विष्णु पुन, अध्यक्ष, कोरिया नेपाली एकता समाज
० आगामी मङ्सिर ४ गतेको चुनावमा सहभागी हुन आउनुभएको हो कि छुट्टी लिएर घर आउनुभएको ?
– सर्वप्रथम त मेरा विचार राख्ने मौका दिनुभएकोमा युगदर्शन परिवारलाई धन्यवाद दिन चाहन्छु । म छुट्टीमा घर आएको हुँ । चुनावमा सहभागी हुने मन हुँदाहुँदै पनि छुट्टी छोटो भएकाले नपाउने भएँ ।
० बागलुङ त राजमोको सङ्गठन बलियो भएको जिल्ला । तपाईको क्षेत्रतिर चुनावी प्रचार प्रसारको अवस्था कस्तो छ ?
– राजमोले तिहारमा देउसीभैलोको माध्यमबाट चुनाव प्रचार प्रसार गर्न सुरु गरेको थियो । त्यसपछि गठबन्धनको तर्फबाट पनि वडास्तरीय चुनावी सभा सम्पन्न भए । अहिले गठबन्धनको चुनावी अभियान व्यापक रूपमा अघि बढेको छ । गठबन्धनले चुनाव जित्नेमा नेता, कार्यकर्ता र आम जनता ढुक्क हुँदै गएका छन् ।
० कोरिया नेपाली एकता समाजले यो चुनावलाई कसरी मूल्याङ्कन गरेको छ ?
– दक्षिण कोरिया नेपाली एकता समाजले यो चुनावलाई अग्रगामी र प्रतिगामी दुई पक्षबिच सङ्घर्षको रूपमा लिएको छ । यो सङ्घर्षमा अग्रगमनकारीले जसरी पनि जित्नुपर्ने हुन्छ । यदि प्रतिगामी पक्षको जित भएमा गणतन्त्र र धर्म निरपेक्षता सङ्कटमा पर्ने वा उल्टिने सम्भावना रहन्छ । त्यसबाट नेपाल र नेपालीलाई भन्दा पनि भारतीय साम्राज्यवादलाई नेपालमा राजा फर्काउन र नेपाललाई हिन्दु राज्य बनाउन मात्र मदत पुग्ने छ ।
० सबै देशका एकता समाजका साथीहरूले राजमो वा गठबन्धनको पक्षमा चुनाव प्रचार प्रसार गर्नैपर्ने कारण के रहेछ ?
– कारण धेरै छन्; जस्तै : प्रथम– एमाले (विशेषत केपी ओली) को स्वेच्छाचारी र अधिनायकवादी प्रवृत्तिलाई रोक्नका लागि हो, जसले गर्दा नेपालमा संवैधानिक र राजनीतिक सङ्कट उत्पन्न नहोस् । द्वितीय– गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्न र तृतीय– प्रतिगमनकारीलाई हराउन वा संसद्मा बहुमत ल्याउन नदिनका लागि जनमत तयार गर्न । हामी प्रवासी नेपालीहरू देशमा प्रतिगमनकारीभन्दा अग्रगमनकारी शक्तिहरूको सरकार गठन भएमा हाम्रा समस्याको समाधानमा मदत पुग्ने कुरामा विश्वस्त छौँ । त्यसैले हामीले राष्ट्रिय जनमोर्चा र वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा चुनाव प्रचार प्रसार गर्ने निर्णय गरेका हौँ ।
० आगामी चुनावबाट नेपालमा कस्तो खालको सरकार आओस् भन्ने चाहनुहुन्छ ?
– हरेक चुनावबाट देशलाई समृद्विको बाटोमा दो¥याउन सक्ने सरकार आओस भन्ने नै जनचाहना हुन्छ । दुःखको कुरा, अहिलेसम्म त्यस्तो हुन सकेको छैन । अब आउने सरकारले पनि त्यस्तो गर्न सक्छ भन्ने आशा हामीले थोरै पनि राखेका छैनौँ तैपनि पाँच वर्षसम्म टिक्ने गरी बलियो वा थायी सरकार आओस् भन्न चाहन्छु । त्यसो भएमा देश एक तहसम्म सही ट्रयाकमा चल्ने छ । यस्तो सरकारले देशमा रोजगारीको अवसर सिर्जना गरोस्, त्यसले गर्दा युवाशक्ति बिदेसिनु नपरोस् ।
० अदालतले फैसला दिनुका बाबजुद विदेशस्थित नेपालीको मताधिकारको माग किन कार्यान्वयन हुन नसक्नुका पछाडि कसको कमजोरी देख्नुहुन्छ ?
– यसमा देशका ठुला दलको कमजोरी वा षड्यन्त्र छ भन्ने मलाई लाग्छ किनभने विदेशस्थित नेपालीले नेपालका हरेक दल, राजनीतिज्ञ र राजनीतिक घटनाक्रमबारे जानकारी राख्ने गर्दछन्, जसले गर्दा चुनावमा जो नेता इमान्दार र सक्षम छ, उसलाई मात्र भोट हाल्ने छन् । विदेशमा भएकाले साम, दाम र दण्ड, भेद कुनै पनि तरिकाले भोट किन्न सक्ने वा आफ्नो नियन्त्रनमा नआउने भएकाले नै विदेशस्थित नेपालीलाई मताधिकारबाट बञ्चित गरिएको हो ।
दलहरूले स्वतन्त्र रहनुपर्ने न्यायपालिकालाई पनि आफ्नो स्वार्थपूर्तिको थलो बनाएकाले नै अदालतको निर्णयका बाबजुद पनि यो विषय कार्यान्वयन नभएको हो । नेपाल सरकारसँग इच्छाशक्ति नभएकाले पनि यो समस्या नसुल्झिएको हो । नेपालले अहिलेसम्म स्थिर सरकार पाएको छैन । अब चुनावपछि स्थायी सरकार बन्ने छ र त्यसले यस विषयलाई कार्यान्वयन गर्ने पहलकदमी लिने छ भन्ने आशा छ ।
० अदालत र नेपाल सरकारले विदेशस्थित नेपालीको समानुपातिक प्रतिनिधित्वको मागलाई वास्ता गरेका छैनन् । यसबारे के भन्नुहुन्छ ?
– नेपालका ठुला राजनीतिक दलहरू जनता र राष्ट्रको हितमा काम गर्नुभन्दा पनि विदेशी शक्तिकेन्द्रको दलाली गर्नमा व्यस्त छन् । देशको समृद्धिका लागि उद्योगधन्दाको विकास गर्दा साम्राज्यवादीको स्वार्थमा धक्का लाग्ने हुनाले भएका उद्योग पनि कौडीको भाउमा निजी क्षेत्रलाई बेचे । ती उद्योग अहिले बन्द छन् । नयाँ उद्योग खोल्ने कुनै योजना छैन । त्यसले गर्दा देशमा बेरोजगारीको अवस्था सिर्जना भएको छ । नयाँ युवा पिँढी खेतिपाती गर्न रुचाउँदैनन्, जसको परिणाम आज ठुलो सङ्ख्यामा युवाहरू बिदेसिन बाध्य छन् । यस्तो स्थितिका कारण राजनीतिप्रति युवाको आकर्षण घट्दो मात्रामा छ ।
आज राजनीति विचार र सिद्धान्तमा आधारित नभएर झोले प्रवृत्तिमा परिणत भएको छ । झोले कार्यकर्ताले चाप्लुसी र मौकामा आफ्नो भविष्य देख्ने गर्दछन् । त्यस्ता मान्छेले आफ्नो स्वार्थपूर्तिका लागि मात्र राजनीति गर्ने गर्दछन् । तिनीहरूले बिदेसिएका युवालाई बेरोजगारीले गर्दा होइन, देशमा केही गर्न नसकेकाले वा असक्षम भएकाले बिदेसिएका हुन् भन्ने धारणा राख्दछन् । त्यस्ता असक्षम मानिसले संसद्मा प्रतिनिधित्व गरेको कसरी हेर्न सक्छन् र ?
अर्काेतर्फ, नेपाली राजनीति परिवारवादमा नराम्ररी गाँजिएको छ । हरेक नेतालाई आफ्नो परिवारको, परिवारको नभए नातागोताको मान्छे टिपेर संसद् वा मन्त्री बनाउनुछ ।
नेपालमा भएका आफन्तलाई बनाउन छाडेर विदेशमा भएका नेपालीको बारेमा यो बुर्जुवा राजनीतिक पार्टी सोच्ने कुरै भएन ।
खालि राष्ट्रिय जनमोर्चाले मात्रै विदेशस्थित नेपालीको बारेमा निरन्तर आवाज उठाउँदै आएको छ । वाम–लोकतान्त्रिक गठबन्धनको सरकार बनेपछि त्यसले विदेशस्थित नेपालीको समानुपातिक मतदान र प्रतिनिधित्वको प्रश्नलाई कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो माग छ ।
० पछिल्लो समयमा विदेशस्थित नेपालीको मताधिकार र प्रतिनिधित्वको मागबारे तपाईंहरूको आन्दोलन सेलाएको जस्तो देखिन्छ नि ?
– हामीले अन्तर्राष्ट्रिय नेपाली एकता समाजमार्फत् विदेशस्थित नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वको बारेमा विभिन्न समयमा आवाज उठाइरहेका छौँ । कोरिया नेपाली एकता समाजले पनि यस विषयमा आन्तरिक रूपमा बहस, छलफल गरिरहेको छ । आन्दोलन सेलाएको छैन, यो निरन्तर चलिरहेको छ र हाम्रा माग पूरा नहुन्जेल निरन्तर चलिरहने छ ।
० कोरिया कस्तो देश हो ? त्यो देश नेपालीहरूको आकर्षणमा पर्नुको कारण के हो ?
– कोरिया एक समृद्ध, कडा नियम, कानुन र बलियो सामाजिक सुरक्षा भएको देश हो । कोरियाले जी टू जी (सरकारदेखि सरकारसम्म) को माध्यमबाट सस्तो लागतमा विदेशी श्रमिक लैजाने र कोरियन श्रमिकसरह नै पारिश्रमिक दिने गर्दछ । कोरिया श्रमिकका लागि मात्र नभएर विद्यार्थीका लागि पनि राम्रो गन्तव्य बन्दै गएको छ । विशेष गरेर प्रविधिको क्षेत्रमा यसले गरेको विकास र बलियो सामाजिक सुरक्षा नै कोरिया नेपालीको आकर्षणमा पर्ने मुख्य कारण हुन् ।
० नेपालमा कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर पनि कोरिया जान नपाएका नेपाली थुप्रै छन् । यसबारेमा तपाईंहरूको भनाइ के छ ?
– कोरियन भाषा परीक्षा उत्र्तीण गर्नु कोरिया जान पक्का हुनु होइन । कोरियाको कम्पनीले कामदारको माग गरेर मान्छे चुनेपछि बल्ल कोरिया जान पाइन्छ । यसबारेमा सबै प्रष्ट हुनुपर्दछ ।
० कोरियास्थित नेपालीका समस्या के कस्ता रहेका छन् ?
– समस्या त धेरै छन् । त्यसमध्ये प्रमुख समस्या मानसिक तनाव हो । भाषा अध्ययन गर्नुपर्ने, परीक्षा उत्तीर्ण भइसकेपछि कुर्नुपर्ने र कुरेर पनि कोरिया जान नाम निस्कने निश्चित नहुने—यस्तो अप्ठ्यारो र लामो प्रकृयाबाट गुज्रने भएकाले निम्नवर्ग र श्रमिक वर्गको यसमा आकर्षण छैन वा जाँदैनन् । त्यसैले ठुलो सङ्ख्यामा विद्यार्थी वा नेपालमा धेरै श्रम नगरेका युवाहरू कोरिया जाने गर्दछन् ।
कोरिया विश्वमै धेरै कडा श्रम गर्ने देशमध्यमा पर्दछ । अर्कातिर, नेपालीले कोरियामा भएको भन्दा धेरै पारिश्रमिकको सपना देखेर जाने गर्दछन् तर कोरिया गइसकेपछि कडा परिश्रम र सोचेभन्दा कम तलब आएपछि मानसिक तनावमा पर्ने गर्दछन् । त्यसपछि कम्पनी खोज्ने, धेरैजसो कम्पनीले अनुमति पत्र दिन्नन्, जसले थप तनाव बढाउँछ । सरकारले तीनपटक सम्म कम्पनी परिर्वन गर्ने अनुमति दिएको छ । कोरियामा कम्पनीमा आवश्यक कामदार मात्र राखेको हुन्छ । आफ्नो कम्पनी कालोसूचीमा (सुविधा दिन नसक्ने सूची) पर्ने डरले धेरै अनुमति पत्र दिँदै दिन्न । त्यसको परणामस्वरूप नेपालीहरू डिप्रेसनमा जाने, औद्योगिक दुर्घटनामा पर्ने र आत्महत्यासम्मका घटना हुने गर्दछन् । कृषिक्षेत्रमा काम गर्नेलाई झन् धेरै पीडा छ । बेसिक तलबमा १२–१४ घण्टासम्म काम गर्नुपर्ने, कन्टेनरको बसाइ, अत्यधिक चिसो र गर्मीमा पनि खेतमा काम गर्नुपर्ने जटिल समस्या छन् । नेपालमा सोचे जस्तो सहज र सुन्दर छैन, श्रमिकका लागि कोरियामा ।
० ती समस्याहरू समाधानका लागि कोरिया नेपाली एकता समाजले के कस्ता भूमिका खेलिरहेको छ ?
– हामीले धेरै आशालाग्दो काम गर्न त सकिरहेका छैनौँ तर आफ्नो तहबाट सक्दो कोसिस गरिरहेका छौँ।
० नेपालको बैदेसिक रोजगारीलाई व्यवस्थित गर्नका लागि के कस्ता सुझाव दिनुहुन्छ ? यस सम्बन्धमा कोरिया र इजरायल मोडेल तपाईंलाई कस्तो लाग्छ ?
– सरकारले उद्योगको विकास गरेर देशमा रोजगारीको अवसर सृजना गरेर युवाहरू बिदेसिन वा पलायन हुनबाट जोगाउने योजना बनाउनुपर्छ । युवाहरू देशका कर्णधार हुन् । उनीहरूलाई सरकारले देशमै रोक्न नसक्नु दुखद पक्ष हो । देशमा नै स्वरोजगारका कार्यक्रम लागु गरेर, युवालाई देश समृद्धिको दिशामा दो¥याउन जरुरी छ । त्यस्तो गर्न नसकेको अवस्थासम्म नेपालीहरू जी टू जीमार्फत् बैदेसिक रोजगारीमा पठाउने, प्रवासी नेपालीको जिउधन सुरक्षाको ग्यारेन्टी गर्ने र पारिश्रमिक राम्रो भएका देशमा मात्र पठाएर बैदेसिक रोजगारीलाई व्यवस्थति गर्न सकिन्छ । विभिन्न देशमा नेपाली श्रमिकहरू कुटिएका, लुटिएका र ठगिएका समाचार सुन्दा धेरै पीडाबोध हुन्छ । त्यसैले नेपालीहरू सुरक्षित रहने गरी मात्र पठाउने चलनको विकास सरकारले छिटोभन्दा छिटो गर्नुपर्छ ।
कोरिया र इजरायलको मोडेल एदम सही छ । सबै देशमा त्यसैगरी पठाउनुपर्छ किनभने त्यसरी श्रमिकलाई पठाउँदा बिचौलिया र दलालले कसैलाई ठग्न पाउने छैनन् । सस्तो लागतमा बैदेसिक रोजगारी प्राप्त गर्न सकिने छ ।
० अन्तमा, युगदर्शनको तर्फबाट उल्लेख गर्नुपर्ने विषय केही छन् कि ?
– अन्तमा, दक्षिण कोरिया नेपाली एकता समाजको सांस्कृतिक विभाग रक्तिमले “क्षितिजपारी–२” एल्बम निकाल्ने तयारी गरिरहेको छ । एल्बमको पहिलो गीत छिट्टै नै तपाईंहरूको माझमा लिएर आउँदै छौँ । आशा गरेका छौँ, तपाईहरू सबैले मन पराइदिनुहुने छ ।
प्रस्तुति : प्रकाश थापामगर