सल्लेरी । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा कुल एक सय ७१ मेगावाट क्षमताको दुधकोसी– ६ जलबिद्युत् आयोजना निर्माण हुने भएको छ ।
निजी क्षेत्रको सगरमाथा हाइड्रोपावरले निर्माण गर्न लागेको सो आयोजना नदीप्रवाही (रन अफ द रिभर) प्रकृतिको हो ।
पछिल्ला दिनमा जलबिद्युत् आयोजनाको हबका रूपमा स्थापित हुँदै गएको जिल्लामा अन्य केही आयोजनासमेत निर्माणमा क्रममा छन् । केही आयोजना भने निर्माण सम्पन्न भई केन्द्रीय प्रणालीमा बिजुलीसमेत जोडिसकेका छन् ।
आयोजनाले सुख्खायाममा दुई सय ९५ र वर्षायाममा छ सय ८८ गिगावाट घण्टा गरी वार्षिक रूपमा कुल नौ सय ८४ गिगावाट घण्टा ऊर्जा उत्पादन गर्ने छ । दुधकोसी नदी किनारै किनार भएर आयोजना स्थलको पहुँचमार्ग निर्माण हुने छ । मुख्य संरचना डाइभर्सन वेयर, अन्डरस्लुइस, ग्राभेल ट्र्याप, सेटलिङ, बेसिन, हेडरेस पाइप, हेडरेस टनेल, सर्ज ट्याङ्क र अडिट टनेल जस्ता संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ ।
सोलुखुम्बुको पासाङल्हमु गाउँपालिका–३ मा निर्माण हुने सो आयोजनाको नेट हेड तीन सय ६७ मिटर रहेको छ । आयोजनाको बिद्युत् गृह भूमिगत रहने छ । तीनओटा फ्रान्सिस टर्बाइन रहने आयोजनाबाट उत्पादित बिजुली दुई सय २० केभी क्षमताको ६३ किलोमिटर लामो प्रसारण लाइनमार्फत् नेपाल बिद्युत् प्राधिकरणको नयाँ खिम्ती सबस्टेसनमा जोडिने छ ।
आयोजनाको कुल लागत रु ३० अर्ब ८० करोड बराबर रहने छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भइसकेको छ । वन तथा वातावरण मन्त्रालयले आयोजनाको उक्त प्रतिवेदन सार्वजनिक गर्दै सम्बन्धित निकाय वा प्रभावित क्षेत्रका बासिन्दालाई रायसुझाव दिन आग्रह गरेको छ ।
आयोजनाले कुल आठ दशमबल तीन हेक्टर जग्गा प्राप्त गर्नुपर्ने छ । आयोजनाको निर्माण अवधिमा पाँच सय ५० जनाले प्रत्यक्ष रोजगारी पाउने छन् । जैविक वातावरणीय प्रभाव न्यूनीकरणका लागि आयोजनाले रु १३ करोड ७५ लाख २९ हजार बराबरको रकम छुट्याएको छ । (रासस)
Advertisement