साओपाओलो । ब्राजिलमा पछिल्ला समयमा कोभिड–१९ को सङ्क्रमण झनै बढेको पाइएको छ ।
ब्राजिलका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा मात्र १८२ जनाको ज्यान गएको छ । धेरै लामो समयपछि यहाँ एकै दिनमा यति धेरै नागरिकको ज्यान गएको जनाइएको छ ।
यहाँ कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या छ लाख नाघेको छ । अधिकारीहरूका अनुसार यहाँ कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या छ लाख एक हजार ११ जना पुगेको छ । यहाँ गत वर्ष एकैदिनमा दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका थिए तर पछिल्लो वर्ष यहाँ कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या घटेको थियो । यहाँ आइतबार मात्र अघिल्लो २४ घण्टामा कोरोनाबाट १८२ जनाको ज्यान गएको थियो ।
त्यसैगरी गत २४ घन्टामा यहाँ योसँगै ब्राजिलमा कोरोनाको प्रकोपबाट सङ्क्रमित हुनेको सङ्ख्या आठ हजार ६८७ जना रहेको थियो । योसँगै यो भाइरसबाट सङ्क्रमित हुनेहरू यहाँ दुई करोड १५ लाख नाघेको बताइएको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा सङ्क्रमित हुनेको सङ्ख्या बढेको पाइएको छ । त्यसैगरी मृत्यु हुनेको सङ्ख्या पनि केही हप्ता यतादेखि बढ्न थालेको देखिएको छ ।
यहाँ साओपाओलो सहर सुरुदेखि नै यो सङ्क्रमणको केन्द्रविन्दुमा नै रहिआएको छ । ब्राजिल कोरोना सङ्क्रमणका कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशमा परेको छ । (रासस/सिन्ह्वा)