मस्को । अफगानिस्तानको वर्तमान अवस्थाबारे रुसी र फ्रान्सेली राष्ट्रपतिको बिचमा वार्ता भएको छ । यसका लागि उहाँहरूबिच बिहिबार फोनवार्ता भएको हो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहिबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोलाई टेलिफोन गर्नुभएको थियो । वार्ताको क्रममा अफगानिस्तानमा विकसित पछिल्लो परिस्थितिका विषयमा आवश्यक कुराकानी भएको रुसी राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
रुसी र फ्रान्सेली राष्ट्रपतिका बिचमा हालै अफगानिस्तानमा विकास भएको परिस्थितिका लागि दुई देशले कसरी मिलेर काम गर्ने भन्ने बारेमा छलफल भएको छ । उहाँहरूबिच अफगानिस्तानमा त्यहाँका सर्वसाधारण नागरिकको सुरक्षाको अवस्थालाई कसरी सुरक्षित गर्ने भन्नेबारेमा कुराकानी भएको छ । पछिल्ला दिनमा अफगानिस्तानमा विदेशी दाता राष्ट्र तथा संस्थाले पनि देश छोडिरहेको र त्यहाँका नागरिकहरू असुरक्षा र अभावमा परेको भन्दै यसका लागि मिलेर काम गर्ने विषयमा सहमति भएको छ ।
त्यसैगरी बिहिबार नै रुसी राष्ट्रपति पुटिनले इटालीका प्रधानमन्त्रीसँग पनि फोनमा परामर्श गर्नुभएको छ । उहाँले त्यस अवसरमा आगामी दिनमा अफगानिस्तानका नागरिकका लागि मिलेर अघि बढ्ने सहमति भएको छ ।
यसअघि बुधबार मात्र पनि चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीका बिचमा पनि अफगान मुद्दामा छलफल भएको थियो ।
गत अगस्त ८, २०२१ का दिन अफगानिस्तानमा तालिबानीको कब्जा भएको छ । उनीहरूले तालिबानी सरकार गठनको तयारी गरिरहेका छन् । (रासस/सिन्ह्वा)





