• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

शिक्षित विद्यार्थीको ठुलो सङ्ख्या निराशा बोकेर विदेश पलायन भइरहेको छ


  •   बिहिबार, माघ २६, २०७९ मा प्रकाशित
  • कृष्ण अधिकारी, पूर्व केन्द्रीय सचिव, राष्ट्रिय जनमोर्चा ##

    Advertisement

    ० नेकपा (मसाल) को राजनीतिमा कसरी आउनुभयो ?

    – मैले प्रावि तहको शिक्षा बुबासँगै रहेर भारतमा लिएको थिएँ । २०३७ सालमा नेपालमा आएर बागलुङ पैँयुपाटाको त्रिभुवन माविमा कक्षा ७ मा भर्ना भएँ । अङ्ग्रेजी अलि जान्ने, पढाइ पनि ठिकै रहेकाले ८ कक्षामा पुग्दा म राम्रो विद्यार्थीमा गनिन पुगेँ ।

    उति बेला स्कुलमा पनि स्ववियु चुनाव हुने गर्दथ्यो । त्यस स्कुलमा वामपन्थी शिक्षकको बाहुल्यता रहेछ । उनीहरूद्वारा गोप्य रूपमा सङ्गठित गरेका विद्यार्थीले नै स्ववियु जित्दै आएका रहेछन् । सुरुमा राजनीतिको कुरा नसिकाइकनै यो टाँठोबाठो विद्यार्थी छ भनेर कक्षा ८ को प्रतिनिधित्व हुने गरी मलाई २०३८ सालको स्ववियुमा निर्वाचित गराए ।

    निर्वाचित हुने सबै नेकपा (मसाल) निकट अखिल (छैठौँ) को प्यानल रहेछ । उनीहरूद्वारा नै मलाई सुरुमा सङ्गठित गरिएको थियो । स्कुल स्ववियु सदस्य, स्कुल एकाइ सदस्य, अनेरास्ववियु (छैठौँ) दक्षिण भेग एरिया सचिव हुँदै क्रियाशील रहेँ । यसरी म नेकपा (मसाल) निकट हुँदै गएँ ।

    ० विद्यार्थी सङ्गठनमा काम गर्ने दौरानमा अखिल भारत नेपाली विद्यार्थी सङ्घमा पनि काम गर्नुभयो । तपाईंले काम गरेको त्यो सङ्गठन अहिले स्वतन्त्र अस्तित्वमा छैन । यसबारे के भन्नुहुन्छ ?

    – मेरो एसएलसी पढाइ पूरा भएपछि भारत उत्तर प्रदेशको सोहरतगढ भन्ने ठाउँमा आइएससी भर्ना भएँ । त्यो क्याम्पस नेपालको सीमाना नजिक रहेकाले कपिलवस्तु, अर्घाखाँची, प्युठानतिरका विद्यार्थीलाई त्यहाँ विज्ञान र एग्रिकल्चर (विज्ञान र कृषि) पढ्न सस्तो र पायक पर्ने रहेछ ।

    २०४३ सालमा म त्यहाँ पुग्दा नेपाली विद्यार्थीहरूको ठुलो सङ्ख्या यहाँ पढ्दै थियो । त्यहाँ अखिल भारत नेपाली विद्यार्थी सङ्घको एकाइ पहिलेदेखि नै क्रियाशील रहेछ । यो सङ्गठन नेपालमा अखिल (छैठौँ) सँग नजिक रहेकाले म यहाँ पुग्दासाथ यो सङ्गठनमा आबद्ध रहेर काम गर्न थालेँ । त्यस क्रममा २०४५ साल फागुनमा सम्पन्न अखिल भारत नेपाली विद्यार्थी सङ्घको बाह्रौँ सम्मेलनले मलाई महासचिवमा चयन गर्‍यो । २०४६ सालमको जनआन्दोलनको पूर्वसन्ध्यामा माघ २८ र २९ गते लखनऊमा अखिल भारत नेपाली विद्यार्थी सङ्घको तेह्रौँ सम्मेलन सम्पन्न भएको थियो । २०४५ सालमा महासचिव, २०४६ र २०४८ सालमा अध्यक्ष भएर मैले अखिल भारत नेपाली विद्यार्थी सङ्घमा काम गरेँ ।

    २०३४ सालमा त्यो सङ्गठन स्थापना हुँदा नेपालमा पञ्चायती शासनकाल थियो । त्यतिखेर नेपालमा अहिले जस्तो शिक्षाको विकास भएको थिएन । सरकारी छात्रवृत्ति र आफ्नै खर्चमा पनि ठुलो सङ्ख्यामा विद्यार्थीहरू भारतमा अध्ययनका लागि जाने गर्दथे । यो सङ्गठन सुरुमा कुनै राजनीतिक उद्देश्यले भन्दा पनि भारतमा छरिएर अध्ययनका लागि आएका विद्यार्थी बिचमा समन्वयात्मक भूमिका निर्वाहका लागि गठन गरिएको थियो । त्यसको उद्घाटन तत्कालीन भारतका लागि शाही नेपाली राजदूत वेदानन्द झाले गरेका थिए । पछि यो सङ्गठन चौथो महाधिवेशनको प्रभावमा आयो र पञ्चायती व्यवस्था विरुद्ध जागरण ल्याउने सशक्त मोर्चा बन्यो ।

    नेपालमा प्रतिबन्धित रहेका राजनीतिक पार्टी र बुद्धिजीवी वर्गका प्रतिनिधिलाई सङ्गठनको प्रत्येक वर्ष हुने सम्मेलनको अवसरमा एक ठाउँमा ल्याएर छलफल गराउने प्लेटफर्म उपलब्ध गराउन यसले महत्त्वपूर्ण भूमिका खेल्यो । नेपालमा बहुदलीय व्यवस्थाको स्थापनापछि स्वत: त्यस खालको भूमिकाको आवश्यकता रहेन । साथै नेपालमा शिक्षाको निजीकरणको नीतिले गर्दा यहीँ पनि मेडिकल, इन्जिनियरिङ, कृषिलगायतका कैयौँ विषयमा पढाइ हुने कलेजहरू स्थापना भए । त्यसले गर्दा भारतमा पढ्न जानेहरूको ठुलो सङ्ख्या घट्यो । सरकारी छात्रावृत्तिमा पढ्न जानेहरू पनि छात्रावृत्तिमा यहीँ पढ्न थाले । यो परिस्थितिले गर्दा अखिल भारत नेपाली विद्यार्थी सङ्घको अवस्था हामीले पढ्ने बेलाको जस्तो रहेन । त्यसैले यो स्वतन्त्र अस्तित्वमा रहन सक्ने वातावरण नै भएन ।

    अर्कोतिर, विगतमा जस्तै भूमिकामा भारतमा विद्यार्थी सङ्गठन नरहे पनि प्रवासी नेपाली मजदुरका छोराछोरीको ठुलो सङ्ख्यामा विद्यार्थीहरू यहाँ पढ्दै आएका छन् । साथै अझै पनि निजी कलेजमा नेपाली विद्यार्थीहरू पनि जाने गरेका छन् । उनीहरूले स्वत: पहल गरेर अखिल भारतस्तरमै सङ्गठन परिचालन गर्न सक्ने अवस्था नरहे पनि स्थानीय वा राज्यस्तरमा सङ्गठित गराउन जरुरी छ, जसले गर्दा उनीहरूलाई नेपाली भाषा, कला, संस्कृतिका साथै वैचारिक चेतना दिन सकियोस् । जो नेपालबाट निजी खर्चमा पढ्न जाने गर्दछन्, उनीहरूलाई त्यहाँ आइपर्ने समस्या र उनीहरूको वर्गीय हित संरक्षण तथा राजनीतिक र वैचारिक चेतनास्तर उठाउन पनि सङ्गठन आवश्यक छ । प्रवासी मजदुरसँग सम्बन्धित विद्यार्थीलाई केही मात्रामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सङ्गठित गर्न पहल गरे पनि निजी खर्चमा जाने विद्यार्थीका बिचमा भने त्यस खालको पहलकदमी देखिँदैन ।

    ० विद्यार्थीहरू तपाईंलाई ‘अध्यक्षका पनि अध्यक्ष’ भन्छन् । तपाईंको विद्यार्थी कार्यकाल उर्वर रहेको थियो । त्यस समयका अत्यन्तै स्मरणीय घटनाहरू के छन् ?

    – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ) को तेस्रो कार्यकाल २०५२ देखि २०६४ सालसम्म (१२ वर्ष) निरन्तर म नेतृत्वमा रहेँ । अन्य विद्यार्थी सङ्गठनका समकालीन अध्यक्षहरू मभन्दा पछि भएकाहरू थिए । त्यही भएर पनि साथीहरूले सम्मानको अर्थमा त्यसो भनेका होलान् ।

    पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा सक्रिय भूमिका खेलेको र व्यवस्था परिवर्तनपछि नयाँ जोस रहेका बेला विद्यार्थी सङ्गठनको नेतृत्व लिँदै गर्दा ऊर्जा नै बेग्लै थियो । आम विद्यार्थीमा सङ्गठनप्रतिको चासो र उत्साह पनि उत्तिकै थियो । सङ्ख्याका हिसाबले नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियुभन्दा हामी कम थियौँ तर सक्रियता र वैचारिक अस्तित्वका हिसाबले हामीलाई कसैले कम आँक्न सक्दैनथ्यो ।

    देशका प्राय: जिल्ला र महत्त्वपूर्ण क्याम्पसमा हामी क्रियाशील थियौँ । धेरै क्याम्पसका स्ववियुमा हाम्रो प्रतिनिधित्व र प्रतिस्पर्धा थियो । विद्यार्थी हक, हितसँग जोडिएको वर्गीय आन्दोलन, शिक्षामा निजीकरण विरुद्धको आन्दोलनका साथै टनकपुर सन्धि, महाकाली सन्धि, ऋतिक रोशन काण्ड, पजेरो काण्ड, लाउडा काण्डलगायतका आन्दोलन भए । संयुक्त चार विद्यार्थी सङ्गठनको आन्दोलनको पहलमा यातायातमा विद्यार्थीलाई ३३ प्रतिशत छुटको व्यवस्थादेखि लिएर गणतन्त्रको नारालाई सडकबाट अनुमोदन गराउने कार्यमा संयुक्त विद्यार्थी आन्दोलनको महत्त्वपूर्ण पहलकदमी हुन्थ्यो । अनेरास्ववियु (छैठौँ) को छुट्टै पहकदमीमा अश्लील पत्रपत्रिका विरुद्ध, कथित राष्ट्रियगान विरुद्धका चर्चित आन्दोलन भए । राज्य पक्षबाट माओवादीका नाममा विद्यार्थी र सर्वसाधारणलाई गरेको दमन र माओवादी पक्षबाट सर्वसाधारण जनतामाथि गरेको ज्यादतीका विरुद्ध हामीले सङ्घर्ष गर्‍यौँ । समग्रमा यो कार्यकालमा हामीसँग ऊर्जावान नेतृत्वको कारण त्यतिखेर अखिल (छैठौँ) को अस्तित्व उर्वर थियो ।

    २०५३ सालतिर काठमाडौँका सडकछेउ यत्रतत्र छाडा अश्लील पत्रपत्रिका फिँजारेर विक्री गर्दै आएका थिए । त्यहाँ उभिएर अन्य पत्रपत्रिका हेर्न पनि अप्ठ्यारो महसुस भइरहेको थियो । अत: यस विषयमा केही गर्नुपर्छ भन्ने मनमा लागिरहेको थियो । एक दिन हामीले केही प्रकाशन गृहका दसबाह्रओटा अश्लील पत्रपत्रिका किन्यौँ । त्यतिखेर त्यही कार्यालयमै ती पत्रिकालाई डोरीमा झुन्ड्याएर बाह्र पन्ध्र जनाको जुलुस लिएर असनचोक, भोटाहिटी हुँदै बागबजार आइपुग्दा स्वत:स्फूर्त रूपमा डेढदुई सय जनाको जुलुस बन्यो र बागबजार मुखमा ती अश्लील पत्रपत्रिका आगो सल्काएर जलाइयो । भोलिपल्टको कान्तिपुरले अश्लील पत्रिका जलाएकोबारे एउटा कार्टुन बनाएछ र तल यस्तो लेखे छ : “अश्लील पत्रपत्रिका जलाएर सकियो, अब के हेरेर धित मार्ने होला ?” यो आन्दोलनले हामीले सोचेभन्दा पनि बढी महत्त्व पायो । सामाजिक रूपमा सबैलाई गढेको विषय थियो यो तर कसैले पहलकदमी नलिएको हुँदा हामीलाई मिडियाले पनि साथ दिए । देशका अन्य भागमा पनि केही समय यो क्रम जारी राखेपछि प्राय: त्यस खालका प्रकाशन बन्द भए ।

    लामो समयसम्म विद्यार्थी नेतृत्वमा रहेर काम गर्ने क्रममा कैयौँ सम्झनालायक घटना घटेका छन्† जसमध्ये ऋतिक रोशन काण्ड (२०५७ पुस) का बेला काठमाडौँको सुन्धाराबाट जुलुस सुरु भएर न्युरोड, इन्द्रचोक असन हुँदै भोटाहिटी रत्नपार्क आउने कार्यक्रम थियो । जुलुस न्युरोड पुग्दानपुग्दै प्रहरीले लाठी तेर्साएर जुलुसलाई रोक्न खोज्यो । त्यसले गर्दा भिड झन् उत्तेजित भयो । मैले पुलिसको लाठीमै झुन्डिएर पुलिससँग धकेलाधकेल भयो । माधव थापा उति बेला पुलिसका बडो सक्रिय डिएसपी थिए । उनी आफैले मलाई समातेर छेउमा लगे । पछि भिड थामिनसक्नु भयो । हामीले नेतृत्व दिन सकेनौँ । भिड अराजक बनेर ठमेलतिर लाग्यो । अनावश्यक तोडफोड भयो । भारतीय मूलका सामान्य मजदुर र स्वयम् हाम्र्र्रा तराई मूलका व्यक्तिमाथि पनि भिडले ज्यादती गर्‍यो, जो हामीले चाहेका थिएनौँ । पछि हामीले भिडलाई नियन्त्रण गर्न नसक्नु गलत भएको समीक्षा गर्‍यौँ ।

    त्यस्तै, २०६१ साल जेठमा राजाको प्रतिगमन विरुद्ध पाँचदलीय आन्दोलन चरम विन्दुमा पुगेको थियो । अचानक नेकपा (एमाले) ले प्रतिगमन आधा सच्चियो भनेर आन्दोलन फिर्ता लियो । हाम्रा आन्दोलनका सामग्री माइक, झन्डा, ब्यानर सबै बागबजारको रातोघरस्थित अनेरास्ववियुको कार्यालयमा थिए । चारैतिर पुलिस तैनाथ थिए । सडकमा ओर्लन मुस्किल परेको थियो । हामी अन्य दलसम्बद्ध विद्यार्थीहरू त्रिचन्द्र क्याम्पसमा जम्मा भयौँ । एमालेले धोका दिए पनि आन्दोलन रोक्नुहुँदैन भन्ने अन्य दलको धारणा थियो । आन्दोलनको नेतृत्व गर्न गिरिजा बाबुलाई त्रिचन्द्रमै बोलाइयो । उहाँ बुढो मान्छे तर त्यहाँ आउनुभयो र हामी बागबजार मुखमा आयौँ । गिरिजाले ‘प्रतिनिधि सभाको पुन: स्थापना गरेर प्रतिगमन नसच्चिएसम्म आन्दोलन कसैले रोकेर रोकिँदैन’ भन्ने मन्तव्य दिएपछि आन्दोलन झन् विशाल बनेर अगाडि बढ्यो ।

    ० अहिले भने विद्यार्थी सङ्गठन सुस्ताएको जस्तो देखिन्छ । विद्यार्थीको सङ्गठन र आन्दोलनलाई पुरानै फर्ममा फर्काउन सम्भव छ ? त्यसका लागि के गर्नुपर्ला ?

    – आज विद्यार्थी आन्दोलन निष्क्रियप्राय: छ । विद्यार्थी सङ्गठनका जग पनि निकै कमजोर बनिसकेका छन् । पहिले पहिले जस्तो स्कुलमा विद्यार्थी सङ्गठन बनाउने चलन नै लगभग समाप्त भइसकेको छ । क्याम्पसमा हुने स्ववियु निर्वाचनका कारण आआफ्नो सङ्गठनको अस्तित्वका लागि भए पनि विद्यार्थी सङ्गठन निर्माण गर्नु अनिवार्य जस्तै थियो । एक दसकभन्दा बढी भइसक्यो, क्याम्पसमा स्ववियु निर्वाचन नै हुन छाडेको छ । अर्काेतिर, निजी स्कुल र क्याम्पसले विद्यार्थीलाई सङ्गठित गर्न प्रतिबन्ध जस्तै लगाएका छन् । तलैबाट विद्यार्थीलाई सङ्गठित गर्न प्रतिबन्ध जस्तै लगाएका छन् । यी र यस्तै कारणले आज विद्यार्थी सङ्गठन सुस्ताएका छन् ।

    तलैबाट विद्यार्थीलाई सङ्गठित गरेर लैजाँदै गर्दा उनीहरूलाई सामूहिक र नेतृत्व विकासमा मदत पुग्ने थियो । वैचारिक चेतना र दृष्टिकोणमा निखार आउने थियो । राजनीतिक र सामाजिक उत्तरदायित्वको बोध हुने थियो । सङ्गठनको अभावमा आज नयाँ विद्यार्थीमा यी सबै कुराहरू खड्किएको महसुस हुन्छ । भावना र भिडको पछि लाग्ने र सोचअनुसार नहुँदा छिट्टै भड्किने स्वभाव बढ्दै गएको देखिन्छ ।

    पञ्चायत काल र गणतन्त्रको स्थापनाअगाडि सम्म पनि विद्यार्थी सङ्गठनहरू नेपालको सामाजिक र राजनीतिक आन्दोलनको महत्त्वपूर्ण संवाहकको रूपमा रहेका थिए । पञ्चायत कालमा पार्टीहरू प्रतिबन्धित रहेको अवस्थामा विद्यार्थी सङ्गठनकै माध्यमबाट राजनीतिक पार्टीले आफ्नो भूमिका खेलेको हुन्थे । बहुदलीय व्यवस्थाको स्थापनापछि विद्यार्थी सङ्गठनमा पर्ने विकृति फैलिँदै गयो । सत्ता राजनीतिको पुच्छर बनेर विद्यार्थी आन्दोलनलाई सत्तास्वार्थका लागि गलत उपयोग गर्ने प्रवृत्ति बढ्दै गयो, जसले गर्दा विद्यार्थी सङ्गठनप्रति नै आम विद्यार्थीको वितृष्णा बढ्ने वातावरण बन्यो । विश्वविद्यालयमा भागबण्डाको खेल सुरु भयो । राजनीतिक पूर्वाग्रहको आधारमा पक्ष र विपक्षमा विद्यार्थीलाई विभाजित गरेर शैक्षिक वातावरणलाई नै दूषित गर्ने प्रवृत्ति बढ्यो । केन्द्रीय विश्वविद्यालय र क्याम्पसमा आफूअनुकूल स्ववियु निर्वाचित हुने नदेखेपछि दसाँै वर्षसम्म स्ववियु निर्वाचन गर्ने वातावरण नै बनाइएन । त्यसले गर्दा स्ववियु निर्वाचन हुनुपर्दछ भनेर आन्दोलन नै गरिए ।

    यस खालका प्रवृत्तिका विरुद्ध अखिल (छैठौँ) ले सैद्धान्तिक रूपमा त विरोध गर्दै आयो तर यसले पनि आम विद्यार्थीलाई सङ्गठित गरेर सशक्त प्रकारले आन्दोलन अगाडि बढाउन सकेन । आज देशको राजनीतिक अवस्था झन्पछि झन् अस्थिर बन्दै गइरहेको छ । यो अस्थिर वातावरणबाट निराश हुँदै शिक्षित विद्यार्थीको ठुलो सङ्ख्या अब यहाँ केही हुँदैन भन्ने निराशा बोकेर विदेश पलायन भइरहेको छ । देशको यो अवस्थाप्रति हामी गम्भीर हुनुपर्छ ।

    विधिको शासन र स्थिर राजनीतिको विकास नभएसम्म देशका अन्य कुनै पनि अङ्गले सही प्रकारले कार्य गर्न सक्दैन भन्ने अनुभव देशले भोगिसकेको छ । विगतमा राजनीतिक व्यवस्थामा परिवर्तनका लागि विद्यार्थी सङ्गठनले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरे र आज देशमा गणतन्त्रको स्थापना भएको छ । त्यसको रक्षाका लागि राजनीतिक स्थायित्व र स्थिरताका लागि, राष्ट्रियतामाथि उत्पन्न हुँदै आएको नयाँ नयाँ सङ्कटलाई पार लगाउनका लागि, देशमा नयाँ प्रकारको आशा जगाउनका लागि विद्यार्थी सङ्गठनलाई नयाँ गतिमा अगाढि बढाउनुपर्छ । सत्ताका लागि जसो पनि गर्ने राजनीति पार्टीको गलत प्रवृत्तिको रक्षाकवच भएर होइन, देश, समाज र भविष्यलाई डोर्‍याउने आदर्श बोकेका विद्यार्थी शक्तिलाई एक ठाउँमा ल्याएर विद्यार्थी शक्तिलाई पुन: जागरण गराउनुपर्दछ ।

    ० आजभोलि कुन कुन जिम्मेवारीमा हुनुहुन्छ ?

    – अहिले पनि म पार्टी र सङ्गठनकै कार्यमा पूर्ण रूपमा क्रियाशील छु

    ० मङ्सिर ४ गतेको चुनावमा बागलुङ जिल्लाबाट समानुपातिकतर्फ मत घटेको आएको पाइयो । यस्तो किन भयो होला ?

    – नयाँ नयाँ पार्टीको उदयसँगै पार्टीहरूको मत प्राय: सबैको घटेकै देखिन्छ । त्यसको थोरैधेरै असर हाम्रो पार्टीलाई पनि पर्‍यो नै ।
    बागलुङमा पार्टीले समानुपातिकमा पुरानो मत संरक्षण गर्न नसक्नुका केही कारण छन्† जसमा गठबन्धनका कारण र एउटा क्षेत्रमा स्वयम् हाम्रो सङ्गठनको उम्मेदवार भएका कारण समानुपातिकको मतको चिन्ताभन्दा पनि प्रत्यक्षको मत कसरी बढी प्राप्त गर्ने र चुनाव जित्ने भन्नेमै ध्यान गयो । त्यसैले समानुपातिक मत प्राप्त गर्ने प्रयास कम भयो । त्यस्तै अन्य विभिन्न कठिनाइले गर्दा समानुपातिक उम्मेदवारलाई छुट्ट्रै प्रचारमा लगाउन सकिएन । मुख्यत: पार्टीको सङ्गठनात्मक फितलोपन र अनुशासनको कमजोरीका कारण पनि मत घट्न गएको छ ।

    ० यतिखेर बागलुङमा राष्ट्रिय जनमोर्चा तातेको देखिन्छ । अरू थप के के गर्दै छ राष्ट्रिय जनमोर्चा बागलुङले ?

    – सङ्घ र प्रदेशको निर्वाचन सम्पन्न भइसकेपछि बागलुङको पार्टीले चरणबद्ध रूपमा सङ्गठनात्मक कार्यहरू अगाडि बढाएको छ । चुनावपछिको जनभेटघाट र चुनावी समीक्षा बैठक सकाएर अहिले राष्ट्रिय जनमोर्चाको सबै वडाके सम्मेलन सम्पन्न भइरहेको छन् । माघको अन्तिम सातासम्म छओटै गाउँपालिका र चारओटा नगरपालिकाको सम्मेलन सम्पन्न हुँदै छन् । फाल्गुनको १९, २० र २१ गते राष्ट्रिय जनमोर्चाको बागलुङ जिल्ला सम्मेलन गरेर यो चरणको अभियान सम्पन्न गर्ने कार्यक्रम बनेको छ ।
    पार्टी कार्यकर्तालाई गन्तव्यहीन बनाउन पार्टीमा विभिन्न भ्रम सृजना गर्ने प्रयासबारे प्रष्ट पार्न पार्टी गाउँस्तरमा पुगेको हो । यो अभियानले सबै भ्रमलाई निस्तेज पारेर पार्टीपङ्क्तिमा मनोबल माथि उठाउन अभियानले मदत पुर्‍याएको छ ।

    ० राष्ट्रिय जनमोर्चा अरू पार्टीको तुलनामा अनुशासित मानिन्छ । फेरि पनि कृष्ण थापा पार्टी अनुशासन विरुद्ध उभिनुभयो । उहाँको रवैया अहिले पनि त्यस्तै छ । कृष्ण थापाले मैले बागलुङे जनताको भावना बोकेको छु भन्ने दाबी गर्नुहुन्छ । वास्तविकता के हो ?

    – हो । विगतमा हामीले प्रदेशमा निर्वाचित गरेका प्रतिनिधि क. कृष्ण थापाले गण्डकी प्रदेशमा पार्टीको निर्देशनबमोजिम कार्य गर्नुभएन । काङ्ग्रेस नेतृत्वको सरकार निर्माण गर्ने क्रममा पार्टीको ह्विप उल्लङ्घन गर्दा उहाँको सांसद पद पनि रिक्त भयो । यसले उहाँलाई र उहाँलाई मत दिने पार्टीपङ्क्तिलाई पनि ठुलो घाटा भयो ।

    मुख्यत: उहाँको काङ्ग्रेस एलायन्समा जानुहुँदैन भन्ने अडान हो तर गत स्थानीय निर्वाचनमा उहाँले खुलेर यो गठबन्धनलाई सहयोग गर्नुभयो । सङ्घ र प्रदेशको चुनावमा पनि गठबन्धनलाई अप्ठ्यारो पार्ने कुनै कार्य गर्नुभएन । असमतिका बाबजुद पनि यो क्रियाकलाप उहाँको सकारात्मक पक्ष थियो । त्यही कुरा गण्डकी प्रदेशको हकमा उहाँले लागु गर्नुभएन । त्यो उहाँको जिद्दिपन थियो ।

    अहिले उहाँले राष्ट्रिय जनमोर्चाको साधारण सदस्यता लिइसकेको अवस्था हो तर पनि उहाँका केही असन्तुष्टि बाँकी छन् । कतिपय असन्तुष्टि समाजिक सञ्जाल (फेसबुक) मा पनि लेखेर छरपस्ट गर्नुहुन्छ । उहाँ सङ्गठनात्मक पद्धतिमा लामो समयदेखि खेल्दै आएको पाको व्यक्ति हो । पार्टीका सबै नीतिमा सबै सन्तुष्ट नहुन सक्दछन् तर सामाजिक सञ्जालमा छरपष्ट पार्ने कार्यले स्वयम् उहाँको उचाइ घटाएको छ । यो कुरा उहाँले सच्चाउनुपर्छ ।

    ० देशको वर्तमान राजनीतिक परिस्थितिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ।

    – निर्वाचनपूर्व बनेको गठबन्धनलाई भत्काएर केपी ओलीले नयाँ सत्ता समीकरणको दाउपेच सुरु गरे । सधैँ अस्थिर भूमिकामा रहने पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएर ओलीले सत्ताको सम्पूर्ण लगाम आफ्नो मुट्ठीमा राख्ने खेल खेले । सांसदमा बढी सिट ल्याएर पनि किनारा लगाइएको ठुलो दल नेपाली काङ्ग्रेसले जब पुष्पकमल दाहालको सरकारलाई समर्थन दियो, दाउपेचका शृङ्खला झनै पेचिलो बन्न गएको छ ।

    फागुनमा सम्पन्न हुने राष्ट्रपतिको निर्वाचनमा माओवादीले खेल्ने भूमिकाले देशको सत्ता राजनीतिको भविष्य अझ केही स्पष्ट हुने छ । सभामुखको निर्वाचनमा ओलीका अति विश्वासपात्र निर्वाचित भए जस्तै राष्ट्रपतिको निर्वाचनमा पनि उनले त्यही प्रकारको पात्र खडा गर्न चाहेको प्रष्ट छ । राष्ट्रपतिको निर्वाचनमा ओली सफल भए भने देश झन् प्रतिगमनको दिशामा फस्ने छ र गणतन्त्र गम्भीर सङ्कटमा हुने छ ।

    एमसिसी पारित भएपछि राष्ट्रियतामाथि नयाँ प्रकारको सङ्कट उत्पन्न भएको छ । सार्वभौमिकता कमजोर पार्ने, धार्मिक अतिक्रमण गर्ने, राजनीतिमा नेपाली जेलेन्स्की उत्पादन गर्ने जस्ता प्रत्यक्ष हस्तक्षेपकारी भूमिकामा अमेरिकी साम्राज्यवाद अगाडि आएको छ । अमेरिकाको नियत नेपाललाई आधार बनाएर चीनलाई डिस्टर्ब गर्ने रहेको स्पष्ट छ, युक्रेनलाई उचालेर रुसलाई बिजी बनाए जस्तै । भारतको पुरानो नेपालप्रतिको हेपाह नीति त छँदैछ, थप उसले नेपाललाई हिन्दु राज्य बनाउने र त्यसको आडमा हिन्दु राजा पुन: स्थापना गर्ने उद्देश्य देखिन्छ । अत: गणतन्त्र र राष्ट्रियताको रक्षा आम नेपालीको अहिलेको महत्त्वपूर्ण कार्यभार हुन आएको छ ।

    ० कतिपयले एमाले २०७७ पुस ५ गतेयता प्रतिगामी भूमिकामा छ भन्ने नेकपा (मसाल) को राजनीतिक विश्लेषणलाई अहिलेसम्म नपत्याएको देखिन्छ । एकपटक फेरि बताइदिनुस् न, एमालेको पछिल्लो भूमिका किन प्रतिगामी ?

    – आज पार्टीगत रूपमा नेकपा (एमाले) भनिए पनि त्यो केपी ओलीको रबरस्टाम्प बनेको छ । उनले २०७७ पुस ५ गते संसद् विघटन गरेयता मुलुकको सम्पूर्ण राज्ययन्त्रलाई पनि आफ्नै कब्जामा पार्न चाहिरहेका छन् भन्ने कुरा आजसम्मका गतिविधिले झनै सबैका सामु प्रष्ट पारेको छ । उनको संसद विघटनको कदमलाई सुरुआतदेखि नै हाम्रो पार्टीले प्रतिगामी भनेर ठहर गरेको थियो । पछि उनका क्रियाकलापको अन्य पार्टी र स्वतन्त्र बुद्धिजीवीको पनि ठुलो जमातले उनका कदमलाई प्रतिगामी ठहर गर्‍यो ।
    नेकपा (मसाल) को कसैप्रति गर्ने विश्लेषण आग्रह र पूर्वाग्रहका आधारमा होइन, उनीहरूले राजनीतिमा खेल्ने भूमिकामाथि आधारमा हुने गरेको छ । ओलीका सन्दर्भमा पनि पार्टीको विश्लेषण तथ्यफरक छ ।

    ० एकथरिको भनाइ छ, राष्ट्रिय जनमोर्चा काङ्ग्रेसको पुच्छर भयो । सभामुख निर्वाचनमा काङ्ग्रेसको उम्मेदवारलाई पनि केसीजीले “छातीमा मुड्की हानेर” समर्थन गर्नुभएको थियो । यसबारे के भन्नुहुन्छ ?

    – २०४६ सालको जनआन्दोलनपूर्व नेकपा (मसाल) ले नेपाली काङ्ग्रेससँग कार्यगत एकता गरेर जनआन्दोलनमा भाग लिने निर्णय गर्‍यो । त्यसलाई पार्टीभित्रकै कतिपयले पार्टी काङ्ग्रेसपरस्त भयो भनेर पार्टी नै छाडे । त्यसयता पार्टीको भूमिकाको विभिन्न आयाम छन्† जस्तै : काङ्ग्रेसको फासिवाद विरुद्धको लडाइँ, पुन: सहकार्य गरेर २०६२–६३ सालको जनआन्दोलन र गणतन्त्रको स्थापना, रामवरणलई राष्ट्रपति बनाउन पार्टीले खेलेको भूमिका, २०७४ को चुनावमा काङ्ग्रेस विरुद्ध वामपन्थी गठबन्धन, पुन: केपी ओलीको प्रतिगमन विरुद्ध काङ्ग्रेससँग सहकार्य र चुनावी गठबन्धन आदि । लामो समयको देशको तात्कालिक राजनीतिक स्थितिमा वामपन्थीले अपनाउने कार्यनीतिको अ·को रूपमा अहिलेका घटनाक्रमलाई बुझ्नुपर्दछ ।

    काङ्ग्रेसलाई प्रतिक्रियावादी शक्ति मान्दामान्दै पनि विगतमा जसरी सहकार्य र पुन:सङ्घर्ष गरियो, अहिले पनि केही घटनामा ऊसँग सहकार्य गर्दैमा पार्टी काङ्ग्रेसपरस्त हुन सक्दैन भन्ने विगतमा पार्टीले खेलेको भूमिकाले र आउने दिनमा पनि खेल्ने भूमिकाले प्रष्ट हुँदै जाने छ ।

    ० राष्ट्रिय जनमोर्चाका आगामी कार्यक्रम के कस्ता रहेका छन् ?

    – राष्ट्रिय जनमोर्चाले माघ महिनाभरि गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षताको रक्षा र सङ्घीयताको विरुद्ध देशका प्राय: जिल्लामा अन्तरक्रिया गर्ने र त्यसै विषयमा केन्द्रमा प्रधानमन्त्री र जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत् ज्ञापनपत्र बुझाउने कार्य गरिरहेको छ । त्यस्तै, विभिन्न जिल्लामा सङ्गठनात्मक कामहरू जिल्ला भेला र जिल्ला सम्मेलन पनि हुँदै छन् । फागुन २७ र २८ गते बुटवलमा राष्ट्रिय जनमोर्चा केन्द्रीय परिषद् बैठक तय भएको छ । त्यसले देशको परिस्थितिको समिक्षा गर्दै त्यसैअनुसारका कार्यक्रम तय गर्ने छ ।

    ० रवि लामिछाने र कथित राष्ट्रिय स्वतन्त्र पार्टीको अहिलेको भूमिकाबारे के भन्नुहुन्छ ?

    – उनीहरू संसद्मा निर्वाचित भएर आएपछिको भूमिकाको समीक्षा गर्ने बेला त अझै भइसकेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुने सबै सांसदलाई त भन्न सकिँदैन तर केही व्यक्तिका बारेमा प्रश्न र आशङ्का उब्जिएका छन् । स्वयम् रवि लामिछनेले राज्यको विधिपद्धतिलाई केही पनि होइन भन्ने जस्तो ठान्दा सर्र्वाेच्च अदालतले उनको गृहमन्त्री र सांसद पद नै खारेज गरिदिएको छ । उनलाई निर्वाचनपूर्व जसरी अतिरञ्जित गरेर प्रचार गराइएको थियो, निर्वाचित भएर आइसकेपछि हतारिएर शक्तिमा पुग्ने लालसा र गृहमन्त्री गुमिसकेपछि पुन: प्राप्त गर्न उनले गरेको बाक्लो दौडधुपले धेरैलाई लज्जित बनाएको छ । नेपालको अनागरिक र अमेरिकी पासपोर्टधारीलाई गृह मन्त्रालय जस्तो संवेदनशील मन्त्रालयको जिम्मेवारी दिनु गम्भीर राज्यद्रोह भएको टिप्पणी गरिएको छ । भोलिका दिनमा उनले खेल्ने भूमिकाले उनका बारेमा अझ धेरै प्रष्ट हुँदै जाने छ ।

    ० युवापुस्ताको राजनीतिमा प्रवेश चलिरहेका बेला राजनीतिमा पुराना पुस्ताबारे तपाईंको भनाइ के छ ?

    – युवापुस्ताको बाक्लै पलायन भइरहेको बेलामा युवाहरूको राजनीतिमा चासो बढ्नु र नयाँ युवा राजनीतिमा प्रवेश गर्नुलाई सकारात्मक रूपमा लिनुपर्दछ । राजनीति भावना मात्रै र क्षणिक आवेगले चल्ने विषय होइन । राजनीतिक रूपमा अगाडि बढ्नका लागि निश्चित मापदण्ड, आदर्श र वैचारिक चिन्तन अनिवार्य हुन्छ । समकालीन राजनीतिमा रहेका पुराना पुस्ता लामो समयदेखिको निरन्तरता, सक्रियता, सङ्घर्ष र नेतृत्व विकासको प्रक्रियाबाट माथि उठेका हुन् । यो कुरा हेक्का राख्नुपर्छ । निरपेक्ष रूपमा पार्टीलाई युवा पुस्ताको जिम्ममाा चलाउन पाउनुपर्दछ भन्ने धारणा सही होइन । पुरानो पुस्ताको कमी–कमजोरीलाई सच्चाउँदै उनीहरूको अनुभव र नयाँ पुस्ताको ऊर्जा थप गर्दै पार्टीको विकास गर्न सक्दा पार्टी विश्वासिलो र बलियो बन्दै जान्छ र जनतालाई सक्षम नेतृत्व दिन सक्दछ ।

    ० अन्तमा, युगदर्शनमार्फत् भन्नुपर्ने केही छन् कि ?

    – धेरै पत्रपत्रिकाको माझमा युगदर्शन पनि स्थापनाकालदेखि नै निरन्तर प्रकाशित हुँदै आएको छ । विकट गाउँसम्म पनि यसका आफ्नै प्रकारका ग्राहक छन् । यसले तात्कालिक राजनीतिक घट्नाक्रमको विश्लेषण, वैचारिक र राजनीतिक दृष्टिकोणको पनि प्रकाशन गर्दै आएको छ । आगामी दिनमा पनि यसले खेलेको भूमिकामा कमी नओस भन्ने अपेक्षा राख्दै हाम्रा विचार यस पत्रिकामार्फत् राख्ने अवसर दिनुभएकोमा धन्यवाद । यसको निरन्तर प्रकाशनको शुभकामना ।

    प्रस्तुति : प्रकाश थापामगर

    बिहिबार, माघ २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग अमेरिकी दूतहरूको ‘ठोस योजना’बारे छलफल
    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली
    प्रशिक्षणपछि किसान तथा आम जनतासँग भेटघाट गर्नेछौँ : ठाडामगर (भिडियोसहित)
    द्वन्द्ववाद धेरैपटक पढियो तर व्यावहारिक रूपमा कमजोर छौँ भन्ने महसुस भयो : खडायत (भिडियो)
    हामी सही नीति लिएर गएका छौँ तर जनताले बुझ्न सकिरहेका छैनन्, : अधिकारी (भिडियोसहित)
    जनताको चेतनास्तरअनुसार राजनीति लिएर जानुपर्छ : (भिडियोसहित)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.