लागोस । उत्तरी नाइजेरियाको कादुना भन्ने राज्यमा अज्ञात बन्दुकधारीले कम्तीमा पनि ११ जना सर्वसाधारण नागरिकको हत्या गरेका छन् । सो राज्यमा विगतदेखि नै हुने यस्ता हिंसात्मक कारबाहीमा हप्तैपिच्छे नागरिकको ज्यान जाने गरेको छ ।
Advertisement
आइतबार बिहानीपख ती अज्ञात बन्दुकधारीहरूले कादुनाको जाको काताफ गाउँमा पुगेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए । गोली लागेर सो गाउँका ११ जनाको घटनास्थलमै ज्यान गएको थियो भने अरू छ जना गम्भीर घाइते भएका छन् । उनीहरूले यस गाउँका कम्तीमा पनि ३६ ओटा घरमा पनि आगजनी गरेका छन् ।
प्रहरी निकै बेरपछि घटनास्थलमा पुगेको र त्यहाँ घाइते भएकालाई अस्पताल पुर्याएको थियो । सो हमला कसले र किन गरेको हो भन्नेबारेमा पत्ता लागेको छैन । यस विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । (रासस/सिन्ह्वा)





