हेमलाल गौतम, केन्द्रीय सदस्य, जापान नेपाली एकता समाज ##
० सर्वप्रथम आफ्नाबारेमा केही बताएर सुरु गरौँ कि ?
– बागलुङ गल्कोटको मल्म, मल्मको पनि बरेखानी भनेपछि अरू कुराले नभए पनि भूमिगत राजनीति गर्नेहरूको राम्रै उर्वरभूमिको रूपमा सम्झिन्छन्, अहिलेका कम्युनिस्ट नेताहरू । सजिलै पुलिस पुग्न नसक्ने तर गाउँमा पुगेपछिको आनन्द र सुन्दरता अनि कृषिका लागि अब्वल छ, अहिले पनि त्यो गाउँ । त्यतिखेर स्कुल त्यति थिएनन् । स्कुल पढ्न टाढा जानुपर्ने, त्यही भएर अहिलेको हिसाबमा अलि ठुलो भएपचि स्कुल गएको थिएँ म तर एकै वर्षमा तीनओटा कक्षा पास गरेर २ कक्षामा पुगेँ । २०३२ साल देखि मेरो स्कुली जीवन सुरु भएको थियो ।
० कसरी तपाईं प्रगतिशील क्षेत्रमा लाग्नुभयो ?
– म ४ कक्षा पढ्न हटियामा रहेको गल्कोट माविमा गएँ । त्यतिखेर देशमा विद्यार्थी आन्दोलन चलेको रहेछ । त्यसको प्रभाव गल्कोटमा पनि परेको रहेछ । त्यही क्रममा गल्कोटका जालीफटाहलाई कालोमोसो दलेर जुत्ताको माला लगाएर बजार घुमाएको जोसिलो दृश्य र जोसिलो भाषणले मलाई आकर्षित गर्यो । त्यतिखेरदेखि आन्दोलनमा आकर्षित भएको म सायद २०३६ सालतिर हुनुपर्छ, टङ्क केसीले गल्कोटको बाँसखोलामा भाषण गरेको सुनेँ । उहाँ त्यतिखेर राष्ट्रिय चर्चाको शिखरमा हुनुहुँदो रहेछ । त्यो भाषणले निकै अभिप्रेरित गर्यो मलाई । त्यतिखेर गल्कोटको विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने विद्यार्थी नेताहरू सँगसँगै स्कुल जानेआउने गर्ने गरिन्थ्यो । उनीहरूले गरेका कुरा सुन्दा मनमा जोस भरिन्थ्यो ।
२०३९ सालमा म ८ कक्षामा पुगेको थिएँ । त्यतिखेर काँडेबासमा हाईस्कुल बनाउन लागे भन्ने सुनेपछि खोई के कुराले आकर्षित गर्यो, हटिया स्कुल बिचैमा छोडेर काँडेबास आएँ । त्यतिखेर हटिया स्कुल राम्रै स्कुलमध्ये पर्दथ्यो तर मेरै क्षेत्रमा स्कुल बन्न लागेपछि म त्यही स्कुल पढ्नुपर्छ भनेर स्वनिर्णय गरेर काँडेबास स्कुल गएँ । शैक्षिक शत्र सुरु भएको केही महिना बितेका थिए तैपनि विद्यार्थी पुर्याउनुपर्ने थियो । त्यतिखेरका प्रधानाध्यापक लोकनाथ खरेल सर हुनुहुन्थ्यो । उहाँले मेरो भर्ना गरिदिनुभयो ।
पढाइँसगै विद्यार्थी राजनीति पनि गर्नुपर्छ भन्ने लागेर स्वत:स्फूर्त रूपमा स्कुलमा अखिल (छैठौं) को एकाइ समिति बनाइयो । सायद सबै अब्वल विद्यार्थीहरू हाम्रै सङ्गठनमा सहभागी हुनुभयो । स्कुलमा हरेक हप्ता रचनात्मक कार्यक्रम गर्दै गर्दा पूरै विद्यालय परिवार हाम्रो कर्मप्रति आकर्षित भयो । सबैले राम्रो कामका लागि तारिफ गर्न थाले । त्यसले हामीमा थप ऊर्जा र हौसला थपियो ।
० कसरीदेखि विद्यार्थी सङ्गठनमा आबद्ध हुनुभयो ?
– २०३९ सालमा त्यतिखेर बागलुङमा विद्यार्थीको जिल्ला सम्मेलन रहेछ । त्यो सम्मेलनमा घनश्याम पाठक, जो टङ्क केसीपछि बुटवलमा विद्यार्थीको राम्रो विद्यार्थी नेता हुनुहुँदो रहेछ, ले नेतृत्व गरेर हामीलाई सम्मेलनमा लिएर जानुभयो । सम्मेलन बागलुङको दक्षिण भेक डाँडाखानी या हाँडीकोटमध्ये कहाँ भयो ? ठाउँ त्यति सम्झना भएन । त्यो ठाउँ सम्मेलनलाई रोज्नुको कारण पुलिसले थाह पाएर पनि त्यहाँ पुग्न कम्तीमा तीन/चार घण्टा लाग्दो रहेछ । त्यतिन्जेल सम्मेलन सक्न सकिन्छ र पुलिसको गिरफ्तारीमा परिँदैन भन्ने रहेछ । त्यो कुराले मलाई आन्दोलनको अनुशासन सिकायो ।
त्यतिखेर जिल्ला सम्मेलन एक एक वर्षमा गर्ने चलन थियो भने राष्ट्रिय सम्मेलन दुई दुई वर्षमा । त्यसैगरी, २०४० सालमा पनि विद्यार्थी सम्मेलन भयो । त्यसमा पनि मैले भाग लिएँ र जिल्ला सदस्य भएँ । त्यतिखेर झोकेन्द्र थापा अध्यक्ष बन्नुभयो । एवम् रीतले काम गर्दै जाँदा मैले उपाध्यक्षको भूमिकामा काम गर्ने अवसर पाएँ । त्यही क्रममा म बुटवलमा क्याम्पस पढ्न गएँ । त्यतिखेर टङ्क केसीले हामीलाई पढाउनुहुन्थ्यो । मेरो स्कुलको गुरु पनि भएकाले म उहाँ बुटवल जाने कुरा थाह पाएपछि घरमा बाबाआमासँग सल्लाह गरेर गाउँकै पहिलो क्याम्पस पढ्ने विद्यार्थी बन्न घर छोडेर गएँ ।
बुटवल गएर गएर मेरो भर्ना गर्नका लागि टङ्क केसी सरले क्याम्पस प्रमुख सुमन शाक्यलाई भनिदिनुभयो । उहाँको कलेज साथी सीता खरेललाई भर्नाको चाँजोपाँजो मिलाउन भनेर उहाँ आफ्नो काममा लाग्नुभयो । म जिल्लामा विद्यार्थी राजनीति गरेर गएकाले साथीहरू खोज्न मलाई केही समस्या भएन । एवम् रीतले मेरो विद्यार्थी राजनीति र क्याम्पसको पढाइ चल्दै गयो ।
जिल्लाबाटै म होलटाइमर भइसकेको थिएँ । त्यसैले त्यो कर्म मेरो बुटवल गएर पनि भयो । बुटवलमा स्मृतिशेष रामप्रसाद बन्जाडे, स्मृतिशेष विकास केसीलगायतका साथीको नियमित सम्पर्क र सहकार्यले लुम्बिनी क्षेत्रीय समिति, रुपन्देही जिल्ला समिति, क्यापस एकाइमा बसेर काम गर्ने अवसर प्राप्त भयो । टोपबहादुर रायमाझी, बिनबहादुर कुँवर, परि थापा, हिमलाल पुरीसम्मको नेतृत्वमा रहेर केन्द्रभन्दा तल काम गर्ने अवसर प्राप्त भयो ।
विद्यार्थीको दसौँ राष्ट्रिय सम्मेलनमा पहिलो चोटी काठमाडौँ जाने अवसर पाएँ । सायद २०४४ सालमा अखिल भारत नेपाली विद्यार्थी सङ्घको राष्ट्रिय सम्मेलन भारतको रुड्की विश्वविद्यालयमा भएको थियो । त्यतिखेर डा. बाबुराम भट्टराई, मुमाराम खनाललगायतका विद्यार्थीले भारतमा विद्यार्थीको नेतृत्व गरेका थिए । त्यो सम्मेलनमा नेपालबाट मलाई जाने अवसर केन्द्रले उपलब्ध गराएको थियो ।
बुटवलमा रहँदा म पार्टीसदस्य नभए पनि पार्टीका प्राय: सबै नेताको सेल्टर रुम मेरै हुन्थ्यो । एमबीदेखि लिएर सबै सबै नेताहरू । विद्यार्थीको त कुरै नगरौँ । यी सबै कुराले मलाई नेपालको प्रजातान्त्रिक आन्दोलमा लाग्न अभिप्रेरित गर्यो । विद्यार्थी केन्द्रमा बाह्रौँ राष्ट्रिय सम्मेलन तयारी समितिको सदस्यको रूपमा काम गर्ने अवसर पाएँ । पछि विद्यार्थीको महासचिवको प्रस्ताव आएको थियो तर मेरो शारीरिक अस्वस्थताको कारणले मैले त्यो पद अस्वीकार गरेँ । दीनानाथ शर्माले त्यो प्रस्ताव लिएर आउनुभएको थियो । म आफू हुन नसक्ने कुरा गरेपछि उहाँले कि तपाईं बस्नुपर्यो कि त विकल्पमा तपाईंले नै नाम दिनुपर्यो भन्दा दुईटै कुरा अस्वीकार गरेको थिएँ । त्यतिखेर मैले काठमाडौँमा विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा पढ्दै थिएँ । त्यहाँ विश्व विद्यालयको एकाइ समितिको सचिवको रूपमा काम गरेँ । काठमाडौँको जिल्ला समितिमा रहेर काम गरेँ ।
काठमाडौँ युवक सङ्घमा रहेर काम गर्ने पनि केही अवसर प्राप्त भयो । युवक सङ्घमा एकाइमा त गाउँदेखि नै काम गर्दै आइरहेको थिएँ । त्यसपछि मैले पेसा अँगाल्दै पढ्दै स्थानीय तहमा रहेर काम गरेँ ।
० विद्यार्थी नेता एकाएक जापान कसरी पुग्नुभयो ?
– म विदेश कहिल्यै नजाने र जानेलाई पनि जानुहुँदैन भन्ने मान्छे, विविध बाध्यताका कारण विदेशको यात्रा आफै तय गर्न बाध्य भएँ । साइप्रस जाने भनेर केही साथीहरूसँगै मैले पनि दलाललाई केही पैसा बुझाएपछि दलालले पैसा खाइदियो । पछि त्यही कारण जापान जानका लागि मितभाइले अवसर प्रदान गर्नुभयो । अनि जापान गएँ ।
जापान गएर लामो समय त्यहाँ जिउनका लागि सङ्घर्ष गर्नुपर्यो । त्यसले गर्दा सङ्घसंस्थामा रहेर केही वर्ष काम गर्न सकिएन । जब सन् २०१२ मा जापान नेपाली एकता समाजको गठन भयो । त्यो भेलामा आफू जान नपाए पनि समाज बनेकोमा निकै खुसी लाग्यो । त्यो भन्दा पहिले सन २००६ मा गल्कोट समाज बनेको थियो । त्यतिखेर म भर्खर जापान गएको थिएँ । त्यो समाचारले पनि म खुसी भएँ किनकि गल्कोटेहरूको पनि सङ्गठन बनेछ भनेर । त्यसलाई नियाँलेर हेर्दा कता कता केही प्रश्न पनि उब्जिएका थिए, कसैले प्रचण्ड पक्षधरता र कसैले बैद्य पक्षधरता देखाए जस्तो देख्दा । हुन त त्यहाँ सबै बिचार राख्ने गल्कोटेहरू रहेछन् । जे होस्, त्यो समाज पनि आज संसारभरि फैलिएको देखिन्छ र हामी गल्कोटे हुनुको नाताले गल्कोटेको समाजमा बस्नुलाई अन्यथा मानिँदैन तर एउटा कुरा के सत्य हो भने भेगीय या क्षेत्रीय सङ्घ, सङ्गठन या समाजभन्दा सिङ्गो देशको प्रतिनिधित्व गर्ने समाज बनाउँदा राम्रो हुन्छ । त्यसका लागि विभिन्न समयमा केही प्रयत्न पनि नभएका होइनन् तर त्यसले मूर्त रूप लिन सकेको थिएन ।
० जापान नेपाली एकता समाजको स्थापना कहिले र कसरी भयो ?
– सन् २०१२ मा राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसी जापान घुम्न आएको अवसरमा ओसाकामा रहेका केही साथीहरू रुमाकान्त गौतम, यमलाल सापकोटा, यमलाल सापकोटा (लाला), भीम केसी, तुफान केसी, दिलिप कँडेल, गोपाल सापकोटालगायतका साथीहरूको सल्लाहले समाज बनाउनुपर्छ जापानमा भनेर केसीजीकै आतिथ्यमा जापान नेपाली एकता समाज गठन भएको थियो । म त्यो भेलामा जोडिन सकिनँ तर मन खुसी थियो किनकि मेरो मनमा पनि त्यस्तो समाज बनाउन पाए हुन्थ्यो भन्ने थियो । केही समयपछि मैले ह्योगो क्षेत्रीय समितिको नेतृत्व गर्ने मौका पाएँ । त्यसपछि सन् २०१८ मा भएको प्रथम राष्ट्रिय सम्मेलनमा समाजको विधानको मस्यौदाकारका रूपमा मैले भूमिका पाएँ । त्यसमा अरू साथीहरू पनि मानबहादुर थापा, देवेन्द्र बस्याललगायत पनि हुनुहुन्थ्यो । त्यो सम्मेलनले मलाई केन्द्रीय सदस्यको जिम्मेवारी दियो । एवम् रीतले दोस्रो राष्ट्रिय सम्मेलन (सन् २०२२) ले पनि मलाई केन्द्रीय सदस्यको जिम्मेवारी दियो ।
० जापानमा हाल नेपालीको सङ्ख्या कति छ ? कसरी जापान जान्छन् ? त्यहाँ जाँदा कस्ता समस्या आइलाग्छन् र तपाईंहरूको भूमिका के हो ? यसबारे केही प्रकाश पारिदिनुस् न ।
– जापानमा अहिले झन्डै सवा लाख नेपाली विभिन्न शीर्षकका भिसामा छन् । बैदेसिक रोजगारको गार्हो तर ठगिने दर कम भएको देश जापान थियो र हो किनभने त्यहाँ भिसाभन्दा बाहिर रहेर बस्न र काम गर्न निकै कठिन छ । भाषाको हिसाबले पनि कठिन भएकाले राम्रोसँग कुरा गर्न पनि नसकिने हुन्छ । अनि, उसले आफ्ना कुरा कुनै जापानीसँग गर्न नसकेपछि छिपेर लुकेर बस्न र काम गर्न पनि गार्हो छ । गैरभिसाका मान्छेलाई काम लगाएको थाह पाएमा उसलाई नेपाल डिपोर्ट गर्ने र कम्पनीलाई २०० मान जरिवानासहित ब्ल्याक लिस्टमा राख्ने या कम्पनी नै खारेज गरिदिने हुनाले त्यस्तो काम गर्न प्राय: जापानी मालिक सहमत हुँदैनन् । यद्यपि बिल्कुलै शून्यस्थिति अहिले पनि छैन ।
जापानमा नेपालीलाई पहिलो रोजगारी प्राय: रेस्टुरेन्ट, त्यसमा पनि इन्डियन कुकका रूपमा बोलाइन्छ, गइन्छ र पाइन्छ । त्यसैले रेस्टुरेन्टको मालिकले आफ्ना डकुमेन्ट पेस गरेर कुक बोलाउनुपर्छ । तसर्थ प्राय: मान्छे जाने बेलामा ठगिँदैन तर जापानमा ब्यवसाय चलाउने कुशल ज्ञानको कमीका कारण र उनीहरू (जापानी) को दैनिक खाना नभएका कारण व्यापार कमैले मात्र गर्छन् । त्यसो भएपछि तलब पनि कानुनी प्रावधानअनुसार पेपरमा एउटा हुन्छ भने वास्तविक पाउने अर्कै हुन्छ । त्यही पनि नदिने र ठग्ने पनि छन् नेपालीहरू । त्योबाहेक अरू कारणले खासै ठगिँदैनन् तर कसैकसैले डिपेन्डेन्ट भिसामा परिवारका अरू सदस्यलाई बोलाइदिँदा पनि पैसा लिन्छन् । त्यस्तो गर्नुनपर्ने हो तर गर्छन् । बोलाउनेले पनि मजबुरीमा पैसा तिरेर बोलाउन बाध्य हुन्छ किनकि परिवार आएर बाहिर काम गरेर मात्रै अलि अलि पैसा बचाउन सकिन्छ । जापानले फेमिली भिसा नि:शुल्क दिन्छ† कुनै शुल्क लिँदैन । मालिकलाई केही शुल्क तिरेर आउनेले स्वनिर्णयमा पैसा तिर्छन्, जुन अबैध नै हो । यी र यस्ता गतिविधि रोक्नका लागि जापान नेपाली एकता समाजले खबरदारी गर्दै आइरहेको छ ।
० तपाईं आबद्ध समाजले के कस्ता नीति अवलम्बन गरेको छ ? केही बताइदिनुहुन्छ कि ?
– संसारभरिकै श्रमिकको न्यायका आवाज उठाउने समाजको नीति छ । त्यस्तै, राष्ट्रियता र लोकतन्त्रका लागि उठ्ने आन्दोलनमा नैतिक रूपमा ऐक्यबद्धता जनाउने नीति छ । प्रवासमा बस्दा आफ्नो देश झल्किने कला, संस्कृति र लोकसंस्कारलाई सकेसम्म सामूहिक या पारिवारिक रूपमा गर्ने नीति छ, जसका कारण हाम्रो नेपालको बारेमा विदेशीले पनि देख्न र बुझ्न पाउन् । विभिन्न सङ्घ, सङ्गठन र कूटनीतिक नियोगसँग पनि साझा सवालमा मिलेर काम गर्ने नीति लिएको छ समाजले ।
० तपाईंहरू प्रवासीलाई सरकारले रेमिट्यान्सको साधन मात्रै बनाए जस्तो लाग्दैन ?
– लाग्छ । हो, देशले आज आफ्नो आम्दानीको मुख्य श्रोत युवाहरूलाई बनाइरहेको छ । तिनै युवाले कमाएको पैसा रेमिट्यान्स असुलेर देश धानिरहेको छ । देशमा आज बच्चाबच्ची र बुढाबुढी मात्रै छन् । गाउँमा युवा छैनन् । गाउँमा मर्दापर्दा मलामी, जन्ती जाने पनि पुरुष पाउन गार्हो छ । यिनै जनतामाथि शासन चलाइरहेछ सरकारले ।
युवालाई बेचेर तिनै युवाले कमाएर पठाएको नोट चल्छ तर भोट चल्दैन । सर्वोच्चले वि.सं. २०७४ सालमै फैसला दिइसकेको मताधिकारको व्यवस्था गर्न नसकेर निकम्मा बनिरहेछ सरकार । यदि प्रवासमा रहेका नेपालीलाई उनीहरूको मताधिकारको व्यवस्था नगर्ने हो भने उनीहरूमा विस्तारै देश भुल्दै जाने समस्या आउन सक्छ । उसको नोट र भोट देशले चलाइदिन सक्ने हो भने देशको माया अहिले जति हुन्छ, त्योभन्दा कैयौँ गुणा बढेर जान्छ । त्यसैले पनि यदि सरकार आफ्ना नागरिकप्रति जिम्मेवार छ भने प्रवासबाटै मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरोस् भन्न चाहन्छु । यही कुरा हरेक देशका नेपालीको पनि हो । जापानमा हामीले कूटनीतिक नियोगमार्फत पनि नेपाल सरकारलाई यो माग पुर्याइदिन भनेका छौँ । तपाईंको पत्रिकामार्फत पनि यो सन्देश सरकारसमक्ष पुर्याइदिनुपर्यो ।
० देशविदेशका बारेमा त्यहाँका नेपालीले कसरी अध्ययन गर्छन् ?
– पहिले इन्टरनेटको पहुँच थिएन र देशविदेश बुझ्न अलि गार्हो थियो तर अहिले त्यो सहज भएको छ । अहिले सबैको हात हातमा इन्टरनेटको पहुँच छ । त्यसैले एकैछिनमा संसार विचरण गर्न सक्छन् र सामान्यज्ञान हासिल गर्न सक्छन् । अर्को कुरा, त्यसैको आधारमा प्राय: बिनाअनुसन्धान आफै सञ्चारकर्मी भएर, अभियन्ता भएर, युट्युबर भएर या विभिन्न सामाजिक सञ्जाल प्रयोग गरेर आफै धारणा बनाइहाल्ने, शीर्षक मात्रै हेरेर बोलिदिने, सत्य र तथ्यभन्दा पनि लाइक र भ्युज बढाउन जस्तो हर्कत पनि गर्ने जस्ता काम पनि प्रशस्तै भइरहेका छन्, जसले वास्तविक समाचारसँग कमै मेल खान्छ । अझ नेपालीले त सानो कुरा पनि कसैले स्टन्टबाजी गरेर ल्याइ््दिए पनि सजिलै पत्याइदिन्छन् । यसबाट सही सूचना पाउन सकिँदैन ।
० जापानको राजनीतिक अवस्था र विदेशीप्रतिको त्यहाँको सरकारको दृष्टिकोणबारे केही बताइदिनुहुन्छ कि ?
– जापान एउटा आलङ्कारिक राजतन्त्रात्मक संसदीय व्यवस्था भएको देश हो । त्यहाँ राजा विवादमा आउने काम हुँदैन । राजाको राजनीतिक पार्टीसँग चासो पनि हुँदैन ।
संविधानले दिएको घेरा कहिल्यै तोड्दैनन् । त्यसैले राजा बच्चादेखि वृद्धसम्म सबैका प्रिय छन् । असल अविभावकका रूपमा देशबासीले स्वीकार्छन् । त्यस्तै, राजनीतिक पार्टीले देशको नीतिनिर्माण र कानुन तर्जुमा गर्छन् । त्यही कुरा पद्धतिमा ढाल्छन् र ब्युरोक्रेसीले इमानदारीपूर्वक लागु गर्छ । जनता होस् कि मन्त्री, सबैले आफ्नो पालो कुरेर काम गर्नुपर्छ । कसैको भनसुन र हजुरिया चल्दैन । ग्राहक या पाहुना या सेवाग्राहीलाई कुनै प्रकारको दु:ख नहोस् भनेर यथेष्ट सूचना प्रवाह गरिन्छ ।
हस्पिटलिटीमा सायद जापान पहिलो होला, विश्वमै । कुनै पनि सार्वजनिक ठाउँ, अफिस, कलेज, रेल, बस आदि ठाउँमा कडा स्वरमा बोलेर अर्को मान्छेलाई असहज हुने काम गर्न पाइँदैन । नारीप्रधान देश भएकाले महिलाको कुरा पहिलो प्राथमिकतामा पर्दछ । बच्चाको सुरक्षाका लागि ११० नम्बर कण्ठस्थ पारिन्छ । दमकल, एम्बुलेन्सका लागि ११९ नम्बर कण्ठस्थ पारिन्छ । टेलिफोन नम्बर पाउन १०४ नम्बरको ब्यवस्था गरिएको छ । सरकार या मन्त्री या राजनीतिक पार्टीको विश्वसनीयताको जनताले मापन गर्छन् र त्यसकै आधारमा सम्बन्धित निकायले निर्णय गर्दछ ।
रोजगारीको व्यवस्था सबै नागरिकलाई बराबर ढङ्गले गरिएको छ । नेपालमा जस्तो नाराजुलुस, भेला र आमसभा हुँदैनन् । उच्चपदस्थ व्यक्तित्वको सवारी छ भनेर ट्राफिक जाम गरिँदैन । बिद्युतीय सडकबत्तिको पालना गरेर यात्रा गरिन्छ । राजादेखि रङ्कसम्म एउटै नियम लागु हुन्छ । कुनै कारणले कसैको काममा दखल पुगेमा उजुरी लाग्छ र क्षतिपूर्ति भराइन्छ । जापानमा स्वदेशी–विदेशी सबैलाई एउटै नियम–कानुन लाग्छ । कसैलाई हेलाहोचो गरिँदैन । यस्तो देशमा बसेर पनि नेपालीले नेपाली पारा देखाउँदा अलि नमज्जा लाग्छ । हाम्रो प्रयत्न सबै नेपाली त्यहाँको नियममा चलुन् भन्ने हुन्छ ।
० नेपालको राजनीतिक परिवर्तनमा प्रवासी नेपालीको भूमिका पनि महत्त्वपूर्ण छ तर कहिलेकाहिँ स्टन्टबाजीका पछाडि प्रवासी नेपालीहरू दौडेको देखिन्छ । त्यस्तो कसरी हुन्छ ?
– प्रवासमा रहेर पनि देशका तमाम प्रगतिशील आन्दोलनमा नैतिक ऐक्यबद्धता जनाउँदा देशमा चल्ने न्यायपूर्ण आन्दोलनमा नैतिक दबाब पर्दछ । घरपरिवार छिमेक सबैतिर त्यसको प्रभाव पर्न जान्छ तर कहिलेकाहिँ परदेशमा बसेर देश हेर्ने आँखा र देशभित्रैबाट देश हेर्ने आँखा अलि फरक पर्न जान्छ । भन्नुको मतलब बाहिर बसेर समाचारको आधारमा धारणा बनाउनु र आन्दोलनमा रहेर धारणा बनाउनु निकै नै फरक हुँदोरहेछ तर यो सामाजिक सञ्जालको प्रभावको बोलवाला रहेको अवस्थामा कसैले कुनै कुराको सेन्टिमेन्ट छोड्ने खालको स्टन्टबाजी गरिदिन सक्यो भने त्यसकै पछि समर्थन जुटिरहेको देखिन्छ तर त्यस्तो कुरा छिट्टै टुट्न पनि सक्छ, लामै रहन पनि सक्छ । त्यसले यथार्थसँग मेल खाँदैन ।
० अन्तमा युगदर्शनले सोध्न छुटेका कुरा केही छन् कि ?
१. तपाईंको पत्रिकाको माध्यमबाट पनि प्रवासी नेपालीको दुख, पिर र समस्याको बारेमा नियमित स्तम्भ प्रकाशन हुन सके सम्बन्धित निकायसम्म हाम्रो आवाज पुग्थ्यो कि ? यसबारेमा पनि युगदर्शन परिवारले सोचोस् ।
२. हरेक नेपालीले विमानस्थलमा ब्यहोर्नुपर्ने झन्झटबाट मुक्ति पाउन सकोस् । अनावश्यक दु:ख दिने र बखेडा थापेर पैसा असुल्ने प्रवृत्ति हावी छ, त्रिभुवन विमानस्थलमा ।
३. जुन देशमा गए पनि नेपालीले श्रमसम्झौताअनुसारको व्यवहार कार्यान्वयन गराउन सम्बन्धित देशको कूटनीतिक नियोगलाई सरकारले कडाइका साथ निर्देशन जारी गरोस् ।
४. प्रवासमा आफ्नो कर्मको सिलसिलामा ज्यान गुमाउनेको सबै परिवारसम्म पुर्याउने नि:शुल्क र झन्झटरहित व्यवस्था गरोस् ।
५. नेपालबाट विदेश जाँदा गरिने श्रमको कागज राजस्व असुल्ने र देशमा भ्रष्टाचार गर्ने साधन बनेको छ । त्यसलाई अविलम्ब हटाई ऊ जाने कम्पनीको एग्रिमेन्ट पेपरको कपी राखेर नि:शुल्क जान मिल्ने व्यवस्था गरोस् । उसको राम्रो भयो भने रेमिट्यान्स नियमित आउँछ । त्यो रेमिट्यान्सले देशको अर्थतन्त्र धान्दछ ।
६. परदेशी नेपालीको स्वास्थ्यबिमा र जीवनबिमा ऊ जाने भिसा र टिकटको आधारमा गरिदेओस् । त्यसको रेकर्ड सम्बन्धित देशको कूटनीतिक नियोगसम्म पुर्याउने काम परराष्ट् मन्त्रालयले गरोस् ।
प्रस्तुति : विद्यानाथ अधिकारी