खलङ्गा । ३१ महिनाभित्र डिपिआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलबिद्युत् आयोजनाको काम सुरु गरिएकोमा छ वर्ष बित्दासम्म काम पूरा हुन सकेको छैन ।
सन् २०१६ मा ३१ महिनाभित्र आयोजनाको डिपिआर सम्पन्न गर्ने गरी नलगाड जलबिद्युत् कम्पनी, अस्ट्रेलियाको स्नोई माउन्टेन इन्जिनियरिङ कर्पोरेसन (स्मेक), एमडब्ल्युएच र नेपालको उदय जेभीबिच सम्झौता भए पनि डिपिआर नबनेको हो ।
पटक–पटक म्याद थप्दा पनि डिपिआरको काम पूरा नभएपछि जाजरकोटका बासिन्दा आक्रोशित भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो ।
बिद्युत् उत्पादन गृहमा माटो जाँचका लागि खनिएको सुरुङको काम बिच बिचमा छोड्दै निर्माण गर्दा ढिला भइरहेको छ । अब तीन सय ५५ मिटर सुरुङमध्ये अहिलेसम्म तीन सय ५२ मिटर खनिएको र बाँकी एक हप्ताभित्र पूरा हुने उक्त आयोजनाका इन्जिनियर पदम थापाले बताउनुभयो ।
आयोजनको वातावरणीय प्रभाव मूल्याङ्कन वन मन्त्रालयमा अध्ययन भइरहेको, स्मेकलाई डिपिआरको काम छिटो सक्न पटक पटक म्याद थपेर काम गराइरहेको र असारसम्म त्यो सबै रिपोर्ट आइसक्ने उहाँले जानकारी गराउनुभयो । उक्त नगरपालिकाको वडा ७ दल्लीमा बिद्युत्गृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल छ ।
उक्त नगरपालिकास्थित नलगाड खोला र ठुलीभेरीको दोभाननजिकै भूमिगत पावर हाउस निर्माण गरिने जनाइएको छ । बारेकोटको अँधेरीखोलाबाट दल्लीसम्म साढे आठ किमि लामो मुख्य सुरुङ र दुईदेखि तीन किमिसम्मका तीनओटा सहायक सुरुङ बनाइने भएको छ । पाँच सय मिटर लामो र दुई सय ४८ मिटर अग्लो बाँध बनाइने छ ।
जलाशयमा ४७ करोड ४० घनमिटर पानी जम्मा हुने बताइएको छ । आयोजनामा चारओटा टर्बाइन राखिने छन् । प्रत्येक टर्बाइनबाट १०४ दशमलव २५ मेगावाट बिद्युत् उत्पादन हुने छ । आयोजनाबाट एक वर्षमा एक हजार दुई सय ३२ गिगावाट घण्टा ऊर्जा उत्पादन हुन्छ ।
आयोजनाबाट उत्पादित बिद्युत् चार सय केभी डबल सर्किट प्रसारण लाइनमार्फत कोहलपुर सबस्टेसनमा जोड्ने योजना छ । आयोजना स्थलबाट कोहलपुरसम्म एक सय १२ किमि लामो प्रसारण लाइन निर्माण भइरहेको छ । आयोजनाले असर पर्ने क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण गरिसकेको छ । (रासस)