काठमाडौँ । आर्थिक वर्ष २०७९÷८० को पहिलो दुई महिनामा बैदेसिक व्यापारघाटा रु दुई खर्ब ४४ अर्ब ९३ करोड पुगेको छ ।
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कानुसार सो अवधिमा नेपालले कुल रु दुई खर्ब ७३ अर्ब ६० करोड बराबरको सामान आयात गरेको छ भने रु २८ अर्ब ६८ करोड बराबरको सामान निर्यात गरेको छ ।
राष्ट्र बैङ्कका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सामान निर्यात ३४ दशमलव नौ प्रतिशतले घटेको छ भने आयात पनि १३ प्रतिशतले घटेको छ ।
गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यातमा क्रमशः ४५ दशमलव दुई प्रतिशत र २१ दशमलव छ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात १३ दशमलव दुई प्रतिशतले बढेको छ । जिङ्क सिट, उनी गलैँचा, पार्टिकल बोर्ड, तयारी पोसाक, आयुर्वेदिक औषधिलगायत वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, अलैँची, दन्त मञ्जनलगायत वस्तुको निर्यात घटेको छ ।
त्यसैगरी पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पन्ज आइरन, औषधी, हवाइजहाज तथा स्पेयर पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, कच्चा सोयाविन तेल, हट रोल्ड सिट इन क्वाइल, एमएस ब्लेटलगायत वस्तुको आयात घटेको छ ।
निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची र त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहेक प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर र तातोपानीबाहेक अन्य प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । (रासस)





