काठमाडौँ । भारत सरकारले निर्यातमा कर लगाएपछि नेपालमा धान, चामल र कनिकाको आयात घटेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा यो वर्षको सोही अवधिमा ३१ दशमलव ६७ प्रतिशतले चामलको आयात घटेको हो । सोही अवधिमा ८६ दशमलव ५८ प्रतिशतले धान आयात घटेको भन्सार विभागको तथ्यांकले जनाएको छ ।
गत आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा भारतबाट कुल ४० करोड ४१ लाख ५८ हजार रुपैयाँ बराबरको कनिका आयात भएको थियो ।
यस वर्ष सोही अवधिमा २८ करोड २६ लाख ३४ हजार रुपैयाँ बराबरको मात्रै आयात भएको छ ।
भारतले भदौ २४ गतेदेखि बासमती र उसीनाबाहेकको धान–चामल निर्यातमा २० प्रतिशत कर लगाउँदै कनिका निर्यातमा पूर्ण बन्देज गरेको थियो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४ अर्ब ९३ करोड ३२ लाख रुपैयाँको चामल आयात भएको छ ।जबकि गत आर्थिक वर्षको पहिलो तीन महिनामा ७ अर्ब २२ करोड ४ लाख रुपैयाँ बराबरको चामल आयात भएको थियो ।
यो आर्थिक वर्षको पहिलो ३ महिनामा धान, चामल आयात घटेको देखिए पनि विगतका ५ वर्ष अवधिको मूल्याङ्कन गर्दा भने बढेको देखिन्छ ।