किएभ । रुसी सेनाले युक्रेनको रणनीतिक रूपमा महŒवपूर्ण सहर खेरसन कब्जा गरेको छ । न्युयोर्क टाइम्सले युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सो जानकारी दिएको हो ।
‘सहर घेरिएको छ’ खेरसनका मेयर इगोर कोलिखाएभले सो कुरा जनाएको युक्रेन मिडिया आउटलेट द किभ इन्डिपेन्डेन्टले बताएको छ ।
कोलिखाएभले भने कि दक्षिणी क्षेत्रीय राजधानीको स्थिति रुसी सेनाले सहरमा प्रवेश गरेपछि तनावपूर्ण रहेको छ । क्रिमियन प्रायद्वीपको उत्तरपश्चिममा रहेको तीन लाख मानिसको सहर खेरसनको पतन महŒवपूर्ण मानिएको छ । यसले रुसीहरूलाई युक्रेनको दक्षिणी तटीय क्षेत्रलाई नियन्त्रण गर्न र ओडेसा सहरतिर पश्चिमतर्फ धकेल्न अनुमति दिने छ ।
२२७ नागरिक मारिए
त्यस्तै, युक्रेनमा रुसी आक्रमणदेखि यता २२७ नागरिक मारिएको संयुक्त राष्ट्र सङ्घले बताएको छ ।
एन.वाई.टी. का अनुसार युक्रेन सरकारले सुरुमा नागरिकको मृत्युको संख्या २,००० भन्दा बढी उल्लेख गरेको थियो तर युक्रेनको आपतकालीन सेवा एजेन्सीले पछि त्यो सङ्ख्यालाई “अनुमानित” भन्दै कति मानिस अझै पनि आगलागीमा परेको र भग्नावशेष हराइरहेको बताउँदै यकिन तथ्याङ्क बाहिर नआइसकेको जनाएको छ ।
मस्कोले युक्रेनको टुक्रिएको क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको तीन दिनपछि रुसी सेनाले फेबु्रअरी २४ मा युक्रेनमा सैन्य कारबाही सुरु गरेको थियो ।
बेलायत, अमेरिका, क्यानडा र युरोपेली सङ्घलगायत धेरै देशले युक्रेनमा रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्ध लगाएका छन् । यी देशले युक्रेनलाई रुससँग लड्न सैन्य सहयोग गर्ने वाचा पनि गरेका छन् ।
अमेरिकाले पठायो सयौँ स्टिङर मिसाइल
यता, संयुक्त राज्य अमेरिकाले सोमबार २०० भन्दा बढी स्टिङर मिसाइल युक्रेन पठाएको छ । एन.बी.सी. न्युजका अनुसार यसमा जेभलिन एन्टी–ट्याङ्क मिसाइल र गोलाबारुद समावेश रहेको छ ।