वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसको सम्भावित हमलाको विषयमा अमेरिकाले कूटनीतिक समाधान खोजेको स्पष्ट गर्नुभएको छ ।
उहाँले अझै पनि रुसले युक्रेनमा हमला गर्ने सम्भावना नटरेको दाबी समेत गर्नुभयो । उहाँले भन्नुभएको छ– हमलाको सम्भावना अझै उच्च रहेको छ र यदि त्यसो भएमा रुसले निकै ठुलो मानवीय मूल्य चुकाउनुपर्ने हुन सक्छ ।
मङ्गलबार टेलिभिजनमा प्रसारित सम्बोधनमा उहाँले यदि रुसले युक्रेनमा हमला गर्यो र त्यस्तो मानवीय क्षतिको अवस्था आयो भने त्यसका लागि जवाफ दिन अमेरिका तयार रहेको चेतावनी पनि दिनुभएको थियो ।
राष्ट्रपति बाइडेनले अहिले पनि युक्रेनतर्फको सीमामा रुसले डेढ लाखजति सैनिक तैनाथ गरेको जानकारी दिनुभयो ।
उता रुसले भने आफ्ना केही सैनिकहरू फर्कन थालेको घोषणा गरेको छ । तर पनि त्यसमा सत्यता नरहेको अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ छ ।
बाइडेनले युक्रेनको सीमाबाट रुसी फौज फिर्तीको खबरलाई अमेरिकाले अझै पुष्टि नगरेको पनि सो सम्बोधनमा बताउनुभयो । राष्ट्रपति बाइडेनले आफ्ना सत्रु रुसी नागरिक नभएको स्पष्ट गर्दै तर हमलाको अवस्था आएमा प्रतिबन्ध लगाउन आफूहरू तयार भएर बसेको धारणा राख्नुभयो । (रासस/सिन्हवा)