नयाँदिल्ली । भारतको नयाँदिल्लीस्थित रोहिणी अदालत परिसरमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।
वकिलको पोसाकमा आएका आक्रमणकारीहरूले २०७८ असोज ८ गते दिउसो १ बजे अदालतभित्रै गोली चलाएका हुन् ।
फायरिङबाट मृत्य हुनेमा दिल्लीका मोस्ट वान्टेड ग्याङगस्टर भनिने जितेन्द्र गोगीलगायत छन् । घटनामा अन्य चार जना घाइते भएका छन् ।
भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार गोगी पेसीका लागि अदालत आएका थिए । ठिक त्यही बेला वकिलको पोसाकमा आएका व्यक्तिहरूले उनीमाथि गोली प्रहार गरेका थिए ।
दिल्ली पुलिस कमिस्नर राकेश अस्थानाका अनुसार दुई व्यक्तिले गोली प्रहार गरेका थिए । प्रहरीको कारबाहीमा दुवै हमलाकारीको मृत्यु भएको छ । यी दुईमध्ये एक जनामाथि ५० हजार रुपियाँको पुरस्कार थियो ।
वकिल ललितकुमारका अनुसार हमलाकारी वकिलको पोसाकमा आएका थिए । उनीहरूले गोगीमाथि लगातार तीन गोली हानेका थिए । गोगीको मृत्यु अस्पतालमा भएको थियो । (एजेन्सी)





