केरसिंह अदै, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ खरेन्द्रपुरको सुनवर्सी चोकमा तरकारी संकलन केन्द्र सञ्चालनमा आएको छ । केन्द्रको आज (शनिबार) शिवराज नगरपालिकाका उपप्रमुख शिव कुमारी चौधरीले उद्घाटन गर्नुभयो ।
त्यसक्रममा उपप्रमुख चौधरीले अब तरकारी व्यवसायीहरुलाई उत्पादनको आधारमा अनुदान दिइने बताउँदै यसको लागि बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
शिवराज ३ मा नगरपालिकाको लगानी र श्री शिवराज कृषि सहकारी संस्था लिमिटेडको पहलमा सहकारी संस्था मार्फत उत्पादनको रेकर्ड राख्ने व्यवस्था मिलाउने कार्य उदाहरणीय भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा शिवराज नगरपालिका पशु विकास अधिकृत धनेश्वर खनालले यस वडाबाट तरकारी संकलन केन्द्र सञ्चालन भएकोमा खुशी व्यक्त गर्दै, सञ्चालन गर्ने संस्था र उपभोक्ता समितिलाई विशेष धन्यबाद दिनु भयो । उहाँले खसी, बाख्रा, कुखुराहरुको पनि संकलन केन्द्र स्थापना गर्न पहल गरिने बताउनु भयो ।
शिवराज नगरपालिका–३ का वडाअध्यक्ष टेकलाल सापकोटाले तरकारी संकलन केन्द्र सञ्चालनमा आउँदा यस क्षेत्रका तरकारी व्यवसायी उत्साहित भएको र उत्पादनको आधारमा अनुदान दिइने हुँदा संस्थाले पारदर्शी हिसाबले रेकर्ड राख्नु पर्ने बताउनु भयो । धेरै तरकारी उत्पादन गर्ने किसानको खेत मै गइ हेरिने उहाँको भनाई थियो ।

कार्यक्रममा शिवराज नगरपालिका कृषि संयोजक नेत्र बेल्बासे, कृषि शाखाका पसुरम जयसवाल, समाजसेवी भेज राज भुसालले कृषकका समस्या, बजारको समस्या को बारेमा प्रकाश पार्नु भएको थियो ।
आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटबाट शिवराज नगरपालिकाले सात लाख ५३ हजार बजेट विनियोजन गरेको थियो भने शिवराज कृषि सहकारी संस्था लिमिटेड खरेन्द्रपुर ले जग्गा १० वर्षको लागि लिजमा लिएर तरकारी संकलन केन्द्र निर्माण गरेको हो ।
तरकारी संकलन केन्द्र सञ्चालन मा आएपछि तरकारी व्यवसायी उत्साहित भएका छन् । उपभोक्ताहरु पनि सस्तोमा तरकारी पाइने हुनाले खुसी भएका छन् । यही आर्थिक वर्ष मा सानो कोल्ड स्टोर निर्माण को लागि ६ लाख रकम शिवराज नगरपालिका कृषि विकास शाखाले छुट्याएको संस्थाका अध्यक्ष केर सिंह अदैले बताउनु भयो ।
उदघाटन कार्यक्रमको अध्यक्षता तरकारी संकलन केन्द्र सञ्चालन उपभोक्ता समितिका अध्यक्ष श्याम मोहन केवट र सञ्चालन संस्थाको अध्यक्ष केर सिंह अदैले गर्नु भएको थियो ।
जग्गा लिजमा दिने सुदर्शन मुराउ र कनैया लाल मुराउलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।





