काठमाडौं । बैंक अफ काठमान्डू र हिमालयन बैंकले मेलम्ची खानेपानी आयोजनाको पर्फमेन्स ग्यारेन्टी सम्बन्धी मुद्दा जितेका छन्।
नेपालका यी दुई वाणिज्य बैंकले चीनको हेनान प्रान्तीय अदालतबाट समेत मुद्दा जितेका हुन् । दुई वर्षअघि हिमालयन बैंक र बैंक अफ काठमाण्डूले चीनको चङ्चौ जिल्ला अदालतबाट मुद्दा जितेका थिए । चीनको हेनान प्रान्तीय अदालतबाट पनि उनीहरुकै पक्षमा फैसला आएको हो ।
फैसलाअनुसार नेपालका दुई बैंकले १५ मिलियन अमेरिकी डलर क्षतिपूर्ति पाउने छन् । बैंक जमानतको रकम फिर्ता नहुँदा यी दुई बैंकको डेढ अर्ब रुपैयाँभन्दा बढी रकम फसेको थियो।
मुद्दा जितेपछि बैंक अफ काठमाण्डू लिमिटेडले मंगलबार विज्ञप्ति निकालेर भनेको छ, ‘मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सो वापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत जारी गरेको यस बैंक अफ काठमाण्डू लिमिटेडले उक्त जमानत सम्बन्धी परेको भुक्तानी सम्बन्धी मुद्दा जितेको छ । मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू लिमिटेडलाई काउन्टर ग्यारेन्टी दिएको थियो ।’
यो फैसलासंगै बैंकले काउन्टर ग्यारेन्टी वापतका मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको अमेरिकन डलर ६,६२५,०१० र युरो १,४११,४५३ वापतको रकम बैंक अफ काठमाण्डू लिमिटेडले फिर्ता पाउने भएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले जानकारी दिनु भयो ।





