वासिङटन । बाइडेन प्रशासनले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका ५५ हजार ६०० अफगानलाई स्थायी रूपमा बसोबास गर्ने गरी पुनः स्थापना कार्यक्रम योजना ल्याउन लागेको छ ।
सैन्य शिविरबाट यति धेरै अफगानीलाई स्थायी बसोबास गर्न ल्याउनु सन् १९८० पछिको पुनः स्थापना कार्यक्रममध्ये सबैभन्दा ठुलो कार्यक्रम भएको खामा प्रेसले उल्लेख गरेको छ ।
हाल अफगानिस्तानमा अमेरिकाको पक्षमा काम गर्ने धेरै अफगानी अमेरिकी सैनिक बेसमा स्थापित शरणार्थी शिविरमा बसोबास गरिरहेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानीसँग सम्बन्ध भएका दिदीबहिनी र अन्य व्यक्तिलाई स्थायी बसोबासका लागि अनुमति दिन एउटा कार्यक्रम सुरु गर्ने निर्णय गर्नुभएको छ । यसको उद्देश्य अमेरिकामा नयाँ जीवन सुरु गर्दा अफगानीलाई उनीहरूको बस्ती र सहरमा आर्थिक सहयोग वा पुनर्वासका लागि मद्दत गर्नु हो ।
नयाँ पहलअनुसार, १८ वर्ष नाघेका पाँच जनाको समूहले अफगान परिवारका प्रायोजकका लागि आवेदन दिन सक्छन् । जसले अफगान परिवारलाई ९० दिनको लागि आर्थिक सहयोग गर्ने छन्, उनीहरूको प्रशिक्षण पूरा गर्ने छन् र परिवारका लागि योजना विकास गर्ने छन् ।
खामा प्रेसका अनुसार यदि प्रस्ताव स्वीकृत भयो भने यस समूहले आवास प्राप्त गर्न, अमेरिकी सरकारमार्फत उपलब्ध लाभ प्राप्त गर्न शरणार्थीलाई सहयोग गर्ने† जस्तै– चिकित्सा सेवा र अन्य जिम्मेवारीका साथसाथै विद्यालयमा बालबालिकालाई भर्ना गर्न सहयोग गर्ने जिम्मेवारी वहन गर्ने छ । (रासस/एएनआई)