काठमाडौं । प्रहरीले ठगी आरोपमा पूर्वसांसद इच्छाराज तामाङकी पत्नी सिर्जना शाक्य (तामाङ) लाई पक्राउ गरेको छ ।
काठमाडौंको सोल्टीमोडस्थित सिभिल सेभिङ् एण्ड क्रेडिट सहकारी संस्थामा भएको ठगी प्रकरणमा संस्थाका अध्यक्षसमेत रहेका पूर्वसांसद तामाङकी पत्नी सिर्जना पक्राउ परेकी हुन् ।
सो सहकारीमा आकर्षक ब्याजदर एवं विभिन्न प्रलोभनमा पारी ठूलो संख्यामा बचतकर्ताहरुलाई रकम जम्मा गर्न लगाई संगठित रुपमा ५ अर्ब ८४ करोड ४० लाख २१ हजार ७१३ रुपैयाँ १० पैसा ठगी भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
विगत ३ वर्षदेखि आफूले बचत गरेको रकमको साँवा तथा ब्याज पटक पटक अनुरोध गर्दा समेत नपाएपछि १ हजार ५३० जना पीडितले प्रहरीमा जाहेरी दिएका थिए ।
सोही जाहेरी दरखास्तको आधारमा गएको २०७८ कात्तिक १७ गते संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जना पक्राउ गरी प्रहरीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । पक्राउ परेकामध्ये तामाङ र केशवलाल श्रेष्ठ पुपर्क्षको लागि थुनामा छन् भने बाँकी धरौटीमा छुटेका छन् ।
सोही मुद्दामा काठमाडौं जिल्ला अदालतबाट २०७८ पुस २७ गते पक्राउ पूर्जि जारी भई शुरुदेखि नै फरार रहेकी उक्त संस्थाका लेखा समिति सदस्य एवं प्रतिवादी इच्छाराज तामाङकी पत्नी सिर्जनालाई प्रहरीले आज पक्राउ गरेको हो ।





