दाङ । कुमाल समुदायका युवा पुस्ताले परम्परागत माटाका भाडा बनाउन छोडे भन्ने गुनासो आइरहँदा दाङ तुलसीपुर उपमहानगरपालिका–७ का युवा भने माटोका भाडा बनाउनतर्फ सक्रिय हुन थालेका छन् ।
स्थानीय दीपा कुमालले माटाका भाडा बनाउने तालिम लिएपछि अहिले माटाका भाडा बनाउन थाल्नुभएको हो ।
‘यो पेसा हाम्रो पुर्खाले गर्दै आएको पेसा हो । यसमा हाम्रो पहिचान पनि जोडिएको छ’ उहाँले भन्नुभयो– ‘त्यसैले हामीले यो पेसालाई जोगाउनुपर्छ ।’
बिबिएस दोस्रो वर्ष पढ्दै गर्नुभएकी उहाँले आफू माटाका भाडा बनाएरै जीवन पाल्न सक्ने बताउनुभयो । उहाँले पुर्खाले गर्दै आएको पेसालाई जोगाउन युवा सक्रिय हुनुपर्ने बताउनुभयो । पेसा जोगाउन सबै युवा सक्रिय हुनुपर्ने उहाँ बताउनुहुन्छ ।
त्यहाँ कुमाल अगुवा पनि यो पेसा जोगाउन चिन्तित देखिन्छन् । ६०/७० घर रहेको कुमाल समुदायमध्ये अहिले १०/११ जनाले मात्रै माटाका भाडा बनाएर बेच्ने गर्छन् । त्यसैले यो पेसा लोप हुने खतरालाई कम गर्नका लागि युवा पुस्तालाई तालिम दिन थालिएको अगुवा प्रेम कुमालले बताउनुभयो ।
‘युवाले यो पेसामा चासो नदेखाएपछि हामीले तालिम दिने तयारी पनि गरेका छौँ’ उहाँले भन्नुभयो– ‘तालिम दिएर उनीहरूलाई व्यावसायिक रूपमा अगाडि बढाउने हाम्रो लक्ष्य छ ।’
अहिले माटाका भाडाको माग पनि बढी छ तर जनशक्ति नहुँदा भने जति उत्पादन गर्न नसकिएको समेत उहाँको भनाइ छ । बजारमा मट्का चिया पसल पनि धेरै खुलेकाले मट्का चियाका लागि कपको माग अत्यधिक हुने गरेको छ । पछिल्लो मागअनुसार प्लेट, कप पुर्याउनै गाह्रो हुने गरेको छ ।
नयाँ पुस्ता पनि माटोका भाडा बनाउनेतर्फ चासो दिनुपर्ने कविराम कुमालले बताउनुभयो । ‘माग धेरै छ । हामी पहिलेदेखि गर्दै आएका बुढापाखाले यो पेसा अँगालिरहेका छौँ । नयाँ पुस्ताले त्यति धेरै चासो नदिएकाले पनि यो पेसा सङ्कट पर्ने हो कि भन्ने चिन्ता छ’ उहाँले भन्नुभयो– ‘तर केही नयाँ पुस्ताले भने चासो दिइरहेका छन् ।’
नयाँ युवायुवतीलाई सिकाएर घोराही, तुलसीपुरमा माटाका भाडा निर्माण गर्ने स्थान र छुट्टै पसल स्थापना गर्नेसमेत तयारी गरेको उहाँको भनाइ छ । अहिले दैनिक एक जनाले करिब एकसय कप निर्माण गर्दै आएका छन् । (रासस)