आधार के के हुन् ।

    :: नेपालको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (मसाल) नै सर्वहारा वर्गको पार्टीको रूपमा स्थापित छ । यसो भन्नुको अर्थ यसले मार्क्सवादको आधारभूत सिद्धान्तलाई सही रूपमा पक्रिने र त्यसलाई व्यवहारमा लागु गर्ने प्रयत्न गर्दै आएको छ । मार्क्सवाद–लेनिनवाद र माओत्सेतुङ विचारधारालाई पथप्रदर्शक सिद्धान्त मान्ने, चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्तिको स्प्रिटलाई स्वीकार गर्ने र त्यसको आधारमा तात्कालिक राजनीतिक दिशा निर्धारण गर्ने सन्दर्भमा दक्षिणपन्थी, उग्रवामपन्थी, मध्यपन्थी र वामपन्थी सङ्कीर्णवादी विचारबाट जोगिँदै नेकपा (मसाल) अगाडि बढेको छ । त्यसको आधारमा नेकपा (मसाल) नै क्रान्तिकारी पार्टी हो भन्न सकिन्छ ।

    ० सिद्धान्ततः सही रहे पनि तपाईंहरू बेलाबेलामा संसद्वादतर्फ झुक्नुहुन्छ । त्यसको प्रमाणको रूपमा तपाईंहरू बुर्जुवा सरकारमा सामेल हुनुभयो–यस खालको आरोपबारे के भन्नुहुन्छ ?

    :: बुर्जुवा सरकार र संसद्को उपयोगबारे मार्क्सवादी–लेनिनवादीको आफ्नै विश्लेषण छ । बुर्जुवा सरकार, बुर्जुवा संसद्, बुर्जुवा गणतन्त्र, त्यसका उपलब्धिबारे पनि मसालले मार्क्सवादी–लेनिनवादी दृष्टिकोण अपनाउँदै आएको छ ।

    संसदीय व्यवस्थाले जनताका आधारभूत समस्या समाधान गर्ने नभए पनि त्यसको प्रगतिशील भूमिका हुन्छ । नेपालको सन्दर्भमा पनि त्यो सत्य हो भन्ने नेकपा (मसाल) को दृष्टिकोण रहेको छ । पुँजीको विकास भएका अमेरिका, युरोपका कैयौँ देशका लागि बुर्जुवा गणतन्त्रको प्रगतिशील महत्त्व रहँदैन तर हाम्रो जस्तो देशका लागि, जहाँ लामो समयदेखि कायम रहेको राजतन्त्र समाप्त भएर गणतन्त्र स्थापना त भएको छ तर त्यो संस्थागत भइसकेको छैन । गणतन्त्रद्वारा प्रदत्त नागरिक अधिकार खोस्न प्रतिगामी शक्तिहरू लागिपरेका छन् । भारतीय साम्राज्यवाद गणतन्त्रको विरुद्धमा छ । अर्कोतिर, अहिलेका सत्तासिन दल र तिनका सरकारको भ्रष्ट चरित्रले पनि गणतन्त्र संस्थागत गर्नमा बाधा पुगिरहेको छ । यस्तो अवस्थामा गणतन्त्रलाई रक्षा गर्ने विषयलाई मसालले कार्यनीति बनाएको छ । रणनीतिक रूपमा अहिलेको गणतन्त्रलाई अन्त गर्नैपर्दछ । यो गणतन्त्र अन्त नगरी नयाँ जनवादी व्यवस्था आउँदैन तर अहिले नै नयाँ जनवादी व्यवस्था ल्याउने स्थिति नभएकोले यो गणतन्त्रलाई अन्त गर्दा यो भन्दा पनि प्रतिगामी व्यवस्था आउने छ । त्यसैले गणतन्त्र रक्षाको कार्यनीतिक महत्त्व रहेको छ । यो नै सही मार्क्सवादी–लेनिनवादी नीति हो ।

    यो नीतिलाई आफूलाई क्रान्तिकारी भन्नेहरूले विरोध गरेको पाइन्छ । वास्तवमा उनीहरूको त्यो मार्क्सवादी–लेनिनवादी नीति होइन । मार्क्सवादले मात्रात्मक परिवर्तनलाई स्वीकार गर्छ । निरङ्कुश सामन्ती व्यवस्था व्यवस्थाभन्दा संवैधानिक राजतन्त्र प्रगतिशील व्यवस्था हो ।

    संवैधानिक राजतन्त्रभन्दा बुर्जुवा गणतन्त्र प्रगतिशील व्यवस्था हो । बुर्जुवा गणतन्त्रभन्दा नयाँ जनवाद प्रगतिशील व्यवस्था हो र नयाँ जनवादभन्दा समाजवाद साम्यवाद प्रगतिशील व्यवस्था हो । अहिले देशमा जनआन्दोलनबाट प्राप्त गणतन्त्र पनि समाप्त हुने र यो भन्दा पनि प्रतिगामी व्यवस्था आउने सम्भावना रहेकाले गणतन्त्र रक्षाको कार्यनीति क्रान्तिकारी नीति हो भनेर बुझ्नुपर्दछ । जसले नयाँ जनवादभन्दा तलका व्यवस्थालाई क्रान्तिकारी मान्दैनन्, यस्तो वामपन्थी सङ्कीर्णतादी नीतिले कम्युनिस्ट आन्दोलनलाई नोक्सान पुर्‍याउँछ भन्ने नेकपा (मसाल) को बुझाइ छ ।

    ० नेपालको कम्युनिस्ट आन्दोलनमा तपाईंहरूले नै सशस्त्र सङ्घर्षको नीतिलाई स्थापित गर्नुभयो तर तपाईंहरूले सशस्त्र सङ्घर्षको सैद्धान्तिक कुरा मात्रै गर्नुभयो । तपाईंहरूबाट अलग भएर गएकाले बरू त्यो अभ्यास गरे भन्ने छ भन्ने तर्क पनि छ । यसबारे के भन्नुहुन्छ ?

    :: नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुक हो । यो अवस्थाको अन्त गरी सामान्य पुँजीवादी व्यवस्था कायम गर्न नयाँ जनवादी क्रान्तिको विकल्प छैन । भर्खरै सम्पन्न नेकपा (मसाल) को नवौँ महाधिवेशनले पनि नयाँ जनवादी क्रान्तिलाई न्यूनतम व्यवस्था मानेको छ । नयाँ जनवादी क्रान्ति सशस्त्र सङ्घर्ष वा दीर्घकालीन जनयुद्ध बिना कायम हुन सक्दैन । त्यो बिना नेपाल र नेपाली जनताको मुक्ति सम्भव छैन तर हामीले चाहँदैमा क्रान्ति हुन सक्दैन । क्रान्ति र सङ्घर्षका ठोस र विज्ञानसम्मत नियम छन् । मनोगत विचारको आधारमा क्रान्ति सम्पन्न हुँदैन । त्यसको उदाहरण नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा पनि छ । यस्ता विचार राख्नेहरूको दक्षिणपन्थी अवसरवादमा पतन भएको छ ।

    एकातिर, सशस्त्र सङ्घर्ष बिना नेपाल र नेपाली जनताको मुक्ति सम्भव छैन । अर्कोतर्फ, सशस्त्र सङ्घर्ष रमाइलोको लागि भावावेशमा आएर सम्पन्न गर्न सकिने कार्यभार होइन । यस्तो गर्नु गैरमार्क्सवादी तरिका हो । यसको पतन दक्षिणपन्थी अवसरवादमा भएकै देखिन्छ । तत्कालीन माले र माओवादीको सशस्त्र सङ्घर्षको कारबाही र आजको उनीहरूको स्थितिले यो कुरालाई बुझ्न गाह्रो पर्दैन ।

    सशस्त्र सङ्घर्ष पचास वर्षअघि देखि तयारी गरेर बस्ने कुरा होइन । परिस्थितिले माग गर्दासाथ सशस्त्र सङ्घर्षको तयारी गर्नुपर्ने हुन्छ । यो नै सशस्त्र सङ्घर्षसम्बन्धी मार्क्सवादी दृष्टिकोण हो । मार्क्सवादी दृष्टिकोणअनुसार नै हामीले यसबारे विचार गर्नुपर्दछ । वस्तुगत अवस्था परिपक्व भए पनि आत्मगत परिस्थिति बनिनसकेको हुँदा सशस्त्र सङ्घर्षलाई कार्यनीति बनाएर जान सकिने अवस्था बनिसकेको छैन ।

    ० नेकपा (मसाल) लाई कम्युनिस्ट आन्दोलनको ब्याडको रूपमा लिने गरिन्छ । अरू पार्टीमा पनि कैयौँ नेताकार्यकर्ताहरू छन् । फेरि पनि तपाईंहरूको पार्टीमा बारम्बार फुट भइरहन्छ । यस्तो फुट किन हुन्छ ?

    :: कम्युनिस्ट पार्टीमा फुट नभइदिए हुन्थ्यो भन्ने चाहना स्वाभाविक हो । त्यो हाम्रो इच्छा हो† कामना हो तर वस्तुगत अवस्था त्यो भन्दा भिन्न भएकाले हामीले नचाहँदा–नचाहँदै पनि फुट हुन्छ ।

    नेपालको कम्युनिस्ट आन्दोलनमा भएका फुटमध्ये कतिपय वैचारिक, सैद्धान्तिक हिसाबले सही पनि थिए तर कतिपय फुट विचार, सिद्धान्तभन्दा पनि अन्य कारणले भएका थिए वा पार्टीभित्रका अन्तरविरोधको व्यवस्थापन सही प्रकारले हुन नसक्दा पनि भएका थिए । तत्कालीन अवस्थाको सापेक्षतामा त्यसको समीक्षा हुँदै आएको छ ।

    प्रतिक्रियावादी व्यवस्थामा काम गर्ने र वर्षसङ्घर्षमाथि विश्वास गर्ने पार्टीमा फुट हुन्न भनेर ठोकुवा गर्न सकिन्न बरु क्रान्तिकारी सिद्धान्तको रक्षा गरेर पार्टीएकता कायम राख्ने हाम्रो प्रयास हुनुपर्दछ । त्यसका बाबजुद हुने फुटको माझबाट पनि सही विचार, सिद्धान्तको पक्षमा उभिनुपर्दछ ।

    ० नेपालको राजनीतिमा फुट नयाँ कुरा भएन । फुटपछि जुट्ने पनि हुन्छ । तपाईंहरूले पनि आठौँ महाधिवेशनपछि त्यो प्रयास पनि गर्नुभयो तर हामीकहाँ फुटपछि जुटने काम कमै हुन्छ । यो प्रवृत्ति नै हो कि तपाईंहरूको पार्टीमा मात्रै देखिएको समस्या हो ?

    :: पार्टीमा हुने कतिपय टुटफुट आन्दोलनको चरणसित सम्बन्धित हुन्छन् । कम्युनिस्ट आन्दोलन सशक्त अवस्थामा रहेका बेला मानिसहरू पलायन हुने सम्भावना कम हुन्छ वा मानिसहरू फुटदैनन् । जब कम्युनिस्ट आन्दोलन कमजोर भएको जस्तो हुन्छ, त्यतिखेर मानिसहरू छुट्दै जाने पनि हुन्छ तर पार्टीका सचेत नेताकार्यकर्ताहरू निरन्तर कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाउन लागिरहेका हुन्छन् ।

    मसाल सधैँ फुटिरहन्छ, मोहनविक्रम सिंहले फुट र विभाजनका लागि मात्रै भूमिका खेले भन्ने पूर्वाग्रही आरोप कतिपयले लगाएको पाइन्छ । त्यसले वास्तविकतासँग मेल खाँदैन । अहिले जो जो हामीबाट फुटेर गए, भेटघाट हुँदा उहाँहरूले मोहनजीलाई कम्युनिस्ट आन्दोलनको नेतृत्वकर्ता, अभिभावकको रूपमा लिएको पाइन्छ । जो जसले मोहनविक्रम सिंहले क्रान्ति गरेन भनेर पार्टी छोडे, उनीहरूमध्ये एउटाले पनि क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाएको पाइन्न । यसबाट थाहा लाग्दछ, विचारमा विचलन भएपछि नै नेपालमा मानिसहरू पार्टीबाट बाहिरिने गरेका छन् ।

    तिनीहरूमध्ये कोही फेरि जुट्छन् । हामीलाई थाहा छ, नेकपा (मसाल) को केन्द्रीय समितिमा नै पार्टी छोडेर फेरि फर्की आएका साथीहरूले काम गरिरहनुभएको छ । यसरी मसाल फुट्न मात्रै जानेको छ भन्ने कुरा तथ्यसित मेल खाँदैन । यो पार्टीविरोधीले लगाउने आरोप हो । पार्टीविरोधीले गर्ने त पार्टीको विरोध नै त हो ।

    नेपालमा मसाल मात्रै फुटेको हो त ? त्यस्तो होइन । काङ्ग्रेस कैयौँपटक फुटेको छ । एमाले फुटेको छ । माओवादीहरू फुटेर बिस/बाइसओटा पार्टी बनेका छन् । मोहनविक्रम सिंह र चित्रबहादुर केसी पटक पटक फुटे, हामीले नफुट्ने पार्टी बनाउँछौँ भनेर हामीबाट अलग भएका साथीहरू पनि केही वर्षभित्रै पटक पटक फुट्यो । त्यसकारण पहिलो कुरा त यो आरोपमा सत्यता छैन । दोस्रो कुरा यो आरोप पूर्वाग्रही छ । तेस्रो कुरा यो आरोप लगाउनेहरू मसाललाई कमजोर पार्ने काममा उद्यत छन् ।

    ० नेपालका कतिपय कम्युनिस्ट पार्टीले सङ्गठनात्मक प्रणाली वा अनुशासनको सवालमा केही नयाँ अभ्यास गरेका दाबी गर्छन् । एमाले, माओवादीहरूले विधान सम्मेलन, विचार समूह, निर्वाचनद्वारा नेतृत्व चयन, नेतृत्वमा समावेशी प्रतिनिधित्वमा ध्यान दिन्छन् । कतिपय पार्टीहरूको आरोप छ, मसालले सङ्गठनात्मक प्रणाली वा अनुशासनबारे एउटा रूढीलाई मात्रै पक्रेको छ । त्यसैले त्यहाँ समस्या पर्‍यो । यो हल्लाका माझ कम्युनिस्ट पार्टीको आधारभूत प्रणाली वा अनुशासनको तथ्य के हो ?

    :: संसारमा पार्टी सङ्गठन सञ्चालन गर्ने दुईओटा प्रणाली पाइन्छन् । त्यसमध्ये एउटा हो– सामाजिक प्रजातन्त्रवादी प्रणाली, अर्को हो– लेनिनवादी सङ्गठनात्मक प्रणाली । सामन्तवादको विरुद्धमा सङ्घर्ष गर्दै जाँदा पुँजीवादीहरूले तयार पारेको सङ्गठनात्मक प्रणाली सामाजिक प्रजातन्त्रवादी प्रणाली हो ।

    सुरुसुरुमा पार्टी सञ्चालन गर्ने मौलिक सिद्धान्त कम्युनिस्ट पार्टीसँग पनि थिएन । मार्क्स, एङ्गेल्सको पालामा सामाजिक प्रजातन्त्रवादी प्रणाली नै उपयोग गरिन्थ्यो । रुसमा लेनिन, स्टालिनले कम्युनिस्ट पार्टी सञ्चालन गर्ने बेलामा नयाँ प्रकारको कम्युनिस्ट पार्टी आवश्यक ठान्नुभयो । त्यसका लागि नयाँ र उच्च प्रकारको सङ्गठित, अनुशासित र मिलिट्यान्ट प्रकारको पार्टी चाहिन्छ भनेर क्रान्तिकारी चरित्रको सङ्गठनका लागि सङ्गठनात्मक क्षेत्रमा नयाँ सिद्धान्त अगाडि सार्नुभयो । त्यसलाई लेनिनवादी सङ्गठनात्मक प्रणाली भनिन्छ । यो प्रणाली पुरानो सामाजिक जनवादी प्रणालीभन्दा नयाँ, वैज्ञानिक र उच्च प्रकारको प्रणाली हो । क्रान्ति गर्न चाहनेहरूका लागि लेनिनवादी सङ्गठनात्मक प्रणाली अनिवार्य शर्त हो ।

    जसले लेनिनवादी सङ्गठनात्मक प्रणालीलाई पुरानो भयो भनिरहेका छन्, उनीहरूले त्यो भन्दा नयाँ प्रणाली ल्याएको पाइन्न । उनीहरूले त्यो भन्दा पुरानो, गएगुज्रेको, तल्लो प्रकारको सामाजिक जनवादी प्रकारको प्रणाली अपनाएको पाइन्छ । त्यसैले नेकपा (मसाल) ले लेनिनवादी सङ्गठनात्मक प्रणाली अपनाएको पाइन्छ यद्यपि सोहीअनुसारको प्रणालीअनुसार पार्टी सञ्चालन गर्न सकिरहेको छैन भन्ने निष्कर्ष मसालको नवौँ महाधिवेशनले निकालेको पाइन्छ ।

    लेनिनवादी सङ्गठनात्मक प्रणालीले व्यक्तिको जनवादी अधिकारलाई कुण्ठित गर्दैन, बरु जनवादलाई सुनिश्चित र व्यवस्थित गर्दछ । यो प्रणालीले अन्तरजनवाद र केन्द्रीयतालाई द्वन्द्ववादी प्रकारले लागु गर्ने सुनिश्चित गर्दछ ।

    ० अहिले कतिपय वामपन्थी पार्टीहरूले वाम ध्रुवीकरणको कुरा उठाएको पाइन्छ तर तपाईंहरूले यसप्रति अरुचि प्रकट गरेको हो जस्तो देखिन्छ । यसबारे कुरा के हो ?

    :: कम्युनिस्ट पार्टीमाझको एकता, ध्रुवीकरण आवश्यक विषय हो तर नेपालमा को कम्युनिस्ट पार्टी हो ? को अवसरवादी पार्टी हो ? यसबारे सबैका विभिन्न धारणा छन् । मार्क्सवादी–लेनिनवादी दृष्टिकोणअनुसार हेर्दा नेपालमा केही पार्टी दक्षिणपन्थी पार्टी छन् । एमाले, माओवादी केन्द्र जस्ता पार्टी यस प्रकारका छन् । उनीहरूले सशस्त्र सङ्घर्ष, वर्गसङ्घर्षको अनिवार्यतालाई स्वीकार गर्दैनन् । लेनिनवादी सङ्गठनात्मक प्रणालीलाई उनीहरूले अपनाएको पाइँदैन यद्यपि मसालले उनीहरूलाई पनि वामपन्थी, देशभक्त जनतान्त्रिक पार्टी अर्थात् मिक्रशत्ति मान्दछ । उनीहरूले कम्युनिस्ट पार्टीलाई ट्रेडमार्कको रूपमा प्रयोग गरिरहेका छन् ।

    अर्कोतिर, सशस्त्र सङ्घर्ष स्वीकार्ने पार्टीहरू छन् । उनीहरू रणनीतिक रूपमा सही छन् तर कार्यनीतिक रूपमा उनीहरूले मार्क्सवादी–लेनिनवादी नीति अपनाउन सकिरहेका छैनन् । उनीहरूले वामपन्थी सङ्कीर्णवादी नीति अपनाइरहेका छन् । उनीहरू पनि नेकपा (मसाल) को वामपन्थी, देशभक्त, जनतान्त्रिक शक्ति र मिक्रशत्तिको रूपमा रहेका छन् तर कम्युनिस्ट पार्टीको रूपमा रहेका छैनन् ।

    एकातिर दक्षिणपन्थी पार्टीहरू छन्, जो कम्युनिस्ट रणनीतिबाट धेरै टाढा पुगेका छन् । त्यसैले उनीहरू कम्युनिस्ट पार्टी होइनन् । अर्कोतिर, वामपन्थी सङ्कीर्णवादी पार्टी छन्, जसले रणनीतिलाई नै कार्यनीतिको रूपमा प्रस्तुत गरिरहेका छन् । यसरी देशमा कम्युनिस्ट पार्टीको रूपमा कुनै पार्टी नभएकाले मसाल वाम ध्रुवीकरणमा सामेल भएको छैन ।

    अहिले तात्कालिक विषयमा कार्यगत एकता गरेर सङ्घर्ष अगाडि बढाउनुपर्ने आवश्यकता छ । त्यसमा पनि दुईओटा समस्या देखा परेका छन् । एउटा– नेपालको अहिलेको आन्दोलन भनेको राष्ट्रियता र जनतन्त्रको आन्दोलन हो तर एकथरि पार्टीले आफूलाई साम्राज्यवादप्रति समर्पण गरिसकेको देखिन्छ । त्यसैले उनीहरूले राष्ट्रियताको आन्दोलनमा कुनै भूमिका खेल्न सक्दैनन्, एमाले, माओवादी केन्द्र जस्ता पार्टीहरू ।

    अर्कोतिर आफूलाई क्रान्तिकारी पार्टी हौँ भन्नेहरू राष्ट्रियता रक्षाको आन्दोलनमा त सकारात्मक छन् तर आन्दोलनबाट प्राप्त जनतान्त्रिक अधिकार रक्षाको आन्दोलनको विरुद्धमा छन् । यी दुई थरी अवस्थाका कारण नेकपा (मसाल) ले चाहेअनुसारको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा संयुक्त आन्दोलन हुन सकिरहेको छैन तैपनि त्यसका लागि नेकपा (मसाल) ले प्रयत्न जारी राख्ने छ ।

    ० आठौँ महाधिवेशनको बेलामा तपाईंहरूमाझ अन्तरसङ्घर्ष तीव्र भएको थियो । पछि केही साथीहरू फुटे पनि । त्यसको सारतत्त्व के थियो ?

    :: आठौँ महाधिवेशनको क्रममा विभिन्न विचार आउनु स्वाभाविक थियो । एउटा जीवित पार्टीमा त्यस्तो हुन्छ नै । महाधिवेशनअघि सम्म हामी सबैमाझ सहमति थियो : विभिन्न विषयमा छलफल गरेर जाऔँ । महाधिवेशनले यसबारेमा एउटा निर्णय दिने छ । जब महाधिवेशन सम्पन्न भयो, त्यसपछि आठौँ महाधिवेशनका निर्णय बेठिक छन्, त्यसलाई मानेर जानु हुँदैन भन्ने भडकावका कारण उहाँहरू बाहिरिनुभयो ।

    हाम्रो अहिले पनि के विचार छ भने भिन्न मतका कारणले उहाँहरू बाहिरिनु आवश्यक थिएन । उहाँहरूका विचार नवौँ महाधिवेशनले स्वीकार्न पनि सक्दथ्यो तर उहाँहरूले त्यसो गर्नुभएन र अलग हुनुभयो । अहिले पनि पार्टीमा बिनाशर्त जोडिने विषयमा पार्टी खुला छ ।

    महाधिवेशनपछि पनि पार्टीबाट विभिन्न कारणले विभिन्न कालखण्डमा अलग भएका साथीहरूलाई आउनुस् भनेर पार्टीले आह्वान गरेको थियो । त्यसमध्ये कैयौँ साथीहरू जोडिनुभएको पनिन छ । भविष्यमा पनि यो क्रम अगाडि बढ्दै जाने छ ।

    तत्काल र भविष्यका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीको विकल्प छैन र नेकपा (मसाल) को पनि विकल्प छैन । नेकपा (मसाल) को विकल्प भनेको अझ क्रान्तिकारी, अझ बलियो मसाल हो ।

    ० पछिल्लो वर्ष तपाईंहरूको पार्टीले कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रूपान्तरण गरौँ भन्ने नाराका साथ तीन अभियान सञ्चालन गरेको थियो । त्यसअन्तर्गत नवौँ महाधिवेशन पनि सम्पन्न भइसकेको छ । अहिले क्रान्तिकारी रूपान्तरणको अवस्था के छ ?

    :: खास गरी तीन अभियानको दौरानमा नेकपा (मसाल) ले क्रान्तिकारी रूपान्तरणको विषय अगाडि सारेको थियो । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष पूरा भएको, विश्व सर्वहारा वर्गको नेता लेनिनको निधन भएको सय वर्ष पूरा भएको र नेकपा (मसाल) को नवौँ महाधिवेशनको तालिका त्यसै वर्षभित्र परेकाले यसलाई ऐतिहासिक तीन अभियानको रूपमा सम्पन्न गर्ने र त्यो अभियानको नारा नै “ऐतिहासिक तीन अभियान सफल पारौँ : कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रूपान्तरण गरौँ” भन्ने थियो ।

    पार्टीभित्र क्रान्तिकारी रूपान्तरणको आवश्यकता छ, त्यसका लागि अहिलेदेखि नै थालनी गर्नुपर्छ भन्ने तथ्य स्थापित भएको छ । त्यस दिशामा पार्टीले विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । पार्टीको नीतिसिद्धान्त क्रान्तिकारी भएको तर सोअनुरूप सङ्गठन नभएको भनेर पार्टीले महसुस गर्‍यो यद्यपि अरू पार्टीभन्दा मसालको स्थिति र स्तर धेरै नै माथि छ । फेरि पनि क्रान्तिकारी पार्टीको जुन स्तर हुनुपर्ने हो, त्यस्तो छैन ।

    एकातिर, दृष्टिकोण, चरित्र, अनुशासन, कार्यक्षमता जुन प्रकारको हुनुपर्ने हो, त्यस्तो छैन, अर्कोतिर जनतामा पार्टी जसरी स्थापित हुनुपर्ने हो, त्यस्तो हुन सकिरहेको छैन । यसबारे छलफल चले, अध्ययन भए, प्रशिक्षण चले । सङ्गठन र सङ्घर्षको क्षेत्रमा पनि थालनी भएको छ । नवौँ महाधिवेशनबाट त्यसको सुरुआत भएको छ । यसलाई गति दिएर अगाडि बढाउन हामी प्रयत्नशील छौँ ।

    ० राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ गतेदेखि सङ्घीयता विरुद्ध एकहप्ते काठमाडौँकेन्द्रित आन्दोलन गर्दै रहेछ । आन्दोलनका लागि ठिक त्यही समय निश्चित गर्नुको कारण के हो : सरकारले संविधान संशोधन गर्न खोजेको विषयले वा जनताको चेतनास्तर उठिसकेको भनेर ?

    :: सङ्घीयता खारेज गर्नुको विकल्प छैन । यो कुनै व्यवस्था फेर्ने आन्दोलन पनि होइन, यो हाम्रो देशको तात्कालिक आवश्यकता हो । सङ्घीयता बेठिक छ भन्ने कुरा सुरुसुरुमा राष्ट्रिय जनमोर्चाले मात्रै भन्दै आइरहेको थियो । सङ्घीयता भौगिलिक रूपमा, आर्थिक रूपमा, सामाजिक रूपमा सङ्घीयता ठिक छैन । सङ्घीयताले एकता होइन, विभाजन खोज्दै हिँड्छ । भौगोलिक हिसाबले ठुला र विभिन्न छरिएर रहेका देशका लागि सङ्घीयता आवश्यक हो, जस्तै : रुस, अमेरिका, भारतका लागि तर नेपाल त परापूर्वकालदेखि छरिएर रहेको होइन, एकीकृत मुलुक हो ।

    त्यसैले अहिले चाहिएको विकेन्द्रीकरण हो । स्थानीय स्वायत्त शासनसहितको विकेन्द्रीकरण हामीलाई चाहिएको हो । त्यसका लागि स्थानीय निकायलाई अधिकारसम्पन्न बनाउनुपर्दछ भन्ने हाम्रो नीति छ किनभने अहिले सङ्घीयता भनिए पनि राज्यको चरित्र केन्द्र्रीकृत छ । यो केन्द्रीकृत चरित्रलाई बदलेर विकेन्द्रीकरण गरिनुपर्दछ । त्यसका लागि सङ्घीयतालाई फाल्नुको विकल्प छैन ।

    हामीले यही विषयमा केन्द्रित रहेर सङ्घीयता विरुद्ध आन्दोलन गर्ने निर्णय गरेका छौँ । जहाँसम्म चैत २४ गतेको समय नै किन चयन गरियो भन्ने सवाल छ, त्यसका दुईओटा तथ्य छन् : एउटा– मङ्सिरदेखि नै सङ्घीयता विरोधी आन्दोलन प्रदेश, जिल्ला र स्थानीय तहसम्म सञ्चालन हुन्छन् । त्यसको उच्च रूपमा चैत २४ गतेदेखि आन्दोलन चल्ने छ । अर्कोतिर, २०४६ सालको आन्दोलनको क्रममा चैत २४ महत्त्वपूर्ण दिन हो । सोही दिनको आन्दोलनकै क्रममा त्यो आन्दोलन सफल भएको थियो । यही सन्दर्भमा यो मिति चयन गरिएको हो ।

    ० अन्तिममा तात्कालिक राजनीतिका दुईओटा विषयमा तपाईंहरूको धारणा जान्न चाहेँ । एउटा त अहिलेको सरकारप्रतिको तपाईंहरूको धारणा के छ ? दोस्रो, अहिले भ्रष्टाचार, सहकारी ठगीको विषयमा छानबिन भइरहेको छ । यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतको गिरफ्तारी भएको छ । यसबारे के भन्नुहुन्छ ?

    :: अहिले राष्ट्रिय राजनीतिका मुख्य तीनओटा इस्युहरू छन् : एक– राष्ट्रियता रक्षाका लागि सङ्घर्ष, दुई– नेपाली जनताले रगतसित साटेर ल्याएको गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिताको रक्षाका लागि सङ्घर्ष, तीन– सङ्घीयताको खारेजी । त्यससँगसँगै भ्रष्टाचार संस्थागत भएको छ । त्यसले देशलाई गाँजेको छ । राजनीतिक क्षेत्रको उच्च तहबाट भ्रष्टाचारलाई संरक्षण प्राप्त भएको छ । अहिले सहकारीमा विकृति देखा परेको छ । सहकारी आफैमा राम्रो प्रणाली भए पनि अहिले केही मुठिभर तप्काले सर्वसाधारण जनताको रकममा डकैती गर्ने काम भएको छ । त्यसका लागि सरकारको नीति पनि जिम्मेवार छ । उदाहरणका लागि का. चित्रबहादुर केसी सहकारीमन्त्री हुँदा पेस गरिएको सहकारी ऐनको मूल पक्ष वा मर्मलाई हटाएर कुरूप बनाएर पास गरियो । त्यसैले अहिले सर्वसाधारण जनताको निक्षेप गुम्नुमा सरकारको नीति, ऐनकानुन जिम्मेवार छन् ।

    यस सन्दर्भमा रवि लामिछाने पनि जोडिएका छन् । रवि मात्रै होइन, सर्वसाधारण जनताको पैसा हिनामिना गर्ने जोकसैमाथि छानबिन गरेर कारबाही गरिनुपर्दछ तर निर्दोषलाई फसाउनु पनि हुँदैन र दोषीलाई उन्मुक्ति दिनु पनि हुँदैन ।

    अहिले रवि पक्राउ परेपछि उनी दोषी भए पनि, रकम हिनामिना गरे पनि पक्रिनुहुँदैन भनेर कथित आन्दोलन चलिरहेको छ । त्यो बेठिक छ । रविले ठगी गरेको/नगरेको विषय अदालतमा छ । त्यसैले अदालतलाई प्रभावित गर्ने गरी गरिएको कथित आन्दोलन बेठिक छ । यस खालका ठगीलाई रोक्न राज्यले अरू पहलकदमी अगाडि बढाउनुपर्दछ । रवि मात्रै होइन, सत्तारूढ दलका वा जोसुकै भए पनि सबै सहकारी ठगलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्दछ । यो दायित्व सरकारको हो ।

    शनिबार, कार्तिक १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.