काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन गरेको छ ।
मन्त्रालयले दक्ष, प्रतिस्पर्धी सिपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न/गराउन समिति गठन गरेको हो ।
यही कात्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रमबजारको माग तथा आवश्यकताअनुरूप दक्ष, प्रतिस्पर्धी सिपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न/गराउनका लागि उक्त समिति (गठन) आदेश–२०८० स्वीकृत गर्ने निर्णय गरेको थियो ।
उक्त प्रतिष्ठानमा एक अधिकारसम्पन्न सञ्चालक समिति रहने र प्रतिष्ठानको प्रशासकीय प्रमुखका रूपमा एक जना कार्यकारी निर्देशक रहने व्यवस्था रहेको मन्त्रालयलका सहसचिव एवम् प्रवक्ता डण्डुराज घिमिरेद्वारा २०८० कात्तिक २४ गते शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिष्ठानलाई श्रमबजारको मागबमोजिमको प्रशिक्षणको विषय पहिचान र छनोट गर्ने, पाठ्यक्रम तथा मापदण्ड स्वीकृत गरी लागु गर्ने, प्रतिष्ठानले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रमको सिप परीक्षण, स्तरीकरण तथा प्रमाणीकरण गर्ने/गराउने जिम्मेवारी दिइएको छ ।
साथै बाह्य तालिम प्रदायक संस्थाको दर्ता, आबद्धता, सूचीकरण, अनुगमन निर्देशन र आवश्यक समन्वय तथा नीतिगत व्यवस्था गर्ने, प्रतिष्ठानबाट सञ्चालन हुने प्रशिक्षणलाई अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट मान्यता दिलाउन आवश्यक व्यवस्था मिलाउने, स्वदेशी रोजगारदाता कम्पनी, गन्तव्य मुलुक, तालिम प्रदायक अन्य संस्थासँग समन्वय गरी प्रशिक्षणको आवश्यक व्यवस्था मिलाउनेसम्मको अधिकार प्रतिष्ठानलाई छ ।
यस प्रतिष्ठानबाट आगामी दिनमा छ महिना अवधिसम्मको व्यवसायी र सिपमूलक तालिम सञ्चालन गरिने छ । यस प्रयोजनका लागि पाठ्यक्रम तयार गर्ने, सिपमूलक तालिम सञ्चालन गर्ने, सिपको परीक्षण गर्ने र प्रमाणपत्र जारी गर्ने कार्यसमेत यो प्रतिष्ठानबाट गरिने प्रावधान राखिएको छ ।
मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उल्लेखित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति (गठन) आदेश–२०८० राजपत्रमा प्रकाशित गरी लागु गरिने मन्त्रालयले जनाएको छ ।