धुलिखेल । आलुलगायत तरकारीजन्य बाली लगाउने समयमा रासायनिक मल अभाव भएकाले सहज रूपमा मल आपूर्ति गर्न पाँचखालका किसानले काभ्रेपलाञ्चोक प्रशासनसँग माग गरेका छन् ।
उनीहरूले मलआपूर्तिका लागि सङ्घर्ष समिति गठन गरी पाँचखाल नगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र नगर उपप्रमुख सूर्यमाया दनुवारलाई सयौँ सङ्ख्यामा उपस्थित किसानले ध्यानाकर्षण पत्र बुझाउँदै एक वर्षदेखि रासायनिक मल अभाव झेल्दै आएकाले हालको आलुलगायत तरकारीजन्य बाली लगाउने समयमा पनि मल सहज आपूर्ति नभए आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् ।
उनीहरूले बिहीबार पाँचखाल बजार र सदरमुकाम धुलिखेलमा मल माग गर्दै र्यालीको आयोजना गरी ध्यानाकर्षण पत्र बुझाएका थिए । प्रजिअ पाण्डेले किसानको ध्यानाकर्षण पत्र बुझ्दै किसानको समस्याप्रति आफू निकै गम्भीर भएको र समस्या समाधानार्थ केन्द्रीय निकायमा सहजीकरण गर्ने बताउनुभयो ।
तिहारअघि रासायनिक मल सहज रूपमा उपलब्ध रासायनिक मल आपूर्ति सङ्घर्ष समितिका संयोजक ज्ञानबहादुर थापाले माग गर्नुभयो ।