• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

प्रतिगमनको खतरा पहिलेभन्दा झन् बढी गम्भीर बनेको छ (भिडियो अन्तर्वार्ता)


  •   मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
  • मोहनविक्रम सिंह, महामन्त्री, नेकपा (मसाल) ##

    Advertisement

    ० नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहलाई युगदर्शन मिडियामा स्वागत छ ।

    – धन्यवाद ।

    ० हजुरको स्वास्थ्यस्थिति कस्तो छ ?

    – मेरो स्वास्थ्य राम्रो छ ।

    ० राजनीतिक गतिविधिमा सक्रिय हुनुहुन्छ ?

    – अँ, सक्रिय छु ।

    ० आज हामी नेपालको समसामयिक राजनीतिक विषयमा कुराकानी गर्न चाहान्छौँ । राजनीति सम्भावनाको खेल हो; यसमा अनिश्चितता हुन्छ; यसमा स्थायी मित्र वा स्थायी दुस्मन हुन्न भन्छन् । तपाईंहरू आफैले प्रमुख दुस्मन भनेको कङ्ग्रेससँग सहकार्य गर्नुभयो । अहिले नेपालको राजनीतिमा पनि दुई मुख्य प्रतिपक्षी दलहरू मिलेका छन् । यो घटनालाई कसरी लिनुहुन्छ : यो स्वाभाविक हो वा आश्चर्य ?

    – देशको अहिलेको स्थिति गम्भीर छ । तपाईंले सुरुमा नै भन्नुभयो, हामीले कङ्ग्रेससँग पनि एकता गर्‍यौँ भन्ने कुरा । यो अनावश्यक प्रश्न हो ।

    मार्क्सवाद–लेनिनवादको महत्त्वपूर्ण सिद्धान्त संयुक्त मोर्चाको सिद्धान्त हो । पार्टीएकता समान विचार भएका पार्टीमाझ गर्छौं तर कतिपय अवस्थामा भिन्न विचार भएका दुस्मन शक्तिसित पनि कार्यगत एकता गर्नुपर्ने आवश्यकता हुन्छ । कुनै देशको कुनै खास राजनीतिक स्थितिमा वा ठुलो दुस्मनसँग लड्नका लागि, गम्भीर खतरासँग लड्नका लागि तात्कालिक विषयमा समान विचार भएका शक्तिसँग मिल्नुपर्ने हुन्छ ।

    त्यसैले हामीले २०४६ सालमा पनि निरङ्कुश पञ्चायती व्यवस्थालाई खतम गर्न नेपाली कङ्ग्रेस र वामपन्थीहरूसित कार्यगत एकता गरेका थियौँ । त्यही प्रकारले २०६२–६३ सालमा पनि हामीले कार्यगत एकता गरेका थियौँ । २०७७ सालमा जब एमालेले संसद्लाई विघटन गरेर देशलाई प्रतिगमनको दिशातिर लैजाने प्रयत्न गर्‍यो, त्यसबेला पनि हामीले प्रतिगमन विरुद्ध सहमत हुने शक्तिसित एकता गर्‍यौँ ।

    यसरी आवश्यकताअनुसार राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा पनि संयुक्त मोर्चा वा सहकार्य गर्नुपर्ने आवश्यकता हुन्छ । यसरी कङ्ग्रेससितको एकतालाई विरोध गर्ने कुरामा खास गरेर दुईओटा कुराले काम गरेका छन् : एउटा त प्रतिगमनका पक्षमा भएका शक्तिहरूले यसलाई गलत मानेका छन् र विरोध गरेका छन्; अर्कातिर, वामपन्थी सङ्कीर्णवादी सोचाइले पनि त्यस प्रकारको विचारलाई स्वीकार गर्न सक्दैनन् र विरोध गरिरहेका हुन्छन् ।

    ० तपाईंहरूले प्रतिगमनको कुरा गर्नुभयो । गत चुनावमा वा संसद् विघटनको बेलामा तपाईंहरूले जुन मोर्चा बनाउनुभएको थियो, तपाईंहरूबाहेक अरू कुनै पनि दल प्रतिगमन विरुद्धको सङ्घर्षमा अडिग भएको देखिन्न । अहिले त कङ्ग्रेसले एमालेसँग मिलेर सरकार बनायो । वास्तवमा प्रतिगमन भनेको के हो ? अहिले त्यो खतरा विद्यमान छ कि छैन ?

    – अहिले त्यो खतरा झन् बढी गम्भीर छ । नेपालमा हामीले प्रतिगमन विरुद्धमा बारम्बार सङ्घर्ष गर्दै आउनुपरेको छ । प्रतिगमनले नेपालमा बारम्बार गम्भीर खतरा पैदा गरेको छ ।

    २०१७ सालमा राजा महेन्द्रले देशमा विद्यमान प्रजातन्त्र विरुद्ध कदम चालेका थिए । निरङ्कुश पञ्चायती राजतन्त्र कायम गरेका थिए । त्यसै गरेर २०४६ सालमा वामपन्थी र कङ्ग्रेससित मिलेर निरङ्कुश पञ्चायती सत्तालाई खतम गरेका थियौँ । २०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले जब बहुदलीय व्यवस्थालाई खतम गरे र निरङ्कुशता कायम गरे, त्यसका विरुद्ध माओवादी, एमाले, कङ्ग्रेस, मधेसवादी सबै मिलेर त्यसका विरुद्ध सङ्घर्ष गर्‍यौँ । त्यसको परिणामस्वरूप नै राजतन्त्र समाप्त भयो ।

    राजतन्त्र खतम भएपछि अहिले राजावादीहरूले राजतन्त्रको पुनर्स्थापना र धर्मनिरपेक्षताका विरुद्ध समेत पूरै योजनाबद्ध र सङ्गठित प्रकारले प्रयत्न गरिरहेका छन् । त्यो खतरा पहिलेभन्दा बढेर गएको छ । २०१७ साल, २०५९ साल वा २०६२ सालको प्रतिगमनका लागि राजाले एक्लै कदम चालेका थिए । पछि कतिपय राजनीतिक शक्तिहरू त्यसको पक्षमा लागेका थिए ।

    नेपाली कङ्ग्रेसको एउटा पक्षले अहिले गणतन्त्रलाई समाप्त गरेर राजतन्त्र ल्याउने नीतिलाई समर्थन गरिरहेको छ, जुन पार्टीले गणतन्त्र ल्याउन महत्त्वपूर्ण भूमिका रहेको थियो ।

    एमालेले पनि त्यस प्रकारको दृष्टिकोण अपनाउने गरेको छ । त्यसले पनि बारम्बार देशलाई प्रतिगमनको दिशामा लैजाने प्रयत्न गरेको छ । एमालेको विषयमा यो भन्ने गरिन्छ; अब त्यो आधिकारिक रूपमा पनि आएको छ; जब एमालेले गणतन्त्रको पक्षमा निर्णय गर्न थालेको थियो, त्यस बेला ओलीले गणतन्त्रको नाराको विरोध गरेका थिए । उनले यो सम्म भनेका थिए : ‘नेपालमा गणतन्त्रको कुरा गर्नु बयलगाडामा चढेर अमेरिका जानु जस्तो हो ।’ उनको त्यो विचार संसद् विघटनको बेलामा पनि देखा पर्‍यो । उनले कैयौँ पल्ट चुनावको बेलामा वा सत्तामा रहेको बेलामा पनि राप्रपासित गठबन्धन गर्ने नीति अपनाएका थिए । उनको त्यो सोचाइ अहिले पनि बाँकी छ ।

    अर्को कुरा, भारतमा भारतीय कङ्ग्रेस होस् वा भाजपा, दुवैले नेपालप्रति साम्राज्यवादी नीति अपनाउँछन् तर जहाँसम्म गणतन्त्र र धर्मनिरपेक्षताको प्रश्न छ, भारतीय कङ्ग्रेस गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा छ तर भाजपा कट्टर हिन्दुवादी सङ्गठन हो । त्यसले नेपालमा धर्मनिरपेक्षतालाई खतम गर्न चाहन्छ र राजतन्त्र ल्याउन चाहन्छ । त्यसले गर्दाखेरि कतिपय अन्तर्राष्ट्रिय शक्तिहरूले पनि नेपालको राजतन्त्रलाई आफ्ना स्वार्थको पक्षमा प्रयोग गर्न चाहन्छन् । यसरी २०१७ साल र २०५९ सालमा भन्दा अहिले प्रतिगमनको खतरा झन् गम्भीर बनेको छ ।

    त्यसबाहेक हाम्रा केही माओवादी साथीहरू पनि छन्, जसले प्रतिगमनको खतरालाई ठिकसँग बुझ्न सकेका छैनन् । पहिले माओवादीहरूमा राजापरस्त टेन्डेन्सीले काम गरेको थियो । त्यसको केही अवशेष अहिले केही वामपन्थी शक्तिहरूमा कायम छ । उनीहरूले आज देशमा राजावादी खतरालाई ठिकसित बुझ्दैनन् र त्यसमा ध्यान दिँदैनन् । त्यसै गरेर प्रतिगामी खतरा विरुद्ध सङ्घर्ष गर्ने आवश्यकताप्रति उनीहरूले ध्यान दिँदैनन्; त्यसको प्रकारले विरोध गर्दछन् ।

    त्यति मात्र होइन, उनीहरूले गणतन्त्रसमेतको विरोध गर्छन् । पुँजीवादी प्रजातान्त्रिक क्रान्तिकालमा गणतन्त्रको पनि ठुलो महत्त्व हुन्छ । नयाँ जनवादी क्रान्ति कायम गरेपछि जनवादी गणतन्त्र कायम गर्नुपर्दछ । त्यो हाम्रो रणनीतिक उद्देश्य हो । अहिलेको गणतन्त्र अवश्य पनि पुँजीवादी प्रकारको हो तैपनि निरङ्कुश तानाशाही राजतन्त्रभन्दा यो प्रगतिशील व्यवस्था हो । त्यसमाथि अहिले राजावादीहरूले त्यसमाथि हमला गरिरहेका छन् । त्यसकारण हामीले त्यसको रक्षामा ध्यान दिनुपर्दछ ।

    कतिपय वामपन्थी पक्षले त्यसबारे सही दृष्टिकोण अपनाउन सकेका छैनन् । यसरी हामी देख्दछौँ, प्रतिगमनको खतरा पहिलेभन्दा अझ गम्भीर छ । हामीले त्यही खतराको सामना गर्न बारम्बार अन्य पक्षसित एकता गर्ने गरेका छौँ । हाम्रो यो नीति सिद्धान्तमाथि आधारित छ तर अन्य पार्टीहरूले सिद्धान्त, नीतिभन्दा पनि सत्ताको चलखेलको रूपमा त्यसलाई लिने गरेका छन् । त्यसकारण त्यसमा उनीहरू स्पष्ट र इमानदार रहन सक्ने गरेका छैनन् । त्यसरी यो स्थितिबाट अन्य पार्टीमा देखा परेको ढुलमुल, अवसरवादी दृष्टिकोणले गर्दा पनि गणतन्त्रमाथि खतरा बढेर गएको छ । त्यसैले प्रतिगमन विरुद्धको आन्दोलनमा अरू जोड दिनुपर्ने आवश्यकता छ भन्नेमा हाम्रो पार्टीले विश्वास राख्दछ ।

    ० प्रतिगमन विरुद्ध सङ्घर्षको कुरा गर्नुभयो । कङ्ग्रेस प्रतिगमनको खतराको आन्दोलनबाट पछि हटे जस्तो देखिन्छ । उनीहरूले राजनीतिक स्थिरताको कुरा गरिरहेका छन् । यो राजनीतिक स्थिरताको वास्तविकता के हो ? यसका पछाडिको अन्तर्य के हो ?

    – मैले माथि भनिसकेँ, कङ्ग्रेसभित्रको एउटा पक्ष सुरुदेखि नै गणतन्त्र र धर्मनिरपेक्षताको विरुद्धमा छ तर सम्पूर्ण कङ्ग्रेस त्यस्तो छ भन्ने होइन । त्यहाँ गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा मान्छेहरू छन् । देशमा गणतन्त्र ल्याउनका लागि उनीहरूले ठुलो सङ्घर्ष गरे । गिरिजाप्रसाद कोइरालाको त्यसमा महत्त्वपूर्ण भूमिका रह्यो । गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध जुन कङ्ग्रेसहरू छन्, उनीहरूले गिरिजाको समेत विरोध गरिरहेका छन् । कङ्ग्रेसभित्रको सम्पूर्ण पङ्क्ति प्रतिगमन, हिन्दु राष्ट्रका वा राजतन्त्रको पक्षमा छ भन्ने होइन । सत्ताको लागि पनि उनीहरूले त्यस प्रकारको नीति अपनाउने गरेका छन् । उनीहरूले भारतलाई हेर्ने गर्दछन् । भारतमा जब भाजपा शक्तिशाली हुन्छ, नेपालमा सत्तामा बस्नको लागि भाजपाको समर्थन चाहान्छन् । त्यसका लागि उनीहरूले धर्मनिरपेक्षता र गणतन्त्रको विरोध गर्दछन् र राजतन्त्रको समर्थन गर्दछन् । भारतमा जसको शक्ति बलियो हुन्छ, त्यसैको आधारमा नै उनीहरूले आफ्नो दृष्टिकोण बनाउने गरिरहेका हुन्छन् ।

    ० प्रतिगमन विरुद्ध सङ्घर्षको एउटा घटक माओवादी–केन्द्रको पछिल्लो भूमिका कारणले यो स्थिति आयो भनिरहेको पाइन्छ । त्यसको अहिलेको भूमिका र चरित्रलाई कसरी लिनुभएको छ ?

    – सम्भवतः नेपालको राजनीतिमा सबैभन्दा अवसरवादी शक्ति भनेको माओवादी केन्द्र नै हो । एमाले भन्नुस्, काङ्ग्रेस भन्नुस्, राप्रपा भन्नुस्—उनीहरूका आफ्ना दृष्टिकोण छन् तर माओवादीको कुनै स्थिर सिद्धान्त वा नीति भएको पाइँदैन । उसले बारम्बार सत्तालाई केन्द्रमा राखेर अवसरवादी भूमिका खेल्ने गरेको छ ।

    प्रतिगमन विरोधी गठबन्धनको कुरा गरौँ । हामीले प्रतिगमन विरुद्ध माओवादीसित समेत गठबन्धन गर्‍यौँ । प्रचण्डले प्रधानमन्त्री पदका लागि बारम्बार आफ्नो ठाउँ फेर्ने गरेका छन् । कहिले उनी एमालेसित मिल्छन्, कहिले उनी राप्रपासित मिल्छन्; कङ्ग्रेससित मिल्छन्; कहिले घन्टीपार्टीसित गठबन्धन गर्छन् । उनीहरू सत्तामा भएका बेलामा आफ्नो अङ्कगणितीय बाध्यताले गर्दा घन्टीपार्टीसित गठबन्धन गरेका थिए, जो अमेरिकापरस्त पार्टी हो । त्यो पार्टी सहकारीका विषयमा अत्यन्त बद्नाम छ । त्यहाँ बारम्बार भ्रष्टाचार काण्ड देखा पर्ने गरेका छन् । त्यस्तो सङ्गठनसित अहिले सरकारबाट हटेपछि पनि त्योसित मोर्चा बनाएर काम गरिरहेका छन् । यो प्रचण्डको अत्यन्त अवसरवादी तरिका हो । उनको यस्तो अवसरवादी तरिका छ ।

    अहिले पनि जुन एमाले र कङ्ग्रेसको गठबन्धन बन्यो, त्यसको लागि मुख्य दोषी प्रचण्ड नै छन् । पहिले उनले जुन गठबन्धन गरेका थिए नेपाली कङ्ग्रेससित, त्यसमा पनि इमानदार रहेनन् । प्रधानमन्त्रीका लागि कहिले एमालेका पछाडि दौडिए । बारम्बार उनले आफ्नो पोजिसन बदल्ने काम गरे । त्यसले गर्दा नै अहिलेको गठबन्धन अस्तित्वमा आएको हो ।

    ० प्रचण्डकै प्रसङ्गको कुरा गर्दा माओवादी केन्द्र वा प्रचण्डले वामपन्थी एकताको कुरा गरिरहेका छन् । तपाईंहरूले त्यो एकताप्रति खासै चासो देखाएको पाइन्न । तपाईंलाई कस्तो लाग्छ, के वामपन्थी सहकार्यको आवश्यकता छैन अहिले ?

    – वामपन्थी सहकार्यको आवश्यकता छ । वामपन्थीबिच मोर्चा हुनु आवश्यक छ । त्यसमा स्पष्टता चाहियो; इमानदारिता चाहियो तर स्वयम् प्रचण्डहरूको कुनै नीतिमा इमानदारिता छैन । ढुलमुल अवसरवादी नीतिको आधारमा वामपन्थी संयुक्त मोर्चा बन्ने सम्भावना हुँदैन ।
    त्यसै गरेर अर्को वामपन्थी मोर्चाका लागि हामीले वैद्यहरूसित पनि बारम्बार संयुक्त भएर जाने प्रयत्न गरेका थियौँ । हामीले कैयौँ पल्ट उनीहरूसित एकता गर्ने गरेका छौँ तर उनीहरूको बढी झुकाव राजावादीतिर छ । उनीहरू प्रतिगमन विरुद्ध जान चाहेका छैनन् । हामीले उनीहरूसित जुन संयुक्त कार्यक्रम गर्‍यौँ, सबै कार्यक्रममा उनीहरूले राजावादीलाई सामेल गर्ने जुन नीति अपनाए, त्यसले गर्दाखेरि उनीहरूसितको एकता टुट्न गयो ।

    उनीहरूले जनवादी गणतन्त्रको कुरा गर्छन् । त्यो हाम्रो रणनीतिक लक्ष्य हो । व्यवहार गएर उनीहरूले गणतन्त्रको विरोध गर्दछन् । उनीहरूको गणतन्त्रको विरोध गर्ने नीतिले प्रतिगमनलाई नै मदत पुग्दछ । उनीहरूको त्यो नीतिले गर्दा पनि वामपन्थी एकता वा कार्यगत एकतामा बाधा पुगेको छ । सैद्धान्तिक अस्पष्टता, अस्पष्टता, समझदारी भएको विषयमा इमानदारीको अभाव—यसले गर्दाखेरि वामपन्थी एकतामा समस्या पैदा भएको छ; सङ्कट पैदा भएको छ ।

    देशका वामपन्थीहरू एकजुट भएर जानुपर्ने आवश्यकता छ तर वामपन्थी शक्तिका जुन ढुलमुल, अवसरवादी, कतिपय अवस्थामा प्रतिगमनपक्षीय अवधारणाले गर्दा पनि वामपन्थी एकतामा बाधा पुगेको छ ।

    ० हामीकहाँ नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी छ । त्यसको सवालमा देशका अन्य सबै पार्टीभन्दा तपाईंहरूको अलग्गै दृष्टिकोण छ । तपाईंहरूको बुझाइ छ, यो पार्टी अमेरिकी साम्राज्यवादद्वारा बनाइएको हो । त्यसका पछाडिको तर्क के हो ?

    – निश्चय नै । यो अमेरिकी साम्राज्यवादले आफ्नो आवश्यकता पूरा गर्नका लागि बनाएको पार्टी हो । अमेरिकाले नेपालमाथि एमसिसी लादेको छ । यो चीनलाई घेराबन्दी गर्ने वा चीनका विरुद्ध मोर्चा बनाउने नीति हो । त्यसबाहेक तिब्बतको प्रश्न छ । तिब्बतमा दलाई लामालाई पुनर्स्थापना गर्ने उसको रणनीति रहेको छ । त्यसका लागि नेपालबाहेक अन्तै कतैबाट बाटो छैन । त्यसका लागि नेपाललाई उसले युद्धभूमि बनाउनुपरेको छ । दलाई लामालाई पुनर्स्थापना गर्न तिब्बतमाथि आक्रमण गर्नुपरेको छ । त्यसका लागि पनि उसले नेपालको सरकारलाई पूरै प्रयोग गर्न चाहन्छ ।

    अमेरिका साम्राज्यवादी देश हो; भारत साम्राज्यवादी देश हो, चीन पनि साम्राज्यवादी देश हो । हाम्रो पार्टीले त्यो विश्लेषण गरेको छ तर चीन साम्राज्यवादी देश भए पनि नेपालको इतिहासका बेग्लाबेग्लै कालखण्डमा वा भूराजनीतिक सन्दर्भमा यी साम्राज्यवादी देशका बिचमा हामीले अन्तर गर्नुपर्ने आवश्यकता हुन्छ; जस्तो : द्वितीय विश्वयुद्धको समयमा इङ्गल्यान्ड, अमेरिका, फ्रान्स सबै साम्राज्यवादी देश थिए तर फासिज्म विरुद्ध सङ्घर्ष गर्नका लागि अमेरिका, बेलायत, फ्रान्ससित एकता गर्नुपर्ने आवश्यकता भएको थियो । फासिवाद विरुद्धको सङ्घर्षमा ती साम्राज्यवादी देशको बढी उपयोगिता अर्थात् सकारात्मक भूमिका थियो ।

    साम्राज्यवादी देश भनेर पनि बेग्लाबेग्लै अवस्थामा उनीहरूका बिचमा अन्तर गर्नुपर्ने आवश्यकता हुन्छ । त्यसअनुसार नेपालमा अमेरिकी साम्राज्यवाद, भारतीय साम्राज्यवादको जुन हस्तक्षेप बढिरहेको छ, खास गरेर भारतको जुन अतिक्रमण एकदम बढेर गएको छ, त्यस्तो अवस्थामा अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादको सन्तुलन र नियन्त्रणका लागि चीनसितको एकताले हामीलाई बढीभन्दा बढी महत्त्व राख्दछ । चीन साम्राज्यवादी देश भए पनि ऊसितको एकता वा नेपालको मैत्री सम्बन्धको बढी महत्त्व रहन्छ भने हाम्रो दृष्टिकोण रहेको छ । त्यो अवस्थामा चीनसित हामीले मैत्रीपूर्ण सम्बन्धमा जोड दिने गरेका छौँ ।

    त्यसको अर्थ चीन पूरै नै नेपालप्रति इमादारितापूर्वक मैत्रीपूर्ण दृष्टिकोण अपनाउने भन्ने पनि होइन । हामीले देख्यौँ, चीनले नेपालसित सम्पर्क नगरिकन भारतीय साम्राज्यवादसित सन्धि गरेको छ । त्यसअनुसार कालापानी क्षेत्रको नक्सा चीनको नयाँ नक्सामा देखाइएको छैन । उसले आफ्नो सुरक्षाको दृष्टिकोणले नेपाललाई उपयोग गर्ने प्रयत्न गरेकाले हामीले ऊमाथि विश्वास गर्न सक्ने स्थिति छैन तैपनि अमेरिकी र भारतीय हस्तक्षेपमाथि विचार गर्दा चीनसितको एकताले हामीलाई बढी राख्दछ भन्ने हाम्रो दृष्टिकोण छ ।

    ० तपाईंले अहिले युक्रेन र इजरायलको प्रश्न पनि उठाउनुभयो । युक्रेन युद्ध, इजरायल युद्धको सन्दर्भमा नेपाल सरकारले युक्रेनको पक्ष लिने अथवा घुमाउरो प्रकारले अमेरिकाको पक्ष लिने गरेको छ । सरकारको त्यो नीतिबाट नेपालको परराष्ट्रनीति कसरी प्रभावित भएको छ ?

    – सरकारको त्यो नीति गलत छ । युक्रेनको जुन स्थिति हो, त्यो मूल रूपमा पश्चिमी साम्राज्यवादको नीतिका कारणले पैदा भएको हो । सोभियत रुसमा समाजवादी व्यवस्था पतन भएदेखि नै त्यसका विरुद्ध मोर्चाबन्दी गर्न उनीहरूले नाटो बनाएका हुन् । अहिले सोभियत सङ्घमा समाजवादी व्यवस्था छैन तैपनि सोभियत सङ्घको विरुद्धमा छन् उनीहरू किनकि सोभियत रुस अहिले पनि महाशक्तिको रूपमा छ । त्यसका विरुद्ध मोर्चाबन्दी गर्नका लागि नाटोलाई मजबुत पार्ने प्रयत्न गरिरहेका छन् ।

    रुसका विरुद्ध मोर्चाबन्दीको क्रममा उनीहरूले युक्रेनमा कठपुतली सरकार बनाएर त्यसलाई नाटोमा लैजाने प्रयत्न गरिरहेका छन् । यसरी रुसको सिमानासँग जोडिएका देशमा नाटोलाई सक्रिय बनाएर वास्तवमा रुस विरुद्ध मोर्चाबन्दी गर्न खोजिरहेका छन् । त्यो कारणले नै त्यहाँ युद्ध पैदा भएको हो । त्यसकारण आज युक्रेनमा जुन युद्धको अवस्था पैदा भएको छ, त्यसका लागि मूल रूपमा पश्चिमा साम्राज्यवादी देश नै जिम्मेवार छन् । त्यस्तो अवस्था त्यो युद्धका लागि रुसलाई बढी जिम्मेवार ठहर्‍याएर अमेरिकाको पक्ष लिने जुन नीति नेपाल सरकाले अपनाएको छ, यसलाई हामीले गलत मानेका छौँ । त्यसको आलोचना गरेका छौँ ।

    निश्चय नै त्यसका साथसाथै युक्रेन युद्धका लागि रुस पनि जिम्मेवार छ । रुस पनि साम्राज्यवादी देश हो । उसले आफ्नो साम्राज्यवादी स्वार्थ पूरा गर्न युक्रेनमाथि हमला गरिराखेको छ । त्यसैले युक्रेन युद्धको सन्दर्भमा पश्चिमी साम्राज्यवाद, अमेरिकी साम्राज्यवाद र रुसी साम्राज्यवाद सबै जिम्मेवार छन् ।

    ० अनि इजरायल र हमासको बारेमा यहाँहरूको नीति के छ ?

    – त्यहाँको स्थिति बडो गम्भीर बनेको छ किनभने त्यहाँ प्यालेस्टाइनी भूमिबाट अमेरिकाको समर्थनमा यहुदीहरूले लाखौँको सङ्ख्यामा त्यहाँका प्यालेस्टाइनीलाई हटाएर इजरायली राज्यको स्थापना गरेका हुन् । प्यालेस्टाइनी जनताले लगभग सात दशक लामो समयदेखि त्यहाँ आफ्नो मुक्तिका लागि सङ्घर्ष गर्दै आएका छन् । उनीहरूलाई आफ्नो देश मुक्त गर्ने वा त्यहाँ बस्ने न्यायपूर्ण अधिकार छ तर उनीहरू आफ्नै देशमा शरणार्थी बनिरहेका छन् । उनीहरूले त्यसका लागि युद्ध पनि चलाइरहेका छन् ।

    उनीहरूलाई संयुक्त राष्ट्र सङ्घको निर्णयअनुसार गाजापट्टीमा उनीहरूको जुन सरकार बनेको थियो, त्यहाँ पनि तिनीहरूलाई बस्न नदिनका लागि इजरायलले आक्रमण गरिरहेको छ । त्यसलाई अमेरिकाले समर्थन गरिराखेको छ ।

    यद्यपि हमासले गत अक्टोबर ७ का दिन हमला गर्ने जुन नीति अपनायो, त्यसबाट त्यहाँका नाबालिग, महिलामाथि हमला गर्ने, अपहरण गर्ने, त्यसबाट नेपालमा कतिपय व्यक्तिहरू पनि प्रभावित छन् । कुनै पनि समूह वा सरकारले कुनै पनि अर्को देशका निहत्था जनतामाथि आक्रमण गर्दछ भने त्यसलाई हामी गलत मान्दछौँ । त्यसरी नै हमासले गरेको आक्रमणलाई पनि हामीले गलत ठहर्‍याएका छौँ । त्यसलाई हामीले आतङ्कवादी कार्यविधि बताएका छौँ तैपनि समग्र रूपमा प्यालेस्टाइनी जनतालाई आफ्नो मुक्तिका लागि सङ्घर्ष गर्ने अधिकार छ । त्यो उनीहरूको न्यायपूर्ण अधिकार हो । अहिले त्यहाँका जनतामाथि इजरायलले जसरी आक्रमण गरिराखेका छ; नरसंहार गरिरहेको छ† महिला, केटाकेटीमाथि हमला गरिरहेको छ; त्यहाँका अस्पतालामाथि आक्रमण भइरहेको छ† विश्वविद्यालयमाथि आक्रमण भइरहेको छ, त्यो गलत नीति हो । हामीले त्यसको भर्त्सना गर्दछौँ । प्यालेस्टाइनी जनताको मुक्ति आन्दोलनलाई संसारभरिका जनताले समर्थन गर्नुपर्दछ ।

    स्वयम् अमेरिकामा पनि इजरायल नरसंहारको विरुद्ध तर प्यालेस्टाइनी जनताले गरिरहेको मुक्तिको पक्षमा ठुला ठुला जुलुस प्रदर्शन भइरहेका छन् । युरोपका जनताले पनि प्रदर्शन गरिरहेका छन् । नेपालमा इजरायलमा भइरहेको नरसंहारका विरुद्ध या प्यालेस्टाइनी जनताको पक्षमा कुनै आन्दोलन, प्रदर्शन, सङ्घर्ष भएको छैन तर हाम्रो पार्टीले कैयौँपटक आवाज उठाउने गरेको छ ।

    प्यालेस्टाइनी जनताको पक्षमा आवाज नउठाउने दृष्टिकोण, त्यसप्रति उदासिन रहने दृष्टिकोण सही होइन । कुनै पनि देशको यस प्रकारको समस्या नेपालको पनि समस्या हो । भोलि त्यस प्रकारको समस्या नेपालमा पनि पैदा हुन सक्दछ । अमेरिकाले जसरी एमसिसीको घेरामा नेपाललाई ल्याइरहेको छ; एसपिपी पारित गर्ने कोसिस गरिरहेको छ; तिब्बतमाथि आक्रमणका लागि नेपाललाई युद्धभूमि बनाउने प्रयत्न गरिरहेको छ; युक्रेनको वा प्यालेस्टाइनको जस्तो स्थिति भोलि नेपालमा पनि हुन सक्छ । यदि आज हामी संसारका यस्ता घटनाको विरुद्धमा आवाज उठाउँदैनौँ भने भोलि नेपालमा पनि त्यस्तो हुँदा हामी झन् ठुलो मर्कामा पर्ने छौँ ।

    इन्डियाले बढी इजरायलको समर्थन गरिराखेको छ । हामीले देखिराखेका छौँ, इन्डियामा प्यालेस्टाइनको पक्षमा अथवा इजरायलको विरुद्धमा खासै आवाज उठिरहेको छैन । त्यसको असर नेपालमा पनि परेको छ तैपनि हाम्रो पार्टीले सम्भव भएसम्म आवाज उठाउने प्रयत्न गरिरहेको छ ।

    ० तपाईंले नेपालको सन्दर्भमा अमेरिका, भारत र चीनको कुरा गर्नुभयो । भारतको नीति नेपालको सन्दर्भमा करिब करिब उस्तै छ भन्दा हुन्छ होला, गणतन्त्र र धर्मनिरपेक्षताको प्रसङ्गलाई छोडेर । बाँकी चीन अलिकति फरक ढङ्गले आउन थाल्यो । अमेरिका प्रत्यक्ष रूपमा आउन थाल्यो । यस्तो अवस्थामा यी तीनओटा साम्राज्यवादी देशको सन्दर्भमा नेपालको सन्तुलित विदेशनीति कस्तो हुनुपर्छ भन्ने लाग्दछ ?

    – यसका दुईओटा पक्ष हुनुपर्दछ । हामीले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको पक्षमा हमेसा स्पष्ट र दृढ नीति अपनाउनुपर्दछ । एउटा पक्ष यो हो । दोस्रो पक्ष, संसारमा जहाँ पनि साम्राज्यवादी देशले कुनै आक्रमण गर्दछ; हस्तक्षेप या युद्ध गर्छ भने त्यसको विरुद्धमा हामीले आवाज उठाउनुपर्दछ । हाम्रो पार्टीले त्यही प्रकारको नीति अपनाउने गरेको छ । चाहे त्यो युक्रेनको प्रश्नमा होस्, चाहे प्यालेस्टाइनको सन्दर्भमा या संसारको कुनै पनि देशमा साम्राज्यवादी देशले आक्रमण गर्दछ भने त्यसको विरुद्ध हाम्रो आवाज उठेको छ ।

    यस सन्दर्भमा नेपालको सरकारले स्पष्ट नीति अपनाउन सकेको छैन । भारतले हाम्रो कालापानी कब्जा गरेको छ तर त्यो विषयमा सरकारले वार्ता गर्ने कुरा गरे पनि भारतले ध्यान दिएको छैन । हामीले यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ भन्ने कुरामा जोड दिइरहेका छौँ ।

    सरकारले त्यसमा ध्यान दिइरहेको छैन । स्वयम् नेपालका प्रधानमन्त्रीहरू इन्डिया जाँदाखेरि कालापानीको प्र्रश्नमा आवाज उठाउन सकेका छैनन् । चीनको भ्रमणमा जाँदाखेरि उनीहरूले नेपालको क्षेत्रलाई नेपालमा नदेखाएर जुन प्रकारको नक्सा बनाइयो, त्यसबारे चीन सरकारसित आवाज उठाउने गरेका छैनन् । यसरी नेपालका सरकारहरूले बारम्बार यी प्रश्नमा राष्ट्रियता, सावैभौमिकता, अखण्डतासित जोडिएको प्रश्नमा पनि दब्बु नीति अपनाउने गरेको छ ।

    ० एकपटक फेरि देशभित्रकै विषयमा केन्द्रित होऔँ । तपाईंहरूको पार्टी सङ्घीयताको स्पष्ट विरोधी, स्थापनाकालदेखि नै । सङ्घीयता नेपालमा आएदेखि नै प्रष्ट रूपमा नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा नै सङ्घीयताको विरोधी पार्टीको रूपमा छ तर गत दुईओटा चुनावबाट त्यही सङ्घीयताको कार्यान्वयन भइराखेको छ । तपाईंहरूले प्रदेशको चुनावमा पनि भाग लिनुहुन्छ । सङ्घीय संरचनामा भाग लिँदै सङ्घीयतालाई खारेज गर्ने तपाईंहरूको भिजन हो भन्ने देखिन्छ तर यो सङ्घीयताको आन्दोलनलाई उठाउन कसरी अगाडि बढाउनुपर्छ भन्ने सोच्नुभएको छ ?

    – हामीले सङ्घीयताको सुरुदेखि नै विरोध गरेका छौँ† अहिले पनि गरिरहेका छौँ तर हामीले प्रदेशको चुनावमा भाग लिनुको अर्थ सङ्घीयताप्रति हाम्रो समर्थन होइन, यसप्रति हाम्रो घोर विरोध छ ।

    हामीले संसदीय प्रणालीलाई स्वीकार गर्दैनौँ; रणनीतिक रूपमा स्वीकार गर्दैनौँ र सैद्धान्तिक रूपले पनि स्वीकार गर्दैनौँ तर कतिपय अवस्थामा हामीले त्यसलाई उपयोग गर्ने नीति अपनाएका छौँ । चुनाव उपयोग गर्नुको अर्थ हामीले संसदीय प्रणालीलाई समर्थन गरेको होइन । त्यसैगरी, हामीले सङ्घीयतालाई समर्थन नगरे पनि, सङ्घीय प्रादेशिक संरचनालाई हामीले विरोध गरे पनि हामीले त्यसलाई उपयोग गर्ने नीति अपनाएका हौँ; जस्तो : संसदीय प्रणालीलाई हामीले उपयोग गरेका छौँ, त्यसप्रति हाम्रो विरोध हुँदाहुँदै पनि । त्यही नीति हामीले सङ्घीयताको विषयमा पनि अपनाएका छौँ । त्यसको अर्थ हामीले सङ्घीयतालाई या सङ्घीय प्रादेशिक संरचनालाई समर्थन गर्छौं भन्ने होइन; यो हाम्रो ढुलमूल नीति होइन; दोहोरो नीति पनि होइन । कतिपय चिजको रणनीतिक–सैद्धान्तिक रूपमा विरोध गर्दागर्दै पनि कार्यनीतिक रूपमा हामीले उपयोग गरिराखेका हुन्छौँ । ठिक त्यही नीति सङ्घीयताको प्रश्नमा र सङ्घीय प्रादेशिक संरचनाको प्रश्नमा पनि हो ।

    ० भखैरै प्रतिनिधिसभाबाट, राष्ट्रियसभाबाट सत्य निरूपणसम्बन्धी विधेयक पास भएको छ । राष्ट्रपतिले पनि त्यसलाई प्रमाणीकरण गरिसक्नुभएको छ तर राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभामा त्यसको विरोध गर्‍यो । राष्ट्रियसभामा पनि त्यसको विरोध गर्‍यो । शान्तिप्रक्रिया टुङ्गो लगाउने विषयमा यो विधेयकको महत्त्व त हुन्छ होला तर तपाईंहरूले विधेयकको विरोध किन गर्नुभयो ?

    – यो विधेयकलाई हामीले विरोध गरेका छौँ । यो विधेयक आएको बेलादेखि नै हाम्रो यो मत रहेको छ । नेपालमा दश वर्ष सशस्त्र द्वन्द्वको स्थिति रह्यो । त्यसपछि शान्ति सम्झौता भयो । शान्ति सम्झौता भएपछि माओवादी र सत्तापक्षबिचमा जुन एकार्का विरुद्ध हत्याहिंसा भए, त्यो अध्याय समाप्त भयो तर त्यसको अर्थ अर्को दुईओटा कुरामा हामीले विचार गर्नुपर्छ ।

    एउटा पक्ष, त्यो कालमा माओवादी र सरकारद्वारा पनि निरपराध जनतामाथि धेरै अत्याचार भएका छन्; हत्या भएका छन्† महिला बलात्कृत भएका छन्—दुईओटा पक्षबिच सम्झौता हुँदासाथ त्यो कुरा टुङ्गियो । एउटा कुरा यो हो ।

    अर्को कुरा, दुवै पक्षद्वारा बन्दी बनाइएका मान्छेको अङ्गभङ्ग गर्ने, उनीहरूलाई बेपत्ता पार्ने काम भएका छन्, त्यो गलत हो । त्यसकारण द्वन्द्व भयो भन्दैमा गिरफ्तार गरिएका जुन व्यक्ति छन्† गिरफ्तार गरिएपछि ती निःशस्त्र भए, उनीहरूमाथि अत्याचार भए, त्यसलाई हामीले गलत मानेका छौँ ।

    माओवादीहरूले शान्ति सम्झौतापछि पनि त्यस्ता कार्य धेरै गरेका छन्† जस्तो : हाम्रो पार्टीका कमरेड कमल अधिकारीको बाँकेमा हत्या गरियो, पहिलो संविधानसभा चुनावको बेलामा । त्यो मुद्दालाई उनीहरूले फिर्ता लिए । त्यो मुद्दामा जेलमा परेका अभियुक्तलाई उनीहरूले जेलबाट छुटाएर भव्य स्वागत गरे । यस प्रकारका कैयौँ मुद्दालाई फिर्ता लिने कार्यलाई हामीले गलत मानेका छौँ । यस्ता विषयमा जस्तो अहिले आएको छ नि, उनीहरूलाई ७५ प्रतिशत सजाय माफ गर्ने, घटीसजाय गर्ने जस्ता व्यवस्था छन् अहिलेको विधेयकमा, त्यसलाई हामीले गलत मान्दछौँ । उनीहरू त्यसलाई सही सावित गर्न प्रयत्न गरिरहेका छन् । अहिलेको टिआरसीसम्बन्धी जुन विधेयक छ, त्यसलाई उनीहरूले ठुलो उपलब्धि भनेका छन् ।

    टिआरसी आयोगमा अहिलेसम्म ६० हजारभन्दा बढी मुद्दा परेका छन् । त्यसको कुनै छानबिन भएको छैन । कैयौँ आयोग बनेका छन् तर कुनै काम भएका छैनन् । त्यसैले अहिले जुन विधेयक पास भएको छ, त्यो कहाँसम्म लागु हुने छ ? त्यसको टुङ्गो छैन । त्यसबाहेक यो कानुनको मूल स्वरूप नै गलत छ किनभने यसको मुख्य उद्देश्य त्यस प्रकारका जघन्य अपराधी गरेका, मानवअधिकार उल्लङ्घन गरेका व्यक्तिलाई सजाय दिनेभन्दा तिनीहरूलाई माफी दिनेतिर नै उनीहरूको बढी जोड छ । त्यसैले हामीले त्यसलाई सुरुदेखि नै गलत मानेका छौँ । अहिले जुन विधेयक पास भएको छ, राष्ट्रपतिले त्यसलाई प्रमाणीकरण गरेका छन्, त्यसलाई हामीले गलत मान्दछौँ ।

    ० अब हामी अन्तर्वार्ताको अन्तिमतर्फ छौँ । महामन्त्रीज्यू, विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । नेपालको कम्युनिस्ट आन्दोलन पनि रक्षात्मक अवस्थामा छ । यस्तो अवस्थामा नेकपा (मसाल) को महामन्त्री तपाईं आफै हुनुहुन्छ । नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउनका लागि तपाईंहरूले के कस्ता नीति, कार्यक्रम अवलम्बन गरिरहनुभएको छ ?

    – हाम्रो नवौँ महाधिवेशन भर्खरै भयो । त्यसले हाम्रो नीति र कार्यक्रम तय गरेको छ ।

    हामीले यो देखेका छौँ, विश्व कम्युनिस्ट आन्दोलनको स्थिति एकदम रक्षात्मक अवस्थामा छ । कम्युनिस्ट आन्दोलनमा पनि जटिलता छन् । नेपालको कम्युनिस्ट आन्दोलन त्यसबाट अपवाद छैन । यो पनि धेरै कमजोर भएर गएको छ । आफूलाई कम्युनिस्ट बताउने पार्टीहरूले त्यसतर्फ ध्यान दिन छाडेर अवसवादी काम गरेका छन् । त्यसले गर्दा यस्तो स्थिति पैदा भएको हो ।

    कम्युनिस्ट भन्ने तर कम्युनिस्ट सिद्धान्त पूरै छाड्ने, अवसरवाद, भ्रष्टाचारको बाटो उनीहरूले समातेका छन् । सत्तामा गएका पार्टीहरूले पनि कम्युनिस्ट सिद्धान्तअनुसार काम गरिरहेका छैनन् । यसले जनतामा कम्युनिस्ट आन्दोलनप्रति अविश्वासको धारणा पैदा भएको छ । नेपालका आफूलाई कम्युनिस्ट बताउने पार्टीहरू बारम्बार सरकारमा जाने गरेका छन् तर उनीहरूले भ्रष्टाचार गर्ने गरेका छन्; अन्यायपूर्ण नीति अपनाएका छन् । यसरी कम्युनिस्ट आन्दोलनप्रति नै, स्वयम् गणतन्त्रप्रति नै अविश्वासको स्थिति पैदा भएको छ । यसले गर्दा प्रतिगामी शक्तिहरूलाई बढी बल मिलेको छ ।

    जस्तो कि हामीले देख्यौँ, बङ्गलादेशमा, त्यहाँको सरकारको तानाशाही शासनले गर्दाखेरि जनतामा ठुलो अनास्था पैदा भयो । त्यसका विरुद्ध जनताले सङ्घर्ष गरे । त्यसलाई हामीले स्वागत गरेका छौँ र अभिनन्दन पनि गरेका छौँ । त्यसबाट प्रतिगामी शक्तिहरूले फाइदा उठाउने अवस्था पनि त्यहाँ उत्पन्न भएको छ । त्यही प्रकारले नेपालमा गणतन्त्रको पक्षमा भएका, लडेका या कम्युनिस्ट पार्टी भनिएकासमेतले जुन गलत प्रकारका तौरतरिका अपनाएका छन्, त्यसले गर्दाखेरि देशमा गणतन्त्रप्रति अविश्वासको भावना पैदा भएको छ । राजनीतिक पार्टीप्रति वितृष्णा पैदा भएको छ । कम्युनिस्टप्रति पनि वितृष्णाको भावना पैदा भएको छ । यसले कम्युनिस्ट आन्दोलनलाई धेरै नै नोक्सान पुर्‍याएको छ । प्रजातान्त्रिक आन्दोलनलाई धेरै नोक्सान पुर्‍याएको छ ।

    यो स्थितिको सामना गर्दै एउटा सही, क्रान्तिकारी विचार, सिद्धान्त र नीतिको आधारमा देशको प्रजातान्त्रिक आन्दोलन र कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने कुरामा हाम्रो पार्टीले जोड दिएको छ । त्यसका लागि पार्टीको हाम्रो नवौँ महाधिवेशनले स्पष्ट नीति र कार्यक्रम लिएर आएको छ । त्यसलाई सफल पार्नेतिर हाम्रो पार्टी कटिबद्ध छ ।

    ० हामीलाई महत्त्वपूर्ण समय दिनुभयो, त्यसका लागि महामन्त्रीज्यूलाई धेरै धेरै धन्यवाद छ ।

    – धन्यवाद ।

    (प्रस्तुति : प्रकाश थापामगर/गोविन्दकुमार शर्मा)

    २०८१ भदौ १४ गते शुक्रबार
    बुढानीलकण्ठ–१०, काठमाडौँ

    मङ्गलबार, भदौ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.