दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलबिद्युत् आयोजनाको कामलाई बडादसैँमा पनि निरन्तरता दिइएको छ ।
आयोजना प्रमुख राजभाइ सिल्पकारका अनुसार बडादसैँको टीकाको दिनबाहेक अन्य सबै दिन काम रोकिने छैन । ‘आयोजनाको कामलाई निर्धारित मितिमै सम्पन्न गराउन कामको गति बढाएका छौँ’ उहाँले भन्नुभयो– ‘बडादसैँमा पनि काम रोकिँदैन ।’
बडादसैँको मुख्य दिन टीकाको दिनमा नेपाली कामदारलाई बिदा दिए पनि चिनियाँ मजदुर र अन्य केही नेपाली कामदारको सहभागितामा काम चलिरहने उहाँले बताउनुभयो ।
यतिबेला आयोजनाको प्याकेज १ अन्तर्गत डाइभर्सन टनेल (पानी फर्काउने सुरुङ) को काम चलिरहेको छ । उक्त प्याकेजको ठेक्का सोङ दाकालिका जेभीले पाएको छ । प्याकेज २ अन्तर्गतको बिद्युत्गृह खन्ने काम सकिएको छ । आयोजना प्रमुख सिल्पकारका अनुसार पानी फाल्ने काम पनि सम्पन्न भएको छ । आयोजनाको प्याकेज २ अन्तर्गत सुरुङ, बिद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ ।
सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत बिद्युत्गृहको सुरुङ खन्ने काम सकेको आयोजनाले जनाएको छ । बिद्युत्गृहको सुरुङ खन्ने काम सन २०२० अगस्टबाट सुरु भएको थियो । अब सुरुङभित्र पूर्वाधार निर्माणको काम सुरु गरिएको छ ।
आयोजनाअन्तर्गत पानी ल्याउने सुरुङमा भने काम भइरहेको छ । एक हजार चार सय ५० मिटर सुरुङ खन्नुपर्नेमा अहिलेसम्म तीन सय ५० मिटर खनिसकिएको छ । आयोजनाको प्याकेज दुईअन्तर्गत सर्च ट्र्याक जाने पहुँच सुरुङ खन्ने काम पनि सम्पन्न भइसकेको छ । सिनोहाइड्रो कम्पनीले ४३७.१ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरेको थियो । त्यस्तै, २८०.८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ पनि सम्पन्न भइसकेको छ ।
प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि २५ ओटा टावर सम्पन्न भएको छ । त्यस्तै, हालसम्म ४८ ओटा फाउन्डेसनको कार्य सम्पन्न भएको छ । यो प्याकेजको काम भारतीय कम्पनी केइसीले पाएको छ ।
प्रसारण लाइन निर्माणका लागि टावर राख्ने जग्गामध्ये तनहुँतर्फको भूभाग प्रालित गर्नका लागि मुआब्जा वितरण भइरहेको छ भने चितवनतर्फको जग्गा अधिग्रहण गर्ने प्रक्रिया चलिरहेको छ । दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माण हुने छ ।
आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।
कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण बिद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल बिद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । (रासस)





