भीमदत्त पन्तनगर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा विषादी परीक्षण गर्ने प्रयोगशालाको अभाव छ । भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण गर्न कार्यालयको आफ्नै प्रयोगशाला नहुँदा समस्या हुने गरेको हो ।
प्रयोगशालाको अभावले गर्दा विषादी परीक्षणका लागि कैलालीको अत्तरिया धाउनुपर्ने बाध्यता छ । कार्यालयका सूचना अधिकारी परमानन्द जोशीले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण गनुपर्ने भए पनि प्रयोगशाला र प्राविधिक नहुँदा परीक्षणका लागि ४२ किलोमिटर टाढा अत्तरिया जानुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार विषादी परीक्षणका लागि नमूना पठाए पनि रिपोर्ट आउन एक/दुई दिन समय लाग्ने गरेको छ ।
‘विषादी परीक्षणका लागि न प्रयोगशाला छ न प्राविधिक नै छन्’ उहाँले भन्नुभयो– ‘रिपोर्ट आउन कम्तीमा एक दिन लाग्छ । छिटो भयो भने बिहान आएको गाडी साँझसम्म पठाउँछौँ ।’
उहाँले अत्तरिया प्रयोगशालामा पनि प्राविधिक कम भएका कारण कहिलेकाहीँ समय बढी लाग्ने गरेको बताउनुभयो ।
‘परीक्षण गर्न टाढा पठाउनु पर्दा समय लाग्छ, सेवाग्राहीले गुनासो गर्ने गरेका छन्’ उहाँले भन्नुभयो– ‘रिपोर्ट आउन समय लाग्दा भारतबाट आएका तरकारीका गाडी एक÷दुई दिन नाकामै रोकिनुपर्ने बाध्यता छ ।’
सब्जीमण्डी व्यवसायी समितिका अध्यक्ष विशाल सुनारले भन्सार कार्यालयले भारतबाट आउने तरकारी परीक्षणमा कडाइ गनुपर्ने बताउनुभयो ।
‘भन्सार कार्यालयमा प्रयोगशाला हुन जरुरी छ । विषादी परीक्षण नगरी तरकारी आयात हुन दिनुहुँदैनֹ’ उहाँले भन्नुभयो– ‘परीक्षणकै लागि नाकामा लामो समय तरकारीका गाडी रोकेर राख्नुपर्ने बाध्यता छ ।’
उहाँले गड्डाचौकी भन्सार कार्यालयमा प्रयोगशाला भएर व्यवसायीलाई सहज हुने बताउनुभयो ।
पछिल्लो केही वर्षयता कञ्चनपुरमा भारतबाट आउने तरकारीमा कमी आएको अध्यक्ष सुनारले जानकारी दिनुभयो । अहिले डडेल्धुराबाट तरकारी आयात हुने गरेको व्यवसायी बताउँछन ।
‘आलु र प्याज मात्रै भारतबाट आउने गरेको छ’ सब्जीमण्डीका तरकारी व्यवसायी सन्तोष महरले भन्नुभयो– ‘७० प्रतिशत स्थानीय उत्पादन छ । ३० प्रतिशत मात्रै बाहिरबाट आउँछ ।’
सिजनको बेला स्थानीय उत्पादन प्रशस्त हुने भए पनि शीतभण्डारको अभावका कारण अफ सिजनका बेला भारतबाट तरकारी आयात हुने गरेको व्यवसायीका बताउँछन् ।