जेनेभा । संयुक्त राष्ट्र सङ्घले पाकिस्तानको पेसावरमा हालै भएको हिंसात्मक हमलाको निन्दा गरेको छ । राष्ट्र सङ्घको सुरक्षा परिषद्ले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर सो हत्याको निन्दा गर्नुका साथै त्यसमा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताएको हो ।
यस्ता अपराध अब कदापि नदोहो¥याउन र आगामी दिनमा यस्ता अपराधमा संलग्न हुनेलाई कडा कारबाही गरी नागरिकको शान्तिपूर्वक बाँच्न पाउने अवस्थाको सिर्जना गर्न सो विज्ञप्तिमा आग्रह गरिएको छ ।
पाकिस्तानको उत्तर पश्चिमी पेसावर सहर खैबर पख्तुनख्वा प्रान्तको एक मस्जिदमा गएको शुक्रबार आतङ्ककारीहरूले भिषण बम हमला गरेका थिए । सो शक्तिशाली विस्फोटमा परी दर्जनौँ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
पेसावरका प्रहरी परिचालन प्रमुख वरिष्ठ सुपरिटेन्डेन्ट हरुन रासेदले बताएअनुसार दुई जना आतङ्ककारीले मस्जिदमा प्रवेश गर्न खोजेको र त्यहाँ ड्युटीमा रहेका प्रहरी कर्मचारीसँग भएको तनावपछि आत्मघाती आक्रमण गरेका थिए ।
पाकिस्तानका अधिकारीले यो सर्वसाधारणलाई लक्षित गरी गराएको आत्मघाती बम विस्फोट भएको बताएका छन् । प्रत्यक्षदर्शी मस्ताक खानले प्रार्थनाको समयमा विस्फोट भएको र मस्जिदको दुई तले भवनमा ठुलो सङ्ख्यामा उपासकहरू उपस्थित भएको बताउनुभयो । (रासस:सिन्ह्वा)