किभ । युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले शुक्रबार बिहान राजधानी किभलाई हल्लाउने भयानक रकेट आक्रमणको निन्दा गर्नुभएको छ ।
‘भयानक रुसी रकेटले किभमा आक्रमण गयो’ कुलेबाले ट्विट गर्दै भन्नुभएको छ– ‘हाम्रो राजधानीलाई पछिल्लोपटक सन् १९४१ मा नाजी जर्मनीले आक्रमण गर्दा यस्तो अनुभव गरेको थियो ।’
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण सुरु गरिएको बिहिबार बिहान घोषणा गर्नुभएको थियो ।
टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गर्नुभएको छ ।
आठ वर्षअघि १८ मार्च २०१४ मा युक्रेनको पूर्वदक्षिण क्षेत्रमा अवस्थित सामरिक महत्त्वको क्राइमियालाई रसियामा गाभेको रसियाले फेरि पूर्वीयुक्रेनका डोनबास क्षेत्र, डोनेस्क, लुहान्स्कलाई केही दिनअघि स्वतन्त्र राज्य घोषणा गरेको थियो । हाल डोनेस्क र लुहान्स्क क्षेत्रमा विद्रोही लडाकुको नियन्त्रण छ । यस क्षेत्रमा जारी द्वन्द्वमा १३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । (रासस/एएफपी)