बेनी । म्याग्दीका किसानले लगाएको गहुँबालीमा पहेँलो र खैरो सिन्दुरे रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् ।
कृषि प्राविधिकका अनुसार गहुँमा लाग्ने सिन्दुरे रोग एक प्रकारको ढुसीजन्य रोग हो । यो रोग हावाको माध्यमाबाट सर्ने गर्छ ।
विगत वर्षमा गहुँबालीमा डढुवा रोग देखिने गरेकामा यस वर्ष सिन्दुरे रोगको प्रकोप देखिएको जिल्लाका अगुवा किसान चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कतै पहेँलो त कतै खैरो सिन्दुरे रोगले गुहँबालीमा क्षति पु¥याउन थालेपछि किसानले विषादीको प्रयोग गर्न थालेका छन् । ढुसीका कारण गहुँबालीमा यो रोग देखा पर्ने प्राविधिकको भनाइ छ ।
कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार हाल सिफारिसमा आएका हिमगङ्गा, भेरीगङ्गा, मुडुले १, खुमल शक्ति, जिङ्क गहुँ १, जिङ्क गहुँ २ गहुँका जातमा सिन्दुरे रोग कम देखिएको छ । जिल्लाका ज्यामरुककोट, रत्नेचौर, अर्मन, सिमलचौर, मालिकालगायतका क्षेत्रमा लगाएको गहुँबालीमा बोट मर्ने, पात सुक्ने जस्ता रोग देखिएपछि किसान चिन्तित बनेका हुन् ।
उता, यहाँका किसानले गरेको व्यावसायिक केरा खेतीमा दुई वर्षअघि देखि लागेको गबारो रोगको प्रकोप नियन्त्रणमा आउन नसक्दा केरा खेती गरेका किसानले हैरानी बेहोर्न बाध्य भएका छन् । गत वर्षको चैत साउनमा पनि केरामा गबारो रोग लागेर कोसा लाग्ने बेलाका केराका बोट सुकेका थिए ।
गत साउनमा पनि खपटे घुन र गवारो रोगले क्षति पु¥याएको केरा खेती तङ्ग्र्रिन नपाउँदै पुनः रोग फैलिएपछि यहाँ केरा खेती गरेका किसान चिन्तित बनेका बेनी नगरपालिका– २ खबराका किसान शोभित शर्मा सापकोटाले बताउनुभयो । उहाँले लगाएका ६०० केराका बिरुवामध्ये ६० भन्दा बढी गवारो रोगका कारण मरेका छन् ।
पश्चिम म्याग्दीको मङ्गला, मालिका, धौलागिरी गाउँपालिका र बेनी नगरपालिका–२ खबरा, बगरफाँट, वडा नं. ४ सिङ्गा, थामडाँडालगायत जिल्लाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा किरा र रोगको प्रकोप देखिएपछि किसान मारमा परेका बेनी नगरपालिका– २ बगरफाँटका किसान वेदप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
केरागाउँको रूपमा परिचय बनाएको बेनी नगरपालिका–२ बगरफाँट गाउँमा खपटे घुन र गवारो रोगले सयौँ रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन् ।
केराखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका चन्द्रबहादुर कार्की केराका बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित हुनुहुन्छ । उहाँले सात रोपनी क्षेत्रफलको जग्गामा केरा खेती गर्नुभएको छ ।
खपटे घुनले केराको बोट सुक्दै जाने र उत्पादन पनि घट्दै गएपछि पेसा सङ्कटमा परेको किसान कार्कीले बताउनुभयो । यहाँका किसानले धान फल्ने खेतमा केरा खेती सुरु गरेका हुन् । सुरुआती समयमा सामान्य देखिए पनि केही समयपछि भने खपटे घुन र गवारोले व्यावसायिक केरा खेतीमा ठुलो क्षति पु¥याएको उहाँको भनाइ छ ।
बगरफाँट र खबरामा मात्रै ४०० रोपनी क्षेत्रफलमा केराखेती गरिएको छ । केरा बेचेर खबरामा वार्षिक रु ५० लाखभन्दा बढी भित्रिने गरेको छ । (रासस)