म्याङलुङ । यस वर्षको तिहारमा तेह्रथुमबासी प्लास्टिकको फूल किन्न बाध्य छन् ।
यसपटक तिहारको समयमा फूल नफूलेपछि व्यवसायी र उपभोक्ता यस्तो बाध्यतामा परेका हुन् ।
समयमै फूल नफुल्दा घर सजाउन र भाइटीकाका लागि फूलको अभाव भएको छ । तिहारमा आवश्यक फूल नहुँदा यस वर्ष प्लास्टिकका कृत्रिम फूलको भर पर्नुपरेको छथर गाउँपालिका वडा नं. ५ की सावित्रा पौडेलले गुनासो गर्नुभयो ।
हर्कमाया दाहाल पनि तिहारका लागि बारीमा रोपेको फूल नफुलेपछि चिन्तामा हुनुहुन्छ ।
‘यसपटक फूलमा गरेको मिहिनेत खेर जाने भयो । सबै फूल खोज्न आउँछन् तर रित्तो हात फर्काउनुपरेको छ’ उहाँले भन्नुभयो– ‘गाउँमै फूल नहुँदा यो वर्ष फूलको अभाव खेप्नुपरेको छ ।’
तिहारका बेला फुल्नुपर्ने फूल यसपटक ढिलो गरी फुल्न लागेका कारण तेह्रथुममा तिहारका लागि प्लास्टिकका माला र फूलका गुच्छा बिक्री भइरहेका छन् ।
सरकारले साउन १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारणमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको थियो । प्लास्टिकजन्य फूलगुच्छा बिक्री–वितरण गरेको पाइएमा एक लाखसम्म जरिवाना लगाइने राजपत्रमा उल्लेख छ तर जिल्लामा निर्वाध रूपमा प्लास्टिकका फूल बिक्री भइरहेका छन् । (रासस)