बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठुलोखोला जलविद्युत् आयोजनाको मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ जोडिएको छ ।
संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको ठुलोखोलाको सुरमा भन्ने ठाउँमा ४३ दशमलव ३६ मिटर गहिरो सुरुङ बनाएर मुख्य सुरुङसँग जोड्ने कार्य गएराति सम्पन्न भएको हो ।
आयोजनाको सिभिल ठेकेदार साकुरा–पावर त्रिपल एसका आयोजना व्यवस्थापक शिवलाल चालिसेले सर्ज साफ्टको ‘ब्रेक थ्रू’ भएसँगै सुरुङ खन्ने सबै काम सकिएको बताउनुभयो ।
‘सर्च साफ्टले सुरुङमा पानीको सतह व्यवस्थापन र चापलाई नियन्त्रण गर्न मद्दत गर्छ’ उहाँले भन्नुभयो– ‘आकस्मिक रूपमा विद्युत्गृह बन्द गर्नुपर्दा सुरुङबाट आएको पानीको चापलाई सर्च साफ्टले नियन्त्रण र सतह व्यवस्थापन गर्छ ।’
जलविद्युत् आयोजनाका लागि सर्ज साफ्टको ब्रेक थ्रू हुनुलाई एउटा महत्त्वपूर्ण उपलब्धि मानिएको चालिसेले बताउनुभयो ।
तीन महिनाअघि जोडिएको फेदीखोलाको बाँधबाट छरीको आउटलेट जोड्ने दुई हजार सात सय मिटर मुख्य सुरुङलाई फिनिसिङ गर्ने काम भइरहेको छ । एक सय चार दशमलव १६ मिटर अग्लो भर्टिकल साफ्ट र चार सय ८३ मिटर पेनस्टक टनेल निर्माण सकिएको छ ।
विद्युत्गृहबाट आउटलेटको उचाइ तीन सय ५५ मिटर छ । आउटलेटबाट विद्युत्गृह जोड्ने एक हजार छ सय ४० मिटर पेनस्टक पाइप लाइनमध्ये सात सय मिटर जडान भइसकेको छ । पचासी प्रतिशत भौतिक प्रगति भएको उक्त आयोजनाको आगामी तीन महिनाभित्र पूर्वाधार निर्माणको काम सक्ने लक्ष्य छ ।
फेदीखोलामा बाँध, पानी थिग्राउने पोखरी र छरीमा विद्युत्गृह निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युत्गृहको छाना छाएपछि जडान गर्ने जेनेरेटर र टर्बाइनलगायत उपकरण राख्ने ठाउँ तयार बनाइएको छ ।
आयोजनाका प्रमुख इन्जिनियर रवीन्द्र हमालले हिमाली क्षेत्रको प्रतिकूल मौसम, भूगोल र प्राकृतिक विपद्का चुनौतीबिच निर्माणलाई तीव्रता दिइएको बताउनुभयो ।
कुल तीन अर्ब ६० करोड लागत अनुमान गरिएको आयोजनाको प्रवर्द्धक कम्पनीको नेतृत्व गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अगुवा डा बद्रि केसीले गर्नुभएको छ ।
नेपाल बैङ्क लिमिटेडको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैङ्क, सिद्धार्थ बैङ्क र सिटिजन्स बैङ्कले आयोजनामा लगानी गरेका छन् । यस आयोजनामा गत असारमा आएको बाढीले बाँध नजिकै निर्माणाधीन डिसेन्डर (पानी थिग्राउने पोखरी) मा क्षति पुर्याएपछि निर्माण अवधि केही समय धकेलिएको थियो ।
आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि आठ किलोमिटर दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माणाधीन छ । ३२ मध्ये १४ ओटा टावरको निर्माण सुरु भइसकेको निर्माण कम्पनीले जनाएको छ ।
रघुगङ्गा गाउँपालिका–३ अम्बाङ निर्माण हुन लागेको एक सय ३२ केभी क्षमताको सबस्टेसनबाट केन्द्रीय प्रसारण लाइनमा ठुलोखोलाको विद्युत् जोड्ने तयारी गरिएको छ । (रासस)