भरतपुर । एघारौँ राष्ट्रिय पोल्ट्री दिवसका अवसरमा अन्डा र कुखुराको मासुको महत्त्व बुझाउन ‘चिकेन एन्ड एग फेस्टिभल’ आयोजना गरिएको छ ।
नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरको नमस्तेचोकमा महोत्सव गरिएको हो ।
यस वर्ष ‘कुखुराको अन्डा र मासुको परिकार : स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ पोल्ट्री दिवस मनाइएको हो । महोत्सवका अवसरमा कुखुराको मासु र अन्डा नि:शुल्क वितरण गरिएको थियो ।
नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोख्रेलले कुखुराको मासु र अन्डाको महत्त्व बुझाउन नसक्दा खपत बढाउन नसकिएको बताउनुभयो । कुखुराको मासु र अन्डाको महत्त्व विद्यालय स्तरबाट बुझाउन सके फलदायी हुने उहाँको भनाइ थियो ।
मञ्चका अध्यक्ष रघुनाथ भट्टले पछिल्लो समय देखिएको आर्थिक मन्दीले कुखुरा व्यवसायीमा असर पारेको बताउनुभयो । यो समयमा कुखुराको मासु र अन्डाको प्रयोग बढाउन सके केही हदसम्म राहत पुग्ने उहाँले बताउनुभयो । स्वास्थ्यका लागि सेतो मासु फलदायी हुने जनाउँदै उहाँले सबै खाले रोगीका लागि उपयुक्त हुने अन्डाको महत्त्व बुझाउन जरुरी रहेको बताउनुभयो ।
दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रमको समेत समापन गरिएको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत २६ सरकारी विद्यालयका एक हजार नौ सय ४७ जना विद्यार्थीलाई अन्डा र मासुको महत्त्वबारे जानकारी गराइएको थियो ।
महोत्सवसहित दिवसको अवसरमा आज रक्तदानसमेत गरिएको छ । कार्यक्रमअघि मञ्चको कार्यालय भरतपुरबाट कार्यक्रम स्थलसम्म प्रभातफेरीसमेत गरिएको थियो ।
२०१७ पुस १७ गते बाराको परवानिपुर सेन्ट्रल ह्याचरीको शुभारम्भपछि नेपालमा आधुनिक पोल्ट्रीको सुरुआत मानिँदै आएको छ । यही मितिलाई पोल्ट्री दिवसका रूपमा मनाउँदै आइएको छ ।