भीमसेन वन, उपाध्यक्ष बडिगाड गाउँपालिका, बागलुङ
गएको स्थानीय तहको निर्वाचनमा बागलुङको बडिगाड गाउँपालिकाबाट उपाध्यक्ष पदमा राष्ट्रिय जनमोर्चाको तर्फबाट भीमसेन वन निर्वाचत हुनुभयो । स्थानीय तहमा रहेर दुई वर्षभन्दा बढी समय जनताको काम गर्दा के कस्तो अनुभव भएको छ, स्थानीय तहसँग जनताका अपेक्षा के कस्ता छन्, स्थानीय जनप्रतिनिधिले कुन ढंगले काम गरिरहेका छन् र जनताका अपेक्षा पूरा गर्न आफूलाई कसरी प्रस्तुत गरिरहेका छन् ।
यी विषयहरूसँगै पालिकाका समस्याबारे राष्ट्रिय जनमोर्चाले खेलेको भूमिकाबारे हामीले उपाध्यक्ष वनसँग संक्षिप्त कुरा गरेका छौँ । प्रस्तुत छ, उपाध्यक्ष भीमसेन वनसँगको भिडिओ कुराकानी :
तपाईं स्थानीय तहमा निर्वाचित भएको दुई वर्ष पूरा भइसकेको छ । यो अवधिमा स्थानीय तहको काममा के कस्तो अनुभव गर्नुभएको छ ?
खासगरी स्थानीय सरकार भनेको हामीले स्थानीय तह कार्यविधि अनुसार नै सञ्चालन गर्ने कुरा हो । स्थामनीय सरकार ऐन २०७४ ले निर्दिस्ट गरेका विषयबस्तुको परिधिभित्र रहेर स्थानीय सरकार सञ्चालन हुन्छ ।
यो सँग हामीले फ्युजन गर्ने कुरा के हो भने हामीले जुन राजनीतिक ऐजेण्डा लिएर जनताको घरदैलोमा गयौँ, त्यो राजनीतिक एजेण्डाका आधारमा हामीले हाम्रो नीति कार्यक्रम तय गर्ने कुरा हो । र, त्यसरी नीति कार्यक्रम तय गर्नेबेला हामीले नागरिकका अधिकतम समस्याहरू र स्थानीय सरकारको स्रोत र साधन र त्यो स्रोत परिचालनका आधारहरू यी सबै विषयहरूको विश्लेषण गरेर काम गर्दै जाने कुरा हो ।
यो अवधिमा हामीले तीनवटा बजेट निर्माण गर्यौँ र दुईवटाको कार्यान्वयन गर्यौँ । एउटा अहिले कार्यान्वयनको चरणमा छ । यो बेला पक्कै पनि नागरिकका सबै अपेक्षाहरूलाई कार्यान्वयन गर्न सक्ने अवस्था स्थानीय सरकारसँग छैन । शक्तिको सन्तुलन, शक्तिको बाँडफाँटको हिसाबले हेर्दा पनि स्थानीय सरकारका अधिकार क्षेत्रहरू स्पष्ट ढंगले तय हुन सकिरहेको अवस्था छैन । त्यसकार यो स्थितीमा हामीले जे जति काम गरेका छौँ, नागरिकहरूको अपेक्षा र स्थानीय स्रोत साधनको उपलब्धता, हामीले नागरिकसँग गरेको प्रतिवद्धता, यी तीनवटा पक्षसँग जोडिएर हामीले काम गर्दै आएका छौँ ।

स्थानीय जनप्रतिनिधिसँग जनताका अपेक्षाहरू के कस्ता हुँदा रहेछन् ?
प्रत्यक्ष नागरिकसँग जोडिएको सरकार भएको कारणले गर्दा घरदैलोको सरकार र प्रत्यक्ष जनतासँग सँगै रहने सरकार भएको कारणले गर्दा पनि उहाँहरूको हरेक चाहना, हरेक समस्यासँग सरकारको उपस्थिती उहाँहरू देख्न चाहनुहुन्छ । आफूले विजयी गराएका जनप्रतिनिधिहरू आफ्ना समस्याको बारेमा बोल्देओस् भन्ने पनि नागरिकले चाहनुहुन्छ । मलाई यो लाग्दैन कि नागरिकहरूसँग बढी अपेक्षा छ । सानो सानो अपेक्षाहरू छन् ।
जस्तै, म एउटा उदाहरण दिन्छु – हामीले कतिपय ठाउँमा भेटघाट गर्ने सन्दर्भमा, नागरिकसँग जाने सन्दर्भमा केही वृद्ध बुवा आमाहरुले हामीलाई के भन्नुहुन्थ्यो भने हामीसँग अँध्यारोमा हिँड्ने लाइट हुँदैन, ट्वाइलेट टाढा छ, हामी ग्रामिण क्षेत्रका मान्छे, हामीलाई लाइटको व्यवस्था गरिदेओस् स्थानीय सरकारले । हामीलाई न्यानो कपडाको व्यवस्था गरिदेओस् । यस्ता सामान्य प्रकारका अपेक्षा उहाँहरू राख्नुहुन्छ । यद्यपी यी सबै अपेक्षा बाहेकका अपेक्षा पनि छन्, केही हाम्रो सुगमताको हिसाबले शिक्षा, स्वास्थ्य, नागरिकहरूको अमनचैनको हिसाबले पनि काम गरोस् भन्ने नागरिकहरूको चाहना पाउँछु ।
तपाईं निर्वाचित हुनुभएको बडिगाड गाउँपालिकामा खास समस्याहरू के के छन्, समाधान कसरी गरिरहनुभएको छ ?
मुख्यरुपले भौगोलिक विविधता छ, हामीसँग र भौगोलिक सम्भावना पनि छ। मुख्यगरिकन हामीसँग खानेपानीको समस्या छ । त्यसपछि, शिक्षा स्वास्थ्यलाई हामीले केही सुधार गरेका छौँ । यद्यपी त्यहाँभित्र पनि हामीलाई केही चुनौती पनि छन् । त्यसपछि पूर्वाधार निर्माणमा प्राकृतिक विविधताका कारणले गर्दाखेरी सोचेजस्तो प्रगति हुन सकेको छैन । विभिन्न रोड बनाउने हाम्रो प्लानलाई अहिले हाम्रो स्रोतले पुगिरहेका छैन । यसरी हेर्दा हामीले शिक्षा, स्वास्थ्यमा बढी सुधार गरेका छौँ भने कृषि र उत्पादनको क्षेत्रमा अलिक कम प्रगति भएको अवस्था छ ।
तपाईं गठबन्धनबाट निर्वाचित हुनुभयो, त्यहाँ अध्यक्ष अर्कै पार्टीको हुनुहुन्छ । यसरी गठबन्धनमा बसेर काम गर्नुपर्दा कत्तिको सहजता वा असहज महसुस भएको छ ?
बागलुङको बडिगाड गाउँपालिकाको हकमा कुरा गर्नुपर्दा यद्यपी हामी गठबन्धनको साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा गयौँ, र विजयी भयौँ । तर, अहिले हामी काममा जाँदाखेरी त्यस्तो अनुभूती हामीलाई भएको छैन । हामीले आ –आफ्नो पदीय जिम्मेवारी, आ–आफ्नो प्रोफाइल अनुसार काम गरिरहेका छौँ । अध्यक्षज्यूले पनि आफ्नो प्रोफाइल अनुसार काम गर्नुभएको छ ।
यहाँसम्म हामीसँग प्रतिस्पर्धा गरेर आउने साथीहरूलाई पनि दलीय विभेद गरिएको छैन । बडिगाड गाउँपालिकामा अहिलेसम्म त्यस्तो महसुस मैले गरेको छैन ।
उपाध्यक्षको जिम्मेवारी अन्तर्गत स्थानीय तहमा आउने मुद्दा मामिला पनि हेर्नुपर्ने दायित्व रहन्छ । यहाँहरू समक्ष खास के कस्ता मुद्दा आउँछन्, र तिनलाई समाधान कसरी गर्नुभएको छ ?
स्थानीय तह सञ्चालन ऐनको ८६(१) ले दिएको अधिकार प्रयोग गरेर न्याय निरुपणमा हामीले काम गर्नुपर्ने छ । संविधानले पनि निर्दिस्ट गरेको न्याय निरुपणमा स्थानीय सरकारलाई अधिकार दिएको अवस्थामा उपप्रमुखको नेतृत्वमा समिति छ । हामीसँग आउने प्रायः मुद्दाहरू खासगरी बडिगाडको हकमा पहिला अलि बेसी श्रीमान श्रीमतीको झगडाको आउने गरेका थिए । अहिले हाम्रो कार्यकाल सुरु भइसकेपछि ति मुद्दा अलि कम आउने गरेका छन् । अहिले मैले यो दुईवर्षको विश्लेषण गर्दाखेरी हामीसँग आउने मुद्दामा लेनदेनका मुद्दाहरू, जग्गाको कारोबारका मुद्दाहरू अलि बढी देखिएको छ भने अर्को कुरा सामान्य कुटपिटका मुद्दाहरू पनि आउने गरेका छन्। तर, मुद्दाको चाप अत्यन्त कम छ ।
मलाई के लाग्छ भने अहिले मुद्दाको स्थिती हेर्दा अहिले धेरै युवाहरू विदेशिएका अवस्थामा उहाँका जोडिहरू आफ्नो सम्बन्ध विच्छेद गर्नुपर्ने, यस्ता केसहरू बढ्दै आएको छ । सम्बन्ध विच्छेदको केसमा मेलमिलाप गराउनुपर्छ, सम्बन्ध विच्छेद हाम्रो मातहतको विषय होइन, भनेर उहाँहरूलाई छलफल गराउने, मेलमिलाप गराउने र उहाँहरूलाई पुनः सम्बन्धमा जोड्ने काम स्थानीय सरकारले गर्दै आएको छ ।
खासगरी पछिल्लो चरणमा हामीसँग लेनदेनका मुद्दाको चाप अलिक बढेर गएको देखिन्छ ।

राष्ट्रिय जनमोर्चाको चरित्र अनुसार निर्वाचित जनप्रतिनिधि अरुभन्दा बेग्लै, उच्च अनुशासित ढंगले काम गर्नुपर्छ भन्ने अपेक्षा छ । तपाईं र अन्य पार्टीका जनप्रनिधिबीच के अन्तर छ ? कसरी पार्टी र जनताको अपेक्षा पूरा गर्नुभएको छ ?
पक्कै पनि, हामी राष्ट्रिय जनमोर्चा दलसँग सम्बन्धित व्यक्ति हौँ । पार्टीले जिम्मेवारी दिने सन्दर्भमा कतिपय साथीहरू पार्टीकै काम गरिरहनुभएको छ, हामीलाई स्थानीय तहको काम गर्न जिम्मेवारी दिएको छ । त्यो पार्टीले नै दिएको जिम्मेवारी हो । त्यो जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्नुपर्छ भन्ने हाम्रो बुझाई हो । यसरी जिम्मेवारी पूरा गर्नु सन्ददर्भमा हामी पार्टीको निर्देशनभन्दा बाहिर छैनौँ । र, हामीले गरेको काम पनि पार्टी कामकै एउटा अंग हो भन्ने हिसाबले जनप्रतिनिधि हुँदा पनि हामीले काम गर्दै आएका छौँ ।
यसले के देखाउँछ भने हामी पार्टीको कार्यकर्ता हुँदा हामी जुन दर्शनबाट निर्देशित भयौँ, जुन व्यवहार हामीले गर्दै आयौँ, आज पनि हामीले त्यो व्यवहारलाई निरन्तरता दिनुपर्छ र हामीले दिँदै पनि आएका छौँ । हामीले पार्टीको आचारसंहिता र गाइडलाइन भन्दा बाहिर गएर व्यवहार गर्न मिल्दैन र गर्दैनौँ ।
राष्ट्रिय जनमोर्चा राष्ट्रिय रुपमा पनि जुन खालको व्यवहार र अवस्था छ, आम नागरिकले जसरी राष्ट्रिय जनमोर्चालाई बुझ्ने गर्नुभएको छ, र त्यसको कार्यकर्ता भएको हिसाबले हामी गर्वका साथ पार्टीको नीति सिद्धान्त र पार्टीको निर्देशन बमोजिम आफ्नो जिम्मेवारी पूरा गछौँ ।
यहाँ अखिल नेपाल युवक संघको महासचिव पनि हुनुहुन्छ । पार्टीको यति महत्वपूर्ण जिम्मेवारी र स्थानीय तहको कामबीच कसरी तालमेल मिलाइरहनुभएको छ ?
यसमा मुख्यतः संगठनकै जिम्मेवारी अनुसार काम गर्नुपर्ने हो । तर, पछिल्लो चरणमा दोहोरो जिम्मेवारी भएको कारणले गर्दाखेरी समयतालिका व्यवस्थापन गर्न अलिक गाह्रो भएको छ । तैपनि मैले हाम्रो केन्द्रीय समितिमा छलफल गरेर नजिकका जिल्लाहरूमा काम गर्ने र थोरै समय संगठनलाई दिनेगरी हामीले कार्यको जिम्मेवारी बाँडफाँट गर्ने गरेका छौँ । त्यसले संगठनको काम र स्थानीय तहको कार्यसञ्चालन गर्ने सन्दर्भमा उपाध्यक्षको जिम्मेवारी पूरा गर्न समय व्यवस्थापन भएको छ ।
तैपनि मलाई के महसुस भएको छ भने महासचिवको हैसियतले संगठनको काममा अलिक कमी भएको छ । यसले हामीले आस्ते आस्ते मिलाउँदै जानेछौँ ।
युगदर्शनमार्फत आफ्नो क्षेत्रका जनतालाई थप केही भन्नु छकी ?
मैले समग्र आदरणीय देशबासी नागरिकहरूसँग के अनुरोध गर्छु भने हामी जुन व्यवस्थाभित्र छौँ, यो व्यवस्थाभित्रबाट हाम्रा अपेक्षा पूरा हुँदैनन् । यसमा केही सुधार गर्न सकिन्छ, केही रुपान्तरण गर्न सकिन्छ ।
र, यसबाट सिकेका कुराहरूले त्यो आन्दोलनलाई मद्दत गर्छ, जसले जनताको जनजीविकाको, जनतन्त्रको पक्षमा र देशको मुलभूत रुपान्तरणको पक्ष सहज हुन्छ । त्यसकार आम नागरिकलाई देशको राष्ट्रियता, जनतन्त्र, जनजीविकाको पक्षम रहँदै अगाडी बढ्नुहुनेछ भने हामीलाई सकारात्मक सल्लाह, सुझाव दिइरहन पनि आग्रह गर्दछु ।
(प्रस्तुती : विद्यानाथ अधिकारी/गोविन्द शर्मा ।)