काठमाडौं । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले ग्लोबल आईएमई बैंकसँग ५६ मिलियन अमेरिकी डलर अर्थात करिब सात अर्ब ४१ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेको छ ।
शुक्रवार काठमाडौंमा एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) नेपाली सात अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको हो ।
सम्झौतामा ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को तर्फबाट नेपाल, बंगलादेश र भूटानका लागि आईएफसीका कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानले हस्ताक्षर गरे ।
ग्लोबल आइएमईले उक्त लगानी महिलाद्वारा सञ्चालित व्यवसायहरुलगायत साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री आयोजनालाई सहयोग गर्न परिचालन गर्नेछ ।
उक्त लगानीको उद्देश्य साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिष्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने, रोजगारी सृजना गर्ने र जलवायु लक्ष्य प्राप्तिमा सहयोग गर्ने रहेको ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।
उनले नेपालको वित्तीय क्षेत्रमा भएको आईएफसीको अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी तथा परिचालनले ग्लोवल आइएमई बैंकलाई साना तथा मझौला व्यवसाय र महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यम र ग्रामिण क्षेत्रमा रहेका उद्यम व्यवसायलाई सहयोग गर्न सघाउ पुग्ने अपेक्षा रहेको बताए ।