शिव पौडेल
राष्ट्रियसभाका लागि राष्ट्रिय जनमोर्चाका उम्मेदवार
राष्ट्रियसभाको चुनावमा किन भाग लिनुभएको ?
राष्ट्रियसभा पनि पार्टीको जनसंघर्षको एउटा मोर्चा हो । हामीले गर्ने जनसंघर्षको रूपमा यो पनि एउटा रूप हो । संघर्षका सबै रूप वा मोर्चामा हामी बलियो रहेका हुँदैनौँ । राष्ट्रियसभाको चुनावमा हाम्रो स्थिति कमजोर रहेको सबैलाई थाहै छ । अहिले यहाँको चुनावमा जीत र हारको पहिले नै तस्बिर स्पष्ट देखिएको छ । तर राजनीतिक संघर्षको अर्थ जीत र हारसित मात्र सीमित हुँदैन । चुनावी तालमेल जीत, हार, राजनीतिक प्रचार, सङ्घर्षको मोर्चामा उपस्थिति, पार्टी नीति र कार्यक्रमको प्रचार प्रसार, भण्डाफोर आदि महत्वपूर्ण राजनीतिक कार्य यो चुनावको सन्दर्भमा गरिने छ । राजनीतिक रूपले हाम्रो संघर्षको पक्षमा यो चुनावको पनि महत्व हुने भएकाले हामीले भाग लिएका हौँ ।
चुनावमा तपाईको एजेन्डाहरू के के छन् ?
हामीले राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षाको विषयलाई नै हाम्रो चुनावी र संघर्षको एजेन्डा बनाउँछौँ । यसका साथै संघीयता खारेजीका लागि पनि हामीले संघर्ष गर्ने छौँ । सामाजिक विसंगति, भ्रष्टाचार, कुशासन आदिका विरुद्ध पनि हाम्रो संघर्ष गर्ने नीतिका एजेन्डा यो चुनावमा अगाडि सारेका छौँ ।
हारिन्छ भन्ने जान्दाजान्दै पनि चुनाव लड्नुको खास कारण ?
माथि नै भनियो, चुनाव हार–जीतको कार्य मात्र होइन, एउटा संघर्षको रूप पनि हो । चुनावमा धेरै पार्टी लड्ने छन् । कसैलाई पनि पूर्ण सफलता मिल्ने छैन । सबैले आंशिक सफलता नै हात पार्ने हुन् ? कसैलाई केही सिट प्राप्त हुन्छ भने अरू कसैलाई केही मात्र । कसैलाई कुनै सिट पनि प्राप्त हुँदैन र जमानतसमेत जफत् हुन्छ । तर त्यसको अर्थ यो होइन कि त्यहाँ कुनै सफलता भएन । वास्तविकता त यो हो कि सिट प्राप्तिका दृष्टिले सफलता नभए पनि राजनीतिक भूमिका, सङ्घर्ष र अस्तित्वका दृष्टिले केही सफलता अवश्य पनि प्राप्त हुन्छन् । हामीलाई पनि केही सफलता प्राप्त हुने छ ।
गत उपचुनावमा प्युठानको तितो अनुभवमाझ चुनावी तालमेलको सम्भावना कत्तिको देख्नुभएको छ ?
गत उपचुनावमा प्युठानमा सत्तारूढ नेकपासित तालमेलको तितो अनुभव रह्यो । तर त्यही विषय बागलुङको हकमा लागु भएन । बागलुङमा हाम्रो उनीहरूसितको तालमेल उत्साहजनक र इमान्तारितापूर्ण रह्यो । त्यहाँ पनि हाम्रो तालमेलका सामु अप्ठ्यारा नआएका होइनन् । फेरि पनि त्यहाँको नेतृत्वले केन्द्रीय निर्देशन दृढतापूर्वक लागु ग¥यो । फलस्वरूप साझा उम्मेदवार खिमविक्रम शाहीजी विजयी पनि हुनुभयो ।
तालमेलको जुन बागलुङमा उदाहरण देखा परेको थियो, त्यही स्थिति प्युठानमा देखा परेन । हामीलाई आश्चर्य त यो लागेको छ, चुनावी सहकार्यसम्बन्धी निर्णय उल्लङ्घन गर्न नेकपाका केन्द्रीय स्तरका नेता वा नेतृत्व नै लागिप¥यो । वास्तवमा यो उनीहरूको यो इमान्दारिता भएन । यदि उनीहरूलाई चुनावी तालमेलमा केही असहजता लागेको थियो भने प्रथमतः पार्टीभित्रै छलफल गर्नुपर्दथ्यो । त्यसरी विषयवस्तुको टुङ्गो लगाउनु सही हुन्थ्यो । त्यसका विपरीत उनीहरूले घोषित रूपमा नै प्युठानमा राष्ट्रिय जनमोर्चासितको तालमेल भङ्ग गरेको घोषणा गरेको भए पनि हुन्थ्यो । तर उनीहरूले त्यसो पनि गरेनन् । आफ्नो चुनाव चिह्नमा उम्मेदवारी नदिएर कथित विद्रोही उम्मेदवार उभ्याए र उनैलाई जिताउन लागिपरे । यो त हददर्जाको राजनीतिक बेइमानी भयो ।
पछिल्लो चुनावी तालमेलले सत्तारूढ नेकपा हामीले बताउने गरे झैँ निम्न पुँजीपति वर्गको पार्टी भएको पुष्टि भएको छ । निम्न पुँजीपति वर्ग जहिले पनि आफ्नो निहित स्वार्थका लागि दायाबाया, तलमाथि ढुलमूल गरिरहन्छ । त्यही चरित्र प्युठानमा पनि देखाइयो । जहाँसम्म राष्ट्रियसभाको चुनावमा तालमेलको विषय छ, त्यसखालको सहमति अहिलेसम्म बन्न सकेको छैन । अब समय पनि कम छ । त्यसकारण चुनावी तालमेलसम्बन्धी कुनै निर्णय होलाजस्तो मलाई लागिरहेको छैन ।
राष्ट्रियसभाको उम्मेदवारका लागि तपाईले आफूलाई कसरी योग्य ठान्नुभएको छ ?
तपाईहरूलाई थाहै छ, मेरो लामो राजनीतिक पृष्ठभूमि छ । मैले कपिलवस्तुमा रहेर लामो समयदेखि नेकपा (मसाल) को राजनीति जनताको माझमा पु¥याइरहेको छु । आवश्यकतानुसार जिल्लाभन्दा बाहिर पनि म सक्रिय रहने गरेको छ । पछिल्लो राजनीतिक सक्रियताको मात्र कुरा गर्ने हो भने पनि म अखिल नेपाल किसान महासङ्घको जिम्मामा क्रियाशील छु । यतिखेर म किसान महासंघको केन्द्रीय उपाध्यक्षसमेत रहेको यहाँलाई थाहै छ । अर्कातिर, म भू तथा पर्यावरणसम्बन्धी आन्दोलनसित पनि जोडिएको छु । कपिलवस्तु र देशैभरि हुने पर्यावरणमाथिको हानीनोक्सानीका विरुद्ध म अग्रिम मोर्चामा रहेर काम गरिरहेको छ । त्यस क्रममा म र मेरो नेतृत्वमा सम्पूर्ण साथी, जनतासमेले सडकदेखि न्यायालयसम्मको मोर्चामा आन्दोलन गरिरहेका छौँ ।
तपाईलाई थाहै होला, म गतकालमा पनि राष्ट्रिय जनमोर्चाको तर्फबाट विभिन्न स्तरको चुनावमा उम्मेदवार रहने गरेको छु । यद्यपि ती चुनावमा हामीलाई अत्यन्तै कम सफलता मिलेको थियो । फेरि पनि सबैलाई थाहा छ, चुनाव हाम्रा लागि खालि सिट वा पद–प्रतिष्ठाको विषय होइन, यो हाम्रो पार्टीको राजनीतिक प्रचार प्रसार, भण्डाफोर तथा जनसम्पर्क र सङ्गठन निर्माणको विषयसमेत हो । त्यसैले गर्दा खालि चुनाव नजितिएका कारणले चुनावबाट हामी निराशा हुने कुरा आउँदैन ।
यस प्रकार लामो समयसम्म नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाको पक्षबाट राजनीतिक क्रियाशीलता नै राष्ट्रियसभाको चुनावमा मेरो उम्मेदवारीको बलियो योग्यता हो भन्ने मेरो धारणा छ ।
राष्ट्रियसभा सदस्यमा चुनिनुभयो भने तपाईको प्राथमिकता के के हुने छन् ?
माथि मैले दिएको उत्तरमा पनि मेरो र हाम्रो पार्टीको प्राथमिकताबारे केही प्रकाश पारिसकिएको छ । त्यसका साथै हामी राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको रक्षाका लागि लामो समयदेखि सङ्घर्ष गरिरहेका राजनीतिक शक्ति हौँ । त्यसैगरी हामीले सङ्घीयता तथा तात्कालिक रूपमा देखा परेका समस्याहरू, जस्तै– महंगी, भ्रष्टाचार, दण्डहीनता, करबृद्धि, बेरोजगारीजस्ता समस्याको विरुद्धमा पनि हामी लगातार लडिरहेका छौँ । सदन सडक संघर्षकै अर्को मोर्चा भएको हुनाले हामीले जुन विषय अहिलेसम्म सडकमा रहेर आवाज उठाइरहेका छौँ, त्यसलाई राष्ट्रियसभामा पुगेर राष्ट्रिय मञ्च तथा निकायमा पनि प्रस्तुत गर्ने हाम्रो प्रयत्न हुने छ ।
उपर्युक्त राजनीतिक मुद्दाका साथै म अखिल नेपाल किसान महासंघ र भू तथा पर्यावरण संरक्षण अभियानमा समेत संलग्न भएका कारणले नेपाली किसानका समस्याको पक्षमा आवाज उठाउने मेरो प्रयत्न हुने छ । त्यसैगरी पर्यावरणसित जोडिएका विषयलाई पनि मैले जोडदार ढंगले उठाउने प्रयास गर्ने छु । एवं प्रकारले जनताको दैनिक जीवनमा आइपर्ने समस्यालाई लिएर आवाज उठाउने मेरो प्रयास हुने छ । वास्तवमा जनता चौतर्फी समस्याबाट घेरिएका छन् । सदनमा उठाउनुपर्ने जनताको आवाज धेरै छन् । सवाल ती समस्यालाई सदमा उठाइसकेपछि पनि कुन रूपमा र कति हदसम्म पूरा गर्न सकिन्छ भन्ने मात्र हो ।
अन्य प्रदेशमा भन्दा तपाईको गृहप्रदेशको भिन्न समस्या के हो ?
म ५ नं. प्रदेशको तर्फबाट राष्ट्रियसभाको उम्मेदवार भएको हुनाले तपाईले सोध्नुभएको यो प्रश्नको उत्तर मैले दिनैपर्ने हुन्छ । तर राष्ट्रियसभाजस्तो निकायबाट हामीले धेरै विषय राष्ट्रिय प्रकृतिको नै उठाउनुपर्ने हुन्छ । यो सबैलाई थाहा भएको विषय हो ।
वास्तवमा ५ नं. प्रदेश विकास निर्माणको प्रचूर सम्भावना रहेको, तर त्यसलाई सदुपयोग गर्न नसकेर पछि परिरहेको प्रदेश हो । यहाँको भौगोलिक वातावरणलाई हेर्ने हो भने पनि ५ नं. प्रदेशमा पहाड र तराई दुवै क्षेत्र छन् । जलश्रोत त्यत्तिकै छ । पर्यटनको सम्भावना त्यत्तिकै छ । ऐतिहासिक, पुरातात्विक स्थल पनि यहाँ प्रशस्तै छन् । अर्कातिर, यो भारतसित जोडिएको प्रदेश पनि हो । त्यस आधारमा केही खुला सिमानाका विकृति झेल्नुपर्ने अवस्था छ । त्यसका साथै अन्तर्राष्ट्रिय व्यापार–व्यवसायमा उन्नति गर्न सकिने सम्भावना पनि छन् ।
सुशासनको कुरा आफ्नो ठाउँमा छ । त्यसलाई प्रशासनले नै समाधान गर्न सक्ला । एउटा राजनीतिक पार्टीको नेतृत्वको हिसाबले मैले पहाड र तराईको सन्तुलित विकास, पुरातात्विक, ऐतिहासिक सम्पदाको संरक्षण, जलश्रोतको अधिकतम उपयोग, पर्यटनको व्यापक विकास, औद्योगिक विकास, आत्मनिर्भर व्यापार–व्यवसायको पक्षमा यस प्रदेशले ठोस कदम चाल्नुपर्दछ भन्ने लाग्दछ ।
५ नं. प्रदेशका समस्या त छँदै छन्, त्यसका साथै सम्भावना पनि त्यत्तिकै छन् । त्यसकारण यहाँको प्रदेश सरकार र यस क्षेत्रका जनप्रतिनिधिले प्रदेशको सन्तुलित विकास गरी जनतालाई अत्यधिक लाभ पु¥याउन प्रयास गर्नुपर्दछ भन्ने लागेको छ । सरकारसित मूलतः भौगोलिक विषमतालाई अनुकूलतामा फेर्नेगरी सन्तुलित विकास नीति नहुनु नै यो प्रदेशको समस्या होजस्तो लाग्दछ ।
नेपालमा तपाईहरू संघीयताको विरोधी, फेरि त्यही व्यवस्थाअन्तर्गतको चुनावमा यति सक्रियता किन ? अलिकति अप्ठ्यारो महशुस हुँदैन ?
हो, हामी नेपालको सन्दर्भमा संघीयता विरोधी हौँ । संघीयताजस्तो सार्वभौम सत्ता विभाजन गर्ने शासन प्रणाली नेपालजस्तो देशका लागि अनुचित छ भनेर हामीले भन्दै आइरहेका छौँ । हाम्रोजस्तो भौगोलिक रूपमा सानो, आर्थिक रूपमा पिछडिएको, उत्पीडित जात/जातिको मिश्रित बसोबास भएको, जात÷जाति र क्षेत्रवासीका माझमा सामाजिक सद्भाव रहेको र छिमेकमा भारतीय साम्राज्यवाद सक्रिय रहेको तथा त्यसले नेपाली स्वाधीनतालाई निल्ने प्रयास गरिरहेको देशमा सङ्घीयता उचित छैन । त्यो मान्यतामा हामी अहिले पनि अडिग छौँ ।
त्यसका साथै देशमा शासन सञ्चालन गर्ने क्रममा प्रादेशिक संरचना आवश्यक छ भन्ने पनि हाम्रो ठम्याइ हो । हामीले संघीय एकाइको रूपमा होइन, प्रशासनिक एकाइको रूपमा प्रादेशिक चाहिन्छन् भन्दै आएका छौँ । राष्ट्रिय जनमोर्चाले यस अवधारणाअन्तर्गत रहेर सातवटा प्रदेशको अवधारणा पहिले नै सार्वजनिक गरिसकेको थियो । त्यसैगरी हामीले संघीयताको खारेजीका लागि आवाज उठाउँदै आइरहेका छौँ । तर देशका ठुला भनाउँदा राजनीतिक पार्टीमा सङ्घीयताबारे प्रष्टता छैन । विदेशी प्रतिक्रियावादी शक्ति, खासगरी भारतीय साम्राज्यवाद र युरोपियन युनियनले नेपालमा सङ्घीयता जबर्जस्ती लागु गर्ने प्रयास गरेका छन् भन्ने कुरा नेपाली जनताले अझै पनि बुझिसकेका छैनन् । त्यसकारण त्यतिबेलासम्म हामीले यही संघीय संरचनाभित्र रहेर काम गर्नुपर्ने हुन्छ । तर ढिलो वा चाँडो संघीयताका विस्तारै देखा पर्दै गएका दुष्परिणाम आम जनताले बुझ्दै जाने छन् र अन्ततः संघीता नेपालबाट खारेज हुने छ भन्नेमा हामीलाई पूरा विश्वास छ ।
राजमोले समेत समर्थन गरिरहेको वर्तमान केन्द्रको सरकारको काम–कारबाहीलाई कसरी लिनुभएको छ ?
हामीले भन्दै आइरहेका छौँ, सत्तारूढ नेकपा न त कम्युनिस्ट पार्टी हो, न त त्यो सरकार कम्युनिस्टको सरकार हो । त्यो पार्टी निम्न पुँजीपति वर्गको पार्टी भएकाले सरकारमा पनि अधिकतम रूपमा निम्न पुँजीपति वर्गको स्वार्थ प्रतिबिम्बित हुने प्रष्टै छ । अर्कातिर, अहिले पनि राज्यसमा सामन्त, दलाल र नोकरशाही पुँजीपतिको बोलवाला छ । उनीहरू भारतीय साम्राज्यवाद र अन्य साम्राज्यवादी प्रभाव र दबाबमा छन् । त्यसरी देशमा जसरी दुईतिहाइ बहुमतको सरकार भएजसरी काम हुनुपर्दथ्यो, त्यो हुन सकिरहेको छैन । संविधानमा समाजवादउन्मुख राज्य भनिए पनि त्यसअनुसारको अर्थनीति अपनाइएको छैन । सरकारको नीतिले सामन्त, दलाल र नोकरशाही पुँजीपतिलाई नै बढी फाइदा पु-याउने काम गरिरहेको छ ।
फेरि पनि यिनीहरू कम्युनिस्ट पार्टी वा कम्युनिस्ट सरकार नभए पनि उनीहरूलाई कम्युनिस्ट सरकारको रूपमा बद्नाम गर्ने प्रयास चलिरहेको छ । त्यो नयाँ विषय पनि होइन । अर्कातिर, जनअपेक्षानुसार काम गर्न नसके पनि वर्तमान सरकारले राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको पक्षमा अडान लिइरहेको छ । यो स्वागतयोग्य छ । यसरी राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको पक्षमा सरकारले उठाउने सही कदमको समर्थन गर्दै यो सरकारको तर्फबाट अगाडि सारिने गलत नीति तथा क्रियाकलापको पक्षमा दृढतापूर्वक आवाज उठाउने हाम्रो नीति रहने छ ।
अन्तमा युगदर्शनमार्फत् आह्वान गर्नुपर्ने केही छन् कि ?
राष्ट्रियसभा चुनावको सन्दर्भ पारेर मेरो, हाम्रो पार्टीको विचार सार्वजनिक गर्ने मौका दिनुभएकोमा युगदर्शनलाई धन्यवाद दिन चाहान्छु ।
चुनावको सन्दर्भमा सम्पूर्ण सांसद, नगरपालिकाका मेयर, उपमेयर तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षलाई मूलतः सही राजनीतिलाई केन्द्रमा राखेर मतदान गर्न आग्रह गर्दछु । (अन्तर्वार्ताः प्रकाश थापा)