गोरखाबजार । गोरखा नगरपालिका–७ काँडाघारीस्थित धारापानीका एक किसानले नौ किलोको एउटै काउली फलाएका छन् ।
स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुँगा नौ किलोको छ । अहिले बस्नेतले उत्पादन गरेको काउली कृषि, पर्यटन तथा व्यापार प्रवद्र्धन मेला–२०८० को प्रदर्शनीमा राखिएको छ ।
‘काउली जोख्दा पूरै ११ किलोको थियो’ कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख नीलकण्ठ पोखरेलले भन्नुभयोे– ‘डाँठ र पात गरी दुई केजी घटाउँदा थुँगा मात्र नौ किलोभन्दा बढीको रहेको छ ।’
नेपालमा अहिलेसम्मकै सबैभन्दा ठुलो काउली भएको प्रमुख पोखरेलको दाबी छ । यसअघि बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा आठ किलो आठ सय ८० ग्रामको काउली उत्पादन भएको पाइएको थियो ।
करिब एक रोपनी क्षेत्रफलमा काउलीको व्यावसायिक खेती गर्दै आएका किसान बस्नेतको बारीमा अनुमानित आठ किलोग्रामभन्दा बढीका काउली फलेका छन् । बारीमा उत्पादित काउली ठुलो भएकाले बजारमा बिक्री गर्न कठिनाइ हुने गरेको उहाँको भनाइ छ ।
‘बारीमा आठ किलोभन्दा ठुलो काउली धेरै नै फलेका छन् । बारीको सबैभन्दा ठुलो काउली टिपेर जोख्ने क्रममा ११ केजीको भएको पाइयो’ बस्नेतले भन्नुभयो– ‘लामो समयको मिहिनेत र परिश्रमका कारण राम्रो उत्पादन भएकामा खुसी लागेको छ ।’
काउलीको डाँठ र पात कटाएर नौ किलो भनिएको भए पनि अझै बढी तौल रहेको उहाँको भनाइ छ ।
कृषिक्षेत्रमा निरन्तर मिहिनेत गर्दै आउनुभएकी किसान बस्नेतले मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने क्रममा यसपटक एउटै काउली नौ केजीभन्दा बढीको उत्पादन भएको जानकारी दिनुभयो । कृषि ज्ञानकेन्द्र गोरखाले किसान बस्नेतको परिवारलाई बारीमा ठुला ठुला काउली फलेकाले कृषि, पर्यटन तथा व्यापार प्रवद्र्धन मेला–२०८० को प्रदर्शनीमा लैजान सुझाव दिएकाले आफूहरूले बारीमा उत्पादित सबैभन्दा ठुलो काउली प्रदर्शनीमा पुर्याएको एककुमारीका पति प्रह्लाद बस्नेतले बताउनुभयो ।
‘भक्तपुरे जातको काउलीलाई यो वर्ष हामी आफैले क्रस गरेर बिउ उत्पादन गरी लगाएका हौँ’ उहाँले भन्नुभयो– ‘भदौमा रोपेको काउली अहिले टिपेर पूरै जोख्दा ११ केजी रहेको पाइयो ।’
मेलामा ज्ञान केन्द्रले प्रदर्शनमा राखेको उक्त काउली हेर्नेका हाल भीड नै लागेको छ । (रासस)