मोहनविक्रम सिंह, महामन्त्री, नेकपा (मसाल) ##
० नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहलाई युगदर्शन मिडियामा स्वागत छ ।
– धन्यवाद ।
० हजुरको स्वास्थ्यस्थिति कस्तो छ ?
– मेरो स्वास्थ्य राम्रो छ ।
० राजनीतिक गतिविधिमा सक्रिय हुनुहुन्छ ?
– अँ, सक्रिय छु ।
० आज हामी नेपालको समसामयिक राजनीतिक विषयमा कुराकानी गर्न चाहान्छौँ । राजनीति सम्भावनाको खेल हो; यसमा अनिश्चितता हुन्छ; यसमा स्थायी मित्र वा स्थायी दुस्मन हुन्न भन्छन् । तपाईंहरू आफैले प्रमुख दुस्मन भनेको कङ्ग्रेससँग सहकार्य गर्नुभयो । अहिले नेपालको राजनीतिमा पनि दुई मुख्य प्रतिपक्षी दलहरू मिलेका छन् । यो घटनालाई कसरी लिनुहुन्छ : यो स्वाभाविक हो वा आश्चर्य ?
– देशको अहिलेको स्थिति गम्भीर छ । तपाईंले सुरुमा नै भन्नुभयो, हामीले कङ्ग्रेससँग पनि एकता गर्यौँ भन्ने कुरा । यो अनावश्यक प्रश्न हो ।
मार्क्सवाद–लेनिनवादको महत्त्वपूर्ण सिद्धान्त संयुक्त मोर्चाको सिद्धान्त हो । पार्टीएकता समान विचार भएका पार्टीमाझ गर्छौं तर कतिपय अवस्थामा भिन्न विचार भएका दुस्मन शक्तिसित पनि कार्यगत एकता गर्नुपर्ने आवश्यकता हुन्छ । कुनै देशको कुनै खास राजनीतिक स्थितिमा वा ठुलो दुस्मनसँग लड्नका लागि, गम्भीर खतरासँग लड्नका लागि तात्कालिक विषयमा समान विचार भएका शक्तिसँग मिल्नुपर्ने हुन्छ ।
त्यसैले हामीले २०४६ सालमा पनि निरङ्कुश पञ्चायती व्यवस्थालाई खतम गर्न नेपाली कङ्ग्रेस र वामपन्थीहरूसित कार्यगत एकता गरेका थियौँ । त्यही प्रकारले २०६२–६३ सालमा पनि हामीले कार्यगत एकता गरेका थियौँ । २०७७ सालमा जब एमालेले संसद्लाई विघटन गरेर देशलाई प्रतिगमनको दिशातिर लैजाने प्रयत्न गर्यो, त्यसबेला पनि हामीले प्रतिगमन विरुद्ध सहमत हुने शक्तिसित एकता गर्यौँ ।
यसरी आवश्यकताअनुसार राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा पनि संयुक्त मोर्चा वा सहकार्य गर्नुपर्ने आवश्यकता हुन्छ । यसरी कङ्ग्रेससितको एकतालाई विरोध गर्ने कुरामा खास गरेर दुईओटा कुराले काम गरेका छन् : एउटा त प्रतिगमनका पक्षमा भएका शक्तिहरूले यसलाई गलत मानेका छन् र विरोध गरेका छन्; अर्कातिर, वामपन्थी सङ्कीर्णवादी सोचाइले पनि त्यस प्रकारको विचारलाई स्वीकार गर्न सक्दैनन् र विरोध गरिरहेका हुन्छन् ।
० तपाईंहरूले प्रतिगमनको कुरा गर्नुभयो । गत चुनावमा वा संसद् विघटनको बेलामा तपाईंहरूले जुन मोर्चा बनाउनुभएको थियो, तपाईंहरूबाहेक अरू कुनै पनि दल प्रतिगमन विरुद्धको सङ्घर्षमा अडिग भएको देखिन्न । अहिले त कङ्ग्रेसले एमालेसँग मिलेर सरकार बनायो । वास्तवमा प्रतिगमन भनेको के हो ? अहिले त्यो खतरा विद्यमान छ कि छैन ?
– अहिले त्यो खतरा झन् बढी गम्भीर छ । नेपालमा हामीले प्रतिगमन विरुद्धमा बारम्बार सङ्घर्ष गर्दै आउनुपरेको छ । प्रतिगमनले नेपालमा बारम्बार गम्भीर खतरा पैदा गरेको छ ।
२०१७ सालमा राजा महेन्द्रले देशमा विद्यमान प्रजातन्त्र विरुद्ध कदम चालेका थिए । निरङ्कुश पञ्चायती राजतन्त्र कायम गरेका थिए । त्यसै गरेर २०४६ सालमा वामपन्थी र कङ्ग्रेससित मिलेर निरङ्कुश पञ्चायती सत्तालाई खतम गरेका थियौँ । २०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले जब बहुदलीय व्यवस्थालाई खतम गरे र निरङ्कुशता कायम गरे, त्यसका विरुद्ध माओवादी, एमाले, कङ्ग्रेस, मधेसवादी सबै मिलेर त्यसका विरुद्ध सङ्घर्ष गर्यौँ । त्यसको परिणामस्वरूप नै राजतन्त्र समाप्त भयो ।
राजतन्त्र खतम भएपछि अहिले राजावादीहरूले राजतन्त्रको पुनर्स्थापना र धर्मनिरपेक्षताका विरुद्ध समेत पूरै योजनाबद्ध र सङ्गठित प्रकारले प्रयत्न गरिरहेका छन् । त्यो खतरा पहिलेभन्दा बढेर गएको छ । २०१७ साल, २०५९ साल वा २०६२ सालको प्रतिगमनका लागि राजाले एक्लै कदम चालेका थिए । पछि कतिपय राजनीतिक शक्तिहरू त्यसको पक्षमा लागेका थिए ।
नेपाली कङ्ग्रेसको एउटा पक्षले अहिले गणतन्त्रलाई समाप्त गरेर राजतन्त्र ल्याउने नीतिलाई समर्थन गरिरहेको छ, जुन पार्टीले गणतन्त्र ल्याउन महत्त्वपूर्ण भूमिका रहेको थियो ।
एमालेले पनि त्यस प्रकारको दृष्टिकोण अपनाउने गरेको छ । त्यसले पनि बारम्बार देशलाई प्रतिगमनको दिशामा लैजाने प्रयत्न गरेको छ । एमालेको विषयमा यो भन्ने गरिन्छ; अब त्यो आधिकारिक रूपमा पनि आएको छ; जब एमालेले गणतन्त्रको पक्षमा निर्णय गर्न थालेको थियो, त्यस बेला ओलीले गणतन्त्रको नाराको विरोध गरेका थिए । उनले यो सम्म भनेका थिए : ‘नेपालमा गणतन्त्रको कुरा गर्नु बयलगाडामा चढेर अमेरिका जानु जस्तो हो ।’ उनको त्यो विचार संसद् विघटनको बेलामा पनि देखा पर्यो । उनले कैयौँ पल्ट चुनावको बेलामा वा सत्तामा रहेको बेलामा पनि राप्रपासित गठबन्धन गर्ने नीति अपनाएका थिए । उनको त्यो सोचाइ अहिले पनि बाँकी छ ।
अर्को कुरा, भारतमा भारतीय कङ्ग्रेस होस् वा भाजपा, दुवैले नेपालप्रति साम्राज्यवादी नीति अपनाउँछन् तर जहाँसम्म गणतन्त्र र धर्मनिरपेक्षताको प्रश्न छ, भारतीय कङ्ग्रेस गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा छ तर भाजपा कट्टर हिन्दुवादी सङ्गठन हो । त्यसले नेपालमा धर्मनिरपेक्षतालाई खतम गर्न चाहन्छ र राजतन्त्र ल्याउन चाहन्छ । त्यसले गर्दाखेरि कतिपय अन्तर्राष्ट्रिय शक्तिहरूले पनि नेपालको राजतन्त्रलाई आफ्ना स्वार्थको पक्षमा प्रयोग गर्न चाहन्छन् । यसरी २०१७ साल र २०५९ सालमा भन्दा अहिले प्रतिगमनको खतरा झन् गम्भीर बनेको छ ।
त्यसबाहेक हाम्रा केही माओवादी साथीहरू पनि छन्, जसले प्रतिगमनको खतरालाई ठिकसँग बुझ्न सकेका छैनन् । पहिले माओवादीहरूमा राजापरस्त टेन्डेन्सीले काम गरेको थियो । त्यसको केही अवशेष अहिले केही वामपन्थी शक्तिहरूमा कायम छ । उनीहरूले आज देशमा राजावादी खतरालाई ठिकसित बुझ्दैनन् र त्यसमा ध्यान दिँदैनन् । त्यसै गरेर प्रतिगामी खतरा विरुद्ध सङ्घर्ष गर्ने आवश्यकताप्रति उनीहरूले ध्यान दिँदैनन्; त्यसको प्रकारले विरोध गर्दछन् ।
त्यति मात्र होइन, उनीहरूले गणतन्त्रसमेतको विरोध गर्छन् । पुँजीवादी प्रजातान्त्रिक क्रान्तिकालमा गणतन्त्रको पनि ठुलो महत्त्व हुन्छ । नयाँ जनवादी क्रान्ति कायम गरेपछि जनवादी गणतन्त्र कायम गर्नुपर्दछ । त्यो हाम्रो रणनीतिक उद्देश्य हो । अहिलेको गणतन्त्र अवश्य पनि पुँजीवादी प्रकारको हो तैपनि निरङ्कुश तानाशाही राजतन्त्रभन्दा यो प्रगतिशील व्यवस्था हो । त्यसमाथि अहिले राजावादीहरूले त्यसमाथि हमला गरिरहेका छन् । त्यसकारण हामीले त्यसको रक्षामा ध्यान दिनुपर्दछ ।
कतिपय वामपन्थी पक्षले त्यसबारे सही दृष्टिकोण अपनाउन सकेका छैनन् । यसरी हामी देख्दछौँ, प्रतिगमनको खतरा पहिलेभन्दा अझ गम्भीर छ । हामीले त्यही खतराको सामना गर्न बारम्बार अन्य पक्षसित एकता गर्ने गरेका छौँ । हाम्रो यो नीति सिद्धान्तमाथि आधारित छ तर अन्य पार्टीहरूले सिद्धान्त, नीतिभन्दा पनि सत्ताको चलखेलको रूपमा त्यसलाई लिने गरेका छन् । त्यसकारण त्यसमा उनीहरू स्पष्ट र इमानदार रहन सक्ने गरेका छैनन् । त्यसरी यो स्थितिबाट अन्य पार्टीमा देखा परेको ढुलमुल, अवसरवादी दृष्टिकोणले गर्दा पनि गणतन्त्रमाथि खतरा बढेर गएको छ । त्यसैले प्रतिगमन विरुद्धको आन्दोलनमा अरू जोड दिनुपर्ने आवश्यकता छ भन्नेमा हाम्रो पार्टीले विश्वास राख्दछ ।
० प्रतिगमन विरुद्ध सङ्घर्षको कुरा गर्नुभयो । कङ्ग्रेस प्रतिगमनको खतराको आन्दोलनबाट पछि हटे जस्तो देखिन्छ । उनीहरूले राजनीतिक स्थिरताको कुरा गरिरहेका छन् । यो राजनीतिक स्थिरताको वास्तविकता के हो ? यसका पछाडिको अन्तर्य के हो ?
– मैले माथि भनिसकेँ, कङ्ग्रेसभित्रको एउटा पक्ष सुरुदेखि नै गणतन्त्र र धर्मनिरपेक्षताको विरुद्धमा छ तर सम्पूर्ण कङ्ग्रेस त्यस्तो छ भन्ने होइन । त्यहाँ गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा मान्छेहरू छन् । देशमा गणतन्त्र ल्याउनका लागि उनीहरूले ठुलो सङ्घर्ष गरे । गिरिजाप्रसाद कोइरालाको त्यसमा महत्त्वपूर्ण भूमिका रह्यो । गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध जुन कङ्ग्रेसहरू छन्, उनीहरूले गिरिजाको समेत विरोध गरिरहेका छन् । कङ्ग्रेसभित्रको सम्पूर्ण पङ्क्ति प्रतिगमन, हिन्दु राष्ट्रका वा राजतन्त्रको पक्षमा छ भन्ने होइन । सत्ताको लागि पनि उनीहरूले त्यस प्रकारको नीति अपनाउने गरेका छन् । उनीहरूले भारतलाई हेर्ने गर्दछन् । भारतमा जब भाजपा शक्तिशाली हुन्छ, नेपालमा सत्तामा बस्नको लागि भाजपाको समर्थन चाहान्छन् । त्यसका लागि उनीहरूले धर्मनिरपेक्षता र गणतन्त्रको विरोध गर्दछन् र राजतन्त्रको समर्थन गर्दछन् । भारतमा जसको शक्ति बलियो हुन्छ, त्यसैको आधारमा नै उनीहरूले आफ्नो दृष्टिकोण बनाउने गरिरहेका हुन्छन् ।
० प्रतिगमन विरुद्ध सङ्घर्षको एउटा घटक माओवादी–केन्द्रको पछिल्लो भूमिका कारणले यो स्थिति आयो भनिरहेको पाइन्छ । त्यसको अहिलेको भूमिका र चरित्रलाई कसरी लिनुभएको छ ?
– सम्भवतः नेपालको राजनीतिमा सबैभन्दा अवसरवादी शक्ति भनेको माओवादी केन्द्र नै हो । एमाले भन्नुस्, काङ्ग्रेस भन्नुस्, राप्रपा भन्नुस्—उनीहरूका आफ्ना दृष्टिकोण छन् तर माओवादीको कुनै स्थिर सिद्धान्त वा नीति भएको पाइँदैन । उसले बारम्बार सत्तालाई केन्द्रमा राखेर अवसरवादी भूमिका खेल्ने गरेको छ ।
प्रतिगमन विरोधी गठबन्धनको कुरा गरौँ । हामीले प्रतिगमन विरुद्ध माओवादीसित समेत गठबन्धन गर्यौँ । प्रचण्डले प्रधानमन्त्री पदका लागि बारम्बार आफ्नो ठाउँ फेर्ने गरेका छन् । कहिले उनी एमालेसित मिल्छन्, कहिले उनी राप्रपासित मिल्छन्; कङ्ग्रेससित मिल्छन्; कहिले घन्टीपार्टीसित गठबन्धन गर्छन् । उनीहरू सत्तामा भएका बेलामा आफ्नो अङ्कगणितीय बाध्यताले गर्दा घन्टीपार्टीसित गठबन्धन गरेका थिए, जो अमेरिकापरस्त पार्टी हो । त्यो पार्टी सहकारीका विषयमा अत्यन्त बद्नाम छ । त्यहाँ बारम्बार भ्रष्टाचार काण्ड देखा पर्ने गरेका छन् । त्यस्तो सङ्गठनसित अहिले सरकारबाट हटेपछि पनि त्योसित मोर्चा बनाएर काम गरिरहेका छन् । यो प्रचण्डको अत्यन्त अवसरवादी तरिका हो । उनको यस्तो अवसरवादी तरिका छ ।
अहिले पनि जुन एमाले र कङ्ग्रेसको गठबन्धन बन्यो, त्यसको लागि मुख्य दोषी प्रचण्ड नै छन् । पहिले उनले जुन गठबन्धन गरेका थिए नेपाली कङ्ग्रेससित, त्यसमा पनि इमानदार रहेनन् । प्रधानमन्त्रीका लागि कहिले एमालेका पछाडि दौडिए । बारम्बार उनले आफ्नो पोजिसन बदल्ने काम गरे । त्यसले गर्दा नै अहिलेको गठबन्धन अस्तित्वमा आएको हो ।
० प्रचण्डकै प्रसङ्गको कुरा गर्दा माओवादी केन्द्र वा प्रचण्डले वामपन्थी एकताको कुरा गरिरहेका छन् । तपाईंहरूले त्यो एकताप्रति खासै चासो देखाएको पाइन्न । तपाईंलाई कस्तो लाग्छ, के वामपन्थी सहकार्यको आवश्यकता छैन अहिले ?
– वामपन्थी सहकार्यको आवश्यकता छ । वामपन्थीबिच मोर्चा हुनु आवश्यक छ । त्यसमा स्पष्टता चाहियो; इमानदारिता चाहियो तर स्वयम् प्रचण्डहरूको कुनै नीतिमा इमानदारिता छैन । ढुलमुल अवसरवादी नीतिको आधारमा वामपन्थी संयुक्त मोर्चा बन्ने सम्भावना हुँदैन ।
त्यसै गरेर अर्को वामपन्थी मोर्चाका लागि हामीले वैद्यहरूसित पनि बारम्बार संयुक्त भएर जाने प्रयत्न गरेका थियौँ । हामीले कैयौँ पल्ट उनीहरूसित एकता गर्ने गरेका छौँ तर उनीहरूको बढी झुकाव राजावादीतिर छ । उनीहरू प्रतिगमन विरुद्ध जान चाहेका छैनन् । हामीले उनीहरूसित जुन संयुक्त कार्यक्रम गर्यौँ, सबै कार्यक्रममा उनीहरूले राजावादीलाई सामेल गर्ने जुन नीति अपनाए, त्यसले गर्दाखेरि उनीहरूसितको एकता टुट्न गयो ।
उनीहरूले जनवादी गणतन्त्रको कुरा गर्छन् । त्यो हाम्रो रणनीतिक लक्ष्य हो । व्यवहार गएर उनीहरूले गणतन्त्रको विरोध गर्दछन् । उनीहरूको गणतन्त्रको विरोध गर्ने नीतिले प्रतिगमनलाई नै मदत पुग्दछ । उनीहरूको त्यो नीतिले गर्दा पनि वामपन्थी एकता वा कार्यगत एकतामा बाधा पुगेको छ । सैद्धान्तिक अस्पष्टता, अस्पष्टता, समझदारी भएको विषयमा इमानदारीको अभाव—यसले गर्दाखेरि वामपन्थी एकतामा समस्या पैदा भएको छ; सङ्कट पैदा भएको छ ।
देशका वामपन्थीहरू एकजुट भएर जानुपर्ने आवश्यकता छ तर वामपन्थी शक्तिका जुन ढुलमुल, अवसरवादी, कतिपय अवस्थामा प्रतिगमनपक्षीय अवधारणाले गर्दा पनि वामपन्थी एकतामा बाधा पुगेको छ ।
० हामीकहाँ नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी छ । त्यसको सवालमा देशका अन्य सबै पार्टीभन्दा तपाईंहरूको अलग्गै दृष्टिकोण छ । तपाईंहरूको बुझाइ छ, यो पार्टी अमेरिकी साम्राज्यवादद्वारा बनाइएको हो । त्यसका पछाडिको तर्क के हो ?
– निश्चय नै । यो अमेरिकी साम्राज्यवादले आफ्नो आवश्यकता पूरा गर्नका लागि बनाएको पार्टी हो । अमेरिकाले नेपालमाथि एमसिसी लादेको छ । यो चीनलाई घेराबन्दी गर्ने वा चीनका विरुद्ध मोर्चा बनाउने नीति हो । त्यसबाहेक तिब्बतको प्रश्न छ । तिब्बतमा दलाई लामालाई पुनर्स्थापना गर्ने उसको रणनीति रहेको छ । त्यसका लागि नेपालबाहेक अन्तै कतैबाट बाटो छैन । त्यसका लागि नेपाललाई उसले युद्धभूमि बनाउनुपरेको छ । दलाई लामालाई पुनर्स्थापना गर्न तिब्बतमाथि आक्रमण गर्नुपरेको छ । त्यसका लागि पनि उसले नेपालको सरकारलाई पूरै प्रयोग गर्न चाहन्छ ।
अमेरिका साम्राज्यवादी देश हो; भारत साम्राज्यवादी देश हो, चीन पनि साम्राज्यवादी देश हो । हाम्रो पार्टीले त्यो विश्लेषण गरेको छ तर चीन साम्राज्यवादी देश भए पनि नेपालको इतिहासका बेग्लाबेग्लै कालखण्डमा वा भूराजनीतिक सन्दर्भमा यी साम्राज्यवादी देशका बिचमा हामीले अन्तर गर्नुपर्ने आवश्यकता हुन्छ; जस्तो : द्वितीय विश्वयुद्धको समयमा इङ्गल्यान्ड, अमेरिका, फ्रान्स सबै साम्राज्यवादी देश थिए तर फासिज्म विरुद्ध सङ्घर्ष गर्नका लागि अमेरिका, बेलायत, फ्रान्ससित एकता गर्नुपर्ने आवश्यकता भएको थियो । फासिवाद विरुद्धको सङ्घर्षमा ती साम्राज्यवादी देशको बढी उपयोगिता अर्थात् सकारात्मक भूमिका थियो ।
साम्राज्यवादी देश भनेर पनि बेग्लाबेग्लै अवस्थामा उनीहरूका बिचमा अन्तर गर्नुपर्ने आवश्यकता हुन्छ । त्यसअनुसार नेपालमा अमेरिकी साम्राज्यवाद, भारतीय साम्राज्यवादको जुन हस्तक्षेप बढिरहेको छ, खास गरेर भारतको जुन अतिक्रमण एकदम बढेर गएको छ, त्यस्तो अवस्थामा अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादको सन्तुलन र नियन्त्रणका लागि चीनसितको एकताले हामीलाई बढीभन्दा बढी महत्त्व राख्दछ । चीन साम्राज्यवादी देश भए पनि ऊसितको एकता वा नेपालको मैत्री सम्बन्धको बढी महत्त्व रहन्छ भने हाम्रो दृष्टिकोण रहेको छ । त्यो अवस्थामा चीनसित हामीले मैत्रीपूर्ण सम्बन्धमा जोड दिने गरेका छौँ ।
त्यसको अर्थ चीन पूरै नै नेपालप्रति इमादारितापूर्वक मैत्रीपूर्ण दृष्टिकोण अपनाउने भन्ने पनि होइन । हामीले देख्यौँ, चीनले नेपालसित सम्पर्क नगरिकन भारतीय साम्राज्यवादसित सन्धि गरेको छ । त्यसअनुसार कालापानी क्षेत्रको नक्सा चीनको नयाँ नक्सामा देखाइएको छैन । उसले आफ्नो सुरक्षाको दृष्टिकोणले नेपाललाई उपयोग गर्ने प्रयत्न गरेकाले हामीले ऊमाथि विश्वास गर्न सक्ने स्थिति छैन तैपनि अमेरिकी र भारतीय हस्तक्षेपमाथि विचार गर्दा चीनसितको एकताले हामीलाई बढी राख्दछ भन्ने हाम्रो दृष्टिकोण छ ।
० तपाईंले अहिले युक्रेन र इजरायलको प्रश्न पनि उठाउनुभयो । युक्रेन युद्ध, इजरायल युद्धको सन्दर्भमा नेपाल सरकारले युक्रेनको पक्ष लिने अथवा घुमाउरो प्रकारले अमेरिकाको पक्ष लिने गरेको छ । सरकारको त्यो नीतिबाट नेपालको परराष्ट्रनीति कसरी प्रभावित भएको छ ?
– सरकारको त्यो नीति गलत छ । युक्रेनको जुन स्थिति हो, त्यो मूल रूपमा पश्चिमी साम्राज्यवादको नीतिका कारणले पैदा भएको हो । सोभियत रुसमा समाजवादी व्यवस्था पतन भएदेखि नै त्यसका विरुद्ध मोर्चाबन्दी गर्न उनीहरूले नाटो बनाएका हुन् । अहिले सोभियत सङ्घमा समाजवादी व्यवस्था छैन तैपनि सोभियत सङ्घको विरुद्धमा छन् उनीहरू किनकि सोभियत रुस अहिले पनि महाशक्तिको रूपमा छ । त्यसका विरुद्ध मोर्चाबन्दी गर्नका लागि नाटोलाई मजबुत पार्ने प्रयत्न गरिरहेका छन् ।
रुसका विरुद्ध मोर्चाबन्दीको क्रममा उनीहरूले युक्रेनमा कठपुतली सरकार बनाएर त्यसलाई नाटोमा लैजाने प्रयत्न गरिरहेका छन् । यसरी रुसको सिमानासँग जोडिएका देशमा नाटोलाई सक्रिय बनाएर वास्तवमा रुस विरुद्ध मोर्चाबन्दी गर्न खोजिरहेका छन् । त्यो कारणले नै त्यहाँ युद्ध पैदा भएको हो । त्यसकारण आज युक्रेनमा जुन युद्धको अवस्था पैदा भएको छ, त्यसका लागि मूल रूपमा पश्चिमा साम्राज्यवादी देश नै जिम्मेवार छन् । त्यस्तो अवस्था त्यो युद्धका लागि रुसलाई बढी जिम्मेवार ठहर्याएर अमेरिकाको पक्ष लिने जुन नीति नेपाल सरकाले अपनाएको छ, यसलाई हामीले गलत मानेका छौँ । त्यसको आलोचना गरेका छौँ ।
निश्चय नै त्यसका साथसाथै युक्रेन युद्धका लागि रुस पनि जिम्मेवार छ । रुस पनि साम्राज्यवादी देश हो । उसले आफ्नो साम्राज्यवादी स्वार्थ पूरा गर्न युक्रेनमाथि हमला गरिराखेको छ । त्यसैले युक्रेन युद्धको सन्दर्भमा पश्चिमी साम्राज्यवाद, अमेरिकी साम्राज्यवाद र रुसी साम्राज्यवाद सबै जिम्मेवार छन् ।
० अनि इजरायल र हमासको बारेमा यहाँहरूको नीति के छ ?
– त्यहाँको स्थिति बडो गम्भीर बनेको छ किनभने त्यहाँ प्यालेस्टाइनी भूमिबाट अमेरिकाको समर्थनमा यहुदीहरूले लाखौँको सङ्ख्यामा त्यहाँका प्यालेस्टाइनीलाई हटाएर इजरायली राज्यको स्थापना गरेका हुन् । प्यालेस्टाइनी जनताले लगभग सात दशक लामो समयदेखि त्यहाँ आफ्नो मुक्तिका लागि सङ्घर्ष गर्दै आएका छन् । उनीहरूलाई आफ्नो देश मुक्त गर्ने वा त्यहाँ बस्ने न्यायपूर्ण अधिकार छ तर उनीहरू आफ्नै देशमा शरणार्थी बनिरहेका छन् । उनीहरूले त्यसका लागि युद्ध पनि चलाइरहेका छन् ।
उनीहरूलाई संयुक्त राष्ट्र सङ्घको निर्णयअनुसार गाजापट्टीमा उनीहरूको जुन सरकार बनेको थियो, त्यहाँ पनि तिनीहरूलाई बस्न नदिनका लागि इजरायलले आक्रमण गरिरहेको छ । त्यसलाई अमेरिकाले समर्थन गरिराखेको छ ।
यद्यपि हमासले गत अक्टोबर ७ का दिन हमला गर्ने जुन नीति अपनायो, त्यसबाट त्यहाँका नाबालिग, महिलामाथि हमला गर्ने, अपहरण गर्ने, त्यसबाट नेपालमा कतिपय व्यक्तिहरू पनि प्रभावित छन् । कुनै पनि समूह वा सरकारले कुनै पनि अर्को देशका निहत्था जनतामाथि आक्रमण गर्दछ भने त्यसलाई हामी गलत मान्दछौँ । त्यसरी नै हमासले गरेको आक्रमणलाई पनि हामीले गलत ठहर्याएका छौँ । त्यसलाई हामीले आतङ्कवादी कार्यविधि बताएका छौँ तैपनि समग्र रूपमा प्यालेस्टाइनी जनतालाई आफ्नो मुक्तिका लागि सङ्घर्ष गर्ने अधिकार छ । त्यो उनीहरूको न्यायपूर्ण अधिकार हो । अहिले त्यहाँका जनतामाथि इजरायलले जसरी आक्रमण गरिराखेका छ; नरसंहार गरिरहेको छ† महिला, केटाकेटीमाथि हमला गरिरहेको छ; त्यहाँका अस्पतालामाथि आक्रमण भइरहेको छ† विश्वविद्यालयमाथि आक्रमण भइरहेको छ, त्यो गलत नीति हो । हामीले त्यसको भर्त्सना गर्दछौँ । प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनलाई संसारभरिका जनताले समर्थन गर्नुपर्दछ ।
स्वयम् अमेरिकामा पनि इजरायल नरसंहारको विरुद्ध तर प्यालेस्टाइनी जनताले गरिरहेको मुक्तिको पक्षमा ठुला ठुला जुलुस प्रदर्शन भइरहेका छन् । युरोपका जनताले पनि प्रदर्शन गरिरहेका छन् । नेपालमा इजरायलमा भइरहेको नरसंहारका विरुद्ध या प्यालेस्टाइनी जनताको पक्षमा कुनै आन्दोलन, प्रदर्शन, सङ्घर्ष भएको छैन तर हाम्रो पार्टीले कैयौँपटक आवाज उठाउने गरेको छ ।
प्यालेस्टाइनी जनताको पक्षमा आवाज नउठाउने दृष्टिकोण, त्यसप्रति उदासिन रहने दृष्टिकोण सही होइन । कुनै पनि देशको यस प्रकारको समस्या नेपालको पनि समस्या हो । भोलि त्यस प्रकारको समस्या नेपालमा पनि पैदा हुन सक्दछ । अमेरिकाले जसरी एमसिसीको घेरामा नेपाललाई ल्याइरहेको छ; एसपिपी पारित गर्ने कोसिस गरिरहेको छ; तिब्बतमाथि आक्रमणका लागि नेपाललाई युद्धभूमि बनाउने प्रयत्न गरिरहेको छ; युक्रेनको वा प्यालेस्टाइनको जस्तो स्थिति भोलि नेपालमा पनि हुन सक्छ । यदि आज हामी संसारका यस्ता घटनाको विरुद्धमा आवाज उठाउँदैनौँ भने भोलि नेपालमा पनि त्यस्तो हुँदा हामी झन् ठुलो मर्कामा पर्ने छौँ ।
इन्डियाले बढी इजरायलको समर्थन गरिराखेको छ । हामीले देखिराखेका छौँ, इन्डियामा प्यालेस्टाइनको पक्षमा अथवा इजरायलको विरुद्धमा खासै आवाज उठिरहेको छैन । त्यसको असर नेपालमा पनि परेको छ तैपनि हाम्रो पार्टीले सम्भव भएसम्म आवाज उठाउने प्रयत्न गरिरहेको छ ।
० तपाईंले नेपालको सन्दर्भमा अमेरिका, भारत र चीनको कुरा गर्नुभयो । भारतको नीति नेपालको सन्दर्भमा करिब करिब उस्तै छ भन्दा हुन्छ होला, गणतन्त्र र धर्मनिरपेक्षताको प्रसङ्गलाई छोडेर । बाँकी चीन अलिकति फरक ढङ्गले आउन थाल्यो । अमेरिका प्रत्यक्ष रूपमा आउन थाल्यो । यस्तो अवस्थामा यी तीनओटा साम्राज्यवादी देशको सन्दर्भमा नेपालको सन्तुलित विदेशनीति कस्तो हुनुपर्छ भन्ने लाग्दछ ?
– यसका दुईओटा पक्ष हुनुपर्दछ । हामीले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको पक्षमा हमेसा स्पष्ट र दृढ नीति अपनाउनुपर्दछ । एउटा पक्ष यो हो । दोस्रो पक्ष, संसारमा जहाँ पनि साम्राज्यवादी देशले कुनै आक्रमण गर्दछ; हस्तक्षेप या युद्ध गर्छ भने त्यसको विरुद्धमा हामीले आवाज उठाउनुपर्दछ । हाम्रो पार्टीले त्यही प्रकारको नीति अपनाउने गरेको छ । चाहे त्यो युक्रेनको प्रश्नमा होस्, चाहे प्यालेस्टाइनको सन्दर्भमा या संसारको कुनै पनि देशमा साम्राज्यवादी देशले आक्रमण गर्दछ भने त्यसको विरुद्ध हाम्रो आवाज उठेको छ ।
यस सन्दर्भमा नेपालको सरकारले स्पष्ट नीति अपनाउन सकेको छैन । भारतले हाम्रो कालापानी कब्जा गरेको छ तर त्यो विषयमा सरकारले वार्ता गर्ने कुरा गरे पनि भारतले ध्यान दिएको छैन । हामीले यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ भन्ने कुरामा जोड दिइरहेका छौँ ।
सरकारले त्यसमा ध्यान दिइरहेको छैन । स्वयम् नेपालका प्रधानमन्त्रीहरू इन्डिया जाँदाखेरि कालापानीको प्र्रश्नमा आवाज उठाउन सकेका छैनन् । चीनको भ्रमणमा जाँदाखेरि उनीहरूले नेपालको क्षेत्रलाई नेपालमा नदेखाएर जुन प्रकारको नक्सा बनाइयो, त्यसबारे चीन सरकारसित आवाज उठाउने गरेका छैनन् । यसरी नेपालका सरकारहरूले बारम्बार यी प्रश्नमा राष्ट्रियता, सावैभौमिकता, अखण्डतासित जोडिएको प्रश्नमा पनि दब्बु नीति अपनाउने गरेको छ ।
० एकपटक फेरि देशभित्रकै विषयमा केन्द्रित होऔँ । तपाईंहरूको पार्टी सङ्घीयताको स्पष्ट विरोधी, स्थापनाकालदेखि नै । सङ्घीयता नेपालमा आएदेखि नै प्रष्ट रूपमा नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा नै सङ्घीयताको विरोधी पार्टीको रूपमा छ तर गत दुईओटा चुनावबाट त्यही सङ्घीयताको कार्यान्वयन भइराखेको छ । तपाईंहरूले प्रदेशको चुनावमा पनि भाग लिनुहुन्छ । सङ्घीय संरचनामा भाग लिँदै सङ्घीयतालाई खारेज गर्ने तपाईंहरूको भिजन हो भन्ने देखिन्छ तर यो सङ्घीयताको आन्दोलनलाई उठाउन कसरी अगाडि बढाउनुपर्छ भन्ने सोच्नुभएको छ ?
– हामीले सङ्घीयताको सुरुदेखि नै विरोध गरेका छौँ† अहिले पनि गरिरहेका छौँ तर हामीले प्रदेशको चुनावमा भाग लिनुको अर्थ सङ्घीयताप्रति हाम्रो समर्थन होइन, यसप्रति हाम्रो घोर विरोध छ ।
हामीले संसदीय प्रणालीलाई स्वीकार गर्दैनौँ; रणनीतिक रूपमा स्वीकार गर्दैनौँ र सैद्धान्तिक रूपले पनि स्वीकार गर्दैनौँ तर कतिपय अवस्थामा हामीले त्यसलाई उपयोग गर्ने नीति अपनाएका छौँ । चुनाव उपयोग गर्नुको अर्थ हामीले संसदीय प्रणालीलाई समर्थन गरेको होइन । त्यसैगरी, हामीले सङ्घीयतालाई समर्थन नगरे पनि, सङ्घीय प्रादेशिक संरचनालाई हामीले विरोध गरे पनि हामीले त्यसलाई उपयोग गर्ने नीति अपनाएका हौँ; जस्तो : संसदीय प्रणालीलाई हामीले उपयोग गरेका छौँ, त्यसप्रति हाम्रो विरोध हुँदाहुँदै पनि । त्यही नीति हामीले सङ्घीयताको विषयमा पनि अपनाएका छौँ । त्यसको अर्थ हामीले सङ्घीयतालाई या सङ्घीय प्रादेशिक संरचनालाई समर्थन गर्छौं भन्ने होइन; यो हाम्रो ढुलमूल नीति होइन; दोहोरो नीति पनि होइन । कतिपय चिजको रणनीतिक–सैद्धान्तिक रूपमा विरोध गर्दागर्दै पनि कार्यनीतिक रूपमा हामीले उपयोग गरिराखेका हुन्छौँ । ठिक त्यही नीति सङ्घीयताको प्रश्नमा र सङ्घीय प्रादेशिक संरचनाको प्रश्नमा पनि हो ।
० भखैरै प्रतिनिधिसभाबाट, राष्ट्रियसभाबाट सत्य निरूपणसम्बन्धी विधेयक पास भएको छ । राष्ट्रपतिले पनि त्यसलाई प्रमाणीकरण गरिसक्नुभएको छ तर राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभामा त्यसको विरोध गर्यो । राष्ट्रियसभामा पनि त्यसको विरोध गर्यो । शान्तिप्रक्रिया टुङ्गो लगाउने विषयमा यो विधेयकको महत्त्व त हुन्छ होला तर तपाईंहरूले विधेयकको विरोध किन गर्नुभयो ?
– यो विधेयकलाई हामीले विरोध गरेका छौँ । यो विधेयक आएको बेलादेखि नै हाम्रो यो मत रहेको छ । नेपालमा दश वर्ष सशस्त्र द्वन्द्वको स्थिति रह्यो । त्यसपछि शान्ति सम्झौता भयो । शान्ति सम्झौता भएपछि माओवादी र सत्तापक्षबिचमा जुन एकार्का विरुद्ध हत्याहिंसा भए, त्यो अध्याय समाप्त भयो तर त्यसको अर्थ अर्को दुईओटा कुरामा हामीले विचार गर्नुपर्छ ।
एउटा पक्ष, त्यो कालमा माओवादी र सरकारद्वारा पनि निरपराध जनतामाथि धेरै अत्याचार भएका छन्; हत्या भएका छन्† महिला बलात्कृत भएका छन्—दुईओटा पक्षबिच सम्झौता हुँदासाथ त्यो कुरा टुङ्गियो । एउटा कुरा यो हो ।
अर्को कुरा, दुवै पक्षद्वारा बन्दी बनाइएका मान्छेको अङ्गभङ्ग गर्ने, उनीहरूलाई बेपत्ता पार्ने काम भएका छन्, त्यो गलत हो । त्यसकारण द्वन्द्व भयो भन्दैमा गिरफ्तार गरिएका जुन व्यक्ति छन्† गिरफ्तार गरिएपछि ती निःशस्त्र भए, उनीहरूमाथि अत्याचार भए, त्यसलाई हामीले गलत मानेका छौँ ।
माओवादीहरूले शान्ति सम्झौतापछि पनि त्यस्ता कार्य धेरै गरेका छन्† जस्तो : हाम्रो पार्टीका कमरेड कमल अधिकारीको बाँकेमा हत्या गरियो, पहिलो संविधानसभा चुनावको बेलामा । त्यो मुद्दालाई उनीहरूले फिर्ता लिए । त्यो मुद्दामा जेलमा परेका अभियुक्तलाई उनीहरूले जेलबाट छुटाएर भव्य स्वागत गरे । यस प्रकारका कैयौँ मुद्दालाई फिर्ता लिने कार्यलाई हामीले गलत मानेका छौँ । यस्ता विषयमा जस्तो अहिले आएको छ नि, उनीहरूलाई ७५ प्रतिशत सजाय माफ गर्ने, घटीसजाय गर्ने जस्ता व्यवस्था छन् अहिलेको विधेयकमा, त्यसलाई हामीले गलत मान्दछौँ । उनीहरू त्यसलाई सही सावित गर्न प्रयत्न गरिरहेका छन् । अहिलेको टिआरसीसम्बन्धी जुन विधेयक छ, त्यसलाई उनीहरूले ठुलो उपलब्धि भनेका छन् ।
टिआरसी आयोगमा अहिलेसम्म ६० हजारभन्दा बढी मुद्दा परेका छन् । त्यसको कुनै छानबिन भएको छैन । कैयौँ आयोग बनेका छन् तर कुनै काम भएका छैनन् । त्यसैले अहिले जुन विधेयक पास भएको छ, त्यो कहाँसम्म लागु हुने छ ? त्यसको टुङ्गो छैन । त्यसबाहेक यो कानुनको मूल स्वरूप नै गलत छ किनभने यसको मुख्य उद्देश्य त्यस प्रकारका जघन्य अपराधी गरेका, मानवअधिकार उल्लङ्घन गरेका व्यक्तिलाई सजाय दिनेभन्दा तिनीहरूलाई माफी दिनेतिर नै उनीहरूको बढी जोड छ । त्यसैले हामीले त्यसलाई सुरुदेखि नै गलत मानेका छौँ । अहिले जुन विधेयक पास भएको छ, राष्ट्रपतिले त्यसलाई प्रमाणीकरण गरेका छन्, त्यसलाई हामीले गलत मान्दछौँ ।
० अब हामी अन्तर्वार्ताको अन्तिमतर्फ छौँ । महामन्त्रीज्यू, विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । नेपालको कम्युनिस्ट आन्दोलन पनि रक्षात्मक अवस्थामा छ । यस्तो अवस्थामा नेकपा (मसाल) को महामन्त्री तपाईं आफै हुनुहुन्छ । नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउनका लागि तपाईंहरूले के कस्ता नीति, कार्यक्रम अवलम्बन गरिरहनुभएको छ ?
– हाम्रो नवौँ महाधिवेशन भर्खरै भयो । त्यसले हाम्रो नीति र कार्यक्रम तय गरेको छ ।
हामीले यो देखेका छौँ, विश्व कम्युनिस्ट आन्दोलनको स्थिति एकदम रक्षात्मक अवस्थामा छ । कम्युनिस्ट आन्दोलनमा पनि जटिलता छन् । नेपालको कम्युनिस्ट आन्दोलन त्यसबाट अपवाद छैन । यो पनि धेरै कमजोर भएर गएको छ । आफूलाई कम्युनिस्ट बताउने पार्टीहरूले त्यसतर्फ ध्यान दिन छाडेर अवसवादी काम गरेका छन् । त्यसले गर्दा यस्तो स्थिति पैदा भएको हो ।
कम्युनिस्ट भन्ने तर कम्युनिस्ट सिद्धान्त पूरै छाड्ने, अवसरवाद, भ्रष्टाचारको बाटो उनीहरूले समातेका छन् । सत्तामा गएका पार्टीहरूले पनि कम्युनिस्ट सिद्धान्तअनुसार काम गरिरहेका छैनन् । यसले जनतामा कम्युनिस्ट आन्दोलनप्रति अविश्वासको धारणा पैदा भएको छ । नेपालका आफूलाई कम्युनिस्ट बताउने पार्टीहरू बारम्बार सरकारमा जाने गरेका छन् तर उनीहरूले भ्रष्टाचार गर्ने गरेका छन्; अन्यायपूर्ण नीति अपनाएका छन् । यसरी कम्युनिस्ट आन्दोलनप्रति नै, स्वयम् गणतन्त्रप्रति नै अविश्वासको स्थिति पैदा भएको छ । यसले गर्दा प्रतिगामी शक्तिहरूलाई बढी बल मिलेको छ ।
जस्तो कि हामीले देख्यौँ, बङ्गलादेशमा, त्यहाँको सरकारको तानाशाही शासनले गर्दाखेरि जनतामा ठुलो अनास्था पैदा भयो । त्यसका विरुद्ध जनताले सङ्घर्ष गरे । त्यसलाई हामीले स्वागत गरेका छौँ र अभिनन्दन पनि गरेका छौँ । त्यसबाट प्रतिगामी शक्तिहरूले फाइदा उठाउने अवस्था पनि त्यहाँ उत्पन्न भएको छ । त्यही प्रकारले नेपालमा गणतन्त्रको पक्षमा भएका, लडेका या कम्युनिस्ट पार्टी भनिएकासमेतले जुन गलत प्रकारका तौरतरिका अपनाएका छन्, त्यसले गर्दाखेरि देशमा गणतन्त्रप्रति अविश्वासको भावना पैदा भएको छ । राजनीतिक पार्टीप्रति वितृष्णा पैदा भएको छ । कम्युनिस्टप्रति पनि वितृष्णाको भावना पैदा भएको छ । यसले कम्युनिस्ट आन्दोलनलाई धेरै नै नोक्सान पुर्याएको छ । प्रजातान्त्रिक आन्दोलनलाई धेरै नोक्सान पुर्याएको छ ।
यो स्थितिको सामना गर्दै एउटा सही, क्रान्तिकारी विचार, सिद्धान्त र नीतिको आधारमा देशको प्रजातान्त्रिक आन्दोलन र कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने कुरामा हाम्रो पार्टीले जोड दिएको छ । त्यसका लागि पार्टीको हाम्रो नवौँ महाधिवेशनले स्पष्ट नीति र कार्यक्रम लिएर आएको छ । त्यसलाई सफल पार्नेतिर हाम्रो पार्टी कटिबद्ध छ ।
० हामीलाई महत्त्वपूर्ण समय दिनुभयो, त्यसका लागि महामन्त्रीज्यूलाई धेरै धेरै धन्यवाद छ ।
– धन्यवाद ।
(प्रस्तुति : प्रकाश थापामगर/गोविन्दकुमार शर्मा)
२०८१ भदौ १४ गते शुक्रबार
बुढानीलकण्ठ–१०, काठमाडौँ