काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुसयुक्रेन युद्धको असरले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको बताउनुभएको छ ।
२०७९ असार १५ गते बुधवार नेपाल चार्टड एकाउन्टेन्ट्स सङ्घको नवनिर्वाचित कार्यसमितिको शपथ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोरोना महामारीपछि रुसयुक्रेन युद्धको विश्वभर परेको असरले नेपालसमेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताउनुभएको हो ।
गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा सङ्कट देखा परेको भन्दै त्यसको प्रभावले पछिल्लो समय वस्तुको मूल्यवृद्धिमा चाप परेको बताउनुभयो । उहाँले अहिले मूल्यवृद्धिको चाप विश्वले भोग्नुपरेको बताउनुभयो ।
उहाँले मुलुकको अर्थतन्त्र सुधार गर्न सबैले मिलेर काम गर्नुपर्ने समय आएको पनि बताउनुभयो । गभर्नर अधिकारीले चार्टड एकाउन्टेन्ट्सहरुले दिने भूमिका मौद्रिक नीतिमा महŒवपूर्ण हुने गरेको बताउनुभयो ।
गभर्नर अधिकारीले भन्नुभयो– ‘अहिले विश्व अर्थतन्त्र छुट्टै खालको चापमा रहेको छ । हामी सबैले फेस गरिरहेका छौँ । कोभिड र कोभिडपछाडि रुसयुक्रेनको युद्ध, त्यसपछि सटेज अर्थतन्त्रको फलस्वरूप मूल्यवृद्धिको पे्रसर यति बेला ग्लोबल भएको छ । यसको चुनौती विश्वले भोग्नु परिरहेको छ । नेपाल त्यसबाट अन्यथा हुन सक्देनौँ । त्यसकारण यो अहिलेको चुनौती सामना गर्ने सिलसिलामा सबैको भूमिका जरुरी छ।’





